त्यत्रो ठूलो भूल र अपराधका निमित्त जेन-जी र राष्ट्रका सामू इमानपूर्वक माफी माग्नुको सट्टा यतिबेला पनि भदौ २३ गतेको गोली चल्नु र चलाइनुलाई उचित करार गर्ने उनको यो वक्तव्य आलोच्य मात्र होइन, निन्दनीय समेत छ ।
✍ राजेश ढुंगाना
पूर्वप्रधानमन्त्री तथा झापा क्षेत्र नम्बर-५ का एमाले उम्मेदवार खड्गप्रसाद ओलीका बोली-व्यवहार यतिबेला झन्-झन् आलोच्य हुँदै गइरहेका छन् । जनलहर विपक्षमा गएपछि उनी हताश र निराश भएर अन्टसन्ट बोल्न थालेका छन् । मधेश र मधेशीलाई ‘गुइँठा’ बाल्ने फोहरीको संज्ञा दिएर उनले सिङ्गो मधेश र मधेशीको अपमान र बेइज्जती गरेका छन् । कम्तीमा पनि देशको धेरैपटक प्रधानमन्त्री भइसकेको मानिसबाट यस्ता जातीय र साम्प्रदायिक अभिव्यक्तिको अपेक्षा थिएन; जुन राष्ट्रका लागि दुर्भाग्य समेत हो । महेश बस्नेत झैं असभ्य भएर प्रस्तुत हुने कर्मले मुलुकको प्रधानमन्त्री (भइसकेको) उनको बँचे-खुचेको उचाइमा थप ह्रास आएको छ ।
यतिबेला ओलीले जेन-जी (नवपुस्ता) लक्षित एउटा अर्को कपटपूर्ण वक्तव्य जारी गरेका छन् । कि, ‘भदौ २३ गते मैले गोली हान्ने आदेश दिएको होइन; कानूनले, कानून पालनाका सन्दर्भमा गोली चलाएको हो ।’ आफ्नो त्यो गोली ठोक्ने आदेशको बचाउ गर्दै जारी गरिएको उक्त वक्तव्य नै कपटपूर्ण र जाली रहेको कुरा स्वयम् उनको वक्तव्यले बताउँछ । त्यत्रो ठूलो भूल र अपराधका निमित्त जेन-जी र राष्ट्रका सामू इमानपूर्वक माफी माग्नुको सट्टा यतिबेला पनि भदौ २३ गतेको गोली चल्नु र चलाइनुलाई उचित करार गर्ने उनको यो वक्तव्य आलोच्य मात्र होइन, निन्दनीय समेत छ । उनको नैतिक र राजनीतिक जिम्मेवारी होइन – ७६ जना मान्छे मर्नु-मारिनु ? ‘मैले होइन, सुरक्षा निकायले गरेको’ भनेर उनले गरेको ढाँट कुरा कम्तीमा पनि जेन-जी पुस्ता र उसका अभिभावकले पत्याउने कुरै छैन ।
झापाको ५ नम्बर क्षेत्र आफ्नै जमिन्दारी ठानेका ओलीले एकपटक पुन जेन-जी क्रान्ति र त्यसमा भएको रक्तबलिदानलाई अपमान गर्दै दुत्कारेर आफ्नो कुकृत्यलाई आफैं पुष्टि पनि गरेका छन्- आफ्नो पछिल्लो वक्तव्यबाट । यो वक्तव्यले जेन-जी क्रान्तिकारीहरूको भावनामा थप छुरा रोपेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा तमाम जेन-जी र तिनका अभिभावक व्यापक रूपमा विरोधमा सडकमै खुला रूपले आएपछि ओलीको होश गुम भएको छ । त्यसैले उनी अहिले मधेश र मधेशी विरुद्ध अपमान गर्दैछन् भने कहिले र अझै पनि जेन-जी र उसको शहादतलाई दुत्कार्दै छन् !
राजनीतिक यात्रा नै झापामा धर्मप्रसाद ढकालको टाउको काटेर थालेका ओलीमा ७६ जनाको हत्या गर्नुमा कुनै पश्चाताप नगर्नु/नहुनु स्वाभाविक नै पनि हो । तर, उनलाई यो चुनावमा जेन-जी क्रान्तिको हत्या अभियोग अत्यन्त महंगो परेको कुरा सम्भवतः यतिबेलासम्म उनले बुझिसकेका छन् ।
झापाको निर्वाचन क्षेत्र नम्बर-५ लाई आफ्नो किपट ठानेका ओलीलाई यसपटक सिंगो जनमत उनका विरुद्ध जसरी लामबद्ध भएको छ, त्यो देखेपछि उनमा शायद मानसिक समस्या पनि आएको छ । नभए उनी मधेश र मधेशी विरुद्ध यसरी बर्बराउने थिएनन् । न त जेन-जी विरुद्ध वक्तव्य नै जारी गरेर ७६ जना मानिस मार्नु ठीक छ भनेर वकालत गर्ने थिएनन् ।
सिङ्गो जेन-जी पुस्ता र उनका अभिभावक ५ नम्बर क्षेत्रमा जसरी उनका विरुद्ध खर्लप्पै उर्लेको छ – जमिन्दारी समाप्त हुने लक्षण पक्कापक्की दृश्यमा आउँदैछ ।
बालेनसँग कैयौं असहमति होलान् (यो पंक्तिकारको पनि) । तर, ओलीको भ्रष्टाचार र हत्यासँग सिङ्गो नेपालका झैं झापाका जनता पनि पटक्कै सहमत हुन सक्दैनन् । निष्कर्ष यही हो- भ्रष्टाचार, कुशासन र जेन-जी हत्या यसपटक ओलीका निमित्त अत्यन्त महंगो परिसकेको छ । त्यो पनि चुनावताका ।
के खोजेका थिए- स्कूले ससाना नानी-बाबुहरूले र तिनको निर्मम हत्या गरियो ? भ्रष्टाचारको अन्त्य र सुशासन मात्र मागेका थिए होइनन् उनीहरूले ? यो कुन अपराध थियो र हो ? नृशंस हत्या गर्नु कुनै पनि हालतमा र रूपमा जायज थिएन । यो दण्डनीय अपराधबाट कसैले उन्मुक्ति पाउनु हुँदैन – कानूनी रूपमा समेत र जनमतबाट पनि ।
प्रतिक्रिया