नेपाली-राजनीतिमा ओलीको ‘बमबोली’को प्रभाव !

नेपाली-राजनीतिमा ओलीको ‘बमबोली’को प्रभाव !


भदौ २३-२४ को ‘जेन-जी विध्वंश’पछि सबैजसो राजनीतक दलमा एकप्रकारको राजनीतिक, वैचारिक र साङ्गठानिक अन्यौलता देखिन्थ्यो । तुलनात्मक रूपमा एमालेचाहिँ तत्कालै बढी प्रस्ट तथा सक्रिय देखियो । एमालेको सङ्गठनमा खासै असर परेको देखिएन । त्यतिबेला नै आन्दोलनका नाममा आउने प्रत्येक विचारविहीन भीडको पछाडि लागेर वैधानिक राजनीतिक दल भड्किनु वा बहकिनु आवश्यक छैन भन्ने कुरा एमालेले प्रस्ट गऱ्यो । प्रचण्डले नेतृत्व गरेको माओवादीले भदौको प्रदर्शनपछि आफ्नो पार्टीको नाम र सिङ्गो पार्टी नै ‘डिलिट’ गऱ्यो । नेपाली काङ्ग्रेस आफ्नो पार्टीको विशेष महाधिवेशनमार्फत अघि आयो । तथापि काङ्ग्रेस पार्टी जेन-जी विध्वंशलाई कसरी हेर्ने भन्ने सवाल एवम् संसद् पुनःस्थापनाको मुद्दा आदिमा अन्यौलग्रस्त नै रह्यो ।

जेन-जीको प्रदर्शनपछि ‘नेतृत्व युवामा हस्तान्तरण हुनु पर्दछ’ भन्ने नारा पार्टी र सत्ता-राजनीतिमा बढी चर्चामा रह्यो । हामीले कस्तो युवा खोजेका हौँ ? के कम उमेर भएका ब्यक्ति मात्र पार्टी र सत्ता-राजनीतिमा खोजिएको हो ? कसरी कुन आधारमा युवामा नेतृत्व हस्तान्तरण गर्ने हो ? यस्ता सवाल धेरै छन् । कतिपय सन्दर्भमा पार्टीमा नलागेको ‘स्वतन्त्र युवा’को माग राज्य सञ्चालनमा गरिएको सुनिन्छ । कस्तोलाई स्वतन्त्र भन्ने हो ? राजनीतिक दल र ‘राजनीतिबाट माथि उठेको’, देशको माया गर्ने युवा चाहियो भनिएको पनि सुनिन्छ । कसरी पहिचान गर्ने त्यस्तो मान्छे ? राजनीतिशास्त्रको आँखाबाट अध्ययन र विश्लेषण गर्ने हो भने सत्ता, सरकार, संविधान र शासन भनेको नै राजनीतिक निकाय, अंग र क्षेत्रका विषय हुन् । कुनै खास विषय र समयमा कोही मानिस बोल्दैन र विचारसमेत राख्दैन भने पनि त्यसले त्यो अवस्थामा कुनै नै कुनै विचार, समूह र राजनीतिक शक्तिलाई समर्थन नै गरेको हुन्छ भन्ने मान्यता राजनीतिशास्त्रीय दार्शनिकहरूको रह्यो ।

वास्तवमा, राजनीतिबाट मानिस टाढा हुनै सक्दैन । ग्रिक दार्शनिक प्लेटोले मानिस जन्मजात नै राजनीतिक प्राणी हो भनेका छन् । नीतिको पनि नीति हो राजनीति । दर्शनको पनि आधारभूत दर्शन हो । राज्य सञ्चालन गर्ने मूल नीति ‘राजनीति’ हो । यस्तो नीतिका बारेमा सचेत हुनु सबैका लागि आवश्यक भए पनि राजनीतिक दल, संगठन वा समूहमा लाग्ने वा नलाग्ने कुराचाहिँ व्यक्तिको निजी चाहनाको विषय हो । नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (१९६६) ले राजनीतिक विचार राख्ने, संगठन खोल्ने, कुनै दलमा लाग्ने र अभिव्यक्तिको स्वतन्त्रता जस्ता विषय मानिसको मानव अधिकार तथा राजनीतिक स्वतन्त्रताको विषय भएको भन्ने कुरा प्रस्ट गऱ्यो ।

२०८२ साल कात्तिक २२ गतेदेखि एमालले देशैभरि कार्यकर्ता परिचालन, जुलुस, कोणसभा र राजनीतिक कार्यक्रम गऱ्यो । मंसिर २७-२९ गते काठमाडौं उपत्यकामा ११औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गऱ्यो । एमालेको अध्यक्ष पुनः केपी ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजयी भएपछि ओलीको ‘बमबोली’ थप बलियो भएको छ । २०७८ साल मङ्सिर १०-१२ सम्म चितवनमा भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीलाई चुनौती दिएर डा. भीम रावल प्रत्याशी भएका भएपनि ओलीले १ हजार आठ सय आठ मतसहित विजयी बन्दा रावललाई केवल २ सय तेइस मत मात्र प्राप्त भयो । जेन-जी प्रदर्शनअघि मात्र एमालेले उसको दोस्रो विधान महाधिवेशन ललितपुरमा गरेको थियो । गत असोजमा एमालेले केन्द्रीय कमिटीको बैठक गऱ्यो । उसले राजनीतिक र सांगठानिक कार्यक्रम मात्र होइन पार्टीको केन्द्रीय कार्यालयको पुनर्निर्माण एवम् निर्वाचनसम्बन्धी तयारी समेत तीव्रताका साथ गर्दैछ ।

युवा र नयाँको भ्रम

निर्वाचनमा नयाँ र युवा छान्ने भ्रम छरिएका छन् । केवल उमेरमा मात्र कम भएका युवा हामीलाई चाहिएको हो ? राजनीति राज्य सञ्चालन गर्ने नीति भएकाले त्यस्तो नीति सञ्चालन गर्ने र नागरिक परिचालन गर्ने नेतृत्वमा रहने व्यक्तिमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक, कानुनी, भौगोलिक, व्यवहारिक, मानवीय तथा समग्र ज्ञान, दक्षता, कतिपय खालका राजनीतिक द्वन्द्व व्यवस्थापनको ज्ञान र कला, नागरिक अधिकार तथा स्वतन्त्रताको पक्षपाती र नागरिकका राजनीतिक, सामाजिक र सार्वजनिक सरोकारका अनेकौँ मुद्दाको बहुआयामिक ज्ञान र समाजलाई विखण्डन होइन एकीकृत गर्न सक्ने संगठन, जिम्मेवारी, अपनत्व, संकटलाई सामान्यीकरण गर्ने कला, ज्ञान र सीप भएको हुनुपर्दछ । नेतृत्वमा आउन मूलतः विचार, संगठन र प्रतिनिधिहरूको सर्वाधिक स्वीकार्यता आवश्यक पर्दछ । एमालेमा तुलनात्मक रूपमा अध्यक्ष ओलीमा विचार र दृष्टिकोण तथा भूराजनीतिको अध्ययन बढी नै छ । ओलीको ‘बमबोली’को कारण चुनावी प्रतिष्पर्धामा उत्रिएका बालेन्द्र साह ‘पब्लिक डिबेट’प्रति त्रसित भएका हुन् ।

तसर्थ, चुनावमा नयाँ र युवा भन्ने ‘बुकुल्टो गीत गाएर’ मात्र मुलुकको शासकीय सुधार हुने होइन । राजनीतिक दर्शन, सिद्धान्त, भूराजनीतिक अनुभव, इतिहास, वस्तुगत आवश्यकता, मुलुक र समाजको क्षमता, अवस्था, आवश्यकता र संवैधानिक तथा राजनीतिक मार्गबाहिरका निजी आग्रह, विचार र चाहनाको राजनीतिमा कुनै अर्थ हुँदैन । निजी धारणा र विचार बोल्न कुनै पनि राजनीतिक, वैचारिक र दृष्टिकोण चाहिन्न । प्राइभेट वा पब्लिक कम्पनीमा अध्यक्ष वा सचिवको पद ‘पालैपालो हस्तान्तरण’ गरिएजस्तो प्रकारले राजनीतिक पार्टीमा र निर्वाचनमार्फत नयाँ र युवा नेतृत्व हस्तान्तरण हुने कुरा होइन । निर्वाचनमार्फत नयाँ नेतृत्व हस्तान्तरणको माग गर्नेले त्यो ल्याकत, तागत र क्षमता प्रदर्शन गरेकै हुनुपर्दछ ।

मुलक, देश र समाजलाई हाँक्नका लागि विचार, मुद्दा र परपर्दाे नेतृत्व आवश्यक हुन्छ । विचारविहीन मान्छेले अर्काेलाई धम्क्याएर नेतृत्व हस्तान्तरणको अपेक्षा गर्नु सुहाउने कुरा होइन । भारतमा ‘बिट्रिस भारत छोडो’ आन्दोलनमा सन् १९४२ देखि सन् १९४७ को अवधिमा महात्मा गान्धी सानो समूहका साथ शान्तिपूर्ण हडताल गरे पनि उनको नेतृत्वप्रति पूरै भारतीयको समर्थन रह्यो । जसमा गान्धीको विचार, दृष्टिकोण, मुद्दा, अभियान, सादगी जीवन, चरित्र, निष्ठा, त्याग र शान्तिपूर्वक गरिएको निरन्तरको कार्यप्रतिको समर्थन थियो । दक्षिण अफ्रिकामा पनि शान्तिपूर्ण मार्गबाटै सन् १९९० मा राजनीतिक परिवर्तन सम्भव भयो । नेतृत्व लिन चाहनेले वैचारिक, सैद्धान्तिक, सांगठानिक र कार्यक्रमिक सबै दृष्टिले आफूलाई प्रमाणित गरेको हुनुपर्दछ ।

पार्टी र सत्ता-राजनीतिमा उर्जावान युवा चाहिएको हो । पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण गर्ने कुरा अस्वभाविक होइन । तर, उमेरमा कम भएका युवा मात्र नेतृत्वमा चाहिएको होइन । भूराजनीतिक अनुभवलाई विश्लेषण गर्ने हो भने पनि अमेरिकामा सन् २०१६ र सन् २०२४ मा विजयी राष्ट्रपति डोनाल्ड ट्रम्प ७९ वर्ष, रुसमा राष्ट्रपति भ्लादिमिर पुटिन ७३ वर्ष, तीन पटक प्रधानमन्त्रीमा विजयी भएर सत्तामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७५ वर्ष, चीनका राष्ट्रपति सी जिनपिङ ७२ वर्ष पूरा भएका भए पनि पार्टी र सत्ता–राजनीतिमा कुशल देखिन्छन् । ती मुलुक विकास, समृद्धि, सुशासन र भूराजनीति शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण छन् । उक्त देशहरूमा पुराना इतिहास भएका राजनीतिक दलहरू नै निरन्तर सत्तामा छन् ।

यस्तै, बेलायत, जापान आदि देशमा पनि पुराना दलहरू सत्तासिन देखिन्छन् । सिंगापुर, मलेशिया, इन्डोनेशिया आदि मुलुकको सत्ता-नेतृत्वको विश्लेषण गर्ने हो भने पनि उमेरमा कम उमेरका राजनीतिक नेतृत्वबाट मात्र सञ्चालन भएको इतिहास छैन । एमाले अध्यक्ष केपी ओली उमेरमा ७५ वर्ष पूरा भइसकेका भए पनि विचार, संगठन परिचालन, सक्रियता र पहलकदमीका दृष्टिले युवा भन्दा बढी उर्जाशील छन् । लोकतान्त्रिक पार्टीको महाधिवेशनमा राजनीतिक मुद्दा नै सर्वाधिक महत्वपूर्ण तथा आधारभूत विषय हुने भए पनि नीतिलाई हाँक्ने कमान्डरसहितको नेतृत्वको महत्व हुने गर्दछ । ओलीको राजनीतिक नेतृत्व र ‘बमबोली’को कारण मुलुकको राजनीति तरङ्गित छ । झापा ५ को निर्वाचनमा यसपटक पनि ओली नै विजयी हुने स्पष्टै देखिन्छ ।