पोखरा (कास्की)मा यही फागुन २ गते २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथन हुने भएको छ ।
पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ भूतपूर्व खेलाडी मञ्चको आयोजनामा म्याराथन हुन लागेको हो । यस संस्करणमा २१ देशका ६० जना विदेशीसहित १५१ धावकले प्रतिस्पर्धा गर्ने जनाइएको छ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले म्याराथनअन्तर्गतका विभिन्न २१ विधामा कुल १० हजार धावक दौडिने र मुख्य विधा अन्तरराष्ट्रिय म्याराथनमा भने नेपालसहित भारत, केन्या, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, नाइजेरिया, बेल्जियमलगायत देशबाट गरी १५१ जनाले नाम दर्ता गराएको जानकारी दिँदै विभिन्न विधामा प्रतिस्पर्धात्मक रूपमा तीन हजार ५०६ र ‘रन फर फन’मा ६ हजार ७०० जना दौडिने बताए ।
यसैगरी, म्याराथनकै ४५ वर्षभन्दा माथिको उमेर समूहमा २८ जना धावक सहभागी हुनेछन् । हाफ म्याराथन पुरुषतर्फ आठ विदेशीसहित १८८ जना, महिलातर्फ आठ विदेशीसहित १९० जना, ४५ वर्षभन्दा माथिको उमेर समूहमा एक विदेशीसहित २५ जनाले नाम दर्ता गराएको मञ्चका सचिव महेश पौडेलले जनकारी दिए ।
म्याराथनमा प्रथम हुनेले रु चार लाख, द्वितीयले रु दुई लाख, तृतीयले रु एक लाख, चौथो हुनेले रु ५० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ भने अन्य विधाका च्याम्पियनले समेत नगद पुरस्कार पाउने छन् । मञ्चले पुरस्कार राशिमा मात्र रु १९ लाख ८९ हजार खर्च हुने जनाएको छ ।
प्रतिक्रिया