सहगोत्री विवाह गरेका व्यक्तिबाट प्राप्त भोजन, वस्त्र वा सम्मान स्वीकार गर्ने व्यक्तिलाई पनि दोष लाग्ने र पितृ अधोगतिमा नरक प्राप्त हुने उल्लेख विभिन्न शास्त्रहरूमा पाइन्छ । सहगोत्री र हाडनाता विवाहको निषेध धार्मिक कठोरता होइन; यो वंश, संस्कार, सामाजिक सन्तुलन र धर्मपरम्पराको संरक्षण हो ।
✍ नारायण अधिकारी
सनातन वैदिक परम्परामा विवाह केवल सामाजिक सम्झौता होइन; यो धर्म, वंश, संस्कार र उत्तराधिकारको मूल आधार स्तम्भ पनि हो । त्यसैले वेद निहित नीति-नियम र धर्मशास्त्रहरूले विवाहलाई सामान्य मानवीय चाहनाको विषय नभइ धर्मसंरक्षणको गम्भीर कर्मका रूपमा परिभाषित गरेका छन् । यही कारण विवाहसम्बन्धी नियमहरू स्मृति, पुराण र धर्मशास्त्रहरूमा अत्यन्त स्पष्ट, कठोर र अटल रूपमा निर्दिष्ट छन् । तीमध्ये एक अत्यन्त महत्त्वपूर्ण र सर्वमान्य नियम हो । शास्त्रमा सहगोत्री विवाहको पूर्ण निषेध गरिएको छ ।
वेद तथा धर्मशास्त्रानुसार सहगोत्री विवाह पशुवत आचरणको पापकर्म हो । अज्ञानतावश कसैले यस्तो विवाह गरेमा त्यो विवाह संस्कार सम्पन्न भएपश्चातको अवस्थामा स्वीकार गरिएको पत्नीलाई पत्नीको रूपमा नभई बहिनी सरह पूजा गर्नुपर्छ । तत्पश्चात् प्रायश्चितका लागि गधामा चढेर वा गधाको छाला ओढी गाउँमा निस्केर चर्को स्वरमा आफुले गल्ती गरेको र गल्तीको क्षमाग्रामसँग माग्नुपर्ने विधान विविध स्मृतिग्रन्थहरूमा उल्लेख गरेका छन् ।
जानी-जानी यस्तो विवाह गर्ने व्यक्तिलाई शास्त्रहरूमा नीच, म्लेच्छ, यवन वा महापातकी भनिएको छ । सहगोत्री विवाहबाट जन्मिएका सन्तानबारे पनि शास्त्रहरूले अत्यन्त कठोर शब्द प्रयोग गरेका छन् । स्मृति, पुराण र धर्मशास्त्रहरूमा सहगोत्री विवाहबाट जन्मिएका सन्तानलाई ‘चाण्डाल’ भनिएको छ ।
यहाँ ‘चाण्डाल’ भन्नाले कुनै जाति विशेष जनाइएको होइन; बरु गुण, कर्म र आचरणबाट उत्पन्न धर्मलाई त्याग गरेपछि आएको अवस्था जनाइएको हो ।
शास्त्रीय मान्यताअनुसार सहगोत्री गर्ने र सो विवाहबाट उत्पन्न सन्तानलाई न त व्यासासनमा बस्ने अधिकार हुन्छ, न त कर्मकाण्ड सञ्चालन गर्ने अनुमति नै हुन्छ । यहाँसम्म कि धर्मशास्त्रहरूमा त्यस्ता व्यक्तिलाई दिएको दानलाई ‘प्वाल परेको बालुवाको घडामा पानी राख्नु सरह निष्फल हुने’ भनिएको छ ।
अझ गम्भीर कुरा के छ भने, सहगोत्री विवाह गरेका व्यक्तिबाट प्राप्त भोजन, वस्त्र वा सम्मान स्वीकार गर्ने व्यक्तिलाई पनि दोष लाग्ने र पितृ अधोगतिमा नरक प्राप्त हुने उल्लेख विभिन्न शास्त्रहरूमा पाइन्छ । यसले स्पष्ट देखाउँछ कि धर्म केवल उपदेशको विषय होइन । धर्म सत् आचरणको कठोर अनुशासन पालन गर्ने नियम पनि हो ।
आजको विडम्बना के छ भने,यही शास्त्रीय निषिद्ध कर्मबाट उत्पन्न वा त्यसको समर्थन गर्ने व्यक्तिहरू स्वयंलाई धर्मगुरुको रूपमा प्रस्तुत गर्दै समाजलाई विवाह संस्कार, संस्कारविधि र धर्मका नियम सिकाइरहेका छन् । खुलेआम ‘सहगोत्री र हाडनाता भएपनि विवाह गर्न मिल्छ’ भन्ने प्रचार भइरहेको छ । यो केवल शास्त्रको अपमान मात्र होइन । यो त सनातन धर्मको मूल संरचनामाथिको गम्भीर आक्रमण पनि हो ।
टर्कीको एउटा प्रशिद्ध उक्ति छ- ‘स्यालको संगत गरियो भने कुखुरा चोरी गर्न पनि धर्म ठानिन्छ ।’
यही मानसिकताअनुसार आज चाण्डाल गुण र आचरण भएका व्यक्तिहरू मनुको सन्तानलाई विवाहसंस्कार र धर्मका नियम सिकाउन उद्यत हुनु कलियुगीन विकृतिको स्पष्ट संकेत हो ।
शास्त्रीय प्रमाण (यथावत्)
सहगोत्री विवाह निषेधका स्पष्ट प्रमाणहरू शास्त्रमा यसप्रकार छन्-
इत्थं सगोत्रसम्बन्धविवाहविषये स्थिते । यदि कश् चिद् ज्ञानतस् तां कन्यामूढोपगच्छति । गुरुतल्पव्रताच् छुध्यककद् गर्भस् तज्जोऽन्त्यतां व्रजेत् । भोगतस् तां परित्यज्य पालयेज् जननीमिव । अज्ञानादैन्दवैः शुध्येत् त्रिभिर् गर्भस् तु काश्यपः ।।
– निर्णयसिन्धुमा स्मृत्यर्थसारको निर्णय, पृ.२१९ ।
कुमारीसम्भवस्त्वेकः सगोत्रायां द्वितीयकः ।
ब्राह्मण्यां शूद्रजनितश्चाण्डालस् त्रिविधः स्मृतः ।।
– वे.व्या.स्मृ.१ । ९-१० ।
चण्डालयोनयस् तिस्रः पुराणे कवयो विदुः । कुमारीसम्भवा त्वेका सगोत्राऽपि द्वितीयका ।
ब्राह्मण्यां शूद्रजनिता तृतीया नृपपुङ्गव ।। – नारदीयपुराण २ । १३ । १-४ ।
असपिण्डा च या मातुरसगोत्रा च या पितुः ।
सा प्रशस्ता द्विजातीनां दारकर्मणि मैथुने ।। – मनुस्मृति ३ । ५ ।
यी प्रमाणहरूले स्पष्ट रूपमा देखाउँछन् कि सहगोत्री विवाह हाडनाता वा बृहत् पारिवारिक सदस्यबीचको विवाह हो, जुन धर्म, वंश र समाजका लागि घातक मानिएको छ ।
गुरु को हो ? अधिकार कसले दिन्छ ? आजको सबैभन्दा गम्भीर प्रश्न यही हो । व्यासासनमा बस्ने अधिकार कसलाई छ ? के केवल वाक्चातुर्यता, सामाजिक पहुँच वा आधुनिक लोकप्रियताले कसैलाई गुरु बनाउँछ ? गुरु, कथावाचक, पुरोहित, पुजारी हुनका लागि स्वयं शास्त्रसम्मत आचरण, तपस्या र मर्यादा अनिवार्य छन् ।
शास्त्र स्पष्ट भनिएको छ, धर्मको उपदेश दिनुअघि धर्मको मार्गमा स्थिर भएर श्रुति-स्मृति ज्ञानको गहन अध्ययन गर्न अनिवार्य छ । जो स्वयं संस्कार र शास्त्रविरुद्ध उभिएको छ, उसले धर्मको रक्षा होइन भ्रमको विस्तार मात्र गर्छ ।
अतः शास्त्रको विपरीत जाने यस्ता पातकी कर्म र प्रवर्तकहरूबाट आफू मात्र होइन, आफ्ना सन्तान र शुभचिन्तकहरूलाई जोगाउनु आजको आवश्यकता हो । सहगोत्री र हाडनाता विवाहको निषेध धार्मिक कठोरता होइन; यो वंश, संस्कार, सामाजिक सन्तुलन र धर्मपरम्पराको संरक्षण हो । धर्म जोगाऔँ । शास्त्र जोगाऔँ । सनातन परम्पराको रक्षा गरौँ ।
प्रतिक्रिया