माघ ६ गते दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दिएलगत्तै शेयर बजारले ४२ अंकको छलाङ मारेर ‘ग्रिन सिग्नल’ दिइसकेको छ । जति-जति निर्वाचन नजिकिँदै जानेछ र माहौल पनि नयाँहरूको पक्षमा भएछ भने त्यति नै शेयर बजार बढ्न सक्ने देखिन्छ ।
✍ रिसव गौतम
गत भदौ २३ र २४ को जेनजी आन्दोलन र विद्रोहको पृष्ठभूमिमा आसन्न फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएको छ । चुनाव हुने निश्चित भएको सरकारको दाबी छ, र चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सुची बुझाउने र प्रत्यक्षतर्फको उमेदवारीमा दलिय तथा स्वतन्त्र उम्मेदवारहरूको दर्तासमेत भइसकेको छ । दल र तिनका उमेदवारहरू भोट माग्न घरदैलो अभियानमा जुटिसकेका छन् । सभा, सम्मेलन र भाषणबाजी चर्किन थालेको छ । दलहरू घोषणापत्र लेखनमा ब्यस्त हुँदैछन् । देश नै चुनावी पर्वले धपक्क बल्न थालेको छ । चुनावले गर्माएपछि उपभोक्ता बजार चलायमान हुन थालेको छ । अदृश्य पैसाहरू समेत बाहिर आएर करिव १ खर्ब हाराहारी चुनाव शीर्षकमा खर्च हुने अनुमान गरिएको छ ।
उम्मेदवारहरू एकले अर्कालाई कसरी पछि पार्ने र आफू विजयी बन्ने भन्ने जुक्ति सोचिरहेका छन् । निर्वाचन आयोगले मतपत्र छपाइको काम अन्तिम चरणमा पुऱ्याइसकेको छ । म्यादी प्रहरी भर्नाको काम लगभग सकिएको छ । माघ दोश्रो साताबाटै चुनावी सुरक्षाको माहोल खडा गर्न नेपाली सेना तैनाथ हुँदैछ । दातृनिकायहरूले पनि चुनावी प्रयोजनका लागि आवश्यक सहयोग दिन थालिसकेका छन् । निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुगिसकेको बताएको छ । यसरी चुनाव हुने सुनिश्चितप्रायः ठानिएको छ । यस्तोमा अहिलेको चुनावी माहोल र चुनावपछिको नतिजाले शेयर बजारमा कस्तो प्रभाव पार्ला ? – यसप्रति आमचासो देखिन्छ ।
खासगरी फागुन २१ को चुनाव जेनजी आन्दोलनको ‘म्यान्डेट’ले सिर्जना गरेको परिघटना हो । जेनजीहरूले भदौ २३ को आन्दोलन कुशासन, भ्रष्टाचार र शासन सत्तामा एउटै पुरानो वर्गको रजगज भएको भन्दै आन्दोलन गरेका थिए । त्यसमाथि सामाजिक सञ्जाल बन्दको निर्णयले आक्रोश र आन्दोलनलाई बल प्रदान गरेको थियो । त्यसकारण पनि फागुन २१ को निर्वाचनमा पुराना दलहरू र नयाँहरूबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचन नजिकिँदै गर्दा नयाँ दलहरूको प्रभाव बढेको देखिन्छ । यसपटक जनताको ‘सेन्टीमेन्ट’ नयाँहरूप्रति नै बढेको जस्तो देखिन्छ । तर पुराना एवं सांगठनिक रुपमा जरा गाडेर बसेका दलहरू पनि कमजोर देखिँदैनन् । जसले जे दाबी गरेपनि मिश्रित निर्वाचन प्रणालीले गर्दा कुनै एक पार्टीको बहुमत आउने सम्भावना भने छैन ।
पुष महिनामा काठमाडौ महानगरपालिकाका मेयर बालेन साह रास्वपामा प्रवेश गरेको भोलिपल्ट शेयर बजार ४७.५५ अंकले बढेको थियो । कुलमान रास्वपामा प्रवेश गर्दा पनि बजार बढेको हो । त्यस हिसाबले पनि शेयर बजारले यसपटक नयाँ राजनीतिक दल र शक्ति खोजिरहेको भान हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी, सुधारिएको गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेस यी सबैको आर्थिक सिद्धात मुलतः पुँजीवादी नै हो । अर्थात्, उदारवादी एवं नीजिक्षेत्रमैत्री आर्थिक प्रणाली नै उनीहरूका रोडम्याप हुन् ।
देशमा दुई तिहाइ जनमत कम्युनिष्टहरूकै भएपनि विभिन्न कारणले उनीहरू एकअर्कामै ज्यादा लडाइँ गर्दा यसपटक मतदाता विरक्तिएका देखिन्छन् । त्यसकारण पनि फागुन २१ को ब्यालेट यसपटक कम्युनिष्टहरूको पोल्टामा पर्ने सम्भावना निकै कम छ । तसर्थ यसपटकको निर्वाचनले शेयर बजार अवश्य बढाउँदै लैजानेछ । किनकि शेयर बजारले जहिले पनि नीजिक्षेत्रमैत्री दल र उम्मेदवारहरू खोजिरहेको हुन्छ । खुल्ला एवं राज्यबाट नियन्त्रण नगरिएको स्वतन्त्र व्यवसायिक वातावरण खोजिरहेको हुन्छ । यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित पुँजीवादलाई पछ्याएका पार्टीहरूको माहोल बनिरहँदा शेयर बजारले ‘ग्रिन सिग्नल’ दिनु स्वभाविक हो ।
देशले नयाँ र युवाहरू नै खोजेको परिप्रेक्ष्यमा निर्वाचन हुँदैछ, माहोल नयाँ र युवाहरूकै आसपास आइरहँदा अबका दिनमा शेयर बजार बढ्दै जाने कुरामा दुइमत छैन ।
माघ ६ गते दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दिएलगत्तै शेयर बजारले ४२ अंकको छलाङ मारेर ‘ग्रिन सिग्नल’ दिइसकेको छ । जति-जति निर्वाचन नजिकिँदै जानेछ र माहौल पनि नयाँहरूको पक्षमा भएछ भने त्यति नै शेयर बजार बढ्न सक्ने देखिन्छ । जस्तो कि ०६४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टी माओवादीको माहौल बढिरहँदा र उसैको पक्षमा निर्वाचनको नतिजा आउँदा शेयर बजार धेरै नै घटेको थियो । सो वर्ष ०६४ मंसिरमा १ हजार २५ अंकमा रहेको शेयर बजार परिसुचक निर्वाचनको समय चैत्रमा आइपुग्दा ७ सय ४७ अंकमा झरेको थियो । त्यतिखेरका अर्थमन्त्री डा. बाबुरामा भट्टराइले ०६५ साल भदौ २ गते शेयर बजार जुवाघर हो भनेपछि त झन् बजारको मनोविज्ञान निकै खस्केको थियो । अर्थमन्त्रीको रूपमा भट्टराइको सो अभिब्यक्तिपछि बजार १०७५ अंकबाट क्रमशः २९२ अंकसम्म तल झऱ्यो ।
तर माओवादी क्रमशः सत्तामा अभ्यस्त भएपछि उसले आफ्ना घोषणापत्रमा उल्लेखित धेरै नीति/कार्यक्रम छोड्यो । पुराना दलहरूसँगको सहकार्य बढाउन थालेपछि बजार सम्हालिएर बढ्न थालेको हो । नेपालमा दृश्यमा देखिनेगरी अलिकति गरिव तथा उपेक्षित वर्गको मुद्दालाई बोकेको, समाजवादको यात्रा तय गर्छौं भन्ने पार्टी माओवादी नै थियो । तर, अहिले माओवादी पार्टी मूल रुपमा विभिन्न कम्युनिष्ट भनिने सुधारवादी दलहरूसँग गठबन्धन गर्दै ‘नेकपा’ बनेको छ । उसले जनयुद्ध सुरु गर्दाताकाको माग र मुद्दा धेरैजसो छोडिसकेको छ । अहिले त काङ्ग्रेस, एमाले र नेकपामा तात्विक फरक छैन । सैद्धान्तिक हिसाबले केही फरकपना त होला, तर उसले दुई दशकबीच गरेका काम र परिपाटी काङ्ग्रेस-एमालेकै जस्तो हो ।
यस्तै, एमाले नामले कम्युनिष्ट भएपनि काङ्ग्रेस भन्दा पनि उदार र पुँजीवादी ढर्राको पार्टी हो । काङ्ग्रेस त भन्नै परेन, उ घोषित रुपमै उपल्लो वर्गको, पुँजीवादको पक्षपोषक पार्टी हो । यसकारण शेयर बजार अहिले दलिय सिद्धान्तका आधारमा डराएको छैन, बरु निर्वाचनबाट भ्रष्ट नेताहरू दोहोरिने पो हुन् कि भन्ने शंसयचाहिँ छ । तर यसपटक सुधारिएको नेपाली काङ्ग्रेसले पनि सभापति गगन थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको छ । धेरैजसो बुढापाका र कतिपय भ्रष्टाचारमा मुछिएकाहरूले काङ्ग्रेसमा टिकटै पाएका छैनन् । अरु दलहरूमा पनि युवाहरूको लहर बढी देखिन्छ । त्यसकारण देशले जेनजी आन्दोलनको पृष्ठभूमिमा नयाँ र युवाहरू नै खोजेको परिप्रेक्ष्यमा निर्वाचन हुँदैछ, माहोल नयाँ र युवाहरूकै आसपास आइरहँदा अबका दिनमा शेयर बजार बढ्दै जाने कुरामा दुइमत छैन ।
प्रतिक्रिया