आजका कथित नेताहरू देशमा जब चुनावी माहोल पैदा हुन्छ तब टीका-माला, गेरु बस्त्र लगाएर वैदिक सनातन हिन्दु, बौद्ध, किराँतको आस्थाका स्थल देवालय आदि धाउँदै जनतालाई भोटबैंकको रुपमा प्रयोग गर्न खोज्छन् । जब सत्तामा पुग्छन् अनि ‘राज्यको धर्म हुँदैन, धर्म, संस्कृति व्यक्तिको निजी विषय’ भन्दै धर्मान्तरणलाई बढावा दिन्छन् ।
✍ काशी पौडेल ‘आयुष’
बहुदलीय ब्यवस्थाको जगमा टेकेर खुलेको अनेकौँ पार्टी र तिनका नेताले गर्ने राजनीति देश र जनताको निम्ति ब्यवहारतः झुट, स्वार्थ, कपटपूर्ण र विश्वासघातको जालोमा जकडिएको छ । राजनीतिलाई सरल रुपमा बुझ्दा चार अक्षरले बनेको ‘राज+नीति=राजनीति’ शब्द, पुरातन संस्कृत शब्दको अर्थअनुसार राज्य र समाजलाई धर्म, न्याय र जनकल्याणको सत्मार्गमा सञ्चालन गर्ने नीति र ब्यवस्था हो ।
हाम्रो धार्मिक ग्रन्थ महाभारतमा हेर्दा रामराज्यको दृष्टान्तअनुसार राजनीतिको तात्पर्य सेवा, त्याग, न्याय, समता र जनकल्याणको प्रत्यक्ष अभ्यास हुन्छ । ईसापूर्व चारौँ शताब्दीमा लिखित कौटिल्यको अर्थशास्त्रले राजनीतिलाई आर्थिक उन्नति, प्रशासनिक चातुर्यता र राज्य, जनसुरक्षासँग जोड्ने मार्गदर्शन दिएको छ । त्यसैगरी, स्कन्धपुराण (लगभग ५–७ शताब्दी)ले राजनीतिलाई भौगोलिक दृष्टिकोण, राजधर्म, सामाजिक कर्तव्य, न्याय र पुण्यको मार्ग राज्यकर्ताले अपनाउनुपर्ने नीति-नियम स्पष्ट रूपमा प्रस्तुत गरेको छ । यसरी हेर्दा पूर्वीय दर्शनले राजनीतिलाई सत्तामात्र नभइ राज्यको सीमाना, धर्म, जनताको रक्षक, न्यायपुर्ण शासनको आधारभूत सिद्धान्त मान्ने कुरा बडो तार्किक र जीवनपरक रूपमा देखाउँछ ।
हाम्रो पूर्वीय दर्शनमा यति स्पष्ट ब्यवहारिक, ऐतिहासिक र आर्थिक राजनीतिक दर्शन हुँदाहुँदै पनि आजको नेपाली दलहरू व्याक्तिगत स्वार्थ, कुटनीतिक परनिर्भरता र विदेशीवादको प्रयोगशाला र भ्रष्टाचारले विछिप्त छ । साँच्चै नेता-कार्यकर्ताले थोरैपनि पूर्वीय दर्शनको अध्ययन गरेका हुन्थे भने, विश्वलाई राजनीतिक अपनत्व सिकाउने हाम्रो पूर्वीय दर्शनलाई लत्याएर भ्याटिकन चर्च मिसनको एजेन्डा – ‘धर्मनिरपेक्षता’को खोल ओढेर जनताको आत्मसम्मानमा ठेस पुऱ्याउने काम कदापि गर्ने थिएनन् । हामीले विश्वव्यापी समानता, आर्थिक विकास भौगोलिक दृष्टिकोण, न्यायप्रणालीको दर्शन विदेशीलाई पढाएर पूर्वीय ज्ञानको प्रकाश छर्न सक्नेथियौँ । तर, दलका नेताकार्यकर्ताले आफ्नो इतिहास, धर्म-संस्कृति भौगोलिक अखण्डता र जनशक्तिलाई नचिन्दाको परिणाम आज बैरीले सार्बभौमसत्ताको धज्जी उडाएर राज्यको खोपी र ढुकुटीमा परेड खेल्दैछन् ।
प्राचीन धर्म ग्रन्थलाई आत्मसात गर्न नसकेपनि पृथ्वीनारायण शाह (२७ पौष १७७९ – १ माघ १८३१)को पृथ्वीपथको सिद्धान्तलाई अंगिकार गरेर अगाडि बढ्न कुन चेतनाको कमी भएको होला ? वैरीको आशीर्वाद शिक्षादीक्षाले आफ्नै इतिहास, अभिभावक राष्ट्र र राष्ट्रियलाई दुत्कार्ने नीतिको जगमा उदाएको मगज भएर पो हो कि ?! सायद आयातित सिद्धान्तले देश-जनको कल्याण नहुने देखेर नै पृथ्वीनारायण शाहले ‘दुई ढुंगाबीचको तरुल’ भन्दै विदेशी शक्तिप्रति सचेत रहन आदेश दिएका थिए । उनले स्वदेशी उत्पादन र स्वाभिमानी कूटनीतिलाई राज्यनीतिको मेरुदण्ड बनाए ।
यस्तै, मठ-मन्दिर, देवस्थललाई पूजाको थलो होइन आस्था र राष्ट्रिय चेतनाका केन्द्र माने । सबै नेपालीले आफ्ना पिता-पुर्खादेखि मानिआएको धर्म-संस्कृति मानिलिनु जगेर्ना गर्नु भन्दै लामा, गुरु, सन्यासी, कुमारी कन्याहरूको आशीर्वादलाई धर्म, नीति र राष्ट्ररक्षाको संकल्पका लागि लिएर नै राष्ट्रलाई एकीकरण गरे । दरबारमा सीमित नबसी गाउँघर पुगेर जनताको सल्लाह सुन्ने र त्यसलाई राज्य सञ्चालनको नीति बनाउने चातुर्यता र दूरदर्शिताले नै विदेशीलाई झुकाएर आजको नेपाल बनाए, तब न हामिले नेपाली हुन पाएको छौँ !
आजका नेताहरू उनै राष्ट्रनायकलाई बिर्सिएर बैरीको पाउमा पर्छन् । जनताको विश्वास, राज्यको जगमा नभइ विदेशी दूतावासको इशारामा चलेका छन् भन्दा अत्युक्ति हुँदैन । किनकि विदेशीवाद बोकेर विदेशीको आशिर्वाद थाप्ने नेताले नेपाली इतिहास, पुर्खाको विरासत गोर्खालीको बहादुरी, पूर्वीय दर्शनको भाइचारा विश्वबन्धुत्व, पृथ्वीपथको दूरदर्शिता बहादुर शाहको समर्पण, महेन्द्रको कुटनैतिक विकास र ज्ञानेन्द्रको त्यागको पाठ होइन, विदेशी मिसन पढ्छन् । पुर्खाको निःस्वार्थ सेवा, वीरतालाई लत्याएर सत्ताको सौदाबाजी गर्छन् ।
देशमा जब चुनावी माहोल पैदा हुन्छ तब टीका-माला, गेरु बस्त्र लगाएर वैदिक सनातन हिन्दु, बौद्ध, किराँतको आस्थाका स्थल देवालय आदि धाउँदै जनतालाई भोटबैंकको रुपमा प्रयोग गर्न खोज्छन् । जब सत्तामा पुग्छन् अनि ‘राज्यको धर्म हुँदैन, धर्म, संस्कृति व्यक्तिको निजी विषय’ भन्दै धर्मान्तरणलाई बढावा दिन्छन् । वैदिक सनातन (हिन्दू, बौद्ध बोन जैन प्रकृति पुजक) धर्मलाई घृणा ओकल्दै चर्च र मस्जिद धाएको यथार्थ सर्वविदित नै छ । यस्तोमा वैदिक सनातन धर्मावलम्बीले धर्मनिरपेक्षवादीलाई भोट दिएर जिताउने निकृष्ट-राजनीतिले देश र जनतालाई भड्खालोमा नपार्ला भन्न सकिँदैन ।
विदेशीवादको सानो उदाहरण चिनियाँ हङ सिउछवानको हाक्का (ताइपिङ) विद्रोहलाई लिनु उपयुक्त हुन्छ । सन् १८५०–१८६४ सम्म चलेको यो विद्रोहले अनुमानित तीन करोड मानिसको ज्यान लियो । चीनका धार्मिक सांस्कृतिक धरोहरका ३० हजार मन्दिर तीर्थस्थल ध्वस्त भए । कन्फ्युसियन, बौद्ध र ताओ परम्परालाई योजनाबद्ध प्रहार गरियो । चीनको सामाजिक, धार्मिक सांस्कृतिक एकता दशकौँसम्म चकनाचुर पारियो र गाउँ-गाउँमा चर्चको स्थापना गरियो ।
नेपालीले साँच्चिकै नेपाली भएर जिउने हो भने, सनातन पूर्वीय धर्म-संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्न राज्यको नैतिक आधार बनाउन दृढ अठोटको संकल्प लिनुपर्छ । विदेशीवाद बोकेका, एनजीओ/आइएनजीओको एजेन्डामा चलेका पार्टी र तिनका नेतालाई ‘भोट बहिष्कार’मार्फत दण्ड दिनु यथार्थपरक देशभक्ति हो ।
‘पुरानो विश्वास नष्ट गर’ भन्ने कट्टर पश्चिमी मिसनको वैचारिक दृष्टिकोणले प्राचीन चिनियाँ सभ्यतालाई ध्वस्त पारेको थियो । जब सिनमा सी जिन पिङ्गको उदय भयो, तब पश्चिमी वैचारिक उद्देश्यले ध्वस्त पारिएको धार्मिक सांस्कृतिक चिनियाँ एकतालाई आत्मसात गर्दै संरक्षण र सम्बद्र्धन गर्दै पश्चिमी मिसनलाई चीनभित्र निस्तेज पारेपछि नै चीनले आजको आर्थिक सामाजिक विकास गरेको हो । आज नेपालमा पनि माओवादीले चीनको ताइपिङ विद्रोहको झल्को दिने पश्चिमी मिसनको धर्म-संस्कृतिविरोधि अभियान माओवादी द्वन्द्वमा गऱ्यो ।
त्यही योजनालाई एमाले काङ्ग्रेस लगायतका पार्टीले अविलम्ब आत्मसात गर्दै, धर्मनिरपेक्षको जगमा टेकेर पूर्वीय वैदिक सनातन आस्थाका मठ, मन्दिर गुम्बा, देवालय, सँगै नेपाली सांस्कृतिक सहअस्तित्व, इतिहास पहिचानलाई ध्वस्त पार्न हरसम्भव मेहनत गर्दैछन् । पश्चिमले अफ्रिकी मुलुकमा प्रयोग गरेको वर्गसंघर्ष र जातिय उत्थानका नारा लगाएर नेपाली समाज विभाजित गर्दै द्वन्द्वको बिजारोपण गर्दैछन् । पश्चिमाहरू दक्षिणको काँधमा चढेर विभिन्न एनजीओ/आईएनजीओ र राजदूतावासद्वारा नयाँ पुरानो दलका नेतामार्फत नेपाली धार्मिक, सांस्कृतिक पहिचान नेपाली एकतालाई समुल नष्ट गर्न लगानी गर्दैछन् ।
अब जनताले विदेशीवाद पश्चिममा मिसन हैन पृथ्वीपथ र राष्ट्रवाद बुझ्नैपर्छ । किनकि, वेदव्यासको ज्ञानधारा, योगी नरहरिनाथको राष्ट्रचिन्तन र गुरु गोरखनाथको सनातन चेतना, बौद्धको विश्वशान्तिको ज्ञान, फाल्गुनन्दको आत्मशुद्धि, तागेरा निङ्वाफुमाको मुलमर्म नचिन्ने, पूर्विय दर्शनको धार्मिक सांस्कृतिक इतिहास नबुझ्ने नेतृत्वले नेपाल बुझ्नै सक्दैन । विश्वले धार्मिक, ऐतिहासिक तीर्थस्थलका रूपमा स्वीकार गरेका हाम्रा आस्थाका केन्द्रलाई राज्यनीतिको मूलधारमा राख्न नसक्नु वैचारिक कंगालपन हो । अर्थात् बैरीको हितमा राष्ट्र र राष्ट्रियतालाई समुल रुपमा नष्ट गर्ने नीति हो ।
नेपाली भेषभूषा, भाषा, संस्कृति र इतिहासलाई राष्ट्रिय पहिचानको मुद्दा बनाउन छाडेर पाश्चात्य शैली, विदेशी भाषा र आयातित संस्कृतिको नक्कललाई आधुनिकता ठान्नेहरूले चुनाव जितेर सत्तामा पुगेपनि राष्ट्रहित हैन पश्चिमाकै हित गर्नेछन् । यी विदेशवादी, विदेशीको आशीर्वाद बोकेर एनजीओ/आईएनजीओको आदेशमा नेता बनेकाहरू राष्ट्र-विस्मरणका संवाहक हुन् । आम नेपालीले बैरीका चेलाको भाषणमा बहकिने हैन । पुर्खाको विरासतलाई छातीमा राखेर विदेशी हस्तक्षेपलाई अस्वीकार गर्ने साहस बोक्नुपर्छ ।
नेपालीले साँच्चिकै नेपाली भएर जिउने हो भने, सनातन पूर्वीय धर्म-संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्न राज्यको नैतिक आधार बनाउन दृढ अठोटको संकल्प लिनुपर्छ । विदेशीवाद बोकेका, एनजीओ/आइएनजीओको एजेन्डामा चलेका पार्टी र तिनका नेतालाई ‘भोट बहिष्कार’मार्फत दण्ड दिनु यथार्थपरक देशभक्ति हो । अब चेतनाको बिर्को खोल्नैपर्छ, अन्यथा भावी सन्तति र इतिहासले धिक्कार्ने छ ।
जय मातृभुमि !
प्रतिक्रिया