पद भारी भएपछि जाग्ने होइन भाग्ने चिन्ता !

पद भारी भएपछि जाग्ने होइन भाग्ने चिन्ता !


-देवप्रकाश त्रिपाठी
अमेरिकी राष्ट्रपतिका रूपमा अब्राहम लिङ्कन या जर्ज वासिङ्गटन र वारेन जी हार्डिङको हैसियत बराबरी हो, तर उनीहरू बराबरी स्मरणीय छैनन् र नामको उचाइ पनि एकनास छैन । राष्ट्रपति भएकै कारण इतिहास स्मरणीय हुने भइदिएको भए हार्डिङको नाम पनि लिङ्कन बराबर चर्चित र चालू हुनुपर्ने थियो । संयुक्त राज्य अमेरिकामा हालसम्म चवालीसजना राष्ट्रपति भइसकेका छन्, तर तीमध्ये जर्ज वासिङ्गटन, लिङ्कन, रुजवेल्ट, ह्यारी ट्रुमन, वुडरो विल्सन, जोन एफ केनेडी र रोनाल्ड रेगनसहितका केही राष्ट्रपतिहरू मात्र स्मरणीय बन्न सकेका छन्, किन ? नेपालमा हालसम्म तेत्तीस व्यक्ति प्रधानमन्त्री भए, तर जङ्गबहादुर राणा, भीमसेन थापा, देवशमशेर, चन्द्रशमशेर, वीरशमशेर र बीपी कोइरालाको नाम मात्र सर्वदा चर्चा र स्मरणीय किन बनेको हो ? छिमेकी मित्रराष्ट्र चाइनामा सन् १९४९ यता अनेक व्यक्तिहरूले चाइनाको नेतृत्व सम्हाल्ने मौका पाएका थिए । तर, हामी माओ त्से तुङ र देङ सियाओ पिङबाहेक अन्यलाई स्मरण गरिरहन आवश्यक ठान्दैनौँ । माओ र देङसरहको औपचारिक जिम्मेवारी सङ छिङदिङ र सङ विउले पनि प्राप्त गरेका थिए भन्ने कुराको जानकारी पाउन हामीले चिनियाँ इतिहासकै पाना पल्टाउनुपर्ने हुन्छ । तर देङ र माओको नाम इतिहास नपढेकाहरूसम्म पनि पुगिरहेको छ र यी दुवै नाम चीनमा इतिहास स्मरणीय बन्न पुगेका छन्, किन ? थाइल्यान्डको सत्ता सम्हाल्ने अवसर पाएका दर्जनौं नाममध्ये थाक्सिन सिनवात्रा नै सर्वाधिक लोकप्रिय किन भए ? महा भ्रष्टाचारको आरोप लागेर बिदेसिएको अवस्थामा पनि थाई जनता किन उनको खोजी गर्दै छन् ? नब्बेको दशकको आखिरी र त्यसपछिको समयमा थाइल्यान्डले भोग्नुपरेको महाआर्थिक सङ्कटबाट देशलाई मुक्त गर्न सिनवात्राले बीसौं शताब्दीको अन्तिम पाँच वर्षमा निर्वाह गरेको भूमिकाले उनलाई इतिहासमा असामान्य व्यक्तिको परिचय उपलब्ध गराएको छ । ब्रिटेनको प्रथम प्रधानमन्त्री रबर्ट वालपोलको नाम पत्ता लगाउन इतिहास पल्टाइनुपर्छ तर विस्टन चर्चिलको नाम आजको विश्वले पनि सम्मानका साथ लिने गर्छ । सिङ्गापुरमा लि क्वान यु मात्र प्रधानमन्त्री बनेका त होइनन् तर उनी मात्र इतिहास स्मरणीय भएका छन् ।
मानिसको पहिचान उसको आफ्नै भूमिकाले निर्धारण गर्ने गर्छ । पद प्राप्ति या धनप्राप्तिले मात्र मानिसलाई स्मरणीय बनाउन सक्दैन । व्यक्तिले प्राप्त गरेको पदीय दायित्वले तत्कालिक वर्तमानमा उसको आफ्नै परिवेशमा कस्तो योगदान पुर्‍याएको थियो भन्ने कुराको आधारमा व्यक्तिको मूल्याङ्कन हुने गर्छ । समाज या देशलाई परेको समस्या या आइपरेको सङ्कट मोचनमा दृढतापूर्वक भूमिका निर्वाह गर्ने राजनीतिक या सामाजिक व्यक्तित्वलाई चिरकालसम्म मानिसले भुल्न सक्दैनन् । बगिरहेपछि समुद्रमा पुगिन्छ भनेझैं राजनीतिमा निरन्तर क्रियाशील रहेपछि जोकसैलाई पनि उच्च पदप्राप्तिको अवसर आउन सक्छ । तर्सथ राजनीतिमा पद प्राप्ति एउटा बेग्लै पक्ष हो भने पद प्राप्त भएपछि व्यक्तिले भूमिका निर्वाह गर्ने पाटाको मूल्याङ्कन बेग्लै रूपमा हुने गर्छ । कसैले कुनै पद कसरी प्राप्त गर्‍यो, कुन तहको मान्छे कहाँ पुग्यो भन्ने जस्ता प्रश्नको जवाफमा रोचक कथा या जीवनगाथा उनिएका हुन्छन् । तर, उच्च जिम्मेवारी प्राप्त गरेपछि कुनै पनि राजनीतिक व्यक्तिको वास्तविक उचाइ -क्षमता) मापन सुरु हुन्छ, भूमिकाले मानिसलाई उत्तीर्ण या अनुत्तीर्ण कुनै पनि परिणाममा पुर्‍याउन सक्दछ ।
गरिबी, पछौटेपन, अशिक्षा या कुशिक्षा नेपालका स्थायी समस्या हुन् । यी समस्याबाट मुक्ति दिलाउने नाममा अनेक आकार-प्रकारका व्यक्ति मन्त्री, प्रधानमन्त्री र उच्चाकारका त्यस्तै अन्य विभिन्न जिम्मेवारीमा पुगे । राजनीति निरन्तर चलिरहेको छ, मानिसहरू सत्तामा पुग्ने र ओर्लनेक्रम पनि जारी छ, तर देश जहाँको त्यहीँ या अझै तल ओर्लिएको छ । पछिल्लो डेढ दशकमा नेपाली राजनीति हिंसाग्रस्त बनेको छ, युवापुस्ताको आस्था र विश्वास हिंसाप्रति बढेको या बढाइएको छ । सभ्य, शालीन, शिष्ट र मर्यादित तवरमा कुनै पनि हालतमा गन्तव्य प्राप्त गर्न नसकिने सन्देश राजनीतिक क्षेत्रबाट प्रवाहित भएपछि मानिस व्यक्तिगत जीवनमा समेत सुख या खुसी प्राप्तिको साधन बल या हिंसात्मक क्रियाकलापलाई बनाउन अभिप्रेरित छन् । समस्या समाधानको साधन बन्नुपर्ने राजनीति नै समस्याको मूल स्रोत बनेपछि देशको गरिबी, पछौटेपन, अशिक्षा या कुशिक्षाका विरुद्धको युद्ध अवरुद्ध भएको छ । मानवजीवनको तुच्छ अर्थात् न्यूनतम आवश्यकता शान्ति सुरक्षा प्राप्तिका लागि सबै नेपाली एकत्रित हुनुपर्ने अवस्था सिर्जना भएको छ । आफ्नो करिब अर्ढाई सय वर्ष लामो इतिहासमा नेपाल हाम्रो आफ्नै कारणले सम्भवत: सबैभन्दा ठूलो सङ्कटमा फसेको छ । अन्य कारणले समस्या पैदा भए राजनीतिक तहबाट समाधानको प्रयास गर्नुपर्ने हुन्छ भने नेपालको वर्तमान सङ्कट त झन् राजनीतिक कारणले नै सिर्जना भएको हुँदा त्यसको निदान राजनीतिभन्दा बाहिरबाट खोज्न सकिने आशा गर्न सकिन्न । नेपाल यसरी सङ्कटको चपेटामा परिरहेका बेला नेकपा एमालेका नेता माधवकुमार नेपाल देशको प्रधानमन्त्री बन्न आइपुग्नुभएको वर्ष दिन बितेको छ । माधव नेपाल भ्रष्ट छैनन्, उनी स्वच्छ छविका नेताहरूको कोटिमा पर्छन्, तर उनकै कार्यकालको वर्ष दिनमा नेपाल दक्षिण एसियाको प्रथम भ्रष्ट राष्ट्रमा दर्ज हुन पुगेको छ ।
माओवादीले माग अघि सार्ने र दलहरूले त्यसमा सहमति जनाएर पूरा गरिदिने प्रकारको राजनीति तीन वर्ष निरन्तर चल्यो । सम्पूर्ण सत्ता आफ्नो हातमा नभएसम्म माओवादीको माग्ने प्रक्रिया र सङ्घर्ष नटुङ्गिने भएपछि गत वर्ष ऊ आफैं सरकारबाट बाहिरिनुपर्ने अवस्था आयो । माधव नेपाल नेतृत्वमा प्रजातान्त्रिक गठबन्धनको सरकार बनेपछि देशको राजनीतिले कोल्टे फेर्ने अपेक्षा गरियो । प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरूले सहमति या समर्थन जनाउन सक्ने हदसम्म माओवादीका मागमा सहमति जनाएका हुन्, अब माओवादीका थप राजनीतिक माग पूरा गर्न दलहरूले सहमति जनाउनु भनेको आफैंलाई मेट्नु र देशबाट प्रजातान्त्रिक मूल्य एवम् मान्यता विस्थापित गर्नु मात्र हो भन्ने स्पष्ट भइसकेको छ । माओवादीका एजेण्डामा दलहरूको सहमति हुने अध्याय समाप्त भएपछि गत वर्षदेखि दलहरूको एजेण्डामा माओवादीको समर्थन हुनुपर्ने अध्याय सुरु भएको हो । र, यही अध्यायको थालनीसँगै राजनीतिक दल तथा माओवादीबीच द्वन्द्वको सुरुवात पनि भएको हो । प्रधानमन्त्री माधव नेपालले बितेको वर्ष दिनभरि माओवादीसँग सहमति बनाएर अघि बढ्ने कसरत गर्नुभयो । तर, माधव नेपालको सहमति प्रयासलाई माओवादीले ख्याल-ख्याल ठाने र प्रयासहरूको खिल्ली उठाए, अझै उडाउँदै छन् । माओवादीहरू आफ्नो अधिनायकवादी शासनसत्ता स्थापना गर्न चाहन्छन् भन्ने कुराको राम्रो जानकारी माधव नेपाललाई छ । तै पनि उनले वर्षदिनभरि केवल सहमतिको मन्त्र जपिरहे । माओवादीहरू सहमतिमा नआउने निश्चित हुँदै गएपछि प्रधानमन्त्रीका रूपमा माधव नेपालले कुनै प्रभावकारी कदम चाल्ने आशा गरिएका बेला राजीनामा दिएर भाग्ने कुरा पो सार्वजनिक भइरहेको छ । यतिबेला नेपाली राजनीतिको बजार माधव नेपालको राजीनामाको चर्चाले व्याप्त छ । माओवादीलाई नागरिक पार्टीमा रूपान्तरित गर्नुपर्ने, दिगो शान्ति स्थापना र नयाँ संविधान निर्माणको निम्ति नयाँ बाटो पहिल्याउनुपर्ने, करिब डेढ दशकदेखि अवरुद्ध विकास निर्माणका प्रक्रियालाई सुचारु तुल्याइनुपर्ने र अराजक, अस्तव्यस्त एवम् अनुशासनहीन बन्दै गएको सामाजिक परिस्थितिलाई व्यवस्थित गर्नुपर्ने यस घडीमा माधव नेपालले राजीनामाको कुरा गर्दा उनी महान् भएका छैनन्, बरु डरपोक, कातर, अक्षम र नालायक प्रमाणित हुने स्थिति पो बन्दै छ । इतिहासले माधव नेपाललाई एउटा महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो, तर उनी ह्यारी टु्रमन र विस्टन चर्चिलझैं चुनौतीको सामना गर्दै देशलाई सही दिशामा लैजान उत्सुक र इच्छुक देखिएनन् । अतिवाद, अराजकता र उच्छृङ्खलताको चरम धापमा जकडिएको देशलाई यसबाट उन्मुक्ति दिने हिम्मत नगरेर माधव नेपालले आफैं पदबाट उन्मुक्ति खोजेको महसुस देशवासीलाई हुन थालेको छ । त्यसकारण कतै माधव नेपाललाई प्रधानमन्त्री पदको भारी उनको तौल र उचाइभन्दा धेरै ठूलो पो भएको हो कि भन्न पनि थालिएको छ । हुन त देशलाई वर्तमान समस्याबाट मुक्ति माधव नेपालले नै दिनुपर्छ भन्ने होइन, मानिस आफ्नो क्षमताअनुसारको काम र गच्छेअनुसारको सेवा दिन स्वतन्त्र हुन्छन् । माधव नेपालले प्रधानमन्त्री भइदिएर देशलाई ठूलो गुन लगाएको ठानेका हुन् भने त्यस्तो सन्दर्भमा प्रधानमन्त्रीका रूपमा उनीसँग अपेक्षा राख्नु स्वाभाविक हो । तर इतिहासले उनलाई सुम्पेको जिम्मेवारी पूरा गर्दा उनैलाई इतिहास स्मरणीय बनाउँछ र देशले पनि नयाँ दिशा र बाटो पाउन सक्छ भन्ने मात्र हो । राजनीतिमा कहिलेकहीँ पद त्याग गर्दा पनि त्यागकर्ताको उचाइ बढ्न सक्छ, तर यो समयमा पदत्याग गर्दा माधव नेपालको उचाइ बढ्ने आशा गर्न सकिन्न । बरु माओवादीले भन्ने गरेझैं माधव नेपाल ‘नालायक’ नै पुष्टि हुनेछन् । माधव नेपाल प्रधानमन्त्री भएकै दिनदेखि माओवादीले उनलाई प्रधानमन्त्री पदका लागि अयोग्य र अनुपयुक्त व्यक्तिका रूपमा चर्चा गर्दै आइरहेको छ । जिम्मेवारीबाट भाग्ने उनको चाहनाले उनीप्रतिको माओवादीको निष्कर्ष सही भएको पुष्टि गर्न खोज्दै छ । गृहयुद्धको सामना नगरेर भागेका भए अब्राहम लिङ्कनलाई सायद हामीले स्मरण गरिरहनुपर्ने थिएन । जीर्ण भइसकेको चीनको अर्थतन्त्रलाई अकल्पनीय ढङ्गले सुधारको दिशामा लैजान साहस नगरेर देङ सियाओ पिङ आफू मात्र जोगिएर भाग्ने निष्कर्षमा पुगेका भए आज न देङ आधुनिक चाइनाको रचनाकारमा रूपमा चिनिन्थे न चीनले अहिले प्राप्त गरेको समृद्धि नै हासिल गर्न सक्दथ्यो । राजनीतिक नेतृत्वको पहिचान देशको सङ्कटमा उसले निर्वाह गर्ने भूमिकाले निर्धारण गर्छ भने ‘माधव नेपालको राजीनामा दिएर भाग्ने’ भूमिकाले उनलाई ‘कायर’ या ‘नालायक’बाहेक अर्को कुनै परिचय प्राप्त हुने आधारहरू देखिँदैनन् । उनी प्रधानमन्त्री बन्ने रहर मेट्नका लागि मात्र प्रधानमन्त्री बनेका रहेछन् भन्ने कुराको पुष्टि मात्र उनी आफैंले गर्नेछन् ।
माओवादी समस्यालाई जहाँको त्यहीँ राखेर, क्यान्टोनमेन्टका लडाकु र हतियारलाई यथावत् राख्दै शान्ति स्थापना प्रक्रियालाई अलपत्र छाडेर, देशमा उत्पन्न अराजकता र बीभत्स ढङ्गले भत्किँदै गएका सामाजिक सद्भावलाई पुनर्स्थापित गर्न नखोजेर पद त्याग गरेमा माधव नेपाल नेपालको इतिहासको अर्का रंगनाथ पौडेल या रणोदीप सिंह प्रमाणित हुनेछन् । नेपालका प्रधानमन्त्रीहरूको सूचीमा नौ अक्षरको एउटा नाम ‘माधवकुमार नेपाल’ थप्नेबाहेक अर्को कुनै योगदान पुर्‍याएको अर्थ इतिहासले लगाउनेछैन । राजनीतिमा एकथरी मानिस केही खास काम गरेर देखाउनका लागि जिम्मेवारी लिन्छन् अनि एकथरीचाहिँ पदका मालिक भएको देखाउनका लागि मात्र पदमा पुग्ने गर्छन् । यही अवस्थामा माधव नेपालले पदत्याग गर्दा उनी उल्लिखित दोस्रो कोटिका व्यक्तिका रूपमा गणना हुनेछन् । वर्तमानकाले भन्नेछन्, ‘जे होस्, माधव नेपाल पनि प्रधानमन्त्रीचाहिँ भए है’ अनि भविष्यकाले ठान्नेछन्, ‘ए † माधवकुमार नेपाल भन्ने मानिस पनि नेपालका प्रधानमन्त्री भएका रहेछन् ।’ उनको नाम यत्तिमै सीमित हुनेछ । यदि यसरी सीमित नहुने हो भने माधव नेपालले असीमित भूमिका निर्वाह गर्न बाँकी रहेको देखिन्छ । सङ्क्रमणकालको यो दुर्बल समय पारेर प्रधानमन्त्री बन्न झन्डै दर्जन व्यक्ति लामबद्ध छन् । यस्तै मौकाको फाइदा उठाएर प्रधानमन्त्री बन्ने रहर मात्र पूरा गरेको होइन भने माधव नेपालले आफ्नो योग्यता प्रमाणित गर्न अब ढिलाइ गर्न हुने छैन ।