मूर्तिकलामा बाह्य प्रतिष्पर्धा : पुर्ख्यौली पेशा संकटमा परेको गुनासो

मूर्तिकलामा बाह्य प्रतिष्पर्धा : पुर्ख्यौली पेशा संकटमा परेको गुनासो


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

माटोसित रमाएर जीवन गुजारा गर्ने मूर्तिकार विष्णु राजवंशी दोश्रो पुस्ताका कलाकार हुन् । मूर्तिकला सम्बन्धि औपचारिक शिक्षा नलिइकनै बाबुको पेशामा सहयोगी बन्ने क्रममा पोख्त मूर्तिकार बन्ने शौभाग्य पाएका राजवंशीको पुर्ख्यौली पेशा पछिल्ला केही वर्षयता आर्थिक संकटको सामना गरिरहेको छ ।

झापाको साविक महेशपुर–६ हाल भद्रपुर–६ मोतियावारी माता मन्दिरछेउमा बीस वर्षयता माटाको मूर्ति बनाएर जीवन चाइरहेका कलाकार राजवंशीको कलाकृतिमाथि भारतीय बजारबाट अवैध प्रवेश पाउने मूर्तिहरूले व्यवसायिकतामा धावा बोल्ने क्रम बढ्दै जाँदा परिवार धान्न हम्मेहम्मे पर्दै गएको हो ।

दुई सन्तानको शिक्षादीक्षा र चार जनाको परिवार धान्ने आधार यही मूर्तिकला रहेकोले कलाकार राजवंशीलाइ्र्र पछिल्लो समय व्यवसाय नचल्दा आर्थिक संकटले सताउन थालेको छ । उनले जानेको मूर्तिकलाका लागि लगनशीलता र मेहनतलाई घटाएका छैनन् तर पनि आफ्नो व्यवसायमा अतिक्रमण बढेकै कारण निर्मित मूर्ति नबिकेर आर्थिक संकटको सामना गर्नुृ परेको उनको दुःखेसो छ ।

अभिषेक मूर्ति उद्योगका नाममा वैधानिक रूपमा सञ्चालनमा रहेको उनको उद्योगको उत्पादनलाई भारतीय बजारबाट भित्रने अवैध मूर्तिले नराम्ररी संक्रमण गरिरहेको उनको भनाइ छ । अवैध रूपमा भारतबाट आउने मूर्ति नरोक्ने हो भने विष्णु जस्ता नेपाली माटोमा गरिखानेहरू भोकै मर्नुपर्ने दिन आइसकेको उनको भनाइले पुष्टि गर्दछ । मूर्ति उत्पादनमा चर्चित उनको उद्योगको मेचीदेखि महाकालीसम्म पहिचान बनाएर फैलिएको थियो । अहिले सम्झँदा उनलाई आफ्नो व्यवसाय बनावटी कथा जस्तो लाग्न थालेको छ ।

पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका राजवंशी हिन्दु परम्पराका विशेष गरी दशैं, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्म पूजा, देविपूजा लगायतका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा सकृय हुनेगरेका छन् । राजवंशी विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति बनाउन व्यस्त रहने गर्दछन् । उनी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन । उनको मूर्तिकला हिन्दु संस्कृतिका विभिन्न पर्वहरूमा बढी खपत हुने कारण परिवार पाल्ने पेशा बन्न सफल थियो ।

दुई सन्तानलाई स्तरीय शिक्षा दिने, घर-परिवार धान्ने आधार रहेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो । भारतमा सस्तो मूर्ति पाइने हल्लाले ग्राहक भारततिर जाने वा भारतीय ब्यापारीले गाउँ-गाउँमा गएर मूर्ति बेच्न थालेपछि समस्या आउन थालेको राजवंशीको भनाइ छ । उनका अनुसार भारतीय बजारमा भन्दा उनको उत्पादन रहेका मूर्ति निकै सस्ता छन् तर प्रचार अभावले ग्राहकले चाल नपाएका कारण मूर्तिका लागि बाहिर जाने गरेका छन् ।

माटोसंगै खेलेर चार जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै भगवान शिव, पार्वती, काली, सरस्वती, विश्वकर्मा, लक्ष्मी, भगवती लगायतका विभिन्न देवी देवताका अतिरिक्त अन्य जुनसुकै प्रकारका मूर्ति बनाउने गर्दछन् । मूर्तिबाटै घरपरिवार चलाउदै समाजिक सेवामा समेत सहयोग र लगानी गरिरहेका छन् । राजवंशी स्वदेशी श्रम र माटोको माया गर्ने समाज सेवा र शुसासनका लागि पहरेदारी गरिरहेका सामाजिक अगुवा पनि हुन् । उनले समाज विचलनमा फस्ने कारणका रूपमा भ्रष्टचार रहेको ठहर गर्दै भद्रपुर नगरलाई भ्रष्टचार सुन्य नगरका रूपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिशन विहिन सेवा अभियान समेत चलाइ रहेका छन् ।

उनी युवापुस्तालाई स्वदेशी श्रम र सीपको महत्व बुझाउने अभियानमा समेत रहेका छन् । राजनीतिमा शुद्घीकरण अनिवार्य रहेको अनुभव सुनाउने राजवंशी लोकतन्त्रमा अशल शासक रहनु जरूरी ठान्छन् । पुराना दलको अकर्मन्यताले देश आर्थिक संकटतिर धकेलिएको बताउने राजवंशी पथभ्रष्ट प्रवृत्तिका नेताहरूलाई अबको निर्वाचनले बढार्नु पर्ने समेत बताउँछन् ।

पैसा र पहुँचमा राज्य सञ्चालक अलमल गरिरहेसम्म लोकतान्त्रिक गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने बताउने राजवंशी इमान्दार र लगनशील कार्यले पेशामा सफलता मिल्ने जनाउँछन् ।

नेपाली माटोलाई माया गर्ने राजवंशी मूर्तिकलाका उदाहरण भएर भद्रपुर नगरको आदिवासी क्षेत्र महेशपुरमा रमाइरहेका छन् । राजनीतिमा समेत सचेत राजवंशी पछिल्लो समय आगामी निर्वाचनले समुन्नत नेपालको मार्गचित्र कोर्छ कि भन्ने आशामा रहेका छन् । राजवंशी आफूसित रहेको कला अन्यमा पनि हस्तान्तरण गर्न तत्पर भए पनि मूर्तिकला सिक्न कोही नआएको बताउने गर्छन् । माटो मात्र नभएर सिमेन्टका समेत माग बमोजिम मूर्ति बनाउन सक्ने राजवंशी पछिल्लो समय ग्राहक अभावले पेशा संकटको सामना गरिरहेको जनाउने गर्छन् । मूर्तिकलासितै राजवंशी धार्मिक गुरूको भूमिकामा समेत सकृय रहेका छन् । आफूसित सम्पर्क गर्न चाहनेले ९८१४९३३७७० नम्बरमा सम्पर्क गर्न सक्ने उनले जानकारी दिएका छन् ।