आम नाागरिकले खोजेको परिवर्तन व्यक्तिमा होइन, पद्धति र नेतृत्वको चरित्रमा हो । विचार, अनुभव, नैतिकता र उत्तरदायित्व बोक्न सक्ने पात्रहरूलाई अगाडि ल्याउने साहस नागरिकले देखाउनु पर्छ । यदि समयमै सही निर्णय गर्न सकेनौं भने इतिहासले पछुताउने विकल्प मात्र छोड्ने छ ।
✍ राजबाबु शंकर
राजनीति केवल सत्ता प्राप्तिको भऱ्याङ मात्र होइन, यो त विचार र पद्धतिको निरन्तरता हो । जब कुनै आन्दोलनले सडकको रापलाई सदनको नीतिमा र भावनालाई वैधानिक पद्धतिमा ढाल्न सक्दैन, तब त्यो शक्ति विस्तारै क्षयीकरण हुँदै जान्छ । नेपाली जनताले देखेका छन्- ठूला-ठूला परिवर्तनपछि पनि पुराना गल्तीहरू नयाँ स्वरूपमा दोहोरिइरहेका छन् । यदि हामीले समय नघर्किइकन गम्भीर समीक्षा गरेनौं भने नयाँ अनुहारका नाममा हामी फेरि उही असफलताको चक्रव्यूहमा फस्ने निश्चित छ; जुन संस्थागत विफलताको कारण बन्ने निश्चित छ ।
नेपाली राजनीतिक इतिहासको एउटा कालखण्ड यस्तो थियो, जहाँ एउटा शक्तिले विद्रोहको राँको बाल्दै सिंहदरबारसम्मको यात्रा तय गरेको थियो । तत्कालीन माओवादी जनयुद्ध र त्यसपछिको जनलहरले एउटा अभूतपूर्व आशा जगाएको थियो । जनतामा सञ्चारित नाराहरूमा मुक्तिका सपना थिए । सडकमा गुञ्जिने नाराहरूमा जनताले आफ्ना सपनाको प्रतिविम्ब देखेका पनि थिए । तर, विडम्बना…! त्यो व्यापक लोकप्रियता र जनऊर्जा दीर्घकालीन संस्थागत राजनीतिमा रूपान्तरण हुन सकेन । आज प्रश्न उठ्छ- आखिर त्यो राजनीतिक उचाइ कहाँ हरायो ? त्यसको एउटै निर्मम उत्तर छ- क्षणिक भावना र उत्तेजनाको जगमा उभिएको राजनीति लोकतन्त्रको लामो र धैर्यपूर्ण अभ्यासमा टिक्न सक्दैन ।
केही समय यता समाजमा एउटा संकथन व्याप्त छ- ‘पार्टीहरू नै सबै समस्याका जड हुन् ।’ तर यो बुझाइमा पूर्ण सत्यता छैन । हो के भने, समस्या पार्टीमा नभएर पार्टीभित्र जरा गाडेर बसेका अक्षम, अवसरवादी, भ्रष्ट र राजनीतिक रूपमा अपरिपक्व नेतृत्वमा छ । लोकतन्त्रमा पार्टी एउटा माध्यम मात्र हो । तर, नेतृत्व जब व्यक्तिगत स्वार्थ र अल्पकालीन लाभमा अल्मलिन्छ, तब सिङ्गो संगठन नै बदनाम हुन पुग्छ । यसको दोष केवल नेतालाई मात्र दिएर सचेत नागरिक आफ्नो जिम्मेवारीबाट उम्किन मिल्दैन । पार्टीलाई गाली गर्नु समाधान होइन, बरू पार्टीभित्रका गलत पात्रलाई विस्थापित गर्नु वास्तविक चुनौति हो । लोकतन्त्रमा दलहरू विचारका संवाहक हुन्, न कि विचारविहीन र दूरदृष्टिरहित नेतृत्व !
नागरिकको अबको दायित्व निर्वहन पछुतो मान्नेगरी हुनु हुँदैन, बरू हस्तक्षेपकारी भूमिका चाहिं हुनु पर्छ । विवेकशील नागरिकले अब अनुहार मात्र होइन, विचार र नैतिकताको कसीमा नेतृत्वलाई जोख्न सक्नु पर्छ । पुराना सबै खराब र केवल नयाँ हुँदैमा कोही सक्षम हुँदैन, उसमा विचारको स्पष्टता र नैतिक धरातल हुनु अनिवार्य छ । जब राजनीतिले विचारको जग छोडेर सत्ताको लुछाचुँडीमा आफूलाई होम्छ, तब जनविश्वास बालुवाको महल जस्तै ढल्न पुग्छ । त्यसैले असक्षम, भ्रष्ट र अवसरवादीलाई पाखा लगाएर उत्तरदायी व्यक्तिलाई अगाडि ल्याउने साहस नागरिकले देखाउनै पर्छ ।
निष्कर्ष के हो भने, इतिहासले हामीलाई पटक-पटक पाठ सिकाएको छ । भावनाले आन्दोलन त जन्माउन सक्छ, तर देश चलाउन विवेक, विधि र थिति नै चाहिन्छ । हामीले खोजेको परिवर्तन व्यक्ति मात्र फेर्ने ‘म्युजिकल चेयर’ पनि नभएर प्रवृत्तिकै शुद्धीकरण हो । यदि हामीले आजै नेतृत्वको चरित्र र आफ्नो छनोटको शैली बदल्ने आँट गरेनौं भने, आगामी पुस्ताले समेत हामीले जस्तै दुर्नियति भोगिरहनु पर्ने छ र तिनले सराप्ने पनि छन् ।
नागरिकको भूमिका र जिम्मेवारी पनि पार्टीहरूलाई गाली गरेर मात्रै पूरा हुँदैन । नागरिक अहिले फेरि पनि जोखिममा छन् । त्यसैले अबको आवश्यकता भनेको असक्षम नेतृत्वलाई पन्छाउने आँट गर्नु हो । आम नाागरिकले खोजेको परिवर्तन व्यक्तिमा होइन, पद्धति र नेतृत्वको चरित्रमा हो । विचार, अनुभव, नैतिकता र उत्तरदायित्व बोक्न सक्ने पात्रहरूलाई अगाडि ल्याउने साहस नागरिकले देखाउनु पर्छ । यदि समयमै सही निर्णय गर्न सकेनौं भने इतिहासले पछुताउने विकल्प मात्र छोड्ने छ । अब पार्टी परिवर्तन गरेर मात्र पुग्दैन, पार्टीभित्रको प्रवृत्ति र पात्र बदल्ने सचेत हस्तक्षेप आजको प्राथमिक शर्त हो ।
प्रतिक्रिया