कारूणिक गायिका अरूणा लामालाई सम्झिँदा…

कारूणिक गायिका अरूणा लामालाई सम्झिँदा…


मैले अरुणा दिदीका गीतहरु सुन्न थालेको ४५ वर्ष भन्दा बढी भयो । रेडियो नेपालमा वहाँका गीतहरु प्रायः बज्दैनथे । तसर्थ रेडियो खर्साङ बिहानैदेखि सुन्दथ्यौँ । त्यस समय जीतेन्द्र बर्देवा, डेजी बराइली, कुमार सुब्बा, कर्म योञ्जन, गोपाल योञ्जन, दावा ग्याल्मो, शान्ति ठटाल, दिलमाया खाती, अरुणा लामाका गीतहरु बज्दथे । मलाई जितेन्द्र बर्देवाको गीतहरु पनि ‍औधी मन पर्थ्यो । वहाँको काँपेको आवाज मलाई मन पर्थ्यो । जितेन्द्र बर्देवाको गीत, ‘एक रात थियो, भर्खरकै थियो’ म अझै पनि सुन्छु । तर अरुणा दिदी भने विशेष मन पर्थ्यो । अहिले जस्तो यूट्युवको जमाना थिएन । मन परेको गीत बारम्बार सुन्न पाइँदैनथ्यो । घण्टौँ रेडियो खर्साङ, रेडियो गौहाटी घुमाउँदै सुन्दा मुस्किलले सुन्न पाइन्थ्यो । पछि भने अरुणा दिदीको क्यासेट किनेर सुन्न थालेँ । काठमाडौमा अरुणा लामा साँझ हुँदा म पनि प्रत्यक्ष सुन्न पुगेँ । सो प्रत्यक्ष कार्यक्रमको भिसिडी थियो । अहिले सो भिडियोको डिभिडी बनाएर राखेको छु । हङकङमा बस्ने भाइ सुरज श्रेष्ठले मेरो लागि पाँच कपी डिभिडी बनाएर ल्याइदिएको छ ।

अरुणा लामाको छोटो जीवनी

बुबा सूर्यबहादुर लामा र आमा सानमाया लामाको कोखमा वि.सं. २००२ भाद्र २४ गते आइतबार दार्जिलिङको घुम पहाडमा जन्मनुभएकी अरूणा लामा बाल्यकालदेखि नै संगीतमा रूचि राख्नुहुन्थ्यो । सानैदेखि वहाँको स्वर मीठो भएको हुँदा घरमा मिठू भनेर बोलाइन्थ्यो । वहाँका काका सिबि लामाको शब्द र संगीतमा ‘मन मन्दिरमा कृष्ण तिमी आउ’ बोलको भजन मङ्पु स्थित सरस्वती निम्न माध्यमिक पाठशालाको मञ्चमा गाएर वहाँले सार्वजनिक रूपमा गायनको शुरूवात गर्नुभएको थियो ।

२०१३ को असारमा काकाले नै अम्बर गुरूङको आर्ट एकेडेमीमा भर्ना गरिदिनुभएपछि अझ संगीतमा गहिरीएर लाग्ने प्रेरणा मिल्यो । यसको चार महिनापछि नै पहिलो पटक गोर्खा दुःख निवारण सम्मेलनले आयोजना गरेको नेपाली संगीत प्रतियोगितामा पूर्णसिंह गुरुङको शब्द र संगीतमा ‘याद अतितको सम्झि सम्झि’ बोलको गीत गाउनुभएर दोश्रो भएपछि वहाँले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । दोश्रो वर्ष सोही प्रतियोगितामा मनबहादुर गुरुङका शब्द र संगीतमा दन्किरहेको दग्ध चितामा गाउनु भएर प्रथम हुनुभयो । तेश्रो वर्ष अम्बर गुरुङको शब्द र संगीतमा फेरि कलि फुलेर अतीत सँगाली ल्यायो गीत गाउनुभएर प्रथम हुनुभयो । यसरी लगातार वहाँ प्रथम हुनुभएको थियो ।

२०१८ मा अम्वर गुरूङले कलकत्ताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा भूपी शेरचनको शब्दको ‘यो मन उदास उदास छ मेरो’ तथा पासाङ वाङ्ग्यालको शब्दको युगल गीत ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ न’ बोलको गीत रेकर्डिङ गराइदिनुभएपछि वहाँको आवाजको एलपी नै निस्किएको थियो । यी दुबै गीतको संगीत अम्बर गुरुङको रहेको थियो । दोश्रो गीतमा साथ दिने रुद्रमणी गुरुङले भने यसपछि कुनै पनि गीत गाएको भेटिँदैन । सायद रेकर्डिङ भएको पहिलो र अन्तिम गीत नै वहाँको यही मात्रै थियो । वहाँको २०७६ मंसिर २३ गते ८४ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो ।

घुम पहाडदेखि पश्चिममा रहेको सानो गाँउ मङ्पुमा रहेको प्राथमिक पाठशालामा बाल्यकालको शिक्षा ग्रहण गर्नुभएकी अरूणा दिदीले पछि दार्जिलिङको सेन्ट टेरेसा स्कुलबाट माध्यामिक शिक्षा पुरा गर्नुभएपछि दार्जिलिङको गवर्मेन्ट कलेजबाट ग्रेजुएट गर्नुभएको थियो ।

अम्बर गुरूङको आर्ट एकेडेमीले दार्जिलिङको गाँउ वस्तीहरूमा सांगीतिक कार्यक्रमहरू देखाउने गर्दथ्यो । जहाँ अरूणा दिदी सधै गाउन पुग्नुहुन्थ्यो । त्यहिँ गायनको क्रममा वहाँको भेट म्यान्डोलिन बजाएर पछाडि बस्नुहुने शरण प्रधानसँग भएको थियो । यो सम्बन्ध पछि गहिरिँदै गयो । अन्ततः २०२० साल असार २५ गते मंगलबार १८ वर्षको उमेरमा वहाँले सुटुक्क घरबाट निस्केर शरण प्रधानसंग प्रेमविवाह गर्नुभयो । हर्कबहादुर प्रधान र कविमाया राईका एक्ला सन्तान तथा बाबुआमाका निकै प्यारा शरण प्रधानको लागि अरूणालाई घर भित्र्याउन कुनै असहज भएन । वहाँको बुबा प्रधान थरका नेवार भए पनि आमा भने राई हुनुहुन्थ्यो । त्यसैले प्रधानको घरमा लामाको आगमनमा कुनै अप्ठ्यारो भएन । त्यसमा पनि संगीतमा रूची भएका सासुससुरा तथा संगीतकार पति हुँदा त अरूणादिदीलाई संगीतमा लाग्न अझ सहज भयो । पति शरणले बिस्तारै संगीतका साथ साथै गीतहरु पनि कोर्न थाले । जसले गर्दा वहाँ कै गीत संगीतमा धेरै गीतहरु अरुणा दिदीले गाउनुभयो ।

विवाहपछि जीवनको बारेमा धेरै सपना देख्न थाल्नुभए पनि लामो वैवाहिक सुख भोग्न पाउनुभएन । साना-साना दुई सपना र सुप्रित तथा श्रीमती अरूणालाई छाडेर २०३१ बैशाख २० गते शुक्रवारको दिन आफ्नो ३१औ जन्म दिनमा नै शरण प्रधानले सदाको लागि संसार छोडेर जानुभयो । अरुणा दिदीलाई भाग्यले नराम्रो गरि रुवायो । २०२९ सालमा बुबाले सदाको लागि छोडेर जानुभएको थियो, २०३० मा आमाले छोडेर जानुभयो अन्तमा २०३१ मा जीवनभर साथ दिने कसम खाएका पतिले पनि बीच मझधारमा छाडेर जानुभयो । तीन वर्ष लगातार जीवनका महत्वपूर्ण तीन ब्यक्तिलाई गुमाउनु भएपछि वहाँ एकैपटक गीत संगीतबाट हराउनुभयो ।

यसरी आफन्त गुमाउनु भएर अरुणादिदी यति विक्षिप्त हुनुभयो कि वहाँले गीत संगीतबाट पूर्ण विश्राम लिनुभयो । संगीतप्रेमीको लागि वहाँको यो विश्रामले ठूलै असर पऱ्यो । गीत संगीतमा फर्कनुभएर आफ्ना जीवनका दुःखपीडा बिर्सन धेरैले गर्नुभएको अनुरोध अस्विकार गर्नुभएका वहाँले अन्ततः कर्म योञ्जनको अनुरोधमा गाउन स्विकार गर्नुभयो । वहाँले तीनधारेको मञ्चमा लामो शोकपछि शरण प्रधानको शब्द संगीतको ‘मैले जीवनलाई कसरी सजाए’ गीत गाउनुभएर पुनः संगीतमा फर्कनुभयो । यसको केही समय पछि राजेन्द्र थापाको शब्द र अम्बर गुरूङको संगीतमा गीत रेकर्डिङ गराउनुभयो । राजेन्द्र थापाले वहाँकै लागि लेखिदिनु भएको गीतको शब्द यस्तो थियो –
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो।
सास फेरेजस्तो लाग्छ तर भन्छन् मरिसकिस्
तेरो भाग्य यति नै हो भोगचलन गरिसकिस्
सलहको भाग्य मेरो, मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे सिउँथेँ बरु तर मन सिउने केले हो
सुख के हो, दुःख के हो, मनले खोज्ने खुसी के हो
भावीले निधारमा कर्म लेखिदिने मसी के हो
कर्म लेख्ने मसी के हो, भाग्य तोक्ने कसी के हो
कर्म फुटे जोड्थेँ बरु तर मन जोड्ने केले हो

यसपछि वहाँले बिरहका गीतहरु मात्र गाउनुभयो । अझ भनौ भने उनलाई बिरहका गीत मात्रै गाउन दिइयो । यसरी वहाँका सबै गीत पिडाले भरिएको हुन थाले । बिरह र वेदनाको गीत गाउँदा-गाउँदा वहाँ कारूणिक गायिका बन्न पुग्नुभयो । यस्तैमा हरिभक्त कटुवालले एक गीत वहाँलाई दिनुभयो जसलाई मणिकमल क्षेत्रीले संगीत भर्नुभएको थियो । मणिकमललाई टीका लगाएर अरूणा दिदीले भाइ बनाउनुभएको थियो । तसर्थ हरिभक्त र मणिकमलको अनुरोधमा अरूणा दिदीले यो गीत गाउनुभयो –
हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाइ मनभित्र बैंस फुलेछ ।
कता कता कसैलाई भेटे भेटे झैँ
सङ्लो पानी पिइ तिर्खा मेटे मेटे झैँ
कोहो कोहो दुई आँखामा आइ डुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ ।
एक जोडी आँखा सधैं हाँसुँ हाँसुँ झैँ
एउटा माला फूल टिपी गाँसुँ गाँसुँ झैँ
कसो कसो बिहानीको निँद खुलेछ
थाहा नपाइ मनभित्र प्रीत फुलेछ ॥

यो गीतपछि भने अरूणा दिदीका केही रोमान्टिक गीतहरू पनि आउन थाले ।

पतिको मृत्युपछि अरूणा दिदीको लागि दुखको दिन शुरू भएको थियो । बल्ल-बल्ल भाइहरूले खोजिदिएको जागीरमा पनि मालिक नै भागेर तलब पाउनुभएन । त्यसपछि अस्थाइ शिक्षिकामा रुपमा पढाउन थाल्नुभयो । त्यस्तैमा २०३३ मा बल्ल अनुसुचित तथा जनजाति कल्याण विभाग, दार्जिलिङमा निरिक्षक पदमा स्थाइ नोकरी पाउनुभयो । जहाँ जीवनको अन्तसम्म वहाँ कार्यरत रहनुभयो ।

२०५४ माघ २२ गते कलेजोको समस्याको उपचारको क्रममा सदाको लागि संसार छोडेर जानुभयो । जीवनभर दुःख कष्टसंग दार्जिलिङमा साधारण सरकारी नोकरीमा जीवनयापन गर्नुभएकी अरूणा दिदीको मृत्युपछि शवलाई काठमाडौंमा दाहसंस्कार गर्ने कोशिस भयो । तर, परिवारले मानेनन् र अन्ततः दार्जिलिङमा नै शव लगेर दाहसंस्कार गरियो । अस्तु भने वाग्मतीमा सेलाउन ल्याइयो ।

सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आँशुमा म फुलेँ
म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गितमा म भुलेँ
सुन्दछु मेरो यहीँ धर्ती भित्र आफ्नै छ रगत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत
देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलेँ
न घर मेरो न वन मेरो यहि मनले म एक्लो
मुहार मेरो सबैको जस्तो आँशुले म बेग्लो
लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु
दिनले हजुर खोला मै म सुकेँ !