कोशी पाथीभरा इण्डो-नेपाल टि-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

कोशी पाथीभरा इण्डो-नेपाल टि-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

माघ २१ गतेबाट सञ्चालन हुने कोशी पाथीभरा इण्डो-नेपाल टि-२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

भद्रपुर क्रिकेट क्लबको आयोजनामा माघ २१ गतेदेखि २९ गतेसम्म झापा सदरमुकाम भद्रपुर–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो ।

लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका आठ वटा टिमको सहभागिता रहने प्रतियोगिता सञ्चालन समिति संयोजक गौरब सुब्बा (मनोज) ले जानकारी दिएका छन् । ‘नेपाल–भारत बीचको खेलकुदको माध्यमबाट आपसी सम्बन्ध सुधार गर्दै सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ”, भन्दै सुब्बाले भने, “प्रतियोगिताको मुख्य उद्देश्य भद्रपुर र झापालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट संसारमा स्थापित गरेर स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा अनुभव आदान–प्रदान गर्नु हो ।’

मैदान व्यवस्थापन, पिचको स्तरीकरण, खेल तालिका, सुरक्षा व्यवस्था, अम्पायरिङ्ग, स्वास्थ्य सेवा खेलाडीहरुको आवास तथा यातायात व्यवस्थापन लगायत खेलका लागि आवश्यक अन्य सबै तयारी परा भइसकेको उनको भनाइ छ ।

प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकाडमी काठमाडांै र फ्रेण्ड्स युथ क्लब डडेल्धुराको सहभागिता रहनेछ भने भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम (गोहाटी), ग्लोबल स्टार क्रिकेट क्बल लखनउ, क्रिकेट कोचिङ्ग उपाध्याय एकाडमी न्यू दिल्ली र स्नो लायन टिम अफ सिक्किम सहभागी रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले प्रतियोगितामा नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले क्लब स्तरबाट नेपालमै एउटा मात्र स्तरीय क्रिकेट मैदान तयार भएको बताउदै क्रिकेट मैदानको स्तरोन्नितका लागि वडा, नगरपालिकादेखि विभिन्न खेलप्रेमी महानुभावको लगानी रहेको बताए । प्रतियोगिताले खेलकुद पर्यटनलाई समेत टेवा मिल्ने नगर प्रमुख पोखरेलको भनाइ छ ।

प्रतियोगिताका लागि एक करोड २० लाख खर्च हुने आयोजक भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद पाँच लाख, उप–विजेताले नगद तीन लाख सहित ट्रफी पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद रू ११ हजार ट्रफी, उत्कृष्ट बलर र ब्याट्स म्यानले नगद रू २५÷२५ हजार र ट्रफी, उदीयमान खेलाडीले नगद रू ११ हजार तथा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी मेन अफ दि सिरिजलाई नगद रू ५१ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दाताहरुको सहयोगमा करिब रू ६० लाखको लागतमा पिच निर्माण गरी स्तरीकरण गर्ने कार्य सम्पन्न भएको छ ।