आसन्न निर्वाचन : कांग्रेस-एमालेको सामूहिक दाहसंस्कार !

आसन्न निर्वाचन : कांग्रेस-एमालेको सामूहिक दाहसंस्कार !


मुलुक यतिबेला निर्वाचनमय भएको छ । माघ ६ गतेको नामांकन-पत्र दर्तापछि सबै राजनीतिक दलहरू आ-आफ्नो हैसियत अनुसारको चुनावी प्रचार-प्रसारमा होमिइसकेका छन् । तर, यसपटक भने पहिले-पहिलेका चुनावजस्तो गाडी-घोडाका ताँती र लावालस्कर कम्तीमा अहिलेसम्म देखिएको छैन ।

सम्भवतः निर्वाचन आयोगको आचार-संहितालाई दलहरूले पालना गरेको पनि हुन सक्छ । नभए, पुराना भनिने दलहरू यसपटक अत्यन्तै रक्षात्मक स्थितिमा पुगेकाले पनि हुन सक्छ । जे भएपनि यो राम्रै संकेत र लक्षण हो ।

उल्लेख्य विषय के छ भने- यसपटक नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी कुनैको पनि चुनावी ‘दम’ देखिएको छैन । प्रारम्भदेखि नै यिनीहरू रक्षात्मक स्थितिमा देखिएर मुर्झाएका छन् ।

करीब ३५ वर्षदेखिको भ्रष्टाचार, अनियमितता र राष्ट्रदोहनमा सरिक नेपाली कांग्रेस, एमाले र एकाध महिनाअघिसम्मको माओवादी केन्द्र यतिबेला निर्वाचनमा जनताका सामू मैदानमा जान समेत सकेका छैनन् । उनीहरू डराएका छन्, धकाएका छन् र एक्कासी चुनाव आउँदा हतप्रभ भएका छन् । तिनका एजेण्डा पनि केही छैनन् । भए पनि कुन जनताले पत्याइदिने ? एजेण्डा र घोषणा-पत्र त ३५ वर्षदेखि यताका पनि नराम्रा कहाँ थिए र ! तर, खै त… त्यो एजेण्डा र घोषणा-पत्र अनुसारको काम ? आफ्ना सबै वाचाहरू विरुद्ध गएर केवल धनोपार्जनमा मात्र अर्जुनदृष्टि लगाएको नेपाली जनताका नाङ्गा आँखाले देखेका थिएनन् र छैनन् ?

चरम भ्रष्टाचार, राष्ट्रदोहन र कुशासनको पर्याय भएका पुराना भनिने माथि उल्लेखित ‘(अ) राजनीतिक दल’हरूले यहाँका नागरिक, लोकतन्त्र र सिङ्गो मुलुकमाथि गम्भीर धोका दिएर बेइमानी गरेका छन् । यो सत्यलाई नकार्ने उनीहरूसँग कुनै बहाना अब बाँकी छैन ।

नेपाली कांग्रेसले केही हदसम्म, नयाँ नेतृत्व छनोट गरेर झिनो सुधार अवश्य गरेको छ । तर पनि उसको काममा पुरानै प्रवृत्तिको पुनरावृत्ति हुने छैन भन्ने प्रत्याभूति अहिलेसम्म कांग्रेस नेतृत्वले दिन सकेको स्थिति छैन ।

अर्कातर्फ, केपी ओली नेतृत्वको पार्टी एमाले अझै पनि पूर्णतः पुरानै ढाँचा, शैली र रवैयामा चलिरहेछ । मानौं- जनता उसका कमैया र दास हुन् । समयअनुकूल आफूलाई सुधार्ने एक हदसम्मको काम नेपाली कांग्रेसले गरे पनि, एमालेले यथास्थिति रोजेको मात्र छैन; पश्चगमनकै बाटो सकारेको छ । एमाले कुनै राजनीतिक दल नभएर ओलीको एकल स्वामित्व रहेको ‘कम्पनी’मा परिणत भएको छ । यस अर्थमा, यो निर्वाचनमा एमाले सबैभन्दा रक्षात्मक स्थितिमा रहन गएको छ ।

अर्थात्, आ-आफ्नो सत्तासीनकालमा गरेको चरम राष्ट्रदोहनको कुशासनले गर्दा एमाले, कांग्रेस र पुरानो माओवादी जनतामाझ जान सकिरहेका छैनन् । उनीहरूको लामो समयदेखिको सत्तारोहणमा शुभ-लाभ प्राप्त गर्ने सीमित कार्यकर्ताको सानो झुण्ड मात्र उनीहरूसँग छ ।

अबको निर्वाचनमा केवल कार्यकर्ताको बलमा मात्र आफ्नो पक्षमा परिणाम ल्याउने आशा कांग्रेस र एमालेले नगर्दा हुन्छ । चुनाव कार्यकर्ता मात्रले जिताउने होइनन् । चुनाव जित्न जनता उसको पक्षमा बिनाशर्त र बिनास्वार्थ उत्रिएकै हुनु पर्दछ । यी दुबै कुरा कम्तीमा पनि एमाले, कांग्रेस र पूर्वमाओवादी कसैसँग पनि यो पंक्ति लेखिरहँदासम्म देखिंदैन ।

अब पुरानै शैलीमा मासु-भात, पेट्रोल कुपन, लठैत परिचालन तथा नोटका बिटा र साडी-चोलो बाँडेर चुनाव जित्ने दिन र समय कांग्रेस-एमालेका लागि सम्पूर्णमा सकिएको छ । त्यसमा, ओली र कांग्रेसलाई जेन-जी क्रान्तिमा ७६ जनाको हत्या अभियोग समेत लागेको छ । स्कूले नानी-बाबूहरूको छाती र टाउकामा ताकी-ताकी गोली हानेको प्रामाणिक सत्यले यो नृशंस हत्याको कालो-टीका ओली, एमाले र सत्ता-सहयात्री भएको कांग्रेसको निधारमा लागेकै छ ।

भदौमा भएको महान् जेन-जी क्रान्तिले नेपाली जनताको चेतना स्तरलाई ह्वात्तै बढाएको छ । अब नेपालीलाई गुण्डा दलले तह लगाएर मासु-भात र नोटले कसैले किन्न नसक्ने यस्तो अभूतपूर्व क्रान्ति भएको छ कि, त्यसले यसपटकको निर्वाचनमा पुरानो आंकडा लिएर बस्ने एमाले-कांग्रेस चित् खानेछन् । समयले परिवर्तन खोजेको छ, कुशासनबाट मुक्ति चाहेको छ । त्यसैले शायद अब धेरै समयका लागि कांग्रेस-एमालेले नेपालको राजनीतिक मैदानबाट खेलाडीको रूपमा बाहिरिएर निरीह दर्शक बनेर बस्नु पर्नेछ ।

नेपाली जनतालाई जे भए पनि, जो भए पनि ‘नयाँ’ चाहिएको छ । यसो भन्नु कुनै अति हुँदैन कि – नेपाली जनता कांग्रेस-एमालेको सामूहिक दाहसंस्कार गरेर मात्र सन्तुष्ट हुन आतुर छन् । कम्तीमा पनि अहिले त्यस्तै देखिएको छ ।