आजको राजनीति नयाँ अनुहारभन्दा बढी नयाँ चेतना र साहसको हो; गलतलाई गलत भन्न सक्ने, नेतृत्वलाई प्रश्न गर्न सक्ने र विदेशी प्रभावको सामना गर्न सक्ने सहस र क्षमताको हो । दास र लास चाहे दलभित्रका हुन् या विदेशीका, यिनको अन्त्य अनिवार्य छ, किनभने देश सम्झौताले होइन, चेतनाले बाँच्छ ।
✦ रश्मिशेखर सुवेदी
नेपाली राजनीतिमा अहिले विभिन्न पात्र र प्रवृत्तिको उदय भएको अवस्था छ । देश जोगाउने बहस प्रायः सीमाना, नक्सा र राष्ट्रिय नारामा मात्र सीमित गरिन्छ, तर वास्तविकता यो हो कि कुनै पनि देश चेतना, चरित्र र राजनीतिक संस्कार कमजोर भएपछि स्वतः असुरक्षित बन्छ ।
आज नेपालको राजनीतिक जीवनमा सबैभन्दा गहिरो संकटको रूपमा देखिएको छ- दास र लासको राजनीति । यहाँ प्रयोग गरिएको ‘दास र लास’ शब्द कुनै व्यक्तिगत आक्षेप होइन; यो नेपाली कांग्रेसका सभापति गगन थापाले प्रयोग गरेको राजनीतिक शब्दावली हो, जसले दल र राज्यभित्र जरा गाडेर बसेको दास मानसिकता र जड प्रवृत्तिलाई संकेत गर्छ । चाहे ती दलभित्र जन्मिएका दास हुन्, चाहे विदेशी स्वार्थका दास; चाहे विचारमा मरेका राजनीतिक लास हुन्, चाहे सत्ताका लागि आत्मा साटेका अनुहार; यी सबै प्रवृत्तिको अन्त्यबिना देशको भविष्य सुरक्षित रहन सक्दैन ।
आजको राजनीतिक सन्दर्भमा दास भन्नाले केवल आदेश मान्ने पात्र मात्र होइन, आफ्नो विवेक, विचार र आत्मसम्मान सत्ता, पद वा कृपाको बदलामा विकेको व्यक्ति हो । यस्ता पात्रहरू दलभित्र नेतृत्वका गलत निर्णयमा प्रश्न उठाउँदैनन्, जनताको पीडामा बोल्दैनन्, र गलतलाई गलत भन्न सक्ने साहस गुमाइसकेका हुन्छन् । उनीहरूको निष्ठा सिद्धान्तप्रति होइन, व्यक्तिप्रति हुन्छ; जनताप्रति होइन, शक्तिकेन्द्रप्रति हुन्छ । यसरी दलहरू वैचारिक रूपमा कमजोर बन्छन्, आन्तरिक लोकतन्त्र खोक्रो हुन्छ र राजनीति सेवाको माध्यम नभई सौदाबाजीको थलो बन्छ ।
यही दास मानसिकताले विदेशी निर्भरतालाई सहज बनाउँछ । तर कूटनीतिक चासोलाई स्वाभाविक सन्दर्भबाट अलग गरेर हेर्नु पनि आत्मछलना मात्र हो । कुनै पनि देशले आफ्नो चासोका लागि दूतावास खोल्छ, सम्बन्ध राख्छ र गतिविधि गर्छ – यो अस्वाभाविक होइन, यो अन्तर्राष्ट्रिय यथार्थ हो । समस्या त्यतिबेला सुरु हुन्छ, जब हामी स्वयं दिग्भ्रमित हुन्छौं, आन्तरिक रूपमा कमजोर बन्छौं र निर्णय क्षमतामा शरण खोज्न थाल्छौं ।
आफू घरभित्रै झगडा बोकेर हिँडेपछि छिमेकीले चासो राख्नु स्वाभाविक हुन्छ । आफूले शासन गर्न नसकेको, दलभित्र एकता र स्पष्टता कायम गर्न नसकेको अवस्थालाई ढाकछोप गर्न बाहिरको दोष देखाउनु सजिलो हुन्छ । तर, दोष अरूलाई दिनु आत्मसमिक्षाबाट भाग्नु हो । जब राज्य सुदृढ हुन्छ, नीति स्पष्ट हुन्छ र नेतृत्व आत्मविश्वासी हुन्छ, तब बाह्य चासो स्वतः सीमित हुन्छ । विदेशी हस्तक्षेपभन्दा पहिले हामीले आफ्नै कमजोरीतर्फ औंला उठाउने साहस गर्नुपर्छ, किनभने परनिर्भरताको ढोका बाहिरबाट होइन, भित्रबाट खुल्छ ।
समय सधैं अघि बढ्छ, तर मानिस र संस्था समयअनुकूल नहिँड्दा उनीहरू आफैं अप्रासंगिक बन्छन् । यही कारण आज परिवर्तन कुनै विकल्प होइन, अनिवार्यता बनेको छ ।
यससँगै अर्को खतरनाक प्रवृत्ति हो- राजनीतिक लासहरूको वर्चस्व । यस्ता अनुहारहरू पदमा त जीवित हुन्छन्, तर विचार, नैतिकता र ऊर्जा सबै गुमाइसकेका हुन्छन् । समय बदलिँदा पनि उनीहरू बदलिन चाहँदैनन्, युवासँग डराउँछन् र प्रश्नसँग असहज हुन्छन् । उनीहरूको मुख्य चिन्ता देश बनाउनु होइन, कुर्सी जोगाउनु हुन्छ । दलभित्र यिनै लासहरू लामो समयसम्म टाँसिएर बस्दा नयाँ सोच, नयाँ नेतृत्व र नयाँ साहसलाई ठाउँ मिल्दैन ।
राजनीति स्वभावतः आकांक्षीहरूको क्षेत्र हो, तर आकांक्षा र स्वार्थबीच गहिरो भिन्नता हुन्छ । समस्या आकांक्षी हुनु होइन, समस्या आकांक्षालाई केवल सत्ता प्राप्तिको साधन बनाउनु हो । जब सिद्धान्त, सेवा र परिवर्तनभन्दा सत्ता प्राथमिक बन्छ, तब राजनीति पतनतर्फ जान्छ । आन्तरिक लोकतन्त्र कमजोर हुँदा अवसर योग्यतामा होइन, चाकरीमा आधारित हुन्छ, जसले दास जन्माउँछ र लासलाई जोगाइ राख्छ । यस्तो संरचनाले देशलाई होइन, केही व्यक्तिको शक्ति र हैसियतलाई मात्र जोगाउँछ ।
दास र लासको अन्त्य भन्नाले दास प्रवृत्तिको अन्त्य हो । यो अन्त्यबिना नीति स्वतन्त्र हुँदैन, दलहरू लोकतान्त्रिक हुँदैनन्, युवाले राजनीतिलाई परिवर्तनको माध्यम ठान्दैनन् र देश आत्मनिर्भर बन्न सक्दैन । देश आज स्पष्ट रूपमा परिवर्तन खोजिरहेको छ । यो खोज केवल सरकार परिवर्तनको माग होइन – सोच, शैली र संस्कार परिवर्तनको आह्वान हो ।
पटक-पटक बन्ने स्वार्थ प्रेरित सरकार, समयसँग नहिँड्ने, जडवादी भइसकेको र आत्मकेन्द्रित राजनीतिक अभ्यासबाट दिक्क भइसकेका छन् जनता । समय सधैं अघि बढ्छ, तर मानिस र संस्था समयअनुकूल नहिँड्दा उनीहरू आफैं अप्रासंगिक बन्छन् । यही कारण आज परिवर्तन कुनै विकल्प होइन, अनिवार्यता बनेको छ ।
तर यो परिवर्तनको माग युगदेखि समय चेतना बोक्दै हिंडेका त्यागी र संघर्षशील नेताहरूको अवमूल्यन होइन । उनीहरूले बोकेको विचार, गरेको बलिदान र दिएको योगदानकै कारण आज हामी बोल्न, लेख्न र प्रश्न गर्न सक्ने अवस्थामा छौं । परिवर्तनको नाममा इतिहास मेट्ने होइन, इतिहासको मूल्यांकन गर्ने हो । ती नेताहरूको योगदानलाई सम्मान गर्दै, उनीहरूले रोपेको चेतनाको विरासतलाई आत्मसात् गर्दै अघि बढ्नु नै पछिल्लो पुस्ताको राजनीतिक कर्तव्य हो । नवचेतना उमेर मात्रले होइन अनुभवले पनि दिन्छ ।
देश बचाउन पहिले राजनीति बचाउनुपर्छ, र राजनीति बचाउन दासता र जडताको अन्त्य अनिवार्य छ । परिवर्तन नयाँ अनुहार ल्याएर मात्र सम्भव हुँदैन, परिवर्तनको संस्कार अपनाउनु अनिवार्य छ । नेतृत्वमा विनम्रता, निर्णयमा पारदर्शिता, दलभित्र लोकतान्त्रिक अभ्यास र आलोचना सहने क्षमता – यी नै परिवर्तनका वास्तविक सूचक हुन् । आजको आवश्यकता पुराना अनुहारलाई नयाँ चेतनासँग हिँड्न बाध्य बनाउने हो, र नसक्नेहरूलाई स्वाभाविक रूपमा इतिहासको जिम्मा लगाउने साहस देखाउने हो। देश निर्वाचनमा होमिएको छ। असल मान्छेहरूको नेतृत्वमा देश जावोस् !
आजको राजनीति नयाँ अनुहारभन्दा बढी नयाँ चेतना र साहसको हो; गलतलाई गलत भन्न सक्ने, नेतृत्वलाई प्रश्न गर्न सक्ने र विदेशी प्रभावको सामना गर्न सक्ने सहस र क्षमताको हो । दास र लास चाहे दलभित्रका हुन् या विदेशीका, यिनको अन्त्य अनिवार्य छ, किनभने देश सम्झौताले होइन, चेतनाले बाँच्छ ।
(लेखक नेपाली कांग्रेस झापाका सुचना, संचार तथा प्रचार विभाग संयोजक हुन् ।)
प्रतिक्रिया