जब योजनाबद्ध रूपमा संवेदनशील थलोलाई लक्षित गरिन्छ, संसद् भवन घेरिन्छ र राज्यका महत्त्वपूर्ण दस्ताबेजहरू जलाइन्छन्, तब मनमा चिसो पस्छ । के सरकारी कागजात जलाउनु, पुलिस स्टेशनमा आगो लगाउनु र राष्ट्रिय धरोहरमाथि प्रहार गर्नु कुनै नेपालीको हितमा हुन सक्छ ? पक्कै सक्दैन । यो त नेपालको जग नै खियाउने र राज्य-संयन्त्रलाई ध्वस्त पार्ने सुनियोजित प्रयास हो।
✍ समीर पौडेल
नेपालको राजनीति अहिले यस्तो तरल र रहस्यमय मोडमा आइपुगेको छ, जहाँ बाहिर देखिएका दृश्यहरू भन्दा भित्र बुनिएका तानाबानाहरू निकै भयानक लाग्छन् । हालैका दिनमा भएका अस्वाभाविक सत्ता परिवर्तन र सडकमा देखिएका उतारचढावहरूलाई केवल राजनीतिको नियमित प्रक्रिया भनेर बुझ्नु एउटा ठूलो भूल हुनेछ । हामीले सतहमा जे देखिरहेका छौँ, त्यो त केवल नाटकको एउटा दृश्य मात्र हो, पर्दा पछाडि त अर्कै खेल भइरहेकाे आभास हुन्छ । सूक्ष्म रूपले विश्लेषण गर्ने हो भने, यो नेपालीको आफ्नो आन्तरिक आवश्यकता भन्दा पनि कुनै अदृश्य शक्तिद्वारा निर्देशित एउटा ‘क्राइसिस डिजाइन’ जस्तो देखिन्छ, जसको वास्तविक स्वरूप समयसँगै बिस्तारै खुल्दै जानेछ ।
हामीले बुझ्नैपर्ने कुरा के हो भने, नेपालको पहिचान र शासनको मुटु भनेको सिंहदरबार हो । यो एउटा भवन मात्र होइन, यो त हाम्रो इतिहास, हाम्रो प्रशासन र हाम्रो सार्वभौमिकताको जीवित प्रतीक हो, जुन संसारको अन्य कुनै पनि कुनामा छैन । यो विशुद्ध नेपालीको गौरव हो । तर, जब योजनाबद्ध रूपमा यस्तो संवेदनशील थलोलाई लक्षित गरिन्छ, संसद् भवन घेरिन्छ, र राज्यका महत्त्वपूर्ण दस्ताबेजहरू जलाइन्छन्, तब मनमा चिसो पस्छ । के सरकारी कागजात जलाउनु, पुलिस स्टेशनमा आगो लगाउनु र राष्ट्रिय धरोहरमाथि प्रहार गर्नु कुनै नेपालीको हितमा हुन सक्छ ? पक्कै सक्दैन । यो त नेपालको जग नै खियाउने र राज्य-संयन्त्रलाई ध्वस्त पार्ने सुनियोजित प्रयास हो ।
सबैभन्दा दुःखलाग्दो पाटो त परिवर्तनको नाममा हाम्रो नयाँ पुस्तालाई कसरी प्रयोग गरियो भन्ने हो । ‘जेन-जी’ भनिने हाम्रा निर्दोष युवाहरू, जो आफ्नो देशमा केही राम्रो होला कि भन्ने आशा र बेथिति विरुद्धको पवित्र आक्रोश बोकेर सडकमा ओर्लिएका थिए, उनीहरूलाई नै ढाल बनाइयो । आफ्नो देशको भविष्य सुन्दर देख्न चाहने ती कलिला मनहरूको भावना र बलिदानलाई केही स्वार्थी शक्तिहरूले आफ्नो स्वर्थ सिद्ध गर्न अराजक बाटोमा मोडिदिए । कयौँ युवाहरूले देशका लागि रगत बगाए, शहादत प्राप्त गरे, र कतिपय अझै अस्पतालको बेडमा छटपटाइरहेका छन् । तर, विडम्बना के भयो भने, जसले वास्तविक रूपमा आन्दोलनको घोषणा गरे र जो सडकमा लाठी र गोली खाँदै थिए, आन्दोलन सकिएपछि उनीहरूलाई कुनामा मिल्काइयो । आन्दोलनको ‘नाइके’ र ‘मसिहा’ को रूपमा भने एकाएक त्यस्ता पात्रहरूलाई अगाडि सारियो, जो हिजोसम्म कतै देखिँदैनथे । यो दृश्यले नै यो सम्पूर्ण आन्दोलनको नियत र यसको पछाडिको ‘डिजाइन’ माथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ ।
यस अस्थिरताले हाम्रो वैदेशिक सम्बन्ध, विशेष गरी छिमेकीहरूसँगको सम्बन्धलाई झनै संशयपूर्ण बनाएको छ । अहिलेको समयमा हाम्रा छिमेकीहरू हामीसँग पूर्ण रूपमा विश्वस्त हुन सकिरहेका छैनन् । नेपालको भूमि उनीहरूका विरुद्ध प्रयोग हुन सक्छ कि भन्ने डरले उनीहरूमा एक प्रकारको संशय पैदा गरेको छ । हामीले के बिर्सनु हुँदैन भने, छिमेकीसँग लडेर वा उनीहरूलाई चिढ्याएर ‘आकाशमाथिको राजनीति’ गर्न खोज्दा हाम्रो आफ्नै अस्तित्व जोखिममा पर्न सक्छ। छिमेकीको सुरक्षा चासोलाई नजरअन्दाज गरेर गरिने कुनै पनि राजनीतिक प्रयोगले अन्ततः नेपाललाई नै रणमैदान बनाउने खतरा रहन्छ ।
अहिलेको विश्व राजनीतिमा नेपालको सामरिक महत्त्व हिजोको तुलनामा कयौँ गुणा बढेको छ । दुई विशाल छिमेकीको बीचमा रहेको हाम्रो मुलुकमा बंगलादेशमा सिर्जना गरिएको जस्तै अस्थिरताको छाया देखिनु कुनै संयोग मात्र हुन सक्दैन । यो त क्षेत्रीय असुरक्षा पैदा गर्ने एउटा ठूलो योजनाको अंश जस्तो देखिन्छ । यसैको आडमा हाम्रा मौलिक संस्कृति, पुस्तौँदेखि चलिआएको रैथाने सभ्यता र राष्ट्रिय सुरक्षा जस्ता संस्थाहरूमाथि प्रहार हुनुले हाम्रो सार्वभौमिकता कति गम्भीर संकटमा परेको छ भन्ने प्रष्ट पार्छ ।
इतिहास साक्षी छ, नेपालमा राजसंस्था त्यस्तो एउटा संस्था थियो जसले कठिन समयमा पनि राष्ट्रिय एकता कायम राखेको थियो । आज नेपाललाई फेरि एक सूत्रमा बाँध्न सक्ने एउटा भरपर्दो ‘अभिभावक’को अभाव हामी सबैले महसुस गरिरहेका छौँ ।
लोकतन्त्रमा नयाँ राजनीतिक शक्तिहरूको उदय हुनु आफैँमा नराम्रो होइन । तर, जब ती नयाँ भनिएका शक्तिहरू आफ्नो एजेन्डामा स्पष्ट हुँदैनन् र राष्ट्रिय पहिचानका सवालमा मौन बस्छन्, तब जनतामा संशय पैदा हुन्छ । अझ आफ्नै पार्टीका मान्छेले नेपाली संस्कृति र परम्परागत मूल्य-मान्यता विरुद्ध विषवमन गर्दा नेतृत्व चुपचाप बस्नु र प्रश्न उठ्दा त्यसलाई ‘एआई’ (AI) को खेल भनेर गैर-जिम्मेवार जवाफ दिनुले उनीहरूको नियतमाथि शंका उब्जाउँछ । नेपाली जनता यति साक्षर भइसकेका छन् कि उनीहरूले के सत्य हो र के भ्रम हो भन्ने कुरा राम्रोसँग छुट्याउन सक्छन् । प्रविधिको नाममा जवाफदेहिताबाट पन्छिने यो शैलीले राजनीतिमा थप अविश्वसनीयता मात्रै पैदा गरेको छ ।
हुन त नेपालमा यो स्थिति आउनुमा पुराना दलहरूको अकर्मण्यता र चरम भ्रष्टाचार मुख्य कारण हो । नेताहरूको कुर्सी मोहले नै बाह्य शक्तिलाई खेल्ने मैदान तयार गरिदिएको हो । तर, आक्रोशको आडमा आफ्नो अस्तित्व नै संकटमा पार्ने विदेशी ‘मोडल’ भित्र्याउनु अर्को एउटा आत्मघाती भूल हुनेछ ।
आज नेपाललाई फेरि एक सूत्रमा बाँध्न सक्ने एउटा भरपर्दो ‘अभिभावक’को अभाव हामी सबैले महसुस गरिरहेका छौँ । इतिहास साक्षी छ, नेपालमा राजसंस्था त्यस्तो एउटा संस्था थियो जसले कठिन समयमा पनि राष्ट्रिय एकता कायम राखेको थियो । वीरेन्द्रको वंशनाशदेखि लिएर नेपाललाई ‘शान्ति क्षेत्र’ घोषित गर्न नदिने खेलसम्मका घटनाहरूले प्रष्ट पार्छन्- नेपाललाई दीर्घकालीन रूपमा अस्थिर बनाइराख्न नै यहाँका मौलिक शक्तिहरूलाई कमजोर बनाइएको थियो ।
अबको समाधान केवल ‘चुनाव’मा मात्र सीमित छैन । नियमित चुनाव हुन अझै दुई वर्ष बाँकी छँदै देशलाई अस्थिर बनाइनु र जनमतको अपमान हुने गरी सत्ताको फोहोरी खेल खेलिनुले मुलुकलाई निकास दिँदैन । अबको एकमात्र सही बाटो भनेको सबै राजनीतिक शक्ति र राजसंस्था बीचको बृहत् राष्ट्रिय मेलमिलाप र सहमति नै हो । हामीले समयमै बुझ्नुपर्छ- नेपाल जोगाउन बाह्य शक्तिको प्रशंसा होइन, हाम्रै माटोको सुगन्ध, छिमेकीको विश्वास र आफ्नै मौलिक पद्धति चाहिन्छ । यदि हामी अझै पनि यो ‘ग्राण्ड डिजाइन’ को गोटी बनिरह्यौँ भने, भविष्यको पुस्ताले हामीलाई कहिल्यै माफ गर्ने छैन ।
प्रतिक्रिया