शास्त्रको रक्षा केवल परम्परा जोगाएर हुँदैन । यसलाई समयसापेक्ष व्याख्या, वैज्ञानिक परीक्षण र परिष्करण गरेर मात्र जीवन्त राख्न सकिन्छ । लगध ज्योतिषको ऐतिहासिक मर्यादालाई सुरक्षित राख्दै मूल पाठ्यक्रममा अठार प्रवर्तकका सिद्धान्तहरूको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्नु आजको अनिवार्य सर्त हो ।
✍ रामचन्द्र ढकाल
संस्कृत वाङ्मयको विराट् आकाशमा ज्योतिषशास्त्रलाई केवल ग्रह र नक्षत्रको गणना गर्ने सामान्य माध्यम मात्र मानिएको छैन । यसलाई ‘वेदस्य निर्मलं चक्षुः’ अर्थात् वेदको त्यो दिव्य र स्वच्छ आँखाको रूपमा प्रतिष्ठापित गरिएको छ । जसले समयको पदचाप र ब्रह्माण्डको रहस्यलाई नियाल्छ । एउटा जीवको अस्तित्व भए पनि आँखा बिना ऊ दिशाहीन र अन्धकारमय हुन्छ । हामीले बुझ्नुपर्ने कुरा ज्योतिषबिनाका वैदिक ऋचाहरू र यज्ञीय विधानहरू कालको अनन्त शून्यतामा हराउँछन् । ज्योतिष त्यो महाप्रकाश हो, जसले मानिसलाई ब्रह्माण्डीय नियम र समयको अविच्छिन्न प्रवाहसँग जोड्दछ । सूर्यसिद्धान्तदेखि अठार प्रवर्तकहरूले विकास गरेको यो परम्पराले परमाणुदेखि कल्प र महायुगसम्मको जुन सूक्ष्म कालबोध गराउँछ । त्यो गणितीय र दार्शनिक दृष्टिले मानव चेतनाको सर्वोच्च शिखर हो । सूर्य, पितामह, व्यास, वशिष्ठ, पराशर र नारदजस्ता ऋषिहरूले प्रतिपादन गरेको यो विज्ञानले ब्रह्माण्डको नाडी छाम्ने सामर्थ्य राख्दछ।
कस्तो विडम्बना ? आज त्यही दिव्य चक्षुमा एउटा यस्तो प्राज्ञिक मोतिबिन्दु लागेको छ । जसले गर्दा हाम्रो शैक्षिक दृष्टि अत्यन्तै धमिलो र संकुचित बन्दै गइरहेको छ । विशेष गरी नेपाल संस्कृत विश्वविद्यालयको पाठ्यक्रममा देखिएको एउटा गम्भीर विचलनले वेदाङ्ग ज्योतिषजस्तो विराट् विधालाई ऋषि लगधद्वारा संकलित करिब ४०-४५ श्लोकको एउटा सानो पुस्तिकामा खुम्च्याइदिएको छ । लगध ज्योतिष निश्चय नै एउटा महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज हो । यसले आफ्नो समयको व्यावहारिक आवश्यकतालाई सम्बोधन गरेको थियो । एउटा जिज्ञासा- के ४० श्लोकको एउटा सानो आँखीझ्यालबाट हेरेर ब्रह्माण्डको अनन्तता बुझ्न सम्भव छ ? सूर्यसिद्धान्तले कल्प र महायुगको जुन विराट् खगोलीय नक्सा खिचेको छ । त्यसलाई उपेक्षा गरेर केवल लगधको पाँच वर्षे युगको व्यावहारिक र स्थूल समाधानलाई नै पूर्ण वेदाङ्ग मान्नु शास्त्रीय दृष्टिले स्पष्ट अव्याप्ति-दोष हो । यो त विशाल हिमालयलाई एउटा सानो ढुङ्गाको कसीमा जोख्ने धृष्टता मात्र हो । यस्तो संकुचनले गर्दा हामीले ज्योतिषको त्यो महासागरलाई एउटा सानो खाल्टोमा कैद गरिरहेका छौँ ।
विद्यार्थीहरूलाई वेदाङ्ग भनेको एउटा सानो ग्रन्थ होइन, बरु वेदमा निहित सम्पूर्ण खगोलीय र गणितीय विज्ञानको महासागर हो भन्ने बोध गराउन हामी किन चुकिरहेका छौँ ?
यहीँनेर इतिहासले एउटा महत्त्वपूर्ण साक्ष्य प्रस्तुत गर्दछ । महाभारतकालीन युद्धको समयमा शस्त्र र अस्त्रहरूको प्रयोग, संरक्षण र समन्वयमा देखिएका केही व्यावहारिक समस्याहरू पश्चात्, युद्धोत्तर कालपश्चात् भारतको वैशाली क्षेत्रमा निरन्तर प्रयोगमा आएको स्थूल गणितीय पद्धतिले विशेष महत्त्व पायो । यही स्थूल गणनात्मक परम्परा लिच्छविकालमा नेपाल प्रवेश गर्यो । यसलाई राज्य सञ्चालन, यज्ञीय कालगणना तथा प्रशासनिक आवश्यकताका लागि उपयोगमा ल्याइयो । यस ऐतिहासिक प्रक्रियाले स्पष्ट के देखाउँछ । लगध ज्योतिषजस्तो स्थूल र व्यावहारिक गणनात्मक प्रणाली विशिष्ट कालखण्डका आवश्यकताबाट जन्मिएको हो । सम्पूर्ण वैदिक ज्योतिष परम्पराको प्रतिनिधि स्वरूप मान्न सकिन्न । युद्ध, शासन र व्यवहारसँग गाँसिएको यो स्थूल गणितीय दृष्टि उपयोगी त थियो, तर त्यसैले सूर्यसिद्धान्त र अठार प्रवर्तकहरूले प्रतिपादन गरेको सूक्ष्म, दार्शनिक र ब्रह्माण्डीय कालबोधलाई विस्थापित गर्न सक्दैन। ऐतिहासिक सन्दर्भलाई बुझ्न नसकी त्यसैलाई शाश्वत सत्यका रूपमा प्रस्तुत गर्नु नै आजको प्राज्ञिक भ्रान्तिको मूल हो ।
यस बिन्दुमा आइपुग्दा नेपाल संस्कृत विश्वविद्यालयका नेतृत्वदायी व्यक्तित्वहरू, प्राध्यापकहरू, डाक्टरहरू र समग्र विद्वत् समाजमाथि एउटा गम्भीर नैतिक र प्राज्ञिक प्रश्न खडा भएको छ । के हाम्रो विद्वत्ता केवल केही श्लोकको रटानमा सीमित हुने हो ? विश्वविद्यालयजस्तो गरिमामय संस्थाले वेदाङ्ग ज्योतिष शीर्षकअन्तर्गत केवल लगधको सीमित कृति पढाएर नयाँ पुस्तालाई कुन दिशामा डोर्याउन खोज्दैछ ? सीमित कालखण्डको स्थूल गणनालाई अन्तिम सत्यका रूपमा पस्कनु र अठार प्रवर्तकका सूक्ष्म सिद्धान्तहरूलाई पाठ्यक्रमबाट बाहिर राख्नु दीर्घकालीन बौद्धिक अन्याय हो । के यो हाम्रो बौद्धिक आलस्य होइन ? विद्यार्थीहरूलाई वेदाङ्ग भनेको एउटा सानो ग्रन्थ होइन, बरु वेदमा निहित सम्पूर्ण खगोलीय र गणितीय विज्ञानको महासागर हो भन्ने बोध गराउन हामी किन चुकिरहेका छौँ ?
आजको आवश्यकता सिद्धान्त ज्योतिष र आधुनिक खगोलविज्ञानबीच सेतु निर्माण गर्नु हो । सूर्यसिद्धान्तका सूक्ष्म गणनाहरू र आधुनिक नासाका तथ्याङ्कहरूबीचको तादात्म्य खोज्नुको सट्टा विश्वविद्यालय शिक्षाले केवल व्यवहार चलाउने सतही ज्ञानमा मात्र चित्त बुझाउनु प्राज्ञिक बेइमानीसरह हो । शास्त्रको रक्षा केवल परम्परा जोगाएर हुँदैन । यसलाई समयसापेक्ष व्याख्या, वैज्ञानिक परीक्षण र परिष्करण गरेर मात्र जीवन्त राख्न सकिन्छ । लगध ज्योतिषको ऐतिहासिक मर्यादालाई सुरक्षित राख्दै मूल पाठ्यक्रममा अठार प्रवर्तकका सिद्धान्तहरूको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्नु आजको अनिवार्य सर्त हो । हामी विद्यार्थी र अनुसन्धानकर्ताहरू आफ्ना गुरुहरूबाट केवल छाक टार्ने ज्योतिष होइन, वेदको त्यो दिव्य चक्षु चाहन्छौँ । यसले ब्रह्माण्डको अन्तिम कुनासम्म देख्न सकोस् । यो त्रुटिलाई समयमै सच्याएर ज्योतिषशास्त्रको विराटतालाई पुनःस्थापित गर्ने बौद्धिक साहस आजको विद्वत् समाजले देखाउनै पर्छ ।
प्रतिक्रिया