कांग्रेसमा पुस्तान्तरण : जडताबीच एमाले र नेकपा !

कांग्रेसमा पुस्तान्तरण : जडताबीच एमाले र नेकपा !


नेपाली राजनीतिको मियो मानिने प्रमुख दलहरूभित्र यतिबेला पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस निकै पेचिलो बनेको छ । २००७ सालदेखि हालसम्मका हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेका शीर्ष नेताहरू नै अझै पनि सत्ता र शक्तिको बागडोर सम्हालिरहेका छन् । तर, यो कचिङ्गलका बीच नेपाली कांग्रेसमा देखिएको आन्तरिक लोकतन्त्रको दबाब र एमाले तथा पूर्वमाओवादी केन्द्रमा देखिएको नेतृत्वको आफूखुशीले नेपाली राजनीतिका दुई फरक चित्र प्रस्तुत गरेका छन् ।

नेपाली कांग्रेसभित्र पुस्तान्तरणको प्रक्रिया सहज रूपमा भएन, बरू यो तल्लो तहबाट आएको एउटा ‘जबर्जस्त’ धक्का बन्यो । चौधौं महाधिवेशनयता गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवा तहका नेताहरूले नीतिगत र नेतृत्वदायी तहमा जुन हस्तक्षेपकारी उपस्थिति जनाए, त्यसले पार्टीको पुरातन संरचनालाई हल्लाइदिएको छ । कांग्रेसमा दोस्रो र तेस्रो पुस्ताका नेताहरू नेतृत्वलाई प्रश्न गर्न डराउँदैनन् । उनीहरू संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दै आएर अहिले त नेतृत्वलाई नै चुनौति दिए । यो प्रक्रियाले कांग्रेसलाई जीवन्त राख्न मात्र सघाएन, बरू लोकतान्त्रिक दलमा हुनु पर्ने गतिशीलता पनि प्रदान गरेको छ ।

अर्कातर्फ, कम्युनिष्ट स्कूलिङबाट आएका एमाले र पूर्वमाओवादीको अवस्था भने उदेकलाग्दो छ । यहाँ दोस्रो पुस्ताका नेताहरू वैचारिक र सांगठनिक रूपमा सक्षम भएर पनि केही अपवाद बाहेक ‘आज्ञाकारी’ नेता-कार्यकर्तामा सीमित रहेको देखियो । एमालेमा केपी ओलीको देवत्वकरण र केही साता अघि मात्र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित माओवादी केन्द्रमा सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन दशकभन्दा लामो एकाधिकारलाई चुनौति दिने हिम्मत केही मात्रले गरे पनि बहुसंख्यकले गर्न सकेनन् । ज-जसले ती दुई दलका सुप्रिमोको कार्यशैलीको खरो आलोचना गरे वा प्रतिस्पर्धी बने- ती पूर्वाग्रही पाराले पाखा पारिए !

एमालेका दोस्रो पुस्ताका प्रभावशाली नेताहरू नेतृत्वको आलोचना र फरक मत राख्न हच्किंदै आएका हुन् । ७० वर्षे उमेर हद हटाएर नेतृत्वलाई आजीवन टिकाइराख्ने खेल हुँदा पनि दोस्रो पुस्ता मौन रहनु उनीहरूको राजनीतिक निरीहता हो । त्यस्तै, पूर्वमाओवादी केन्द्रमा प्रचण्डको विकल्प खोज्नु त ‘अपराध’ जस्तै मानिन्छ । ‘हुतिहारा’ भन्ने शब्द कठोर सुनिएला; तर राजनीतिमा ‘हुतिहारा’ भएर पद जोगाउनु भन्दा ‘विद्रोही’ भएर परिवर्तन ल्याउनु नै श्रेयस्कर हुन्छ । जब क्षमतावान भनिएका नेताहरू पार्टीको ओरालो यात्रा टुलुटुलु हेरेर बस्छन् र नेतृत्वको देवत्वकरणमा रमाउँछन्, तब उनीहरूकै राजनीतिक अस्तित्वमाथि पनि प्रश्न उठ्नु स्वाभाविक हो । नेपाली राजनीतिमा अहिले दुई वटा धार स्पष्ट देखिएका छन्- एउटा धार, जहाँ नेतृत्वलाई प्रश्न गरेर आफ्नो ठाउँ सुरक्षित गरिंदैछ (कांग्रेस) र अर्को धार, जहाँ नेतृत्वको देवत्वकरणमा नै आफ्नो भविष्य देखिंदैछ (एमाले-नेकपा)।

कांग्रेसमा पुस्तान्तरणको अर्थ व्यक्तिको परिवर्तन मात्र होइन, बरू विचारको आधुनिकीकरण पनि हो । तर, कम्युनिष्ट पार्टीहरूमा संगठनको नाममा ‘केन्द्रीयता’ हावी हुँदा दोस्रो पुस्ता छायाँमा परेको छ । एमाले र पूर्वमाओवादीका दोस्रो पुस्ताका नेताहरूले आफूलाई ‘उत्तराधिकारी’ त ठान्लान्, तर ‘प्रतिस्पर्धी’ बन्ने हुुति राख्दैनन् । लोकतन्त्रमा नेतृत्व उपहारमा पाइने चिज होइन, यो त खोसेर वा प्रतिस्पर्धाबाट हासिल गरिने उचाइ हो ।

नेपालका पुराना दलहरूले नयाँ उदाउँदो शक्ति (रास्वपा र बालेन शैली) बाट असुरक्षित महसूस गरिरहेको प्रतीत हुन्छ । तथापि त्यो असुरक्षा चिर्ने एक मात्र उपाय भनेको ‘पुस्तान्तरण र रूपान्तरण’ नै हो । यदि एमाले र अब नेकपाका दोस्रो पुस्ताका नेताहरूले अझै पनि नेतृत्वको आरती मात्रै उतारिरहने हो भने, उनीहरूको राजनीतिक भविष्य मात्र होइन, ती दलहरूको सान्दर्भिकता पनि समाप्त हुने छ । नेतृत्वले छाडिदिने प्रतीक्षा गर्नुभन्दा नेतृत्वका लागि बाटो बनाउनु र हस्तक्षेप गर्नु आजको आवश्यकता हो । कांग्रेसको दोस्रो पुस्ताले देखाएको बागीपन र साहसबाट अन्य दलका युवा नेताहरूले सिक्न जरुरी छ ।

गगन-विश्वप्रकाशहरूले ‘बागी’ बनेरै भए पनि पार्टीमा पुस्तान्तरणको ढोका ढकढक्याएका छन्; यो लोकतन्त्रका लागि सुखद पक्ष हो । तर, एमाले र नेकपामा दोस्रो पुस्ताका नेताहरू वैचारिक रूपमा सक्षम भएर पनि नेतृत्वको अगाडि ‘निरीह’ र लाचार देखिनु विडम्बनापूर्ण छ । केपी ओली, प्रचण्ड, माधव नेपाल लगायत बुढ्यौली नेतागणको छत्रछायाँ बाहिर निस्कन नसक्ने हो भने यी दलहरूको भविष्य संकटमा छ । यसै पनि नेतृत्व दानमा पाइने उपहार होइन, यो त सामर्थ्य र साहसले आर्जन गर्ने विरासत हो । दोस्रो पुस्ता ‘हुतिहारा’ बन्ने कि ‘हिम्मतिलो’ ? – रोज्ने बेला घर्किन नदिने युवा-चैतन्य आजको प्राथमिकता हो ।