भण्डारीको ‘समय सूत्र’ सार्वजनिक

भण्डारीको ‘समय सूत्र’ सार्वजनिक


वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक शनिबार काठमाडौंमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको हो ।

भौतिकशास्त्रका विद्वान् प्राडा उदयराज खनाल, पूर्वीय दर्शनका ज्ञाता प्राडा आमोदवर्धन कौण्डिन्यायन, वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, पत्रकार टीकाराम यात्री, इटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारी, लेखक भण्डारीलगायत व्यक्तिको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।

‘समय सूत्र’मा समयको भौतिक, अनुभवजन्य, जैविक र मनोवैज्ञानिक आयामका बारेमा वैज्ञानिक र दार्शनिक चिन्तनसहितको चर्चा गरिएको छ । यसमा समयको सार्थकता, वर्तमानको मूल्य, समयको अनिकाल, समय मापन र जीवन व्यवस्थापन जस्ता विषयवस्तु समावेश छन् ।

पुस्तक लोकार्पण समारोहमा समयबारे प्राज्ञिक व्यक्ति र लेखकबीच समय–संवाद गरिएको थियो । ‘समय बुझ्न/बुझाउन एकदमै कठिन विषय हो’, संवादमा सहभागी हुँदै भौतिकस्त्राशी खनालले भने, ‘यो पुस्तक मूलतः समयबारे जान्न र यसलाई अझ गहिरोसँग बुझ्न चाहने पाठकका लागि हो ।’ समयसम्बन्धी जटिल वैज्ञानिक अवधारणालाई यो पुस्तकले स्पष्ट, सटिक र प्रवाहपूर्ण नेपालीमा प्रस्तुत गरेको उनले बताए ।

वैदिक र अन्य महत्वपूर्ण ग्रन्थका सम्बद्ध विषयलाई मूल उद्धरणसहित उल्लेख गरी प्रामाणिक बनाइएकाले यो पुस्तक समयबारे जान्न चाहने विद्यार्थीवर्ग र आमपाठकका लागि उपयोगी रहेको प्रा कौण्डिन्न्यायनले बताए । ‘युवा तथा नयाँ पुस्तालाई समयप्रति आम रूपमा सजग गराउन यो महत्वपूर्ण माध्यम हुन सक्छ’, उनले भने । वरिष्ठ चित्रकार रागिनी उपाध्यायले असल कर्मबाटै समयलाई सार्थक बनाउन सकिने धारणा व्यक्त गरिन् । ‘यो किताबले हामीलाई समयको वास्तविक अर्थबोध गराउनेछ भन्ने मलाई लागेको छ’, उनलेभनिन् ।

लेखक भण्डारीले पुस्तकबारे जानकारी दिँदै भने, ‘समय बुझ्नु भनेको घडीको चाल हेर्नु मात्र होइन, अस्तित्वको भाषा बुझ्नु, भाव अनुभूति गर्नु र लय पक्रनु हो । यो किताब पढिसकेपछि कुनै पनि पाठकले आफ्ना पललाई बितिजाने एकाइमा मात्र नभई अर्थयुक्त सम्भावना पनि हो भनेर बुझ् सक्नुभयो भने म आफ्नो अभीष्ट सिद्ध भएको मान्नेछु ।’

समय संवादको सहजीकरण पत्रकार यात्रीले गरेका थिए । उनले भने, ‘कृति पक्कै गहन र मननयोग्य छ ।’ इटर्नल पब्लिकेसन प्रालिले सार्वजनिक गरेको यो किताब २६४ पृष्ठको छ भने मूल्य रु ५०० रहेको यो पुस्तक शनिबारदेखि बजारमा उपलब्ध छ ।