लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आइतबार (१८ माघ) सार्वजनिक गरेको छ ।
उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर बदली कीर्ते गरी परीक्षा दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका-११ का १९ वर्षीय केशव थापा र वडा नं १० का १९ वर्षीय चन्द्र शाह, कुसे गाउँपालिका-२ का १९ वर्षीय विपेश सिंह, १८ वर्षीय सूर्यकिरण शाही, २१ वर्षीय निरज शाही, २३ वर्षीय नवराज विक, जाजरकोटको कुसे गाउँपालिका-२ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ बस्ने २६ वर्षीय पूर्णबहादुर सिंह र जुनीचाँदे गाउँपालिका-१ का १८ वर्षीय ललित रावल रहेको छन् ।
यस्तै, दुल्लु नगरपालिका-१ दैलेखका १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका २४ वर्षीय वीरबहादुर ठाडा, बैजनाथ गाउँपालिका-२ बाँकेका २४ वर्षीय रामु कार्की र वडा नं १ का २५ वर्षीय मोतिलाल थारू रहेको सूचना अधिकारी बुढ्थापाले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्ति तथा गिरोहको खोजीकार्य भइरहेको र पक्राउ परेका १२ जनामाथि लिखत कीर्ते तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया