अख्तियारद्वारा वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

अख्तियारद्वारा वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इञ्जिनियर (अधिकृत आठौँ तह) भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आचार्यले पदीय मर्यादा विपरितका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा मंगलबार (१३ माघ) विशेष अदातलमा आरोपपत्र दायर गरिएको जनाएको छ । आचार्यले सेवा अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि गैरकानुनी सम्पत्ति आर्जन गरेको कसूरमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आचार्य इञ्जिनियर/राप तृतीय श्रेणी पदमा सेवामा प्रवेश गरेको २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्मको सम्पत्ति परीक्षण गरिएको थियो । परीक्षणका क्रममा रु ६ करोड ७८ लाख ९१ हजार १५ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएकाले सोही बराबरको बिगो असूल गरी कारबाहीको माग गरिएको छ ।