उमेर कि ‘भिजन’ ?

उमेर कि ‘भिजन’ ?


नेल्शन मण्डेला ७५ वर्षको उमेरमा दक्षिण अफ्रिकाका राष्ट्रपति हुनुभयो । आफू राष्ट्रपति भएपछि पहिले आफूलाई जेल हाल्ने, दुःख दिनेहरूसँग बदला लिन खोज्नुभएको भए दक्षिण अफ्रिकाका जनताले कहिल्यै शान्ति प्राप्त गर्ने थिएनन् । महाथिर मोहम्मदले के-के गर्दा मलेशियालाई भ्रष्टाचारमुक्त बनाउन सकिन्छ भन्ने अनुभव प्रयोग गर्न ९२ वर्षको उमेरमा पुनः प्रधानमन्त्री बन्ने आकाङ्क्षा राख्नुभयो । सिंहापुरमा ली क्वान युले ७० वर्ष नाघ्दासम्म नेतृत्व हातमा लिएर आफ्नो देशलाई अनुशासन र सुशासनमा ढाल्नुभयो । मुलुकलाई दीर्घकालीन योजना दिनुभयो । बेलायतमा ६५ वर्षको उमेरमा विन्स्टन चर्चिलले दोश्रो विश्वयुद्धमा देशवासीबीच मनोबल बढाउने विविध प्रयास गर्नुभयो । अमेरिकामा ७८ वर्षीय जो बाइडेनले आफ्नो अनुभवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने कोशिस गर्नुभयो । आधुनिक चीनको आधारस्तम्भ देङ्ग सियाओपिङ्गले ७० वर्षको उमेरपछि समाजवादसँग बजार अर्थतन्त्रलाई जोड्दै धनी हुनु गलत होइन भन्ने सोचले मुलुकलाई अघि बढाउनुभयो । कतिपय युरोपियन र अन्य मुलुकमा पनि यस्ता धेरै नेता छन्, जसले ब्यक्तिगत महत्वकांक्षा भन्दा देशको भविष्यलाई प्राथमिकता दिए । लोकप्रियता भन्दा देश बनाउने काममा केन्द्रित भए ।

अहिले हामीकहाँ युवाहरू सत्तामा आउनुपर्छ भन्ने लहर नै चलेको छ । युवा राजनीतिमा आउनु, पद या ओहदामा आउनु भनेको उमेरले परिपक्व मानिसहरूको विस्थापन होइन । सबै पुराना कुरा जसरी नराम्रा हुँदैनन् त्यसैगरी पुराना सबै नेता या अन्य क्षेत्रमा भएका मानिसहरू नराम्रा छैनन् । धेरै पढेका छैनन् होला तर पुरानाको अनुभव राज्य सञ्चालनका विभिन्न चरणमा महत्वपूर्ण हुन्छन् । विश्व-राजनीतिलाई हेर्दा युवा राजनीतिकर्मीहरूमा न्युजील्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा आर्डनले ३७ वर्षको उमेरमा नेतृत्व सम्हालेकी थिइन् । कोभिडको बेला उनले अपनाएको मानवतामा आधारित नेतृत्वको चर्चा विश्वब्यापी रूपमा भएको थियो । अष्ट्रियाका चान्सलर सेबास्टयन कुर्ज, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रुन, बुर्किना फासोका थोमस सान्कारा लगायतका युवाहरूले आ-आफ्नो देशमा युवाहरूलाई नेतृत्वमा आकर्षित गरे । जोन अफ केनेडी अमेरिकाको राष्ट्रपति बन्दा ४३ वर्षका थिए । ली स्येनले सिंहापुरमा ली क्वानले अघिसारेको दीर्घकालीन नीतिलाई अघि बढाए ।

युवा र परिपक्व दुवैथरी नेताले गरेको काम र योगदानलाई हेर्दा देश बनाउने कुरा उमेरसँग नभएर दृष्टिकोणसँग सम्बन्धित देखिन्छ । ७५ नेल्शन मण्डेलाले आफू र आफ्ना अनुयायीहरूले भोगेको दुःखलाई क्षमामा रुपान्तरण गरे । २७ वर्ष जेल बसेका मण्डेलाले बदला लिन चाहेका भए दक्षिण अफ्रिका अहिले पनि द्वन्द्वमै हुन्थ्यो । ३७ वर्षीय ज्यासिण्डा आर्डनले मुलुकमा सङ्कट छाएको बेला संवेदनशील भएर जनतालाई सुरक्षित गरिन् । वृद्ध नेताहरूले मुलुकले भोगेको उतारचढाव भोगेका, देखेका हुन्छन् । यता युवामा पुराना शक्तिलाई प्रश्न गर्ने हिम्मत हुन्छ । युवा हुनु जीवनको एउटा चरण हो, आफैंमा योग्यता होइन । युवा हुनु परिवर्तनको सुनिश्चितता पनि होइन । विश्वका धेरै देशमा युवा नेतृत्व लोकप्रियतामा रमाएको तर संस्थागत सुधार गर्न नसकेको देखिएको छ । त्यसैले उमेर भन्दापनि राजनीतिमा कुनै पनि उमेर समूहका मानिस किन र कसरी आउँछन् भन्ने हो । एक्कासी लोकप्रिय भएका मानिस एक्कासी दृष्यबाट हराएको पनि देखिएको छ ।

खासमा उमेर शारीरिक हो कि मानसिक ? भन्ने बहस पनि जरुरी छ जस्तो लाग्छ । उर्जा भएन भने भरखरका मानिस पनि वृद्ध झैँ जीवन बाँचिरहेका हुन्छन् । उर्जा छ भने वृद्धवृद्धा पनि युवा जोसका साथ जीवन बाँचिरहेका देखिन्छन् । कतिपय मानिसहरू भन्छन्, उमेरसँगै मौनता पनि बढ्दै जान्छ । खासमा उमेरले होइन सोच्ने तहले मौनता बढाउने हो । जब मानिसले गहिरिएर खोज, अनुसन्धान र अध्ययन गर्न थाल्छ उसमा बोल्ने शब्दहरू थोरै हुँदै जान्छन् । जति बोल्छ ती कामलाग्ने खालका विषय-बस्तु केन्द्रित हुन्छन् । भगवान् गौतम बुद्ध जति मौन कोही रहेन, उहाँले जति धेरै कसैले बोलेन भन्ने छ । बुद्धले जति बोल्नुभयो अनुभव बोल्नुभो र ती सबै स्लोगन बने । कसले कति बोल्यो भन्दा पनि के बोल्यो भन्ने कुराले अर्थ राख्छ । ज्ञानको तह बढ्दै गएपछि बोल्ने कुरा आफै घट्दै जान्छन् । तर हामीकहाँ बोल्न दिएका हरेक ठाउँमा जानेको जति सबै बोल्नुपर्छ भन्ने झैँ देखिन्छ । लामा-लामा पट्यार लाग्दा बतासे भाषण गरेर र सुनेर मानिसले अमूल्य समय गुजारिरहेका हुन्छन् । प्रायः सभा-समारोहहरूमा प्रशस्त ध्वनी प्रदुषण हुने गर्छ । दार्शनिक लाओत्सेले भनेका छन्- ‘धेरै जान्ने मान्छे कम बोल्छन्, जो धेरै बोल्छन् तिनले धेरै कुरा जानेका हुँदैनन् ।’

हामीकहाँ नेतृत्वमा युवा आउनु राम्रो कुरा हो । तर तयारीबिनाको युवाउमेर मात्रचाहिँ आफैमा खासै केही होइन । उमेर भन्ने कुरा सधैं रहने पनि होइन, समय यसरी बितेर जान्छ कि म त युवा भनेर जोश देखाउँदा-देखाउँदै कतिबेला कपाल फुलिसक्छ थाहै हुँदैन । अहिले हामीले वृद्धवृद्धा भनेर पर-पर पार्दै गरेका नेताहरू हिजो युवा नै थिए । उमेर, मृत्यु सबै जीवनका वास्तविकता हुन् । जसलाई हामीले रोकेर रोक्न सक्दैनौँ, हाम्रो हातमा नै छैन । तर योजना बनाएर अगाडि बढ्न सक्यो भने जिन्दगीको वास्तविकतालाई सहजरूपमा स्वीकार्न भने सकिन्छ । आफू बढीमा यति वर्ष बाँच्छु भनेर मानिसले आत्मसात मात्रै गऱ्यो भनेपनि धेरै कुरामा तँछाड मँछाड र हारालुछी हुँदैन जुन हारालुछी हामीकहाँ हुनेगरेको छ । अन्यत्र पनि छ तर आफ्नो कर्तब्यबाटै च्युत भएर शक्ति-सङ्घर्षमा समय खर्चिने कामचाहिँ राम्रा आत्माहरूले गर्दैनन् । शायद यही भएर होला प्लेटोले दार्शनिकहरूले राज्य सञ्चालन गर्नुपर्छ भनेका थिए ।

उमेरले होइन मानिसको सोचले हरेक कुरामा फरक पार्छ, अर्थ राख्छ । हामीले गर्ने काममा फरक नपारेपनि उमेरलाई रोक्न सकिँदैन, जसरी समयलाई रोक्न सकिँदैन । हामी जन्मिएको, हुर्किएको र बाँचिरहेको मुलुकलाई ‘सिस्टम’मा ढाल्न नसकेपनि प्रकृति सधैं सिस्टममा चल्छ । जतिसुकै राम्रो दिन भएपनि रात परेरै छाड्छ, रात जसरी बिताएपनि बिहान उज्यालो भएरै छाड्छ । हिजोका युवा आज वृद्ध भए जस्तै आजका युवा भोलि वृद्ध हुन्छन् नै, यो प्रकृतिको नियम हो । प्रकृतिका उपज घाम, पानी, जुन, तारा, रुख, चरा चुरुङ्गी, जनावर सबै आ-आफ्नो सिस्टममा चलेका छन् । ‘के सबै मानिस बुढो हुन्छ ? म पनि हुन्छु ?’ यही प्रश्नले राजकुमार सिद्धार्थलाई भगवान् गौतम बुद्ध बनायो । पहिल्यै धेरै खोज, अनुसन्धान र अभ्यास भइसकेकाले यति बुझ्न तपस्या गरिरहनु नपर्ने अवस्थामा हामी छौँ । मानिसको उमेर शारीरिक र मनोवैज्ञानिक दुवै हो तर मृत्युचाहिँ यी सबै कुराभन्दा माथि अकाट्य सत्य हो । अन्तिम सत्यलाई हामी पन्छाउन सक्दैनौँ तर उमेरलाई चाहिँ यस्तै त हो नि, सकेको राम्रो गर्ने हो भनी आत्मसात गर्दै अघि बढ्न सक्छौँ ।

अहिले हामीकहाँ धेरै युवाहरू आफ्नो राजनीति प्रवेशलाई सत्तामा पुग्ने छोटो बाटो ठानिरहेका छन् । अरुलाई गाली गर्नु र आफ्नै नेताको गुणगान गाउनु राजनीति होइन । गलत निर्णयमा ‘यो सही भएन’ भन्न सक्नु राजनीति हो । युवा नेताहरूले पुराना नेतालाई गाली गरेर लोकप्रियता हासिल गर्नुभन्दा बढी संस्थागत परिवर्तनमा ध्यान दिन आवश्यक छ । हिजोआज आफूले बोलेका भिडियोहरू भाइरल बनाउने या भाइरल हुनका लागि जे पनि बोल्ने होड पनि त्यत्तिकै छ । भाइरल भिडियोले मानिसलाई चर्चित बनाउँछ तर नेता बनाउँदैन । नेता बनाउने त सम्बन्धित ब्यक्तिले अवलम्बन गर्ने नीतिले हो, दृष्टिकोणले हो । अहिले पुरानो र नयाँ पुस्ताबीच द्वन्द्व बढाउने होइन संवाद गर्ने नेता मुलुकलाई चाहिएको छ । नयाँ पुस्ताको उर्जा र पुरानो पुस्ताको अनुभवले दुवै पुस्तालाई पुरक बनाउँछ । अहिले युवाले पुराना पुस्तालाई विस्थापित गर्दा भोलि आउने पुस्ताले आफूलाई पनि त्यसैगरी विस्थापित गर्न सक्छन् भन्ने कुरा हामीले माइण्डमा राख्नुपर्छ । किनभने देश निर्माण एक जनाले मात्र गरेर हुँदैन । यो त पुस्तादेखि पुस्तासम्म सर्ने जिम्मेवारी हो । हिजो पृथ्वीनारायण शाहको हातमा थियो आज हाम्रो हातमा छ, भोलि अरुकै हातमा जानेछ । राजनीति केवल पद होइन, धैर्य, त्याग र लामो यात्रा हो ।