(इतिहास स्मरण)
राजा महेन्द्रलाई ‘हृदयघात’ हुँदा जोन कोपम्यान र राजा दुईजना सँगै थिए । उनले नै शाही डाक्टरलाई तत्कालै बोलाएका थिए । जोन कोपम्यानलाई कतै-कतै सिआइएको एजेन्टको रुपमा पनि उल्लेख गर्ने गरिएको देखिन्छ । जोन कोपम्यान राजा महेन्द्रसँग एकान्तमा ह्विस्कीमा रम्नुको कारण के थियो ? राजा महेन्द्रको देहावसानपछि कोपम्यानले नेपाल सदाको लागि किन छोडेर गए ?
✍ सुनिल उलक

२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि तय गरिएको थियो । तर लामो समयसम्म दियालो बंगलामा बस्न पाउनुभएन । अचानक माघ १६ गते राति ११ बजे नै ‘हृदयघातले निधन’ भयो । समाचारका अनुसार भोलिपल्ट बिहान ३ः४५ मा चिकित्सकबाट देहावसानको घोषणा भयो । तर यो मृत्यु रहस्यमय रह्यो । धेरैले धेरै किसिमका तर्कहरू प्रस्तुत गरे ।
राजा महेन्द्रका केही भिन्न प्रवृत्तिको चर्चा गरौँ ।
आषाढ कृष्ण पक्ष नवमीको दिन वि.सं. १९७७ जेठ ३० गते शुक्रबार नारायणहिटी राजदरबारमा कान्ती राज्यलक्ष्मीको कोखबाट जन्मनुभएका युवराज महेन्द्रका दुवै आमाहरू भारत सीतापुरबाट विवाह गरेर ल्याइएको हुँदा राणा परिवारसँग धेरै निकटता थिएन । त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । युवराजको बाल्यकालमा दरबारभित्र नै शिक्षा-दीक्षाको प्रबन्ध मिलाइएको हुँदा खासै बाहिर पनि सम्पर्क हुँदैनथ्यो । दरबारमा शिक्षकको रुपमा कीर्तिराज दलीले दरबारमै शिक्षा दिन थालेका थिए । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थालेका थिए । अंग्रेजीका सुविख्यात कविका कविताहरू पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगाइयो । पण्डित दधिराम पनि दरबारमा पढाउन आइपुगेपछि दुबै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाउन लगाइयो । बिस्तारै संगीततर्फ पनि रुचि देखाउन थालेपछि भुपालमानसिंहलाई शास्त्रिय संगीत सिकाउन लगाइयो । यसरी दरबारभित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुँदै गए ।
पञ्चतन्त्रले जीवनलाई दुई विपरीत किसिमले बुझ्न र कसरी एकअर्कोमा सन्तुलन राख्न सकिन्छ भन्ने युवराज महेन्द्रलाई । साथै जीवनमा बिनम्र बन्न पनि सिकायो । कणिक नीतिका कथाहरू र शिक्षाहरूलाई बाल्यकालमा ध्यानसँग पढेका युवराजले आफ्नो राज्यकालमा राजनैतिक रूपले कणिक नीतिका नियमहरूको उपयोग गरेका थिए । कणिक धृतराष्ट्रका प्रमुख मन्त्री थिए, कणिकको सल्लाहमा नै धृतराष्ट्रले राज्य सञ्चालन गर्दथे । पाण्डवसँगको युद्धमा कौरवहरूले कणिकको सल्लाह नै लिने गर्दथे । यसरी धृतराष्ट्रलाई कणिकले दिने सल्लाहलाई कणिक नीति भन्ने गरिन्छ । यसमा राजनीतिमा विरोधीसँग कसरी विजय गर्ने भन्ने सिकाएको छ । पछि राजा महेन्द्रले कणिक नीतिको आधारमा नै राज्य सञ्चालन गरेका थिए ।
घोडचढीमा सिपालु रहेका युवराजको लागि दरबारमा सानो घोडा नै राखिएको थियो । राजा महेन्द्र युवराज छँदै पनि उनको स्वभाव अलि भिन्न थियो । यस्तैमा युवराज महेन्द्र बिरामी भएपछि दरबारमा सुसारेको ब्यवस्था पनि गराइएको थियो । दरबारमा सुसारेको रुपमा रुम्जाटारकी रम्बा गुरुङलाई ल्याइएको थियो । दरबारभित्र नै रहने माहोलका कारण रम्बा गुरुङसँग निकट हुँदा गर्भवती बनाउन पुगे । दरबारमा जस्तो परिस्थिति भए पनि भ्रुणहत्या गरिँदैनथ्यो । जसले गर्दा रम्बालाई दरबारले ल्याइतेको रुपमा स्विकार गऱ्यो । केवल १३ वर्षको उमेरमा नै महेन्द्र बाबु बने । रम्बाको नाम दरबारले गीता राखिदियो र ल्याइतेसरहको अधिकार दियो । यसरी आमा-छोरालाई सम्पूर्ण खर्चको ब्यवस्था दरबारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने वञ्चित नै राखियो । गीताबाट जन्मिएका छोरा रवीन्द्र, बाबुजस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले आमालाई भने हेरेनन् । दरबारले चार जना नोकरसहित वार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर, महेन्द्रको देहावसानपछि यी खर्चहरूमा कटौती गरियो ।
यसरी दरबारभित्रकी सेविकासँग नै लसपस भेटिएपछि युवराजको विवाह छिटोछिटो श्री ३ जुद्धशम्शेरको नातिनी तथा हरिशम्शेरको छोरी ईन्द्र राज्य लक्ष्मीसँग वि.सं. १९९७ बैशाख २६ गते गराइयो । विवाहको दश वर्षपछि दिल्ली पलायन हुनु केवल दुई महिनाअगाडि युवराज धीरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी ईन्द्रको देहावसान भयो ।
युवराज्ञी ईन्द्रसँगको विवाहपछि युवराज महेन्द्रले युवराज्ञी ईन्द्रको लागि गोकर्णको जंगलभित्र सम्झना सदन बनाएका थिए । यदाकदा फुर्सद पायो भने सम्झना सदन पुग्दथे । युवराजले यसलाई शान्तिको आश्रयस्थल (Haven of peace) भन्दथे । यहीँ बेला-बेला साली रञ्जना पनि दिदीको साथ पुग्दथिन् । अचानक दिदी ईन्द्रको देहावसानपछि युवराज साली रञ्जनाको नजिक रम्न थाले । युवराज महेन्द्रले, बाबुसँग निहु खोज्दै साली रञ्जनासँग विवाह गर्न जिद गर्न थाले । बाबुले पहिलो विवाह तत्कालिन राणा श्री ३ जुद्धको नातिनीसँग गर्न बाध्य भए पनि देशमा प्रजातन्त्र आइसकेर राणाहरू अधिकारविहीन भइसकेको हुँदा छोरा युवराजको दोश्रो विवाह राणा परिवारसँग नगराउने ठानिसकेका थिए । भोलि राजा बन्नुपर्ने युवराजको लागि भारतकै कुनै रियासतकी राजकुमारीसँग विवाह गराउने सोचमा थिए बाबु त्रिभुवन । छोराको जिद्दीपछि राजा त्रिभुवनले पनि माहिला छोरा हिमालयलाई राजगद्दीका हकदारको रुपमा युवराज घोषणा गर्ने तैयारी गर्न थालेका थिए । यता युवराज महेन्द्रचाहिँ रञ्जनासँगको प्रेममा चुर्लुम्म डुबेर युवराजको पदबाट राजिनामा दिइ साधारण जनतासरह रञ्जनासँग नै जीवन बिताउने सोचमा थिए । बीचमा नेपाली कांग्रेसका नेता बिपीले राजा र युवराज दुबैलाई सम्झाएर राजा त्रिभुवनलाई रञ्जना राणासँग विवाहको लागि मनाउन सफल भए । यसरी युवराजको दोश्रो विवाहमा राजी भए पनि पछि आउन सक्ने विवादको आँकलन गरि दोश्रो विवाहपछि सन्तान जन्माउन नपाउने शर्त राखे । जसको लागि भनिन्छ – विवाहपूर्व नै पाठेघर फ्याक्न लगाएका थिए । यो के कति सत्य हो भन्ने कुनै आधार नभएपनि विवाहपछि सन्तान नजन्माउने शर्त भने रञ्जनाले स्विकार गरेकी थिइन् ।
यसरी ईन्द्र राज्य लक्ष्मीको देहावसानको दुई वर्षपछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)सँग विवाह भयो । राजा त्रिभुवन यस विवाहका लागि भित्रदेखि नै खुशी थिएनन् । तसर्थ युवराज महेन्द्रले यो विवाह साथीसंगी र भाइहरूको साथ वागदरबारबाट रत्नलाई सिधै नागार्जुन दरबारमा लगेका थिए । शुरुमा नारायणहिटी दरबारमा भित्र्याउन अस्विकार गरिएको थियो । तर पछि राजा त्रिभुवनले यो सम्बन्धलाई स्विकार गरे । हुन पनि पछि युवराज्ञी रत्नले दिदीका सबै सन्तानलाई आफ्नै सन्तानसरह हुर्काइन् ।
राजा महेन्द्रले राजगद्दी सम्हालेको ५ महिनामा नै वि.सं. २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए । शासन सम्हालेको एक वर्षभन्दा कम अवधिमा नै वि.सं. २०१२ असोज २२ मा पहिलो पञ्चवर्षिय योजनाको घोषणा गरेका थिए । तथा वि.सं. २०१२ मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो ।
राजा त्रिभुवनको भारत निर्वासन
२००७ सालमा राजा त्रिभुवन, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको षडयन्त्र र भारतीय राजदुत सिपिएन सिंहको गलत सल्लाहमा फँसेर भारतीय राजदुतावासमा शरण लिन पुगे । यसअगाडि राजा त्रिभुवनले नेपाली कांग्रेसलाई पाल्पा लगिदिन आग्रह गरेका थिए । पाल्पामा बसेर राणाशासनको अन्त्यको घोषणा गर्ने योजना थियो । तर कांग्रेस सधैं समयमा आवश्यक काम गर्न चुक्ने गर्दछ । जसले गर्दा समयमा हेलिकोप्टरको ब्यवस्था गर्न ढिलाइ हुँदा राजा त्रिभुवन भारतीय राजदूतको चंगुलमा फसे । यही नै नेपालको सबैभन्दा ठूलो दुर्भाग्य थियो । यसपछि नेहरू आफ्नो षडयन्त्रमा सफल हुँदै राजनैतिक रुपले नेपालको नियन्त्रण गर्न सफल भए । नेहरूले न राजा त्रिभुवनलाई साथ दिए न त पूर्णरुपले विश्वास नै गरे । त्यस्तै बिपीलाई पनि न बलियो साथ दिए न त पूर्णरुपले विश्वास नै गरे ।
नेपाललाई आफ्नो एक प्रान्त झैँ ब्यवहार गर्ने नेहरूले उत्तर प्रदेशका गृहसचिव गोविन्दनारायण सिंहलाई राजा त्रिभुवनको प्रमुख सल्लाहकारको रुपमा नेपाल पठाए । त्यो समयको नेपाल गजेटमा उनलाई दिइएको अधिकारको अध्ययन गर्दा उनी नै सर्वेसर्वा थिए । अझ मात्रिका मन्त्रिमण्डलको समयमा त सरकारी उच्च तहका ३०० कर्मचारी भारतीय थिए । मातृकाले नेहरूको सल्लाहमा एनएम बुचको अध्यक्षतामा एक आयोग गठन गरि उनकै सल्लाहमा प्रशासनिक सुधारका नाममा भारतीय कर्मचारीलाई नियुक्ति दिएका थिए । साथै नेपालमा सुरक्षाका लागि सैनिकको आवश्यकता नरहेको भन्दै नेपालको सैनिकहरूको संख्या घटाउन निकै ठूलो भूमिका खेलेका थिए । उनको करिव तीन वर्षको नेपाल प्रवासमा उनले नेपालको सुरक्षा परिषदको बैठक दिल्लीमा राख्न समेत सफल भएका थिए ।
नेहरूको चालबाजी बुझेका युवराज महेन्द्र मौकाको ताकमा थिए । राजा महेन्द्रले राजगद्धी सम्हालेपछि सबैभन्दा पहिले यिनै गोविन्दनारायण सिंहलाई भारत फिर्ता पठाए । तत्कालिन समयमा नेहरूले लेखेका पत्रहरूको चाङ नै अहिले पुस्तकका रुपमा आइसकेको हुँदा पनि नेहरूका तत्कालिन मनसायहरू अहिले सहजै पढ्न र बुझ्न सकिन्छ ।
युवराज महेन्द्र राजा बनेपछि
उपचार गर्दा गर्दै २०११ फागुन ३० गते अचानक स्विटजरलैण्डमा राजा त्रिभुवनको देहान्त भयो । युवराज महेन्द्रको काँधमा सिङ्गो राष्ट्रको बोझ आइपुग्यो, उनी राजा बने । देशमा राणाबाट मुक्तिपछि राजनीति गतिलोसँग गर्न जान्ने राजनेता जन्मिएको थिएन । एकअर्कोमा आक्षेप र खिचातानीमा नै समय बितिरहेको थियो । आफ्नो देशबाट राणाशासन हटाउनको लागि भारतको सहयोग लिएको हुँदा भारतले आफ्नो हैकम दरबारमा तथा राजनैतिक नेताहरू बीचमा पनि बढाउन थालेको थियो । यसरी भारतको दबदबाको विरोधमा नयाँ राजा महेन्द्रले कदमहरू चाल्न थालिहाले । हुन त राजा त्रिभुवन जीवितै रहँदा पनि युवराज महेन्द्रले भारतको दबदबाको विरोधहरू गरि नै रहेका थिए । बाबु राजा हुने समयमा नै भारतको विशेष गरेर नेहरूको नीतिको विरोध गर्दै आएका राजा महेन्द्रले आफ्नो शासनकालमा अझ बढी भारत तथा नेहरूकै उपेक्षा गर्न थाले । विकासको लागि विश्वभ्रमण गर्न थाले । विभिन्न देशसँग सहयोगको लागि आह्वान गर्न थाले ।
राजगद्दी सम्हालेको ५ महिनामा नै वि.सं. २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए । शासन सम्हालेको एक वर्षभन्दा कम अवधिमा नै वि.सं. २०१२ असोज २२ मा पहिलो पञ्चवर्षिय योजनाको घोषणा गरेका थिए । तथा वि.सं. २०१२ मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । यसरी राजगद्दी सम्हालेको पहिलो साल नै दलहरू बीचको सामन्जस्य बढाउने प्रयासको थालनी पनि गरिसकेका थिए । २०१३ बैशाख २० गते भएको राजा महेन्द्रको शुभराज्याभिषेक नेपालमा विश्वका प्रमुख कुटनयिकहरूको पहिलो जमघट पनि थियो । यस शुभराज्याभिषेक समारोहले नेपाललाई विश्वभर चिनाउन मद्दत गरेको थियो । यस समारोहमा पहिलो पटक नेपालले विश्वभरका राजनयिकहरूलाई विशेष किसिमले स्वागत तथा सत्कार गर्ने अवसर पाएको थियो ।
यही मौकामा राजा महेन्द्रले अमेरिकी चलचित्र निर्माता लोवेल थोमसलाई शुभराज्याभिषेकको विशेष छायाँकन गरि चलचित्र सर्च फर प्याराडाइजका लागि अनुमति समेत दिएका थिए । यो चलचित्र स्वर्गको खोजीमा निस्केको एक अमेरिकी धनाढ्यको कथा थियो । पाकिस्तानको हुन्जा उपत्यकाको भ्रमणपछि काठमाडौंमा आएका थिए । यो चलचित्रपछि राजा महेन्द्र अमेरिका भ्रमणमा पुग्दा लस एन्जेल्स भ्रमणमा हलिवुड पनि पुगेका थिए । त्यहीँ प्यारामाउन्ट पिक्चरको स्टुडियोमा राजा महेन्द्रलाई ‘सर्च फर प्याराडाइज’ चलचित्र देखाइएको थियो ।
देशमा प्रजातन्त्र आगमनपछिको राजनैतिक घटनाक्रमलाई राम्ररी नियाल्ने हो भने त्यसबेलाका राजनैतिक दलहरू सक्षम भइनसकेको आभास हुन्छ । यसबीच मातृकाप्रसाद कोइराला दुई पटक प्रधानमन्त्री बने तर अन्य प्रधानमन्त्रीहरू लामो समय टिक्न सकेनन् वा भनौँ टिक्न दिएनन् । वि.सं. २००७ देखि २०१७ सालको बीचमा दलिय राजनीति निकै तल्लो स्तरको थियो । दाजुभाइ नै मिल्न सकेनन् दुबैलाई मिलाउने कांग्रेसी कार्यकर्ता भारतका नेतालाई गुहार्नसम्म पुगे ।
त्यस्तै घटना पछिल्लो समयको २०४६-४७ सालमा भएको नेपालको राजनैतिक परिवर्तनपछि देशमा बहुदलीय ब्यबस्था आगमनपछि पनि पूर्णरुपमा राजनीतिक ज्ञान नभएका राजनैतिक दलहरूका अगुवाबाट २००७ सालपछिको पारा देखाएको थियो । देशको आवश्यकता भन्दा आफ्नो ब्यक्तिगत र दलहरूको स्वार्थमा डुब्दा देशले विकास तथा परिवर्तन पाउन सकेन ।
देशमा प्रजातान्त्रिक सरकार बनेपछि राजा लामो विदेश भ्रमणमा निस्केका थिए । आफूले देशमा केही परिवर्तन गरेमा सहयोग गरिदिने अनुरोधका लागि पनि विवभिन्न प्रमुख देशका राजनयिकहरू भेट्न पुगेका थिए । विश्व-राजनीतिलाई नजिकबाट नियालेर फर्केका राजाले राष्ट्रिय आमचुनावबाट बनेको बिपी सरकारलाई पनि अपदस्थ गरिदिए । देशमा रहेका राजनैतिक आस्था भएकाहरूको सधैं यही गुनासो रहने गर्दछ, ‘किन राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरिदिए ?’ तर सोको विरोध कुनै पनि देशबाट भएन ।
देशका जनतासँग प्रत्यक्ष सम्वादको थालनी पश्चिम नेपालबाट गर्दा बाटोघाटोको अप्ठ्यारो महसूस गरि २०१८ मा पूर्व-पश्चिम राजमार्गको उद्घाटन गर्न पाउँदा राजा सबैभन्दा बढी खुशी भएका थिए । हुन पनि यस राजमार्गको निर्माणले पूर्वदेखि पश्चिमसम्मका नेपालीले आफ्नो देश सहजै चिन्न पाएका थिए ।
भनिन्छ, त्रिभुवन विश्वविद्यालय बनाउने समयमा देशको ढुकुटीमा रकम अभाव हुँदा मुमा बडामहारानी कान्ती र ईश्वरीको गहना बेचेका थिए । राजकाजको समय कतिपय कठोर निर्णयहरू पनि भए होलान्, जसलाई केही वर्गले सहजै स्विकार गर्न सकेनन् । तर, समग्रमा राजा महेन्द्रले चालेका कतिपय कदमहरू राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन् । राजा वीरेन्द्र धेरै नरमवादी थिए तर राजा महेन्द्र समयअनुकुल बन्थे । कहिले कठोर कहिले नरम भएर आवश्यक कदम चाल्थे ।
देशमा जातीय द्वन्द्वको तैयारी इन्दिरा गान्धीले गराउन चाहेको भनक पाएका थिए, राजा महेन्द्रले । जुन बेला भारतको राजधानी दिल्लीमा नेपालका जातीय अगुवाहरू इन्दिरा गान्धीसँग गोप्य छलफलमा ब्यस्त थिए, त्यही समय नै चितवनमा राजा महेन्द्रको देहावसान भएको थियो ।
यसपछि भारत राजा महेन्द्रसँग थप चिढियो । विभिन्न उद्योगहरूको स्थापनाको लागि महेन्द्रले चीन तथा रुसको सहयोग लिए । नेहरूले विरोध गरिरहे तर राजा महेन्द्रले आफ्नो गति रोकेनन् । यसरी भारतले नेपालप्रति आफ्नो दमन-नीतिको विरोधीको रुपमा राजा महेन्द्रलाई लिन थाल्यो । नेपाली कांग्रेसले सधैं भारत आफ्नो हितमा रहेको ठानिरह्यो तर नेहरूले कहिल्यै बीपीप्रति सहयोगी र सद्भाव राखेनन् । राजा महेन्द्रको १७ सालको कदमको भित्रीरुपमा सहयोग नेहरूको पनि थियो । दुई दिनअगाडि मात्र भारतीय सेना प्रमुख ठिमैया नेपाल भ्रमणमा रहनु र १७ सालको कदमपछि जननिर्वाचित प्रधानमन्त्री जेल कोच्चिएपछि भारतको संसदमा नेहरूले बोल्ने क्रममा एक सांसदले ‘नेपालका राजालाई धन्यवाद र बधाइ दिनुपर्छ’ सम्म भनेका थिए । साथै ठिमैयाको पक्षमा नेहरूले भनेका थिए, ‘उनी सम्मानको कार्यक्रममा पुगेका थिए तर अचानक राजाले यस्तो कदम चाले । यसमा ठिमैया अथवा भारतको कुनै साथ र सहयोग थिएन ।’ तर अनौठो संयोग वा योजना थियो त्यसबेला । राजाले प्रजातान्त्रिक सरकार अपदस्थ गरिरहँदा भारतीय राजदूत हरिश्वर डोयाल, भारतीय सेना प्रमुख जनरल ठिमैया र नेपालका सैनिक प्रमुख निरशम्शेर चितवनमा जोन कोपम्यानका साथ थिए । पुस १ गतेको बिहानै राजा महेन्द्रले जनरल ठिमैयाको हात नेहरूलाई सम्पूर्ण जानकारीसहितको पत्र पठाएका थिए । तर नेहरूले सो पत्र पुस ४ को बिहानमात्र पाए । पछि राजासँगको भेटमा नेहरूले ‘बीपी सरकार मात्र अपदस्थ गरेर संसद् भंग नगरेको भए हुने’ भनेका थिए भनिन्छ ।
राजाको रुपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन् । पूरा १७ वर्ष पनि शासन गर्न पाएका थिएनन् । तर छोटो अवधिमा पनि धेरै काम गरेर देखाएका थिए । शायद यो अवधिमा नेपालमा जुन किसिमको बिकासका पूर्वाधारहरू बने यसले पछिसम्म विकासका लहरहरू नै चले । गाउँ-गाउँमा पुगेर गाउँलेका झुप्रामा पुगेर उनिहरूको दुःख सुन्ने परिपाटी उनले शुरु गरेका थिए । जुन पछि राजा वीरेन्द्रले पनि नियमित गरे ।
वि.सं. २०२८ माघ ३ गते लामो छुट्टी मनाउने उद्देश्यले राजा महेन्द्र चितवनतर्फ लागेका थिए । प्रधानमन्त्री कीर्तीनिधी विष्टलाई माघ महिनाको मन्त्रिपरिषदको बैठक दियालो बंगलामा नै गर्ने जानकारी पनि दिएका थिए । साथै राजा यो छुट्टीमा देशको निकाशको लागि केही गहन निर्णय गर्ने मनसायले विचार–विमर्श गर्न पनि एकान्त खोज्दै थिए । चितवन जाँदा उनमा कुनै पनि किसिमको शारीरिक समस्या थिएन । साधारण अवस्थामा छुट्टीमा चितवन पुगेका राजा केही दिन आफूलाई ब्यस्त राख्न शिकारमा पनि गएका थिए ।
वि.सं. २०२६ मा राजा महेन्द्रले राजधानीबाहिर नेपालकै मध्य भाग पर्ने गरि महेन्द्र राजमार्गनजिकै शितकालिन दरबारको रुपमा दियालो बंगला बनाएका थिए । यो दरबार धार्मिक रुपले पनि महत्वपूर्ण देवहरूको भूमि देवघाटमा बनाइएको थियो । चारकोशे झाडीको जंगलको एक भागभित्र जीवनको उज्यालोको आशाको स्वरुप बनाइएको थियो दियालो बंगला ।
२०२८ सालको असोज १९ गते देखि २९ गतेसम्म रौटहट र बारा जिल्लामा धार्मिक दंगा भएको थियो । यसपछि नेपालका जनजातिका अगुवाहरूको रुपमा खड्गबहादुर गुरुङ, नरबहादुर गुरुङ, खगेन्द्रजंग गुरुङ, योगी नरहरीनाथ लगायत थुप्रैसँग इन्दिरा गान्धीले भेट गरेकी थिइन् । देशमा जातीय द्वन्द्वको तैयारी इन्दिरा गान्धीले गराउन चाहेको भनक पाएका थिए, राजा महेन्द्रले । जुन बेला भारतको राजधानी दिल्लीमा नेपालका जातीय अगुवाहरू इन्दिरा गान्धीसँग गोप्य छलफलमा ब्यस्त थिए, त्यही समय नै चितवनमा राजा महेन्द्रको देहावसान भएको थियो । नेपालमा पहिलो पटक भएको जातीय दंगामा ५१ ब्यक्तिको हत्या भएको थियो भने १८७४ घर जलाइएको थियो । यसको पीडा पनि राजा महेन्द्रलाई गहिरोसँग लागेको थियो ।
यस्तैमा माघ १० गते दियालो बंगलामा नै भएको मन्त्रिपरिषदको बैठकमा पनि भारतपरस्त एक–दुई मन्त्रीबाट केही विरोधका आवाजहरू आएका थिए । राजाले छलफलका लागि अर्को बैठक माघ १७ मा बोलाएका थिए । दलविहीन राजनीतिमा लागेको १० वर्ष भइसकेको हुँदा पनि देशमा बहुदलिय ब्यबस्थाको आवश्यकताको अनुभूति राजाले गरिसकेका थिए । बहुदलिय ब्यवस्थामा नेतृत्व भने बिपीलाई नै दिनुपर्छ भन्नेमा राजा निश्चिन्त थिए । राजाको आगामी योजना र नेतृत्वको आह्वानसहितको पत्र बोकेर श्रीभद्र शर्मा बिपी निर्वासनमा रहेको स्थान सारनाथ गइसकेका थिए । यसको जानकारी मन्त्रिमण्डलकै एक सदस्यले गोप्यरुपमा भारतलाई जानकारी पठाएको आशंका गरिएको थियो । वास्तवमा भारत अझै पनि बिपीको नेतृत्व चाहँदैनथ्यो । यस्तैमा माघ १७ को अर्को बैठक बस्नै नसकिने गरी राजा महेन्द्रको देहावसान भयो ।
यदि राजा महेन्द्र गम्भिर हृदयघातबाट पीडित थिए भने किन तत्कालै सुविधासम्पन्न अस्पतालमा लगिएन ? किन दियालो बंगलामा नै उपचार गर्ने असफल प्रयास भइरह्यो ?
राजा महेन्द्रको समयमा नै कीर्तिनिधी विष्टको सरकारले गरेको चीनिया नाकानजिकै रहेको भारतीय चेकपोष्टहरू हटाएको थियो । २०२६ साल साउन १० गते राष्ट्रिय पञ्चायतको बैठकबाट संकल्प प्रस्ताव पारित गराइ हिमाली नाकामा रहेका १७ भारतीय चेकपोष्ट, त्यहाँ रहेको वायरलेस अपरेटर तथा सैनिक तुरुन्त हटाउन लगाइएको थियो । यसबाट इन्दिरा गान्धी सरकार राजा महेन्द्रप्रति निकै रुष्ट भएको थियो । साथै कीर्तिनिधी विष्टले १९५० को सन्धीको कुनै औचित्य नरहेको भन्ने बक्तव्य समेत दिएका थिए । राणाशासन अझै केही समय टिकाउन मद्दत गर्ने लोभ देखाइ नेहरूले मोहनशम्शेरलाई १९५० को सन्धीमा हस्ताक्षर गर्न लगाएका थिए । तर पछि नेहरूले न राणालाई सहयोग गरे न त विपी र त्रिभुवनलाई नै सघाए । सबैलाई लोभ देखाउँदै आफ्नो स्वार्थ पूरा गरिरहे ।
शुरुमा सिक्किमलाई भारतमा गाभ्ने र त्यसपछि भारतले नेपालको तराइ क्षेत्रलाई टुक्राउने योजना बनाएको थियो । सन् १९६८ मा भारतीय जासुसी संस्था ‘र’को गठन भएको थियो । यसका प्रमुखका रुपमा आरएन काओ नियुक्त भएका थिए । काओ भारतीय जासुसको रुपमा परिचित भइसकेका थिए । जसले गर्दा काओ विभिन्न षडयन्त्रमा अगाडि बढे । तराइ टुक्र्याउने भनक पाएका राजा महेन्द्रले तुरन्तै भारतीय चेकपोष्टहरू हटाउन लगाएका थिए । अचानक राजाको निधन भयो । उता भारतले सिक्किमलाई भारतमा विलय गरिछोड्यो । काओ नेपालको तराई टुक्र्याउने योजनामा अगाडि बढ्दै थिए । अचानक भारतीय राजनीतिमा आन्तरिक समस्या बल्झियो जसले गर्दा प्रधानमन्त्री इन्दिरा गान्धी इमर्जेन्सी लगाउन बाध्य भइन् । सबै राजनैतिक क्रियाकलाप तथा अन्य योजनाहरू सबै रोकिए । काओको नेपालको तराइ टुक्राउने योजना पनि तुहियो, जसकारण नेपाल एउटा ठूलो संकटबाट बच्यो । अझै पनि भारत नेपालको तराइ टुक्र्याउने योजनामा नै रहेको देखिन्छ । काओसँगको कुराकानीका आधारमा एके यादवले आफ्नो पुस्तक ‘मिसन र’ मा यसको उल्लेख गरेका छन् ।
यी त भए षडयन्त्रका हुनसक्ने कारणहरू । राजा महेन्द्रको केही समस्या स्वास्थ्यको पनि थियो । २०२४ सालमा पहिलो पटक हृदयघात भएपछि बेलायतमा उपचार भएको थियो । वि.सं. २०२७ माघ १७ गते शिकारको क्रममा कञ्चनपुरमा बाघलाई ताकेर हानिएको गोली ढुङ्गामा ठोक्किइ उछिट्टिँदा छर्राले रानी रत्नलाई चोट लागेको थियो । रानी रत्नको उपचार त्यसबेला नेपालमा नै गरिएको थियो । शाही चिकित्सक मेजर जनरल सुशीलचन्द्र हल्डरको विशेष निगरानीमा उपचार भएको थियो । यस घटनाले पनि राजा महेन्द्रमा गहिरो चोट पुगेको थियो । वि.सं. २०२६ सालमा पनि शिकारकै क्रममा कञ्चनपुरको हरैयामा बाघलाई गोली प्रहार गर्दा गोली बाघमा नलागि उल्टै बाघले राजालाई आक्रमण गर्न लाग्दा नजिकै रहेका सुरक्षाकर्मीले बाघलाई गोली हानेर मारेका थिए । बाघको अप्रत्याशित आक्रमणको त्रासले राजा अचानक बेहोस भएका थिए । यसपटक भारतीय चिकित्सकहरूले नै उपचार गरेका थिए ।
सामान्य अवस्थामा माघ ३ गते दियालो बंगला पुगेका राजा महेन्द्रलाई तेश्रो पटक माघ १६ गते राति हृदयघात भएको भनियो । जसको कारणले १७ गतेको बिहान ३ः४५ मा निधन भएको जानकारी गराइयो । तर विवरणहरू अनुसार भने राजा महेन्द्रको उपचारका लागि भारतीय चिकित्सक एमएल भाटिया पनि आएका थिए । यदि एमएल भाटिया पनि उपचारमा संलग्न थिए भने राजा महेन्द्रलाई ब्यथाले केही दिनअगाडि नै समाएको हुनुपर्छ । शाही चिकित्सक सुशीलचन्द्र हल्डरले उपचार गरेका थिए । रानी रत्नको समेत उपचार गरेका हल्डर सेनाका चिकित्सक थिए । सेनामा उपरथी (मेजर जनरल) रहेका उनलाई रानी रत्नको सफल उपचारको लागि अति सुविख्यात सेवालंकार समेत दिइएको थियो । उनका साथै अर्का शाही चिकित्सक सच्चेकुमार पहाडी तथा मृगेन्द्रराज पाण्डे पनि खटिएका थिए । यसरी स्वदेशी विशिष्ट चिकित्सकले उपचार गरिरहेको समयमा एम्स (AIIMS)का प्रख्यात चिकित्सक एमएल भाटियालाई बोलाइयो । उनको उपस्थिति नै धेरैलाई प्रश्नचिन्ह राख्ने ठाउँ बन्यो । उनको आगमनपछि नै राजाको देहान्त हुँदा उपचारमा लापर्वाही वा षडयन्त्र भएको धेरै आशंका भयो ।
डाक्टर भाटिया एम्समा पहिलो पटक पेसमेकर प्रत्यारोपण गर्ने चिकित्सक हुन् । सन् १९६५ बाट पेसमेकर प्रत्यारोपण मात्र गर्दै थिए । तसर्थ कतै दियालो बंगलामा सीमित श्रोत र साधनका बीच पनि उनले अप्रेशन गर्ने कतै प्रयास त गरेनन् – जसको कारणले राजा महेन्द्रको देहान्त भयो । यदि राजा महेन्द्र गम्भिर हृदयघातबाट पीडित थिए भने किन तत्कालै सुविधासम्पन्न अस्पतालमा लगिएन ? किन दियालो बंगलामा नै उपचार गर्ने असफल प्रयास भइरह्यो ?
अर्को प्रसङ्ग जोन कोपम्यानको पनि आउने गर्दछ । उनको विवादास्पद भनाइ आएको थियो, राजा महेन्द्रलाई हृदयघात हुँदा कोपम्यान र राजा दुईजना सँगै थिए । उनले नै शाही डाक्टरलाई तत्कालै बोलाएका थिए । जोन कोपम्यानलाई कतै-कतै सिआइएको एजेन्टको रुपमा पनि उल्लेख गर्ने गरिएको देखिन्छ । यदि यसो हो भने जोन कोपम्यान राजा महेन्द्रसँग एकान्तमा ह्विस्कीमा रम्नुको कारण के थियो ? साथै राजा महेन्द्रको देहावसानपछि कोपम्यानले नेपाल सदाको लागि किन छोडेर गए ।
जोन कोपम्यान अचानक २०२९ सालमा नेपालबाट पलायन भए । उनले चलाइरहेको होटल टाइगर टपको जिम्मा उनले जिम एडवर्डसलाई दिएका थिए । २०२१ साउन २० गते राजा महेन्द्रको विश्वासपात्रको रुपमा जोन भर्नान कोपम्यानले होटल टाइगर टप चलाउन १५ वर्षको लागि चितवनको जंगलको बीचमा रहेको १७० एकड जमिन होटल सञ्चालनको लागि तथा जंगलको १००० वर्गमाइल क्षेत्र अन्य प्रयोजनका लागि लिएका थिए । जोन कोपम्यानले आफ्ना दुई लगानीकर्ताको रुपमा अमेरिकी राज्य डल्लासका हर्वर्ट डब्लु क्लेन र टोडी लि विन्ने जुनियरलाई लिएका थिए । तर १५ वर्षको लागि होटल सञ्चालनको जिम्मा लिएका कोपम्यान राजाको देहावसानपछि जिम एडवर्डसलाई जिम्मा लगाएर नेपालबाट बाहिरिए ।
राजा महेन्द्रले चालेका कतिपय कदमहरू राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन् । राजा वीरेन्द्र धेरै नरमवादी थिए तर राजा महेन्द्र समयअनुकुल बन्थे । कहिले कठोर कहिले नरम भएर आवश्यक कदम चाल्थे ।
राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढी मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको विकासको लागि विभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरू खुलेका थिए । क्रमशः बाटाहरूले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यति बेला ती उद्योग कल-कारखानामा रहेका कर्मचारी तथा मजदूरहरू राष्ट्रमुखी सोच राख्ने थिए । नेपाल स्वतन्त्र राष्ट्र नै होइन भनेर संयुक्त राष्ट्र संघको सदस्यताको लागि नेपालले गरेको अनुरोधमा भिटो लगाउने रुसले राजा महेन्द्रको भ्रमणपछि थुप्रै उद्योग तथा सडकमा सहयोग गरेको थियो ।
अहिलेको तुलना गऱ्यो भने नेपालका नेताहरू ब्यक्तिमुखी तथा दलमुखी हुन पुगे । जसले गर्दा सिमित ब्यक्ति त सम्पन्न भए तर समग्र देश सम्पन्न हुन सकेन । जबसम्म देशका दलहरू र दलका अगुवाहरू राष्ट्रमुखी हुँदैनन्, केवल आफ्ना र दलको स्वार्थमा नै केन्द्रित रहन्छन् । देशले कुनै गतिशील निकास पाउँदैन ।
पछिल्लो समय युवाहरूको जेन्जी आन्दोलन पनि अधुरो रह्यो । बिचैमा हाइज्याक भयो । आन्दोलनपछि संसद् र संविधान खारेज हुनुपर्दथ्यो, तर हुन सकेन । संविधान जोगिनु र पुरानै संविधानअनुसार संसद्को चुनाव हुनुले भोलि ती जेन्जीका युवा जो अगुवा थिए, तीमाथि अप्ठ्यारो स्थिति आउन सक्छ । यो संविधान रहनु भनेको नै हिजोका दलका अगुवाहरू बलियो रहनु हो । अहिलेको चुनावको नतिजा जस्तो आए पनि ती पुराना नेताहरूको दबदबा संसद्भित्र रहिरहनेछ । स्वतन्त्र रुपमा जितेका वा साना दलका रुपमा सांसद बनेकाहरू भोलि किनबेच हुने सम्भावना हुन्छ । र पुरानाले फेरि खेल खेल्ने अवसर पाउँछन् ।
अहिले हुन लागेको चुनावले कुनै निर्णय दिन सक्दैन । यसले अझ अवस्था जटिल बनाउने सम्भावना छ । अब दलहरूले नै राजालाई फिर्ता ल्याउने सम्भावना पनि न्यूनरुपमा उब्जेको छ । होइन भने निकट भविष्यमा अझ भयावह आन्दोलन निम्त्याउन सक्दछ । खैर, अहिलेको देशको राजनैतिक परिस्थितिको निकासको लागि कुनै नयाँ कदम छिट्टै आओस भन्ने अपेक्षा गरौँ ।
प्रतिक्रिया