✍ रेखा सापकोटा
हिजोआज निक्कै जाडो बढेको छ।
निक्कै जाडो बढेको छ,
माइनस डिग्रीमा चिसिएका छन् तिम्रा यादहरु ।
मस्तिस्कको साँगुरो गल्लीमा
छरप्रस्ट प्रेमका चित्रहरु धमिलिएका छन् ।
हिजो भन्दा आज बेग्लै पवन बहेको छ ।
मभन्दा अगाडि अरुका सम्झनाले स्थान लिएको छ ।
मुटु थला परेको छ, रक्त सञ्चार रोकिएको छ,
किनकि
हिजोआज निक्कै जाडो बढेको छ,
जाडोलाई चिर्न तिम्रा पत्रहरुको धुनी ताप्दै थिएँ
स्नेहले डम्म थुनेको अनि भावना, शब्द र आहाटले भरिएको,
अह, तात्विक तिम्रा प्रेम पत्रको ज्वालाले,
अनायासै गलाबाट हुस्सु र हिउँको वर्षा आँखाको बाटो हुँदै झरेछ ।
कठ्याङ्ग्रिएको शिशिरको वृक्ष जस्तो उजाड
उभिएका छन् मेरा आशाहरु,
किनकि
हिजोआज निक्कै जाडो बढेको छ,
माइनस डिग्रीमा चिसिएका छन् तिम्रा यादहरु,
हाँसोभित्र हजारौँ एक्लोपनका किटाणुहरु सल्बलाइरहेका छन्,
केही मनमा दौडन्छन, केही मस्तिस्कमा महायुद्ध चलाइरहेका छन् ।
एकनासे गति र एकोहोरो निरन्तरता दिक्क लागिरहेछन् ।
किनकि
हिजोआज निक्कै जाडो बढेको छ,
माइनस डिग्रीमा चिसिएका छन् तिम्रा यादहरु ।
प्रतिक्रिया