देउवा र देउवाको सानो कोटरीले पार्टीलाई आफ्नो ‘प्राइभेट लिमिटेड कम्पनी’ झैं चलाइआएको थियो । देउवा नेतृत्वले विधि-विधान मात्र मिचेको थिएन, सामान्य विवेकसमेत गुमाइसकेको थियो । नाङ्गो भ्रष्टाचार, बेथिति, विवेकहीनता र बेइमानी त छँदै थियो; असीमित राष्ट्र-दोहनका कारणले गाउँ-गाउँका इमान्दार कांग्रेसी कार्यकर्ताहरूले जनताका सामू शिर निहुऱ्याउनु परेको थियो ।
✍ राजेश ढुंगाना
अन्ततः निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सदर गर्दै गगन थापाको नेतृत्वलाई मान्यता दिएपछि कांग्रेसको झगडा समाप्तप्रायः भएको छ । यद्यपि पुरानो संस्थापन पक्षले निर्वाचन आयोगको निर्णयपछि आन्दोलन र कानूनी उपचार खोज्ने प्रारम्भिक प्रतिक्रिया दिएको छ । तथापि, निर्वाचन आयोगकै फैसलालाई अदालतले सदर गर्ने कुरा नै ठूलो सम्भावनाभित्र पर्दछ । किनकि, निर्वाचन सम्बन्धको आधिकारिक निकाय निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत शायदै जाने छ ।
सम्बन्धित निकायले एउटा फैसला गरिसकेपछि अर्को निर्णय दिएर अदालतले कसरी एउटा संवैधानिक संस्थाको निर्णयविरुद्ध निर्णय गर्ला ? अदालत यो अनावश्यक विवाद र झमेलामा नपर्नुपर्ने हो ।
रह्यो- वर्तमान नेपाली कांग्रेसको कुरा । यताका केही दशकदेखि स्वयम् नेतृत्वका कारणले जनस्तरमा कांग्रेस व्यापक रुपमा अलोकप्रिय भएको कुरा विरोध नभएर नाङ्गा आँखाले समेत देखिने कटु सत्य हो । यसका कर्महरू लामो समयदेखि जनअपेक्षा अनुसार त थिएनन्, थिएनन्; स्वयम् नेता-कार्यकर्ताहरू समेत असन्तुष्ट थिए र छन् – जसमा देउवाको अघिल्लो नेतृत्व पूर्ण रूपमा जिम्मेवार छ ।
देउवा र देउवाको सानो कोटरीले पार्टीलाई आफ्नो ‘प्राइभेट लिमिटेड कम्पनी’ झैं चलाइआएको थियो । विधि-विधान मात्र देउवा नेतृत्वले मिचेको थिएन, सामान्य विवेकसमेत गुमाइसकेको थियो । देउवा-कालमा पार्टी र मुलुकमा अत्यन्तै ठूलो र लज्जास्पद रुपमा नाङ्गो भ्रष्टाचार, बेथिति, विवेकहीनता र बेइमानी त छँदै थियो; असीमित राष्ट्र-दोहनका कारणले गाउँ-गाउँका इमान्दार कांग्रेसी कार्यकर्ताहरूले जनताका सामू शिर निहुऱ्याउनु परेको थियो ।
यसर्थ नेपाली कांग्रेसमा आमूल परिवर्तन र रूपान्तरणको अनिवार्य खाँचो थियो । यसो नगर्दा ‘कोमा’मा गएको कांग्रेसका सामू अर्को विकल्प थिएन । कार्यकर्ता मात्र पीडित र मर्माहत थिएनन्, आम जनता समेत कांग्रेसबाट अन्तिम हदसम्मको निराशामा थिए । २००३ सालदेखि हालसम्म पनि पहिलो राजनीतिक दलमा आएको डरलाग्दो विचलन केवल एउटा दल-विशेषको असफलता थिएन, मुलुक र लोकतन्त्रकै लागि समेत डरलाग्दो परिस्थिति थियो । अर्थात्, कांग्रेसका कारणले लोकतन्त्र र सिंगो राज्य नै असफल हुने टड्कारो संकेत देखापरेको थियो ।
यो महाधिवेशनको वैधानिकताको प्रश्न तुरुन्तै निर्वाचन आयोगले हल गरिदिएपछि अब कांग्रेस फुटेको होइन, नेतृत्व परिवर्तन मात्र भएको हो भन्ने तथ्य अन्तिम रूपमा टुङ्गो लागेको छ । अब कांग्रेस कार्यकर्ता र आम जनतामा पनि कांग्रेसप्रति भरोसा जाग्न गएको छ ।
लामो समयदेखि कांग्रेसभित्र झिनो स्वरमा नै सही, दल यथास्थितिमा चल्न सक्दैन भनेर परिवर्तन एवम् रूपान्तरणको कुरा नउठाएका होइनन् । तर, ‘देउवा एण्ड कम्पनी’ले त्यसलाई अनदेखा मात्र गरेन, बारम्बार लत्याउने र क्रूरतापूर्वक कुल्चने काम मात्र गर्दै आयो । जसका कारणले कार्यकर्ता थप निराश, आक्रोशित र विद्रोही बन्दै गए । तर पनि देउवाले सानो गिरोह लिएर पार्टीलाई प्राविधिक पकडमा राखेकै भरमा सत्ताउन्माद र अकुत अवैधानिक रकमका मोहले कार्यकर्ताको भावना र मनोदशालाई लत्याई नै रह्यो ।
यस्तो परिस्थितिमा एकाएक भदौमा महान् जेन्-जेड क्रान्ति भयो । यो क्रान्ति लामो समयदेखिको भ्रष्टाचार र राष्ट्र-दोहन विरुद्ध थियो । यत्रो ठूलो क्रान्तिलाई समेत नेपाली कांग्रेसको तत्कालीन सत्ता पक्षले निर्ममतापूर्वक दबाउन नै लाग्यो । त्यसपछि कांग्रेसमा रहेका युवाहरूमा र जनस्तरमै – नेतृत्व विरुद्धको असन्तुष्टि र आक्रोश ह्वात्तैसँग बढेर ठूलो र संगठित आकार लियो । वर्तमानकै ढङ्ग र चालाले पार्टी चल्न नसक्ने कुराको निष्कर्षमा आम कार्यकर्ता पुगेपछि बहुमतले विशेष महाधिवेशनको माग गऱ्यो । नेपाली इतिहासमा २००७ सालपछिको महान् जेन्-जेड क्रान्तिले कांग्रेस कार्यकर्ताहरूका आँखा र चेत खुल्यो । र, परिवर्तन एवम् रूपान्तरणका लागि नेतृत्व विरुद्ध जबरजस्त दबाब सिर्जना गऱ्यो ।
विगत केही वर्षदेखि भ्रष्टाचार, अनियमितता एवम् राष्ट्र-दोहनमा निर्लज्जतापूर्वक चुर्लुम्म डुबेको कांग्रेस नेतृत्वले पार्टी र राज्यसत्तालाई केवल गैरकानूनी धनोपार्जनको माध्यम बनाइरहेको कटु यथार्थलाई देखेर बहुमत कांग्रेसजन यसपटक चाहिं चूप लागेर बस्न सकेनन् । जुरुक्क उठ्दै विशेष महाधिवेशन आफै बोलाइदिए । तर, यो यथार्थ बहुमतको मागलाई समेत लत्याउँदै देउवा नेतृत्वको कोटरीले त्यस विरुद्ध निर्णय नै गरेर अवैध करार गऱ्यो !
चुनावमा पुरानै नेतृत्व लिएर जाँदा कांग्रेस नराम्रोसँग परास्त हुने निश्चित देखेका आम कार्यकर्ताहरू विशेष महाधिवेशनमा सरिक र संलग्न भए । कांग्रेसजनका लागि चुनावमा जान मात्रै पनि नयाँ नीति र नेतृत्वको एक मात्र विकल्प थियो । त्यसैले विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भयो ।
यो महाधिवेशनको वैधानिकताको प्रश्न तुरुन्तै निर्वाचन आयोगले हल गरिदिएपछि अब कांग्रेस फुटेको होइन, नेतृत्व परिवर्तन मात्र भएको हो भन्ने तथ्य अन्तिम रूपमा टुङ्गो लागेको छ । अब कांग्रेस कार्यकर्ता र आम जनतामा पनि कांग्रेसप्रति भरोसा जाग्न गएको छ । अब नयाँ नेतृत्वले पुरानो कांग्रेससँग चुनावमा हारिने गलत भ्रम पालेर उनीहरूको त्यति सारो वास्ता नगरे हुन्छ । पुरानो नेतृत्व र त्यसको कोटरी इतिहासको गर्तमा गइसके । उनीहरू वर्तमान होइनन्; झन् भविष्य त हुँदै होइनन् ।
त्यसउसले अझै पनि तिनैलाई न्यौरा गरेर चुनावमा एक भएर जाँदा जनमत झन् घट्नेछ, बढ्ने होइन । किन पनि भने, उनीहरूबाट जनता आजित भइसकेका छन् । त्यसैले नयाँ कांग्रेसले पुराना गन्हाएकाहरूको एकरत्ति पनि वास्ता नगर्दा चाहिं निर्वाचनको सन्दर्भमा कांग्रेसको हित हुनेछ । मत बढाउने भ्रममा एकताका नाममा ‘म्याद गुज्रेका’ उनीहरूलाई पनि सँगै लिएर हिंड्ने कदम आत्मघाती हुने छ । यसमा नयाँ कांग्रेसजन सचेत भएनन् भने त्यो चाहिं नयाँ कांग्रेसका लागि ठूलो दुर्भाग्य हुने छ ।
प्रतिक्रिया