भारतीय कलाकारको टोली मुस्ताङमा

भारतीय कलाकारको टोली मुस्ताङमा


७७औँ भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय कलाकारको टोली शनिबार (१७ माघ) बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुगेको छ । नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चार जना प्रतिनिधिसहित भारतीय सांस्कृतिक कलाकारको टोली मुस्ताङ पुगेको हो ।

भारतीय राजदूतावासअन्तर्गत भारतस्थित आसामको स्वामी विवेकानन्द कल्चर सेन्टरबाट कलाकारसहित नृत्य प्रदर्शन गर्ने टोली मुस्ताङ पुगेको कलाकार टोलीका अगुवा मुकुट बोहराले जानकारी दिए । उनका अनुसार आसामको बिहु फोक नृत्य प्रदर्शन गर्ने उद्देश्यले कलाकार, प्राविधिक र प्रतिनिधिसहित १८ जना सहभागी छन् ।

यसैगरी, भारतीय गणतन्त्र दिवसका अवसरमा मुस्ताङमा आयोजना गरिएको एक समाहरोहमा कार्यक्रम निर्देशक वासिङ मल्लिक र राहुलसहित अन्य चार जनाको सहभागिता थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले नेपाल सरकारसँग अनुमति लिएर सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय टोली मुस्ताङ आएको जानकारी दिए ।

आसामबाट आएका कल्चर सेन्टरका टोलीले घरपझोङ गाउँपालिका-२ मार्फास्थित सामुदायिक समाजघरमा सांस्कृतिक नृत्य सञ्चालन गरेको हो । पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको प्रमुख आतिथ्यतामा भारतीय कलाकारले करिब एक घण्टासम्म दुई वटा बिहु फोक नृत्य प्रदर्शन गरेका हुन् ।