सरकार र हामी

सरकार र हामी


नेपालको राजनीतिक इतिहासमा सम्भवत: यस्तो परिस्थिति यसअघि सिर्जना भएको थिएन जहाँ सरकारको नेतृत्व गरिरहेका व्यक्तिका लागि आफ्नो पद यसरी घाँडो सावित भइरहेको होस् । निकै रहरले प्रधानमन्त्री ओहोदा हासिल गरेको भए पनि यतिखेरको यथार्थ यही हो कि प्रधानमन्त्री माधव नेपाल आफ्नो पदीय बोझ कहाँ र कतिबेला बिसाउँm भन्ने भावमा छटपटिइरहेको अनुभूति गरिएको छ । मुलुकको यो शक्तिशाली पद हासिल गर्न वर्ष दिनअघि जुन कसरत गर्नुपरेको थियो, जिम्मेवारीबाट सहजताका साथ पन्छन या सरकारको नेतृत्वदायी भूमिकाबाट बहिर्गमनका लागि त्योभन्दा बढी माथापच्ची प्रधानमन्त्री नेपालले अहिले गर्नु परिरहेको अवस्था छ । जुन स्थान हासिल गर्न एकातिर मुलुककै ठूलो दलका सर्वोच्च नेता पुष्पकमल दाहाल दिनरात छट्पटीपूर्ण कसरत गरेर पनि असफल साबित भइरहेका छन्, यस्तो स्थान त्याग्न आखिर माधव नेपाल यसरी आतुर किन बनिरहेका होलान् – प्रश्न विचारणीय छ ।
सरकारको एक वर्ष कैयन कोणबाट असफल सिद्ध भएको यथार्थसँग अनभिज्ञ सम्भवत: कोही छैनन् । समस्त राजनीतिक दल तथा उनीहरूबाट चुनिएका प्रतिनिधिहरूको साझा र एकमात्र जिम्मेवार निकाय ँसंविधानसभा’ले समयमा संविधान निर्माणको जिम्मेवारी पूरा गर्न नसकेकोदेखि लिएर आफ्नै कमी-कमजोरी र अक्षमताका कारण सिर्जना भएका विसङ्गतिसम्मको दोष सरकारकै थाप्लोमा थोपरिएको छ । गर्नैपर्ने र गर्न सकिने कामहरू पनि सङ्क्रमणकालीन राजनीतिक अवस्थाका कारण पहाडजत्तिकै चुनौतीपूर्ण बनेर ठडिने या असम्भवझैँ देखिने परिवेशबाट पनि थिचिएको छ सरकार । प्रतिपक्षीको भूमिका अत्यन्त पूर्वाग्रहपूर्ण रहेकोले पाइला-पाइलामा काँडा बिझेको अनुभूति गर्न ऊ विवश छ । जनता निराश छन्, विशेषगरी युवावर्गमा एकप्रकारको त्रासदीपूर्ण निराशा छाएको छ । बेरोजगारीले यतिसम्म गाँजेको छ कि योग्यभन्दा योग्यतम् व्यक्तिका लागि पनि एउटा साधारण जागिर या त मृगतृष्णा बन्न पुगेको छ या चाहिँ ँविदेशको चार हजार कामदार कोटाका लागि चालीस हजारको लाइनमा उभिनुपर्ने’ विवशता छ । सरकारसँग तत्काल कुनै त्यस्तो योजना, अवधारणा वा नीति-कार्यक्रम छैन जसद्वारा मुलुकका न्यूनतम समस्याको सम्बोधन या निराकरण गर्न सकियोस् । बजेट अधिवेशनको समय र्घर्किसकेको छ । बजेटअघि संसद्मा छलफल नै हुन नसकेको लगातार दुई वर्ष भइसकेको छ र यसपाला पनि छलफलको समय गुज्रिसकेको छ । अध्यादेशबाट बजेट ल्याउने सरकारी सोच पनि गलत नजिर स्थापनाको आशङ्काले धर्मराइरहेको छ । यसरी नयाँ आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नसक्ने निरीहता बोकेको सरकार आफूलाई ँदीनहीन’ महसुस गरिरहेछ । अझ पीडादायी विषय त यो छ कि थपिएको अर्को एक वर्षमा पनि नयाँ संविधान बनेर जारी हुनसक्ने कुनै अठोट या आत्मविश्वास सरकारमा पैदा हुन सकेकै छैन । यदि यही सरकार अर्को जेठ १४सम्म कायम रहने हो भने त्यसपछि माधव-नेतृत्वको सरकारले व्यहोर्नुपर्ने लाञ्छना सहिसक्नुको हुनेछैन, त्यतिबेला सम्भवत: माधव नेपाल नेपालको इतिहासकै सर्वाधिक नालायक प्रधानमन्त्री सिद्ध तुल्याइने छन् । यसको भेउ प्रधानमन्त्री नेपालले पाइसकेको प्रतीत हुन्छ । पद त्याग्ने प्रेरणाको दरि्बला स्रोत सायद यिनै-यिनै हुन् ।
तर, ँराजनीतिक समस्या निकासमा आफू बाधक नबन्ने’ बहानाका साथ राजीनामा दिन तयार प्रधानमन्त्रीलाई पद नछोड्न आग्रह गर्नु परिरहेको विचित्रको परिस्थिति पैदा भएको छ । पद लेनदेनको यो रोमाञ्चहीन खेल कहिलेसम्म तन्किने हो, कसले किन र कसरी तन्काइरहेछ, कोही जान्दैनन् । यस्तै निरीह नियतिबाट गुज्रिएको राजनीतिक परिवेशबीच सरकारले वर्ष दिन लामो निरस यात्रा पार गरेको छ । र, राजनीतिका यस्तै चलखेल एवम् समयद्वारा पस्किइएका देश-दुनियाँका विविध घटना-परिघटनायुक्त आयामहरू आमपाठकमाझ सम्प्रेषण गर्दै घटना र विचार पनि आफ्नो पन्ध्रवर्षे यात्रा पूरा गरी यही साताबाट सोह्रमा प्रवेश गरेको छ । स्थापनाकालदेखिको स्वस्थ र निरन्तर यात्राका निम्ति आमपाठक, विज्ञापनदाता र शुभेच्छुजनको अलभ्य सहयोगको भूमिका रहेको यथार्थप्रति नतमस्तक हुँदै घटना र विचार सम्बन्धित सबैप्रति कृतज्ञता ज्ञापन गर्दछ ।