बालेनका सहयोगी पत्रकार सिटौलाको निधन

बालेनका सहयोगी पत्रकार सिटौलाको निधन


रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसँग पश्चिम नेपालको चुनावी यात्रामा सहभागी भएको अवस्थामा बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएका पत्रकार दिनेश सिटौलाको उपचारकै क्रममा ग्रान्डी अस्पतालमा निधन भएको छ । ग्रान्डी अस्पतालले विज्ञप्ति जारी गर्दै आज (१८ माघ) १२ः४५ बजे सिटौलाको निधन भएको जनाएको छ ।

रास्वपाका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन्द्र साहसँग चुनाव प्रचारका लागि गत शुक्रबार अछाम पुगेका सिटौला एक्कासी बेहोस भएर ढलेका थिए । मंगलसेन नगरपालिका-४ बाँगापाटामा अचानक अचेत भएका सिटौलालाई सुरुमा जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यसपछि सेनाको हेलिकोप्टर र प्लेनमा सुर्खेत हुँदै काठमाडौं ल्याइएका उनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

काठमाडौंस्थित ग्रान्डी अस्पतालमा पुर्‍याएपछि उनको उपचार आईसीयूमा राखेर सुरु भएको थियो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार सिटौलालाई ब्रेन ह्यामरेज पुष्टि भएको छ ।

बालेनका सहयोगी भूपदेव शाहको घरमा चिया खाएर निस्कने क्रममा स्कारपियो गाडीबाट ओर्लन खोज्दा सिटौला ढलेर टाउकामा चोट लागेको थियो । सो समयमा बालेन साह पनि साथैमा थिए । सिटौला बालेनको टोलीमा पत्रकारका रूपमा नभइ टोली सदस्यका रूपमा सहभागी थिए।

चलचित्र पत्रकार संघका पूर्व अध्यक्षसमेत रहेका सिटौला ‘द सिनेमा टाइम्स’ अनलाइन पोर्टलका सम्पादक हुन् ।

सिटौलाको मृत्यु रहश्यपूर्ण रहेको भन्दै टीकाटिप्पणी शुरु भएको छ ।