डुबानको जोखिममा गौर : बाँध मर्मतको बहानामा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन !

डुबानको जोखिममा गौर : बाँध मर्मतको बहानामा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन !


  • प्रेमचन्द्र झा, रौतहट

रौतहटको गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन् । हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने प्रमुख कारण यही बाँध रहेको जिकीर गर्दै उनीहरूले तत्काल उक्त कार्य रोक्न माग गरेका छन् ।

स्थानीय बासिन्दाका अनुसार दशगजा क्षेत्र आसपास कुनै किसिमको भौतिक संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय प्रावधान रहे पनि दशगजादेखि करिब ३०-४० मिटर पर बाँध निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । ‘मर्मतको बहानामा बाँध अझै अग्लो बनाइँदैछ र साइफनसमेत बन्द गर्ने काम भइरहेको छ। यसले पानीको निकास अवरुद्ध भई फेरि गौर डुबानमा पर्ने निश्चित छ’, रौतहटका समाजसेवी महमद अजादले भनेका छन् ।

अजादका अनुसार वडाअध्यक्ष, नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल लगायत सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन । ‘हामीले सबैलाई जानकारी गरायौं तर कसैले चासो देखाएन, यसले हामी थप मर्कामा परेका छौं’, अर्का स्थानीयले बताए ।

स्थानीयको भनाइमा, यदि तत्काल उक्त कार्य रोकिने पहल नभए आगामी वर्षायाममा गौर पुनः गम्भीर डुबानको जोखिममा पर्नेछ । यस विषयमा सम्बन्धित सरकारी निकाय तथा राजनीतिक दलका प्रतिनिधिहरू मौन बसेको आरोप पनि लगाइएको छ ।

यस सम्बन्धमा सरोकारवाला निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ । स्थानीयले भने तत्काल स्थलगत अनुगमन गरी विवादित निर्माण कार्य रोक्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।