कांग्रेसभित्र देखिएको पुस्तान्तरण र जेन-जी चेतनाले लोकतन्त्रलाई नयाँ ऊर्जा दिन सक्छ । यदि यो ऊर्जा नीतिगत स्पष्टता, संस्थागत सुधार र नैतिक राजनीतिसँग जोडिन सके लोकतन्त्र पुनः विश्वसनीय बन्न सक्छ । युवाहरू केवल अनुहार होइन, विचार र चरित्र लिएर नेतृत्वमा आउन सके परिवर्तन सम्भव छ ।
✍ रश्मिशेखर सुवेदी
लोकतन्त्र विश्वकै सबैभन्दा उत्कृष्ट व्यवस्था हो भन्ने मान्यता केवल सैद्धान्तिक सौन्दर्यमा मात्र सीमित छैन; यो मानव इतिहासले निरन्तर प्रमाणित गरेको राजनीतिक यथार्थ हो । आम निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि छानेर संसदमा पठाउने, संसदबाट सरकार निर्माण गर्ने, संविधान र न्यायालयको सन्तुलन मिलाउने प्रणाली नै लोकतन्त्र हो । यही प्रणालीले नागरिकलाई सार्वभौम बनाउँछ र राज्यलाई जवाफदेही ।
तर, आजको प्रश्न लोकतन्त्र के हो भन्ने नभइ लोकतन्त्र कसरी अभ्यास भइरहेको छ भन्ने हो । यही बिन्दुमा आएर लोकतान्त्रिक सिद्धान्त र नेपाली राजनीतिक व्यवहारबीच गहिरो खाडल देखिन्छ ।
नेपालमा पछिल्ला वर्षहरूमा लोकतन्त्रको नारा त लगाइयो, तर यसको मर्म क्रमशः कमजोर बनाइयो । निर्वाचन नियमित भयो, तर प्रतिनिधित्व अर्थहीन बन्दै गयो । संसद् चलिरह्यो, तर बहसभन्दा भागबण्डा हाबी भयो । संविधानको शपथ खाइयो, तर संविधानको आत्मा उल्लङ्घन भयो ।
परिणामस्वरूप, जनतामा लोकतन्त्रप्रति होइन, लोकतन्त्र चलाउने नेतृत्वप्रतिको गहिरो असन्तोष बढ्दै गयो । यही असन्तोषको गर्भबाट पछिल्लो समय ‘जेन-जी आन्दोलन’ जन्मियो । यो आन्दोलन कुनै संगठित पार्टीको ब्यानरमा होइन, पुस्तागत पीडा, निराशा र अपेक्षाबाट उत्पन्न भयो । राज्यले अवसर दिन नसकेको, नेतृत्वले भरोसा जगाउन नसकेको र पुरातन राजनीतिक संस्कारले भविष्य थिचेको अनुभूति युवापुस्ताद्वारा सडकमा पोखियो । जेन-जी आन्दोलन मूलतः लोकतन्त्रविरोधी थिएन; बरु यो लोकतन्त्रलाई सार्थक बनाउने आह्वान थियो ।
यो आन्दोलनको सबैभन्दा महत्त्वपूर्ण प्रभाव नेपालको पहिलो र लोकतान्त्रिक पार्टी – नेपाली कांग्रेसभित्र देखिनु ऐतिहासिक घटना हो । लामो समयदेखि नेतृत्वमा जरा गाडेर बसेको पुरातन संस्कारलाई युवाहरूले हिंसात्मक होइन, वैचारिक दबाब र संगठनभित्रको लोकतान्त्रिक प्रक्रियामार्फत सहज अवतरण गराए । नेतृत्व परिवर्तन भयो, पुस्तान्तरण सम्भव भयो र कांग्रेसले देखायो कि लोकतान्त्रिक पार्टीभित्र लोकतन्त्र अझै जीवित छ ।
यो परिवर्तन कुनै आकस्मिक घटना होइन । नेपाली कांग्रेसको वैचारिक डीएनएमै लोकतान्त्रिक समाजवाद, बहुलवाद र पुस्तान्तरणको चेतना निहित छ । बीपी कोइरालादेखि गणेशमान सिंहसम्मको परम्पराले सधैं समयअनुसार नेतृत्व रूपान्तरणको आवश्यकता स्वीकार्दै आएको छ । जेन-जी आन्दोलनपछिको नेतृत्व परिवर्तनले यही ऐतिहासिक निरन्तरतालाई आधुनिक सन्दर्भमा पुनःस्थापित गरेको हो ।
यसै सन्दर्भमा अन्य कतिपय राजनीतिक शक्तिहरूको व्यवहार झन् स्पष्ट देखिन्छ – लोकतन्त्रभन्दा ठूलो नारा, जनताभन्दा ठूलो नेता र विचारभन्दा ठूलो दासत्व बोकेर हिँडिरहेको दृश्यमा । आज पनि नेपाली राजनीतिमा विद्यमान छ- पार्टीभित्र प्रश्न उठाउन नपाइने, नेतृत्व आलोचनाभन्दा माथि राखिने र फरक मतलाई शत्रु ठानिने प्रवृत्ति । ती शक्तिहरूलाई समयले लोकतान्त्रिक होइन, औपचारिक रूपमा मात्रै राजनीतिक बनाएको छ ।
यदि लोकतन्त्रको नाममा उही पुरानो सत्ताखेल, उही गुटबन्दी र उही जिम्मेवारीहीनता दोहोरियो भने जननिराशा झन् गहिरो हुन्छ । यस्तो अवस्थामा लोकतन्त्र अझ कमजोर हुन्छ र खाली ठाउँमा अधिनायकवादी, भावनात्मक र अविवेकी राजनीतिले प्रवेश गर्छ । इतिहासले देखाएको छ- लोकतन्त्र आफैं मर्दैन, यसलाई कमजोर बनाइन्छ ।
तर, कांग्रेसले इतिहास सम्झियो । यही कारणले कांग्रेसभित्र नेतृत्व परिवर्तन सम्भव भयो, अन्य कतिपय दलहरूमा नेतृत्वको स्थिरता होइन, जडता देखिन्छ । बाहिर लोकतन्त्रको नारा लगाइन्छ, तर भित्र अधिनायकवादी संस्कार पालिन्छ । जनताका नाममा राजनीति गरिन्छ, तर निर्णय केही सीमित व्यक्तिको घेराभित्र हुन्छ ।
अब प्रश्न उठ्छ- अब के हुन्छ ? नेपाल आज निर्णायक मोडमा उभिएको छ । कांग्रेसभित्र देखिएको पुस्तान्तरण र जेन-जी चेतनाले लोकतन्त्रलाई नयाँ ऊर्जा दिन सक्छ । यदि यो ऊर्जा नीतिगत स्पष्टता, संस्थागत सुधार र नैतिक राजनीतिसँग जोडिन सके लोकतन्त्र पुनः विश्वसनीय बन्न सक्छ । युवाहरू केवल अनुहार होइन, विचार र चरित्र लिएर नेतृत्वमा आउन सके परिवर्तन सम्भव छ ।
अर्कोतिर, यदि लोकतन्त्रको नाममा उही पुरानो सत्ताखेल, उही गुटबन्दी र उही जिम्मेवारीहीनता दोहोरियो भने जननिराशा झन् गहिरो हुन्छ । यस्तो अवस्थामा लोकतन्त्र अझ कमजोर हुन्छ र खाली ठाउँमा अधिनायकवादी, भावनात्मक र अविवेकी राजनीतिले प्रवेश गर्छ । इतिहासले देखाएको छ- लोकतन्त्र आफैं मर्दैन, यसलाई कमजोर बनाइन्छ ।
राजनीतिमा गालीगलौज र अर्कोलाई अपमानित गर्ने पुरानो फोहरी शैली र संस्कारको संस्करण अब जीवित रहनु हुन्न । लोकतन्त्रका पक्षधरले त यो बाटो हिँड्नै हुँदैन । किनकि लोकतन्त्रले फरक मत र विचारको सम्मान गर्न सिकाउँछ ।
नेपालको वर्तमान संकट लोकतन्त्रको होइन, लोकतान्त्रिक नेतृत्वको संकट हो । समाधान पनि यहीँ छ- लोकतन्त्रलाई व्यवहारमा उतार्ने साहस, आत्मालोचना गर्ने इमानदारिता र पुस्तान्तरणलाई अवसर ठान्ने दूरदृष्टि ।
जेन-जी आन्दोलनपछि नेपाली कांग्रेसभित्र भएको नेतृत्व परिवर्तन केवल पार्टीगत घटना होइन । यो नेपाली लोकतन्त्रका लागि सन्देश हो । लोकतन्त्र सुध्रिन्छ, यदि सुधार्ने इच्छाशक्ति भित्रैबाट जन्मिन्छ भने । अब इतिहासले सोध्ने प्रश्न एउटै हुनेछ- यो अवसरलाई लोकतन्त्र बलियो बनाउनेतर्फ लगिँदैछ कि फेरि नारा र दासत्वको राजनीतिमा खेर फालिँदैछ ?
(लेखक नेपाली कांग्रेस झापाका सूचना, संचार तथा प्रचार विभाग संयोजक हुन् ।)
प्रतिक्रिया