निर्वाचन निष्पक्ष र धाँधलीरहित हुन्छ : गृहमन्त्री अर्याल

निर्वाचन निष्पक्ष र धाँधलीरहित हुन्छ : गृहमन्त्री अर्याल


  • विकाश रौनियार, धादिङ

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित हुने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । निर्वाचन सुरक्षा अनुगमनका क्रममा धादिङ आइपुगेका गृहमन्त्री अर्यालले सुरक्षा निकाय, सरोकारवाला संस्था तथा सञ्चारकर्मीसँगको भेटघाटमा निर्वाचनका लागि आवश्यक सबै सुरक्षा तयारी पूरा भइसकेको जानकारी दिए।

संविधान पुनर्बहालीका लागि निर्वाचन अनिवार्य भएको उल्लेख गर्दै उनले अन्तरिम सरकारले तोकेको मितिमै चुनाव सम्पन्न हुने स्पष्ट पारे । चुनावी सरकारमार्फत सञ्चालन हुने निर्वाचन पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष हुने उनको दाबी छ।

विगतका निर्वाचनभन्दा यसपटकको निर्वाचन अझ विश्वसनीय र सुदृढ हुने बताउँदै उनले कुनै स्थानमा अनियमितता देखिए निर्वाचन रद्द गरी पुनः मतदान गराइने चेतावनी दिए ।

मतदाताले कुनै डर, दबाब वा प्रभावबिना नै आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिएको भन्दै गृहमन्त्री अर्यालले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरे।