भिक्षु, आलोक र पदयात्रा

भिक्षु, आलोक र पदयात्रा


तेइस सय माइलको लामो पदयात्रामा
भातृत्व, प्रेम, करुणा र शान्तिको सन्देश बोकेर
सूर्योदयले मौनता तोड्नुअघि,
चार बजे भिक्षुहरूले टेक्सासबाट पाइला अघि सार्छन् ।

नाङ्गो खुट्टा
उनीहरुलाई नै पर्खिरहेको धुलोलाई चिर्दै
जब बिहानले आकाशमा कोमल रंगहरू फैलाउँछ
सडकहरु भिक्षुहरुका पद चिन्हले निर्मल बन्न थाल्छन् ।

तिनीहरूको छेउमा आलोक (ज्ञानी कुकुर),
समर्पण र प्रेमको प्रतीक,
सृष्टिमा अनुपम करुणा छर्दै
जीव जगतको भावनात्मक साथी
प्रकृतिको मौनता बाड्दै अघि बढ्छ ।

तातो र उष्ण घामको रापमा,
चिसो बिहान, वर्षा र बेचैन हावाको गतिमा,
उसको उपस्थिति स्थिर, प्राचीन, शान्त रहन्छ
लाग्छ- उसले प्रकाश आफैंमा खिचिसकेको छ।

उसका प्रत्येक पाइलाले करुणा बोकेको छ,
प्रत्येक बुद्ध सासले मायालु दया बोकेको छ
यद्यपि शरीर थकित र पीडाहरू छन्
दुर्घटनाका मृतुन्जयी क्षणहरु छन्,
तर गुनासोका सबै शब्दहरू विलुप्त छन्
केवल शान्त मुस्कान, क्षमा र करुणामय खुला हृदयहरू हिँडिरहेका छन् ।

प्रत्येक शहरमा, प्रत्येक शान्त बिसौनीमा,
भिक्षुहरूले मागबिना शिक्षाहरू प्रदान गर्छन्,
स्वतन्त्र रूपमा क्षमा गर्न, पुरानो बोझहरू छोड्न,
एकअर्काप्रति माया,दया र करुणाका साथ बाँच्नको लागि
आतुर छन् मानव हातहरु।

पीडामय वर्तमान क्षणमा करुणा भर्न, प्रेम गर्न
सचेत शान्तिका परेवा उडाउँदै
विश्वशान्तिको ब्यानर तल
अमेरिका उधुम ब्युँझेको छ अहिले ।

केवल मानवतालाई फेरि मुस्कुराएको हेर्नको लागि,
तिनीहरू हिँड्छन्,
हरेक पाइलामा शान्तिको बीउ रोप्न,
थकेका हृदयहरूमा आशा जोगाउन,
मौनताबाट पीडा कम गर्न
विगतलाई छोडेर
भिक्षुहरु निरन्तर अगाडि बढिरहेछन्।

उज्यालोदेखि सूर्य न अस्ताउञ्जेल,
तिनीहरूको यात्रा जीवित प्रार्थना बन्छ
तिनीहरू मौनतामै शान्ति प्रदान गर्छन्,
दया र प्रेम बाहेक कुनै निशान छोड्दैनन्।

अलोक आदेश वा अपेक्षाबिना हिँड्छ,
केवल जागरूकता र अनुग्रहको मुकुट सजाएर
साँचो सम्पन्नताको लागि बाँच्ने कला सम्झाउँदै
प्रेमको निर्मल गङ्गा बढीरहेछ वासिङ्गटनतिर ।

तिनीहरू हिँड्छन् ताकि त्यसको अर्थ छ
तिनीहरु मौन छन् ताकि त्यसको अर्थ छ,
जड दिमागलाई खुला हृदयहरूमा बदल्न
चेतनालाई सचेत प्रकासमा पुऱ्याउन
भिक्षु पदयात्रा निरन्तर जारी छ।

भित्रबाट एउटा दिब्य प्रकाश
फैलिँदै छ अमेरिकाभरि
दुःखको संसारमा
मनदेखि मनसम्म मौन सम्वाद चलिरहेको छ ।

२० मौन पदयात्राको गहन अर्थ

मानसिक दुख बढी रहेको बेला
निरपेक्ष सत्यको खोज
ध्यान गर्भबाट खोज्ने
केवल परम शान्ति हो ।

ब्रह्माण्डको विशाल, अविभाज्य समानता
सापेक्ष सत्य
ज्ञान चीजहरू बीचको सापेक्षिक सम्बन्धमा निर्भर छ
त्यसैले सृष्टिमा सबथोक अलग छ।

सुन्दरताको लागि कुरूपता अवस्थित छ
खुशीको लागि दुःख अवस्थित छ
कारणहरू र परिणामहरू अनन्त छन्
तलको कारणले माथि अवस्थित छ
त्यसैले सापेक्षतामा म छु हामी छौँ।

जब म तिमीसँग कुरा गर्छु ‘म’ भन्छु
जब तिमी मसँग कुरा गर्छौ ‘म’ भन्छौ
तर जब हामी तिनीहरूसँग कुरा गर्छौं ‘हामी’ भन्छौं
त्यो सबै सापेक्षिक सत्य हो ।

दुःख कम गर्नु र सन्तुष्टिलाई अधिकतम बनाउनु
मानवताको करुणा भर्नु बाँच्नको लागि सापेक्ष कला हो
मानव खुशीमा निराशाको अन्त्य
सबैका लागि सबै साधक सापेक्ष लक्ष्य हो ।

हामी एक्लै हुन सक्दैनौं किन
हामी अलग हुन सक्दैनौँ किन ?
किनकि ‘हुनु’ भनेको सधैं ‘अन्तर-हुनु’ हो
आफ्नै अस्तित्वको लागि
एकअर्कासँग र सबै जीवनसँग
अन्तर-कारण, अन्तरनिर्भरता, अन्तरअस्तित्व
बस् ‘अन्तर-हुनु’को अन्तर्य ।

शरीरमा मानव कोषहरू भन्दा धेरै गैर-मानव कोषहरू छन्
त्यसैले त हामी छौँ
हामीभित्र म, ऊ र सबै छ
संगै सहानुभूतिको बन्धनले बाँधिएका छौं
हामीभित्र पालिएका जीवबाट समेत अलग छैनौँ भने ।

म बादलहरूसँग एकाकार छु त्यो देख्छु
म सूर्य र ताराहरूसँग एक छु जिवन्त छु
म जीव, जंगल र जलसंग एक छु समर्पित छु
समाजसंग एक छु अन्तरक्रिया गर्छु
म सबै कुरासँग एक छु
अनि कसरी मै मात्र खुशी, शान्त र चैन हुन सक्छु ।

‘आत्मकेन्द्रितताको त्याग’
अरूको दुःख लिनुले आफ्नै दुःख कम गर्छ
यसले शान्ति ल्याउँछ
साझा गरिएको दुःख आधा हुन्छ
साझा गरिएको आनन्द दोब्बर हुन्छ
हामी साझा कथाका पात्रहरू हौं, पद यात्राको रहस्य ।

त्यसैले सार्वभौम स्वतन्त्रताको अनुभूति हो भिक्षु पदयात्रा
हामी हाम्रा सबै मानिसहरूबाट अलग छैनौं
हामी हाम्रो साथी ब्रह्माण्डबाट पनि अलग छैनौं
संगै प्रेमपुर्वक बाँचौ र जीव जगतमा साझा आशा भरौँ ।

मौन यात्राले शान्ति, करुणा र प्रेमको द्विप जलाउँछ
हामीलाई अरूसँग जोडिएको महसूस गराएर
सबैसंग प्रेम गर्न अनुमति दिन्छ
म अस्तित्वमा छु किनभने तपाईं हुनुहुन्छ ।