✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ ११ गते तद्अनुसार सन् २०२६ जनवरी २५ तारिख आइतबार माघ शुक्ल पक्षको सप्तमी तिथि रेवती नक्षत्र सिद्ध योग गर करण आनन्दादिमा प्रवद्र्ध योग चन्द्रमा मीन राशिमा १२ः७ बजेसम्म त्यसपछि भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ बजे र सूर्यास्त साँझ १७ः३७ मा हुनेछ । रवि सप्तमी व्रत ।
आजको राशिफल
मेष – सेवामूलक कामबाट धनलाभ हुने समय छ । कर्मबल बढ्नेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तको साथ मिल्नेछ । आर्थिक कठिनाइको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला । नियमित कार्यमा खासै रुचि नरहला ।
वृष – प्रतिभाको कदर हुने र बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । यात्रामा सफलता प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मिथुन – भाग्योन्नतिको समय छ । ब्यवसायमा राम्रै लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग रहेकोले विशेष सतर्क रहनुहोला । चुनौतीका बाबजुद सहयोगीहरूले फाइदा दिलाउनेछन् । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
कर्कट – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र लाभ मिल्ने समय छ । अरूको सुझावमा भर नपर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । आजको लाभांश सुरक्षित वा सञ्चय नहुने योग छ ।
सिंह – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । कतै मानसम्मान मिल्ने सम्भावना छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ ।
कन्या – सामाजिक काममा रुचि बढ्ने दिन छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । व्यवसायिक कामबाट फुर्सद मिल्ला । कतै अतिथिका रूपमा सत्कार मिल्ने देखिन्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्नेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला ।
तुला – सरल जीवनशैलीले धेरैको मन लोभ्याउने समय छ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिएला । आयआर्जन राम्रै हुने देखिन्छ । तथापि, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरसापटमा धन खर्च हुने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुखले उत्साह जागृत गर्ने देखिन्छ ।
वृश्चिक – मिश्रित फलदायी दिन छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, तर सोचेभन्दा कमै फाइदा मिल्ने योग छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला । श्रमको उचित मूल्य नमिल्न सक्छ । इर्ष्यालुजनले दुःख दिने सम्भावना रहेकोले सजग रही दैनन्दिन कार्यमा लागिपर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।
धनु – आम्दानीमा सुधार आएपनि खर्च नियन्त्रणको प्रयत्न गर्नुपर्ने समय छ । मान र विद्या प्राप्त होला । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुने योग छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, ख्याल राख्नुहोला । व्यापार–व्यवसायमा लाभ नै हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा हुनसक्ने देखिन्छ ।
मकर – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहनाले जाँगरमा कमी आउने देखिन्छ । पठनपाठनमा समय दिन नसकिएला । नसोचेको ठाउँमा खर्च हुने योग छ । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्नेछ । आफन्तको साथ–सहयोग प्राप्त हुनेछ ।
कुम्भ – केही प्रतिस्पर्धा गर्नुपरे पनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । तथापि, शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ने देखिन्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । विपरीतलिंगीको साथ मिल्नेछ ।
मीन – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम क्रमशः सम्पादन हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।
प्रतिक्रिया