एयरपोर्टको बिदाइ केवल बिदाइ रहेन, यो एक चेतावनी भएको छ । सपना देख्नु विदेश जानु गलत होइन, तर यथार्थ बुझ्न आवश्यक छ । समाज, राज्य र व्यक्तिले सुरक्षित, सम्मानजनक र सचेत यात्राको व्यवस्था गर्न सकेमात्र एयरपोर्टबाट उडेका सपना लाश होइन, जीवन र उपलब्धि बनेर फर्किन सक्छन् ।
✍ डी.जे. शाही
नेपालको राजधानी काठमाडौंस्थित गौचरणमा एक हवाई अड्डा छ, जसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिँदैआएको छ । यो हवाई अड्डा कुनै साधारण भौतिक संरचनाले बनेको मात्र नभइ यो आधुनिक समाजको मौन अभिलेखालय बनेको छ । यहाँ जहाज उड्ने र अवतरण गर्ने मात्र होइन, हजारौका सपना जन्मिने र कतिपयका सपना समाप्त हुने संवेदनशील स्थल भएको छ ।
जागिरे जीवनको सिलसिलामा केही महिनाअघि पङ्क्तिकारको सरुवा यही हवाई अड्डामा भयो । तब मैले धेरै कुरा देख्ने र भोग्ने अवसर पाएँ । हवाई अड्डा – जहाँ आशाको बिदाई र पीडाको स्वागत केहीले गरेको देख्दा केही कुरा लेखौँ-लेखौँ जस्तो लाग्यो । जहाँ केही जहाज आशा मात्र बोक्दैनन्, मौन पीडा पनि बोकेर आउँछन् । यहाँ आँशुको आवाज सुनिँदैन, तर तिनले इतिहास लेख्छन् । बिदाईका शब्द साना हुन्छन्, तर तिनको अर्थ अत्यन्तै ठुलो छ ।
जागिरे जीवन हो, मैले त ड्युटी गर्नैपर्छ । मेरो पहिलो ड्युटी – मेरो दिउँसो १४ः०० बजेदेखि राति अन्तिम उडानसम्म भनि ड्युटी रोस्टरमा आयो । त्यो ठाउँ प्रस्थान कक्षको बाहिरपटि रहेछ । त्यहाँ म ठिक १४ः०० बजे सहकर्मीका साथ ड्युटीमा लागेँ । १४ः०० देखि १८ः०० बजेसम्म त्यहाँको माहोल शान्त थियो । फट्टफुट्ट यात्रु जाने र प्राय विदेशी पर्यटकहरू कतार एयरवेज, कोरियन एयरवेज, फ्लाई दुबई जस्ता जहाजमा जाने गर्दा रहेछन् । म आन्तरिक विमानस्थलबाट जागिरे जीवनमा धेरै पटक ओहोरदोहोर गरेको थिएँ । तर अन्तर्राष्ट्रियतर्फ चाहिँ मेरो पहिलो अनुभव थियो ।
दिन डुब्दै थियो, सूर्य अस्ताउन आँटेको थियो र घडीको सुईले १८ः०० बजेको संकेत गऱ्यो । प्रस्थान गेटबाहिर एकाएक जाने यात्रु र छोड्नेहरूको चाप बढ्न लाग्यो । मैले कल्पना गरेको थिइनँ यसरी चाप बढ्छ भनेर । म र मेरो टिम भिड व्यवस्थापन गर्नतर्फ लाग्यौं । त्यो भीड कुनै मेला जस्तो हुँदै गयो । सोही समयमा मेरो सहकर्मी म भएको ठाउँमा आइपुग्यो । सायद भीडभाडले गर्दा म केही हतास देखिएको थिएँ । तर मेरो साथी मभन्दा १ वर्षअघि नै सरुवा भइ आइसकेकोले वातावरणसँग घुलमिल भइसकेको थियो । म भने धेरै कुरामा अनभिज्ञ थिएँ । मैले साथीलाई भीडको बारेमा सोधेँ, उसले हल्का उत्तर दिँदै भन्यो- बसपार्क र एयरपोर्टमा भीड नभएर कहाँ हुन्छ त ? उसको हल्का उत्तरले मलाई अचम्म बनायो, किनकि मैले यस्तो हल्का उत्तर चाहेको थिइनँ । एक मनले सोचेँ- हो उसले जे भन्यो सही भन्यो । त्यो उत्तरले मलाई राहत दियो र त्यो भीड तोडफोड र नाराबाजी गर्ने जस्तो थिएन । यो भीड त कसैको बिदाईमा आएको थियो ।
जब एक व्यक्तिको एयरपोर्टमा बिदाई हुन्छ, उसले केवल देश मात्र छोडेको हुँदैन । आफ्नो परिचित जीवन, संस्कार, भाषा र आत्माको एउटा अंश पनि छोडिरहेको हुन्छ । उसको हातमा पासपोर्टको एक थान मात्र हुँदैन, हृदयमा सपना पनि हुन्छ । ऊ मनमनै भन्दै हुन्छ ‘म फर्किन्छु, केही बनेर’ । सपना देख्नु पर्याप्त छैन अहिले, ती विपनामा साकार पनि हुनुपर्छ ।
त्यही भीडको छेउमा म उभिरहेको छु र मेरो कर्तव्य पुरा गरिरहेको छु । त्यहाँ धेरैको बिदाईले वातावरण भावुक बनाएको छ । म देखिरहेको छु- धेरै आमाहरूको आँखा रसाएको छ, ‘बा’हरूको स्वर भारी भएको छ, श्रीमतीहरूको हात काँपिरहेको छ र बालबालिकाले नबुझ्ने गरी सोधिरहेका छन्- ‘बा, आमा कहिले फर्किनुहुन्छ ?’
विदेशिने र बिदाईका लागि आएकाहरू बिदाईका हात हल्लाउँछन्, गला मिलाउँछन् र आँसु झार्दै भीडबाट अलग भइ प्रस्थान-गेटतर्फ लाग्छन् । त्यहाँ स्पष्ट सुनिन्छ, विदेशीनेहरू छिट्टै आउने बाचा गरिरहेका हुन्छन् । उसले यही हवाई अड्डामा पाइला राख्दा उसको आँखामा आँसुमात्र होइन, सपनाको उज्यालो चमक पनि हुन्छ । यही ठाउँबाट नयाँ जीवन, सुख समृद्धि र सम्मानको सपना पनि देखेको हुन्छ ।
एयरपोर्ट जीवनको प्रतीक हो – जहाँ प्रस्थान र प्रतिफल दुबै लुकेका छन् । यो ठाउँ उड्नेहरूको परीक्षाको केन्द्र जस्तै भएको छ – कोही पास हुन्छन् त कोही फेल । यहाँबाट उड्नेहरूका सपना, परिश्रम र त्यागको इन्धनले मात्र सही गन्तव्यमा पुग्छन् – नभए कतिका सपना आकाशमै जलेर नष्ट हुन्छन् । म यस्तै-यस्तै मनमा सोच्दैछु र विदेशिनेहरूलाई आगामी दिनको शुभकामना मनमनै दिइरहेको छु । प्रस्थान गेटभित्र छिर्नेबित्तिकै सेक्युरीटी एक्सरेमा सामान चेकजाँच हुन्छ । बाहिरबाट आवाज आउँछ- ‘राम्रोसँग जानु, हाम्रो याद गर्दै गर्नु, छिटो आउनु…!’ यस्तै यस्तै विछोडका शब्दहरू सुनिरहेको छु । ती विछोडका शब्दले हाम्रो मन पगाल्छ । धेरैलाई लाग्छ- आर्मी/पुलिसको मन हुँदैन ! तर वास्तवमा हाम्रो पनि अरुको जस्तै मन हुन्छ । अरुको मन रुँदा हाम्रो पनि मन रुन्छ । सबैभन्दा दुःख यो देख्दा लाग्छ, धेरै आमाहरू साना बालबच्चालाई छोडी मुग्लानतिर जाँदा ।
हवाई अड्डाको कथा एकपक्षीय छैन । त्यही मार्गबाट गएका केही मानिसहरू ज्ञान, पुँजी र दृष्टिकोणसहित आउँदा नाफा राज्य, समाज र परिवारलाई हुन्छ भने केही बाकसमा आउँदा प्रणालीगत असफलता देखाउँछ । सही तयारी, सचेत निर्णय र संरचनागत सहयोग भएमा आप्रवासन विनाश होइन, सम्भावनाको श्रोत बन्नेछ । अन्ततः यो हवाई अड्डा साक्षी भइरहनेछ – कोही इतिहास बन्नेछन् त कोही सम्झनामात्र !
आमाले सानो बच्चालई छोडेर विदेश जानु भनेको केवल घर छोड्नु होइन, त्यो आफ्नै काख, गन्ध र धड्कनबाट टाढा हुँदै जानु हो । जहाज उड्नुभन्दा पहिला आमाको मन हजारचोटी फर्किसकेको हुन्छ । पासपोर्ट झोलामा छ, तर बच्चाको तस्बिर हृदयमा टाँसिएर बसेको छ । आमा किन गइन्, त्यो बच्चाले बुझ्दैन । उसले केवल आमाको काख, दुध खोज्नेछ र निदाउँदा आमाको ममतामय गन्ध खोज्नेछ । बिचरी, आमा आज माया र मजबुरी बीचको युद्धमा फसेका छे । आमाले आफ्नो ममता दबाएर बच्चाको भविष्य किन्न खोजेकी छे ! यो स्वतन्त्र निर्णय होइन – बाध्यता हो । यो निर्णय आमाको वीरता होइन, मौन बलिदान हो । इतिहासले, यो बलिदान नलेख्ला, तर बच्चाको भविष्यमा – यो आँसुको अक्षरले लेखिनेछ ।
हो, पैसामा माया किनिँदैन तर गरिबीले माया बच्न दिँदैन । आमाको श्रम विदेशमा सस्तो होला तर उनको आँसु अमूल्य हुनेछ । यो विरोधाभाष नै हाम्रो समाजको कठोर सत्य हो । एउटा आमाले लाइनमा मलिन स्वरले भन्दै थिइन्- ‘विदेश जानु व्यक्तिगत चाहान होइन, यो सामुहिक सामाजिक यथार्थको प्रतिबिम्ब हो सर !’ अझ थप्दै गइन्- ‘महिलाको श्रम सुरक्षित, सम्मानित र मुल्यवान नहुँदा मजस्तै धेरै आमा विदेशिएका छन्, विदेशिँदैछन् र विदेशिनेछन् ।’ यी आमा प्रतिनिधिपात्र हुन् ।
उनको भनाइले मेरो मानसपटलमा गहिरो प्रश्न सोध्यो- के हामी सपनाको मूल्य बुझिरहेका छौँ ? आमाले बच्चा छोड्नु व्यक्तिगत कमजोरी होइन, यो सामाजिक असफलताको संकेत पो हो कि ? यदि आफ्नै देशमा रोजगारी, सुरक्षा र सम्मान हुन्थ्यो भने उनी काख छोडेर बाहिर जान बाध्य हुने थिइनन् कि ? यहाँ दोष आमाको होइन, हाम्रो संरचनाको पो हो कि ? यस्तै-यस्तै प्रश्न मेरो दिमागमा आइरह्यो । यी आमाको उत्तर व्यक्तिगत होइन, सामुहिक असफलताको परिणाम हो – राज्य, समाज र हाम्रो सोचको ।
तर, यथार्थ सबै सपना जस्तै सरल हुँदैनन्, विदेश पुगेपछि सबैको सुनौलो भविष्य हुँदैन । कोही श्रमको नाममा शोषित हुन्छन्, कोही अपमान सहेर बाँच्न बाध्य हुन्छन् त कोही रोग, दुर्घटना र मानसिक पीडाको सिकार बन्छन् । दुःखद सत्य के छ भने कोही कोही फर्किन्छन् तर सपनासहित होइन लाश बनेर । एयरपोर्ट जहाँ आशाको बिदाइ भयो, त्यही पीडाको स्वागत कसैको हुन्छ । फुल-माला होइन आज केही कफन र आँसु लिएर उसका परिवार उभिएको- मैले भोलिपल्ट टर्मिनल बिल्डिङअगाडि देखें !
तिनीसँगै धेरैका सपना ढलेका छन्, ती जाँदा आँसुसहित बिदाई भएका थिए । आज आँसुसहित स्वागत भएका छन् । यसैले मेरो आत्माले भन्दैछ- सपना देखौँ- सचेत भएर, उडौँ- सुरक्षित गन्तव्य मुलुकतिर प्रार्थना लिएर, र फर्किऔँ- लाश होइन, जीवित साक्षी बनेर । म ड्युटीको लागि अघि बढ्दै थिएँ । यो हवाई अड्डाको पीडा केवल व्यक्तिगत कथा मात्रै रहेन, यो सार्वजनिक प्रश्न बनेको छ । राज्यले श्रमिक सुरक्षा, कुटनीतिक पहल र वैकल्पिक अवसर सिर्जना नगरेसम्म हवाई अड्डाको आँसु सुक्ने छैन ।
त्यहाँ उभिएकाहरू जो साक्षी हुन् ती भन्दै थिए, ‘कफनले ढाकिएको शरीर एयरपोर्टमा अवतरण गर्दा त्यति बेला सपनाका तर्क मौन हुन्छन् र समाजले विदेशलाई मात्र सफलता मान्ने मानसिकता परिमार्जन नगरेसम्म सपना एकाङ्गी हुन्छन् ।’ परिवार आफन्त र शुभचिन्तक सोध्दैथिए- गल्ती कहाँ भयो ? यसको दोष धेरै तहमा लुकेको छ – व्यक्ति, समाज, राज्य र प्रणाली सबैमा दोष छ ।
केही दिनपछि मेरो ड्युटी आगमनको नमस्ते गेटमा पऱ्यो । त्यहाँ निकै चहलपहल थियो । धेरैका हातमा फुलका माला, गुच्छा लिएर हर्षित अनुहारमा आफन्तहरू बसेका थिए । यसको अर्थ मैले सहजै लगाएँ- यिनीहरूका विदेशिएका आफन्त आज आउँदैछन् । सबै कथा अँध्यारोमा मात्र हुँदैनन्, सबै सपना उडेर जाँदैनन् र देखेका सपना साकार पनि हुन्छन् । ती सपना हरू आज धैर्यता, अनुशासन र परिश्रमको लगानीले केही मान्छे सफल भएर आएका छन् । उनीहरूले आज धन मात्र होइन- अनुभव, ज्ञान र आत्मविश्वास पनि सँगै लिएर आएका छन् । उनीहरूको सफलताले गाउँ उजालिनेछ, परिवार उठनेछ र समाजमा प्रेरणाको इतिहास लेखिनेछ । आउनेहरू भन्दै थिए- आज मेरो सपना पुरा भएको छ । यो सपना मेरो त्याग र संघर्षले प्राप्त भएको छ ।
यसैले एयरपोर्टको बिदाइ केवल बिदाइ रहेन, यो एक चेतावनी भएको छ । सपना देख्नु विदेश जानु गलत होइन, तर यथार्थ बुझ्न आवश्यक छ । समाज, राज्य र व्यक्तिले सुरक्षित, सम्मानजनक र सचेत यात्राको व्यवस्था गर्न सकेमात्र एयरपोर्टबाट उडेका सपना लाश होइन, जीवन र उपलब्धि बनेर फर्किन सक्छन् । अन्ततः एयरपोर्ट मौन साक्षी हो- जहाँ कोही इतिहास बन्छन्, त कोही सम्झना मात्र । यहाँ प्रश्न भाग्यको होइन, यथार्थलाई स्वीकार नगरी भाग्यको नाममा ढाकछोप गर्नु सामाजिक नैतिकताबाट पलायन हुनु हो ।
तर हवाई अड्डाको कथा एकपक्षीय छैन । त्यही मार्गबाट गएका केही मानिसहरू ज्ञान, पुँजी र दृष्टिकोणसहित आउँदा नाफा राज्य, समाज र परिवारलाई हुन्छ भने केही बाकसमा आउँदा प्रणालीगत असफलता देखाउँछ । सही तयारी, सचेत निर्णय र संरचनागत सहयोग भएमा आप्रवासन विनाश होइन, सम्भावनाको श्रोत बन्नेछ । अन्ततः यो हवाई अड्डा साक्षी भइरहनेछ – कोही इतिहास बन्नेछन् त कोही सम्झनामात्र !
(लेखक प्रहरी वरिष्ठ नायव निरीक्षक हुन् ।)
प्रतिक्रिया