बाउ-छोराको गन्थन

बाउ-छोराको गन्थन


छोराले सोध्यो,’बाबा के लेख्दै हुनुहुन्छ ?’
मैले भनेँ, ‘मनका कुरा’
कसको बारेमा ?
तिम्रै बारेमा
कसरी बाबा ?
बाबु, यसरी…

प्रवाशी छोरा, तिमीसँग बाँचिरहोस् आशा
टाढाको तर तातो सम्बन्धसँगै
उज्यालियोस् तिमीले रोजेको कर्म
मनभित्र फुलेको लाली गुराँसजस्तै ।

सोधियो भने तिमीलाई तिम्रो स्वामित्व कता छ ?
तिमीले देखाउन सक्नु नेपालको नक्सा
तिमीलाई हुर्काउँदै गर्दा
आमाले घाँस काटेका खोरिया
र भन्न सक्नु – ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’

कसैले सोधे भने तिम्रा आफन्त कहाँ छन् ?
खरबारीमा खर काट्दै गरेकी भाउजु
हिमालमा भारी बोकिरहेका भरिया बा
र तराइको पटुवारीका छिमेकी खेताला
देखाउन सक मनको क्षितिज खोलेर ।

प्रवासको घर केवल सहजताको अनुमति हो बाबु
जन्मघर घर नै हुन्छ बाबु.. किनकि त्यहाँ पुर्खाको आशीर्वाद
छिमेकमा करुणा र पाखापखेरामा आफ्नै सालनालको रगत
स्वदेशको छानोभित्र अनिष्टमा रक्षानुभूति हुन्छ ।

यदि तिमीलाई कसैले ‘घर कता हो ?’ भनेर सोधे भने
कुन घरलाई तिमीले आफ्नो भन्न सकौला ?
तिमीले भन्न सक – हिमालबाट झरेको तपतप मेरो प्राण
र पहाडको छायाँ तल मेरो घर हो भनेर ।

कदाचित तिम्रा भाइ-बहिनी र बा-आमा
तिमीले खोज्न सक पाखाका खेतालाबीच
घन्केको सालेजो देउराली महोत्सवमा
तिमीभित्र बलिदेओस् आफै प्रेमको दीप बाबु
समय छँदै तुलसीको बास्ना लिन सकोस् तिम्रो नासिकाले ।