राजनीतिमा भावना कि भावनामा राजनीति ?

राजनीतिमा भावना कि भावनामा राजनीति ?


नेपाली जनताको भावनामा राजनीति गरेर विगतमा धेरै मानिसहरू यो देशको नेता बने । गरिबीका नाममा, विभेद र असमानताका नाममा, विभिन्न कारणले थाकेका मनलाई जगाउने र भरिएका आँखाको आँशु पुछ्ने नाममा निर्वाचन जित्नेहरू मध्ये कमैले आफूले चुनावताका गरेका बाचा पूरा गरे । हामीकहाँ भोकका नाममा राजनीति गर्नेहरूको सङ्ख्या ठुलो छ तर भोक मेट्न आवश्यक रोजगारी सिर्जना गर्ने काम भने कसैबाट हुन सकेन । उद्योग/ब्यवसाय खोल्नका लागि सहज हुने नीति बनेन, न त वातावरण नै बनाइयो । निर्वाचनअघि सुकुम्बासी समस्यादेखि रोजगारीलगायत जीवन बाँच्न सहज हुने कुराहरू गरेपनि निर्वाचनपछिका प्राथमिकता सरकारमा जाने र गएपछि टिकीरहने कुरा नै प्रमुख बन्यो । जो जान सकेनन्, सरकार परिवर्तन उनीहरूका लागि महत्वपूर्ण बन्यो ।

राजनीतिमा भावनाको खेल हाम्रो देशमा पुरानै हो । जनताको मन जित्नका लागि गरिएका अनेक क्रियाकलापलाई हेर्दा कतिले यसलाई सकारात्मक बाटोतिर लगेर सफलता प्राप्त गरेको देखिन्छ भने कतिले चाहिँ नकारात्मक बाटोतिर लगेको देखिन्छ । जनताको भावनालाई एकजुट गरेर श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्नुभएको थियो । बिसे नगर्ची लगायतका मानिसहरूबाट सल्लाह/सुझाव र १२ हजार घर-धुरीबाट एक/एक रुपैयाँ सहयोग उठाउनु भनेको पैसाको मात्र जोहो थिएन, भावनाको जतन पनि थियो । जनताबाट लिएको उक्त सहयोग पैसाको ‘कलेक्शन’ भन्दा बढी भावनाको ‘कलेक्शन’ थियो भन्न सकिन्छ । राजा एक्लै छैनन्, उनको साथमा हामी छौँ भन्ने जनभावना जोड्नका लागि पृथ्वीनारायण शाहको दूरगामी सोच थियो त्यो ।

विभिन्न कालखण्डका राजनीतिक परिदृष्यमा भावनालाई अगाडि सारेको देखिन्छ । राणाकालीन राजनीतिमा त झन् ‘यसले यसो भन्यो, उसले उसो भन्यो’ भनेर शासकहरूबीच एकार्काको भावनामा खेलेरै राजनीति अघि बढ्यो । जसलाई भावनाको नकारात्मक प्रयोगका रुपमा लिन सकिन्छ । पञ्चायतकालमा उम्मेद्वारहरूले छेपारोलाई पनि नमस्कार गरे भनेर हँसिमजाक गरिन्थ्यो । खासमा राजनीति सत्ताको खेल मात्र होइन । राजनीति मानिसको आशा, डर, पीडा, पहिचान, सपना जस्ता कुरासँग जोडिएको हुन्छ । राजनीति मूलतः भावनाबाटै जन्मिन्छ । गरिबी, विभेद, आक्रोश, दुःख लगायतका कुराहरू यसभित्र पर्छन्, जसमा परिवर्तनको चाहना लुकेको हुन्छ । माओवादी आन्दोलनदेखि जेन्जी आन्दोलनसम्म भावनाका उपज हुन् । माओवादीले गरिबी, विभेद र असमानतालाई आन्दोलनको मुख्य आधार बनाए भने जेन्जी आन्दोलन भ्रष्टाचारविरुद्धको आक्रोश थियो । एक-दुई जनाको भावना या आक्रोशबाट सुरु भएका विद्रोहले सामूहिक रूप धारण गरेर राजनीतिमा परिणत भएका उदाहरणहरू पनि छन् । मधेश आन्दोलन यस्तै भावना र आक्रोशको परिणाम थियो । केही ब्यक्ति, समूह हुँदै अन्ततः आन्दोलनमा परिणत भएको थियो । पछि यसले राजनीतिको रूप लियो । मधेश आन्दोलनपछि मुलुकमा मधेशकेन्द्रित विभिन्न नामका राजनीतिक दलहरू बने ।

भावनाबाट सुरु भएका आन्दोलनहरूबाट नेतृत्व जन्मन्छ । तिनले निरन्तरता कसरी पाउँछन् या के-कस्ता काम गर्छन् भन्ने कुराचाहिँ उनीहरूको नियतमा भरपर्छ । कतिले जनताको भावनालाई आक्रोशमा बदलेर जातीय, धार्मिक द्वन्द्व फैलाउन पनि सक्छन् । कतिले राष्ट्रवादी भावनालाई उचालेर आफ्नो स्वार्थ सिद्ध गर्न पनि सक्छन् । कतिले मुलुकलाई शान्ति र समृद्धितिर अगाडि बढाउन पनि सक्छन् । नेतालाई जनताले गर्ने विश्वास भनेको पनि उनले मेरो कुरा बुझ्छन्/बुझ्छिन्, उनी त हाम्रो मान्छे जस्तो लाग्छ, उनी हाम्रो आवाज हुन् भन्ने ठानेर नै हो । के भावनाको राजनीति गर्नु सही हो त ? भावनामात्रैको राजनीतिले देश नचलेपनि भावना बिनाको राजनीति सजिव र जीवन्तचाहिँ हुँदैन । जनभावनालाई कसरी प्रयोग गर्ने भन्ने कुराले ठुलो महत्व राख्छ । एकार्काबीच जोड्ने कि तोड्ने ? भावनालाई जनता उक्साउने हतियारको रूपमा मात्रै प्रयोग गर्ने कि त्यसलाई वास्तविकतामा बदल्ने भन्ने कुरा नेतृत्वमा भरपर्छ । विश्वमा हिटलर, मुसोलिनी, इदी अमिन लगायतका शासकले जनताको भावनाको नकारात्मक प्रयोग गरे भने पृथ्वीनारायण शाह, महात्मा गान्धी, नेल्शन मण्डेलाहरूले सकारात्मक रूपमा प्रयोग गरे ।

मानिसलाई एकार्कामा जोड्ने सबैभन्दा ठुलो भावना शब्दमार्फत ब्यक्त गरिन्छ । तर शब्दले मात्रै भावनाको प्रतिनिधित्व भने गर्दैन । शब्दले सूचना या जानकारी मात्र दिँदैन, उर्जा पनि दिन्छ । राम्रा शब्दहरू बोल्दा मानिसमा सकारात्मक उर्जा प्रवाह हुन्छ भने नराम्रा शब्दहरूले नकारात्मक उर्जा दिन्छ । माहात्मा गान्धी, नेल्शन मण्डेलाहरूले सकारात्मक शब्दहरू प्रयोग गरे, करुणा, क्षमा र मेलमिलापलाई महत्व दिए । बेनिटो मुसोलिनी, एडोल्फ हिटलरहरूले राष्ट्रियताको नाममा जनताको मस्तिष्कमा आक्रोश र घृणाको बिजारोपण गरे । राजनीतिमा भावना मात्रै भयो भने त्यो क्षणिक हुन्छ, त्यसैले विवेक चाहिन्छ भन्ने छ । विवेक बिनाको भावनाले देशलाई सकारात्मक बाटो दिन सक्दैन । यस्तै भावना बिनाको राजनीतिले मानवतालाई समेट्दैन । त्यसैले राजनीतिमा भावना आवश्यक हुन्छ तर भावनालाई नकारात्मक बाटोतर्फ डो ऱ्याउने राजनीति गर्नुचाहिँ जनतालाई धोका दिनु हो ।

राजनीति बुझ्नका लागि महाभारत अध्ययन गर्नैपर्ने ग्रन्थ हो । त्यसो त, राजनीति शास्त्रमा विभिन्न पुस्तकहरूको पढाई हुन्छ । तर ति सैद्धान्तिक ज्ञान प्राप्त गर्नका लागि मात्रै उपयुक्त छन् । ब्यवहारिक ज्ञान प्राप्तिका लागि र अहिले विश्वमा भइरहेका क्रियाकलापलाई जोडर हेर्नका लागि महाभारत महत्वपूर्ण दस्तावेज हो । राजनीतिका लागि मात्र नभइ जीवनमा विभिन्न पक्षलाई बुझ्न महाभारतको अध्ययन आवश्यक छ । विवेक बिनाको भावनाले ग्रसित धृतराष्ट्रको पुत्रमोहले राजधर्मलाई जित्दा विनास निम्तियो । जेनजी आन्दोलनले उठाएको ‘नेपो बेबी’ शब्द महाभारतमा ‘सन्तान मोह’को रूपमा उल्लेख छ । इर्ष्या र अहंकारले भरिएका दूर्योधन हुन् या अपमानको भावनाबाट द्रौपदीमा उब्जिएको विद्रोह या अर्जुनले म आफन्तलाई मार्न सक्दिनँ भनेर युद्धबाट पन्छिन खोजेको कुरा सबै भावनासँग सम्बन्धित छन् । महाभारतमा भावना र राजनीतिको सन्तुलन मिलेका पात्र कृष्ण हुन् । कृष्णको रणनीतिमा भावना र विवेक दुबै पाइन्छ । महाभारतमा भनिएको छ- राजनीति त्यतिबेला अधर्म हुन्छ, जब सत्ता मानवताको शत्रु हुन्छ ।

हामीकहाँ भावनात्मक नारा र क्रियाकलापमा सत्ता प्राप्त गर्न खोज्नेहरूको सङ्ख्या ठुलो छ । पछिल्लो समय जनमानसको भावना जित्नका लागि विभिन्न प्रयास जारी छन् । राजनीतिमा भावनासँगै एजेण्डा र दृष्टिकोण आवश्यक हुन्छ । स्थानीय पोशाक लगाएर, भाषा बोलेर, खुट्टा ढोगेर, खाना बनाएर, भान्सामा खाइदिएर, नाता-सम्बन्ध गाँसेर, जे-जे गरेर जनताको भावना जित्न खोजेपनि साथमा आफूले उक्त ठाउँमा गर्न खोजेको के हो – स्पष्ट खाका भने नेताहरूसँग हुन जरुरी छ । त्यसो त, संसदीय निर्वाचन विकास निर्माणसँग नभइ नीति-निर्माणसँग जोडिने कुरा हो । तर हामीकहाँ बुझाइ फरक भएकाले सपना बाँड्नुपर्ने अवस्था छ । राजनीतिमा भावना राम्रै कुरा हो, तर कृपया जनताको भावनामा भने राजनीति नगरौँ । पूरा गर्न सकिने बचन मात्र दिउँ, आफूले पूरा गर्न सक्ने भन्दा बढी बाचा गरेर जनताको भावनासँग खेलबाड नगरौँ ।