बक्सिङको भिडन्तमा राजीव विजयी

बक्सिङको भिडन्तमा राजीव विजयी


विवाद समाप्त
गत फागुनमा बक्सिङ सङ्घको साधारणसभा स्थगित भएपछि बक्सिङ सङ्घ विवादमा तानिएको थियो । पूर्वअध्यक्ष रविराज थापाले विभिन्न कारण देखाउँदै साधारणसभा स्थगित गरेका थिए । त्यसपछि थापा गुटका व्यक्तिहरूले साधारणसभा बहिष्कार गरेका थिए । स्पष्ट रूपमा दुई समूहमा विभाजित बक्सिङको साधारणसभा थापा पक्षले एकलौटी रूपमा बहिष्कार गरेपछि अन्योल छाएको थियो । त्यसपछि राजीव श्रेष्ठको समूहले बहुमतको आधारमा बक्सिङ सङ्घको निर्वाचन गर्दै राजीव श्रेष्ठलाई अध्यक्षमा चुनेको थियो । राजीवलाई अध्यक्षमा चुनेपछि झन् विवादमा होमिएको बक्सिङ सङ्घमा त्यसपछि को वैधानिक अध्यक्ष हो त्यसको छिनोफानो हुन सकेको थिएन । यही कारणले विगत चार महिनादेखि समयको बन्दी बन्दै आएको बक्सिङ सङ्घलाई हालै राष्ट्रिय खेलकुद परिषद्ले किनारा गरिदिएको छ ।
पूर्वअध्यक्ष रविराज थापाले सार्वजनिक रूपमै अध्यक्ष पदमा नउठ्ने घोषणा गर्दै भावी अध्यक्षको रूपमा राजीव श्रेष्ठलाई अघि सारेका थिए । तर, विडम्बना, साधारणसभाको पूर्वसन्ध्यासम्म राजीवलाई सर्वसम्मतिबाट अध्यक्ष बनाउन लागेका थापाले साधारणसभामा गोलमोटल कुरा गर्दै आफ्नो उम्मेवारी प्रस्तुत गरेपछि बक्सिङ सङ्घको निर्वाचन विवादमा परेको थियो । थापाकै धाप पाएर आफ्नो उम्मेदवारी प्रस्तुत गरेका श्रेष्ठले अन्तिम अवसरमा थापाले नै बखेडा खडा गरेपछि ठूलो कुठाराघातको सामना गर्नुपरेको थियो । त्यसपछि नखेल्नु दाउ खेलिसकेपछि श्रेष्ठका लागि ‘अध्यक्ष’ पद प्रतिष्ठाको विषय बन्न पुगेको थियो । उनको त्यहाँबाट फर्कन सक्ने अवस्था थिएन । तसर्थ प्रतिष्ठाको दाउ बाजीमा लागेपछि श्रेष्ठले विभिन्न चुनौतीको सामना गर्दै सोही दिन बहुमतको आधारमा बक्सिङ सङ्घको अध्यक्ष बन्न सफल भएका थिए । सो अवसरमा बक्सिङका बहुमत सदस्यहरूले राजीव श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयनसमेत गरेको थियो ।
यसरी बहुमतका सदस्यले राजीवलाई अध्यक्षमा चुनेपछि बक्सिङको विवाद अझ चुलिएको थियो । थापा समूहले यसको डटेर प्रतिवाद पनि गरेको थियो । थापा समूहले श्रेष्ठको नेतृत्वलाई अवैधानिकको संज्ञा दिँदै आफू नै वैधानिक भएको जानकारी राखेपलाई गराएको थियो । यसरी दुवै पक्षले एक–अर्कालाई आरोप–प्रत्यारोप लगाउँदै वैधानिकका लागि लडिरहेका थिए । राखेपले कुनै निर्णय नगरेको यो अन्योलको अवस्थामा श्रेष्ठले आफ्नो उत्तरदायित्व सक्रिय रूपमा निभाउँदै आएका थिए । राखेपले जस्तोसुकै निर्णय गरे पनि त्यो चुनौतीलाई आत्मसात् गर्नेगरी श्रेष्ठ बक्सिङका हरेक क्रियाकलापमा डटेर लागेका थिए । चार महिनाको अन्तरालमा विभिन्न उतारचढावको सामना गरेका श्रेष्ठले गतसाता भने राहतको सास फेर्ने मौका पाएका थिए । अर्थात् उनको मिहिनेतले वैधानिकताको रंग ल्याएको थियो ।
बक्सिङ सङ्घको निर्वाचन विवादमा होमिएपछि खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले दुवै पक्षलाई वैधानिक मान्यता दिएको थिएन । राखेपले वास्तविकता बुझेर मात्र निर्णय गर्ने बताएपछि राजीव श्रेष्ठको बक्सिङ सङ्घ पनि कोमामा पुगेको थियो । राखेपको यो निर्णयले बक्सिङ खेलको भविष्यमा समेत प्रश्नचिह्न लागेको थियो । र पनि, बक्सिङप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात् गर्दै राजीवले आफ्नो धर्म छोडेनन् । राखेपले वैधानिक मान्यता नदिएको अवस्थामासमेत श्रेष्ठले आफ्नो सक्रियता अझ बढाएर लगेका थिए । जसले गर्दा बक्सिङ सङ्घ र बक्सिङका खेलाडीले अभिभावक गुमाउनुपरेन । तर, अहिले पासा पल्टिएको छ, राखेपले राजीवको पक्षमा निर्णय गरेको छ । उनी अध्यक्ष रहेको सङ्घलाई वैधानिक मान्यता प्रदान गरेको छ ।
गतसाता राष्ट्रिय खेलकुद परिषद्ले चार महिनासम्म चलेको विवादलाई चिर्दै बक्सिङमा नयाँ निकास निकालेको हो । राखेपले हालै निकालेको प्रेस विज्ञप्तिमा ‘बक्सिङ सङ्घको साधारणसभा र निर्वाचनको पर्यवेक्षण गर्ने राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबाट पनि निर्वाचन विधिवत् रूपमा सम्पन्न भएको र राष्ट्रिय खेलकुद परिषद्बाट खटिएको निर्वाचन कमिटीले समेत विधान तथा निर्वाचन कार्यविधिअनुसार बहुमतको आधारमा निर्वाचन सम्पन्न भएको सिफारिस आएबमोजिम राजीव श्रेष्ठ अध्यक्ष रहेको सङ्घलाई मान्यता प्रदान गरेको जनाएको छ । साथै राखेपले राजीव अध्यक्ष रहेको सङ्घलाई बक्सिङ खेलमा क्रियाशील र लामो समयदेखि योगदान पुर्‍याएका व्यक्तिलाई केन्द्रीय समितिमा बाँकी रहेका पदमा मनोनयन गर्न पनि आधिकारिता प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले आफू अध्यक्ष रहेको सङ्घलाई मान्यता प्रदान गरेपछि राजीवले यो सही निर्णय भएको बताएका छन् । उनले आफुले विधानसम्मत निर्वाचन गरेको दाबी गर्दै अहिले ढिलै भए पनि राखेपले सही निर्णय गरेको बताए । राजीवले ‘अब बक्सिङको विवाद सकिएको छ’ भन्दै आफू यो खेलको विकास र विस्तारका लागि तन, मन र धन लगाएर लाग्ने स्पष्ट पारेका छन् । सीमित व्यक्तिका स्वार्थका कारण चार महिनासम्म अनिर्णयको बन्दी बन्न पुगेको बक्सिङलाई राखेपले लालमोहर लगाएपछि सबै विवाद समाप्त भएको चर्चा गर्दै अब बक्सिङ नयाँ लिकमा उभिएको बताए । राजीवले राखेपको निर्णयसँगै आफ्नो चुनौती अझ बढेको खुलासा गर्दै यसका लागि दूरदर्शी भएर अगाडि बढ्ने बताए । बक्सिङ नेपालको सम्भावित अन्तर्राष्ट्रिय पदक जित्ने खेलको रूपमा रहेकाले यसको विकास र विस्तारका लागि आफू योजना बनाएर लाग्ने खुलासा गरेका थिए । राखेपले मान्यता प्रदान गर्नुअघि नै विश्व बक्सिङ सङ्घको मान्यता पाएको राजीवको नेतृत्वको सङ्घले अहिले राखेपको मान्यता पाएपछि दोहोरो वैधानिकता हासिल गरेको छ ।
जे होस्, ढिलै भए पनि छोरो भएको छ । राखेपले राजीवको बक्सिङ सङ्घलाई मान्यता प्रदान गरेर बक्सिङको विवादलाई सदाका लागि अन्त्य गरेको छ । यसका लागि राखेप धन्यवादको पात्र बनेको छ । राखेपको यो दूरदर्शी निर्णयले खेलकुदको एक चर्चित सङ्घले काँचुली फेर्ने अवसर प्राप्त गरेको छ । जुन समग्र खेलकुदका लागि सकारात्मक पक्षसमेत बनेको छ । बक्सिङ सङ्घजस्तै अन्य विवादित सङ्घलाई पनि राखेपले यसैगरी सही मार्गमा डोर्‍याउन सके नेपाली खेलकुदको स्वरूप नै बदलिने विश्वास गर्न सकिन्छ । अहिले पनि राखेपअन्तर्गत रहेका केही सङ्घमा बक्सिङकै जस्तै विवाद कायम रहेकोले यसको समाधानका लागि पनि राखेपले कम्मर कस्नु जरुरी भइसकेको छ । समाधानबिना निकास ननिस्किने भएकाले राखेपले हस्तेक्षप गरेर भए पनि खेलकुदलाई विवादमुक्त बनाउनुपर्ने आजको आवश्यकता भइसकेको छ ।

प्रशासन विभाग प्रमुखमा मदनजंग राणा
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी मदनजंग राणालाई दिइएको छ । राखेपले हालै गरेको निर्णयअनुसार राणा प्रशासन विभाग प्रमुखमा नियुक्त भएका हुन् । यसअघि मधुसूदन बस्नेत प्रशासन विभाग प्रमुख थिए । राणा भने सामान्य प्रशासन शाखा प्रमुख थिए । राणा ०४४ सालमा अधिकृत तृतीय श्रेणीमा राखेपमा सेवा प्रवेश गरेका थिए । राणासँग प्रचारप्रसार शाखा, भण्डार तथा आपूर्ति शाखा, अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा समारोह शाखाको पनि प्रमुख भई काम गरेको अनुभव छ । ५० वर्षीय राणा ०५४ सालमा अधिकृत द्वितीय श्रेणीमा बढुवा भएका थिए ।

राष्ट्रिय महिला बिचभलिबलमा पेन्टागन
कीर्तिपुरमा यसै महिना हुने दोस्रो राष्ट्रिय महिला बिचभलिबल प्रतियोगितालाई पेन्टागन इन्टरनेसनल कलेजले मुख्य प्रायोजन गर्ने भएको छ । हालै आयोजित एक कार्यक्रमबीच पेन्टागनका अध्यक्ष एवम् कार्यकारी प्रमुख एसपी सिंह र प्रतियोगिता आयोजक नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङले मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मुख्य प्रायोजनसँगै प्रतियोगिताको नामको अगाडि पेन्टागन थपिने भएको छ । प्रायोजनबापत पेन्टागनले खेलाडीको आवास, भोजन, यातायात खर्च, रेफ्रीको पारिश्रमिक, खेल सामग्री व्यवस्थानका लागि सङ्घलाई तीन लाख रुपैयाँ उपलब्ध गराउनेछ । प्रतियोगिताको कुल लागत पाँच लाख रुपैयाँ रहेको भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । उनका अनुसार बिचभलिबल सङ्घले कुनै पनि प्रतियोगिताका लागि मुख्य प्रायोजक पाएको यो पहिलो अवसर हो ।
जेठ २७ देखि २९ गतेसम्म हुने बिचभलिबलमा पाँच विकास क्षेत्रबाट दुई टिमका दरले १० तथा विभागीय टिमबाट एपीएफ र नेपाल प्रहरीबाट पनि दुई टिमका दरले चार गरी जम्मा १४ टिमको सहभागिता रहनेछ । शीर्ष तीन स्थान प्राप्त गर्ने टिमले क्रमश: १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको पहिलो संस्करण चितवनको सौराहामा भएको थियो । सो अवसरमा अध्यक्ष तामाङले चीनको हायाङमा हुने तेस्रो एसियाली बिच खेलकुद असार २ गतेदेखि हुन भए पनि बिचभलिबलको प्रतिस्पर्धा अगाडि नै हुने भएकाले एसियाली बिचमा सहभागी हुने टोली राष्ट्रिय बिचभलिबलमा सहभागी नहुने बताए । एसियाली बिचका लागि टोली जेठ २६ गते नै चीन प्रस्थान गर्ने अध्यक्ष तामाङले जानकारी दिएका थिए । एसियाली बिचमा भाग लिने टोलीले दोस्रो राष्ट्रिय बिचभलिबलमा सहभागी नभए पनि आगामी दिनमा हुने विभिन्न अन्तर्राष्ट्रिय बिचभलिबलको बन्द प्रशिक्षण भने स्वत: बस्न पाउने महासचिव चन्दले प्रस्ट पारे ।

सैनिकलाई ओलम्पिया फुबटल उपाधि
सैनिक आवासीय महाविद्यालयले प्रथम ओलम्पिया अन्तरविद्यालय यू–१४ छात्र नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जाउलाखेल मैदानमा भएको फाइनलमा सैनिकले एलआरआईलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । पहिलो हाफमा एक गोल मात्र गरेको सैनिकले बाँकी सबै गोल दोस्रो हाफमा गरेको थियो । फाइनलमा प्रदीप थापाले ह्याट्रिकसँगै सहदेव गौतमले दुई गोल गरेका थिए । रोशन न्यौपाने र राजेन्द्र ठगुन्नाले एक–एक गोल थप्दै सैनिकको जित फराकिलो बनाएका थिए । बबरमहलस्थित ओलम्पिया वल्र्ड स्कुलद्वारा आयोजित प्रतियोगितामा सैनिकका सहदेव गौतम सर्वोत्कृष्ट खेलाडी चुनिए । गोलरक्षकमा नोबेल एकेडेमीका पुजन साम्बा, डिफेन्समा सैनिकका कप्तान युवराज तामाङ तथा मिडफिल्डमा एलआरआईका स्वस्तिक अधिकारी उत्कृष्ट ठहरिए । ओलम्पियाका अशिम विसीले उदीयमान खेलाडीको उपाधि हात पारे । लिटिलएन्जल्स स्कुल (एलएएस) अनुशासित टिम घोषित भयो । विजेतालाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानद्वय राजुकाजी शाक्य र राकेश श्रेष्ठ, ओलम्पियाका निर्देशक कर्ण थापा तथा ओलम्पियाकी इन्चार्ज शोभा थापाले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । पाँचदिने प्रतियोगितामा विभिन्न विद्यालयका आठ टिमको सहभागिता रहेको थियो ।

खेलाडी तथा प्रशिक्षक सङ्घमा नरेन्द्र
संस्थापक अध्यक्ष नरेन्द्रमान श्रेष्ठको नेतृत्वलाई निरन्तरता दिँदै नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घको पहिलो साधारणसभा हालै सम्पन्न भएको छ । साधारणासभाले श्रेष्ठको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । सङ्घको उपाध्यक्षद्वयमा स्वयम्भूराज डङ्गोल र योगेन्द्रमान श्रेष्ठ रहेका छन । त्यस्तै महासचिवमा महेश महर्जन, सचिवमा राजेन्द्र पाठक र कोषाध्यक्षमा आशिष द्वारेले जिम्मेवारी पाएका छन् । यसैगरी सदस्यहरूमा दीपककुमार खड्गी, शैलेश केसी, रत्न श्रेष्ठ, पञ्चमान श्रेष्ठ, छोरी डङ्गोल, रामगोपाल श्रेष्ठ, डिकेन सुवाल, मनोज खड्गी, सुरेश चित्रकार, केशर मल्ल, सरोजकुमार मुल्मी, राज केसी, अशोक शाही, झरना गुरुङ, सागर शाही, काजीमान श्रेष्ठ, मिङ्मा शेर्पा तथा नीरा कायस्थ रहेका छन् । त्यस्तै राजेश शाही पनि सदस्यमा मनोनीत भएका छन् ।

रिड मोडेल कप हुने
स्वयम्भूस्थित रिड मोडेल स्कुलको आयोजनामा प्रथम ‘रिड मोडेल कप’ अन्तरविद्यालय खेलकुद प्रतियोगिता जेठ ३० गतेदेखि हुने भएको छ । प्रतियोगितामा यू–१२ ब्वाइज फुटबल, यू–१५ ब्वाइज बास्केटबल तथा शिक्षकको भलिबलको प्रतिस्पर्धा हुने आयोजक विद्यालयका प्रिन्सिपल खिमलाल पौडेलले जानकारी दिएका थिए । सबै खेलमा अनुमानित १६ टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगितालाई व्यवस्थित एवम् सफलतापूर्वक सम्पन्न गर्न प्रिन्सिपल पौडेलको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ ।

तेक्वान्दो युनियनले राष्ट्रिय प्रतियोगिता गर्ने
राष्ट्रिय तेक्वान्दो युनियन, नेपालले यसै महिनाभित्र राष्ट्रिय प्रतिभाको खोजी गर्ने उद्देश्यले खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । युनियनका अध्यक्ष शैलेन्द्र अमात्यको अध्यक्षतामा हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले गत वैशाख ५ गते सम्पन्न सङ्घको केन्द्रीय अधिवेशनले पारित गरेको महासचिव राजकुमार कार्कीको साङ्गठनिक प्रतिवेदनलाई कार्यान्वयनका लागि सङ्घमातहतका पँँचै विकास क्षेत्र, ६३ जिल्ला र देशभरका डोजाङलाई पत्रचार गर्ने निर्णय गरेको छ । पाँचै विकास क्षेत्रको निर्वाचन सम्पन्न गर्न संयोजक मनोनीत गर्ने तथा सात सदस्यीय केन्द्रीय सचिवालय गठन गर्ने निर्णय बैठकले गरेको छ ।

खेलकुदको विषय स्नातकोत्तरसम्म
नेपालमा खेलकुदको तीव्र विकासका लागि सैद्धान्तिक र व्यावहारिक शिक्षा अपरिहार्य छ । जबसम्म सैद्धान्तिक र व्यावहारिक रूपमा खेलकुद विषयलाई अगाडि बढाउन सकिँदैन तबसम्म समग्र खेलकुद क्षेत्रको तीव्र विकासको परिकल्पना अधुरो रहन्छ । यसै कुरालाई आत्मसात् गर्दै राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदको विषयलाई कक्षा ११ र १२ हुँदै स्नातक र स्नातकोत्तरसम्म नेपालमा नै शिक्षा प्रदान गर्ने लक्ष्य लिएको सर्वविदितै छ । यसै सन्दर्भमा परिषद्ले स्कुल तथा कलेज समन्वय शाखा स्थापना, स्कुल तथा कलेज स्थापना कार्यदल गठन गरिसकेको छ । उक्त कार्यदलले कक्षा ११ र १२ का लागि पाठ्यक्रमसमेत तयार पारी उच्च शिक्षा माध्यमिक परिषद्मा स्वीकृतार्थ पठाइसकेकोे छ ।
कक्षा ११ र १२ मा खेलकुद विषयलाई अध्ययन गर्ने विद्यार्थीको भविष्यका लागि स्नातक र स्नातकोत्तर नेपालमा नै अध्ययन गर्ने खेलकुद कलेजको स्थापनाका लागि विभिन्न अध्ययनहरू सुरु भइसकेको छ । यसै सन्दर्भमा नेपालमा खेलकुद कलेज स्थापनाका लागि आवश्यक प्राविधिकहरू, भौतिक पूर्वाधार, त्यसका व्यवस्थापकीय पक्षहरूको अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवम् स्कुल तथा कलेज स्थापना कार्यदलका संयोजक युवराज लामाको नेतृत्वमा मित्रराष्ट्र दक्षिण कोरियाको कोटियन राष्ट्रिय खेलकुद विश्वविद्यालयको निमन्त्रणामा तीनदिने भ्रमणका लागि चार सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ । भ्रमण टोलीका अन्य सदस्यमा परिषद्का वरिष्ठ अधिकृत एवम् कार्यदलका सचिव कुलबहादुर थापा, प्राध्यापक एवम् कार्यदलका सदस्य दिवाकरलाल अमात्य तथा इन्जिनियर तिलोत्तमा बस्याल रहेका छन् ।
उक्त टोलीले दुई देशबीच प्राविधिक सहयोग, प्रशिक्षक तथा खेलकुद विद्यार्थी आदानप्रदान कार्यक्रम, भौतिक पूर्वाधार एवम् १२औँ दक्षिण एसियाली खेलकुद (साग) र नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा समेत प्राविधिक एवम् अन्य सहयोगका विषयमा छलफल गर्ने प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

एनएसकेए करातेमा नेपालको दोहोरो ह्याट्रिक
अघिल्ला सबै संस्करणको उपाधिविजेता नेपालले छैटौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उपाधिमाथि दोहोरो ह्याट्रिक पूरा गरेको छ । नेपालले यो प्रतियोगितामा ३५ स्वर्ण, २२ रजत र २९ कास्य जित्दै छैटौँपटक उपाधि घरमै राख्न सफल भएको हो । उक्त प्रतियोगितामा भारतले आठ स्वर्ण, १७ रजत र पाँच कास्य जित्दै दोस्रो स्थान हासिल गरेको थियो । त्यस्तै अर्को
पहुना टोली युएई दुई स्वर्ण, ६ रजत र नौ कास्य साथ तेस्रो स्थानमा रह्यो । नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए) द्वारा आयोजित प्रतियोगिताको महिलामा नेपालकी कृषा शेर्पा तथा पुरुषमा दिवस श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा कृषाले पाँच स्वर्णसहित एक रजत र एक कास्य र दिवसले चार स्वर्ण र एक रजत जितेका थिए ।
पुरुष एकल काताको २० वर्षमुनि नेपालका नीरजकुमार श्रेष्ठ तथा २० वर्षमाथि नेपालका सुमनकुमार कार्की पहिलो भए । पुरुषको २० केजीमा भारतका चेतन सिंह, २५ केजीमा भारतकै सिरोम ढाकड, ३० केजीमा नेपालका कृष्ण दर्नाल तथा ३५ केजीमा नेपालका प्रतीक कार्कीले स्वर्ण जितेका थिए । पुरुषको ४५ केजीमा नेपालका सुरज श्रेष्ठ, ५० केजीमा नेपालका विक्रम राई, ५५ केजीमा नेपालका विनोद रोका, ६० केजीमा नेपालका विनोद कार्की तथा ६७ केजीमा नेपालका दिवस श्रेष्ठले शीर्ष स्थान कब्जा गरे । महिलाको ५० केजीमा नेपालकी कृषा शेर्पाले स्वर्ण चुमिन् । विजेतालाई नेपाल कराते महासङ्घ तथा नेपाल सितोरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङ, आयोजक सङ्घका अध्यक्ष विष्णुबहादुर कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सञ्चालित तथा ग्रिन सिटी अस्पताल मेडिकल पार्टर रहेको चारदिने प्रतियोगितामा ४५ स्वर्णका लागि प्रतिस्पर्धा भएको आयोजक सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।