सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत जस्ता हाम्रा राष्ट्रिय सम्पत्ति किन र केका लागि जलाइयो ? जलाउने समूह कुन दलमा आवद्ध छन् ? यो कुरा मनन गरौँ । जसले धेरैभन्दा धेरै अराजकता र विध्वंश मच्चाउन सक्छ उसैलाई मतदान गरी सत्ता सुम्पने हो भने भोलिका दिनमा न देश रहनेछ न त हामी स्वतन्त्र रहन पाउनेछौँ ।
✍ सुन्दर शर्मा
वर्तमानसम्म आइपुग्दा हाम्रो देश ब्यवस्था परिवर्तनको प्रयोगशाला बन्दै आएको अनुभूति हुन्छ । २००७ सालदेखि हालैको जेन-जी आन्दोलनसम्मको दृश्य हेर्दा हामी कुनै न कुनै नाममा ब्यवस्था परिवर्तनको आन्दोलन गरिरहेका छौँ, लडिरहेका छौँ, मरिरहेका छौँ । कुनै न कुनै दिन त देशमा परिवर्तन हुनेछ र विकाशको मुल फुट्नेछ भन्ने कुरामा हामीजस्ता तमाम नेपाली आशावादी छौँ ।
कुनै पनि ब्यवस्था आफैमा नराम्रोचाहिँ पक्कै हुँदैन । संचालकको सक्षमता दूरदर्शितामा भर पर्छ राम्रो र नराम्रो भन्ने । हरेक आन्दोलनको चाहना हुन्छ – नयाँ नेपालको निर्माण, तर टुङ्गिन्छ पुरानैको निरन्तरतामा । यो हाम्रो दुर्भाग्य हो । राजतन्त्रको विकल्पमा गणतन्त्र आउँदा केही नयाँ होला भन्ने थियो, तर यो संघीयताको क्रियाकलापले जनतामा असन्तुष्टि यति बढेर आयो कि जनता स्वतःस्फूर्त विद्रोहमा निस्कन बाध्य भए ।
त्यसैले ब्यवस्था परिवर्तन गरेर मात्रै नहुँदोरहेछ । नेतृत्व र विचारको परिवर्तन आवश्यक हुँदोरहेछ । देशमा विभिन्न वाद, औपचारिक लोकतन्त्र, गणतन्त्र आदि आदि भएर के गर्नु, राजनीतिक दलसँग विभिन्न वर्गका जनतालाई रचनात्मक रुपमा राज्यसङ्ग जोड्ने र महसूस हुने कुनै कार्यक्रम नभएपछि युवामा आक्रोश फैलनु स्वाभाविक हो । तमाम युवाहरूले जीवीकोपार्जनको उपाय नदेखेपछि निराशालाई विद्रोहमा परिवर्तन गर्नु पनि स्वाभाविक हो ।
अब लागौँ आसन्न आमनिर्वाचनतर्फ ।
आमनिर्वाचन नजिकिँदैछ । ‘नयाँ कि पुराना दल ?’ भन्ने बहस मिडियामा, अझ भनौँ सामाजिक संजालमा बाक्लै देखिन्छ/सुनिन्छ । मतदान गर्ने जिम्मेवारीसँगै कस्तो ब्यक्तिलाई मतदान गर्ने भन्ने चेतना हुनु पनि उत्तिकै आवश्यक छ । किनकि, प्रत्येक मत मूल्यवान हुन्छ । नेताहरूको सत्तालिप्सा, नेता-कर्मचारीले गर्दैआएका भ्रष्टाचार र दण्डहीनताको अवस्थाले युवापङ्क्तिमा नैराश्यता देखिएको छ । भ्रष्टाचारविरुद्धको सङ्घर्ष, नेतृत्व परिवर्तन जस्ता कुरामा डटेर आवाज उठाउन सक्ने र काम गर्छु भन्ने ब्यक्ति छान्नु जरुरी छ ।
ध्यान दिनुपर्ने कुरा के भने, सबै पुराना चिज नराम्रो हुँदैन । पुराना कला-संस्कृति, पुरानो सभ्यता, पुरानो नाता-सम्बन्ध, पुराना साथी, बुढापाका र पुराना पार्टी । यी सबैलाई नराम्रो भन्दै फ्याँक्न कहाँ मिल्छ र ?
मेरी आमाको एउटा प्रसङ्ग उल्लेख गर्न चाहन्छु । उहिल्यै मेरी आमाले कासपित्तलका पुराना ठुला-ठुला ओजनदार थालसंग स्टिलका साना थाल (प्लेट) साटेको आफ्नै आँखाले देखेकी छु । ओजनदार बाक्ला बडेमानका कासका कसौँडीसँग कुकर साटेको पनि यिनै आँखाले देखेको हो । त्यो बेला मेरी आमाले पुरानो कासपित्तलको महत्त्व र मूल्य बुझ्न सक्नुभएन । चमकदार स्टिलका प्लेट र गिल्टीका कुकरमा आकर्षित हुनुभयो । ठिक त्यस्तै देखिँदैछ वर्तमानको राजनीतिक परिस्थिति । पुराना दल र नेता सबै खराब, नयाँ दलका जति सबै चम्किलो सुर्य झैँ ! हो यही कुरामा हो हामी मतदाताले विवेक प्रयोग गर्ने । मेरी आमाझैँ मतदाता झुक्किनु नपरोस् भनेर पङ्क्तिकारले सजक गराएको मात्र हो ।
यसो भन्दैगर्दा युवाहरू राजनीतिमा आउनु हुँदैन, नयाँ दल खोल्नु हुँदैन भन्न खोजेको होइन । तर युवाहरू पनि केही सिकेर, भोगेर, माझिएर, खारिएर परिपक्व भएर आउनु पऱ्यो नि । हावा तालमा २-४ सयले ताली पिटेको भरमा हाहा र हुहु गर्दै राजनीतिमा पाइला राख्दा स्थायित्व हुने कुरै होइन । राजनीतिक अनुभव बटुल्न पनि त केही समय लाग्छ नै ।
नयाँ दल र वैकल्पिक शक्तिको नाममा केही थान यस्ता ब्यक्तिहरू अहिले जुर्मुराइरहेका छन् । हाम्रो धर्म र संस्कृति, हाम्रो सभ्यता र पहिचान, भाइचाराको आपसी सम्बन्ध, टोल-समाज, नाता-कुटुम्ब आदि सबै क्षणभरमै तहसनहस गराउन सक्रिय छन् । विदेशीले उचालेको भरमा कहाँ हुन्छ राजनीति ? विदेशीले तिम्रो मायाले उचालेका होइनन् । आफ्नो स्वार्थपूर्तिका लागि मात्रै प्रयोग गरेका हुन् । यी र यस्ता कुरा बुझ्न विवेक प्रयोग गर्नु जरुरी छ ।
देश बनाउन राजनीति गर्नेले उमेरलाई बाधक बनाउनु हुँदैन । काम गर्न उमेर होइन – अनुशासन, सहनशीलता, दूरदर्शिता र माटोको माया चाहिन्छ । जनतासङ्ग अङ्गालोमा बाँधिनसक्ने ममता चाहिन्छ । नयाँ र वैकल्पिक शक्ति हौँ भन्नेका लागि पनि सन्देश स्पष्ट छ- सडकको भीडलाई मतपेटिकासङ्ग जोड्न सकेमात्रै परिवर्तन आउने हो, हाहा र हुहु गरेर पुरानो प्रणाली हल्लिने मात्र हो उखेलिने छैन !
सबै पुराना चिज नराम्रो हुँदैन । पुराना कला-संस्कृति, पुरानो सभ्यता, पुरानो नाता-सम्बन्ध, पुराना साथी, बुढापाका र पुराना पार्र्टी । यी सबैलाई नराम्रो भन्दै फ्याँक्न कहाँ मिल्छ र ?
जेन-जी आन्दोलन भनेको सम्पुर्ण राजनीतिक शक्तिलाई जवाफदेही बनाउने एक सशक्त आवाज हो । यो आवाज दलहरूको लागि भिटामिन बनोस् । सबै दलहरू परिवर्तित भएर परिवर्तनलाई नैतिक रुपमा आत्मसात गर्दै चुनावी प्रतिस्पर्धामा जानसक्ने अचुक ओखती बनोस् जेन-जी आवाज ।
भिडको विवेक हुँदैन भन्ने कुरा साँचो रहेछ । यही कारण हाम्रो महत्त्वपूर्ण धरोहर राष्ट्रिय सम्पत्ति नष्ट हुन पुगे । त्यसैले भन्छु मतदातामा विवेकीय क्षमता हुनैपर्छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत जस्ता हाम्रा राष्ट्रिय सम्पत्ति किन र केका लागि जलाइयो । जलाउने समूह कुन दलमा आवद्ध छन् – यो कुरा मनन गरौँ । जसले धेरैभन्दा धेरै अराजकता र विध्वंश मच्चाउन सक्छ उसैलाई मतदान गरी सत्ता सुम्पने हो भने भोलिका दिनमा न देश रहनेछ न त हामी स्वतन्त्र रहन पाउनेछौँ । जुन दलको दलिय सिद्धान्त, कार्ययोजना, दृष्टिकोण के हो भन्ने थाहै छैन, न कुनै पृष्ठभूमि छ न कुनै जनसम्पर्क, न त माटोकै माया छ । यस्तालाई मतदान गऱ्यौं भने पछुताउनु बाहेक केही हुँदैन ।
पुराना दल खराब भए/थिए, यो कुरा सत्य हो । तर, यति खराव पनि थिएनन् कि जसले आफ्नै देशको बहुमुल्य सम्पत्ति, देशको धरोहरलाई जलाएर नष्ट गर्न सकुन् । तिनै देश जलाउने अराजक तत्वहरूको अहिले बिगबिगी देखिन्छ । नेपालको सार्वभौमिकता र राष्ट्रिय एकताको अस्तित्व नै बिसर्जन गराउनेतर्फ ती तत्व अग्रसर देखिन्छन् ।
केवल डिजिटल लोकप्रियता र भावनाले निर्वाचन जितिँदैन । निर्वाचन जित्न साङ्गठनिक संरचना चाहिन्छ । जनताको प्रत्यक्ष सरोकार चाहिन्छ । लोकप्रियतालेमात्रै जितिने भए ७५ लाख फ्लोअर्स भएकी लोकप्रिय तास्निम जाराले बङ्गलादेशमा हार्ने थिइनन् होला ।
पुराना दलमा केही थान भ्रष्ट र नालायक ब्यक्तिका कारण सिङ्गो पार्टीलाई बदनाम गर्नु ठिक होइन । पुरै पार्टीलाई खराब देख्नु दृष्टिदोष मात्रै हो । अझै पनि पुराना ठुला पार्र्टीमा सम्भावना बोकेका तमाम नेता छन् । देश बनाउने भिजन बोकेका, कुनै दाग नलागेका, विभिन्न अवसरबाट वञ्चित, सक्षम कैयौँ नेता छन् अझै पुराना पार्टीमा । त्यसैले पुरानाको विकल्प नयाँ होइन कि देश र माटोको माया गर्नेलाई मतदान गरौँ ।
देशमा विकास हुँदैभएन भन्नेलाई हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङको यात्रा गर्न सुझाव दिन्छु । मोटरसाइकलमा अपर मुस्ताङको यात्रा बेफिक्री गर्न पाउनु विकास नभए के हो त ? पुर्वदेखि सुदूरपश्चिमसम्म चिल्ला सडकमा यात्रा गर्दा विकासको महसूस कत्ति पनि हुँदैन र ? हिजोसम्म कल्पनासम्म गर्न नसकिने ग्रामीण क्षेत्रका बाँदर कुद्ने भीरपाखा छिचोल्दै बनेका चिल्ला बाटोले विकासको छनक दिँदैन र ? टुकीको उज्यालोमा भविष्य देख्ने बानी परेका हामीजस्ता आम नागरिकको घर-घरमा बिजुली पुगेको छ । इन्टरनेटको पहुँचले संसारको कुनै पनि कुनाबाट आफ्नो घर-परिवारसँग गफिन पाउनु यो विकास नभए के हो त ? छिनभरमा विदेशबाट पैसा हातमा आउँछ, यसलाइ विकास भन्न पाइँदैन भने के भन्ने त ? विकास भाको छैन भनेर भ्रम फैलाउने तत्वहरू एक पटक पुरै नेपाल घुमेर आउ अनि बल्ल थाहा हुन्छ तथ्य कुरा । हो, भनेजति र हामीले चाहेजति पक्कै भाको छैन । हाम्रो गरिब मुलुकलाई अमेरिका र युरोपसङ्ग दाँजेर हेर्न मिल्दैन । श्रोत र साधनको कमीले पनि चाहेजति हुन नसकेको पक्कै हो । नेपालमा विकास नभाको चाहिँ होइन । प्रशस्त भा’को छ । राम्रोलाई राम्रो भन्न नसक्ने सङ्कुचित मानसिकताको कारणले विकास देख्न नसकेको मात्र हो । यो विकास पनि यिनै पुराना भनिएका दलले गरेका हुन् । नयाँले त भएको संरचना भत्काउने र आगजनी गर्ने हुन् । पुरानाले देश बिगारे भनेर भ्रम छर्नेले नै आखिरमा देश जलाएर खरानी बनाए ।
अन्त्यमा, पुराना या नयाँ जुनसुकै दलका भएपनि जनताको सुख-दुःखमा साथ दिने, देशको माटोलाई माया गर्ने, अनुशासित र नैतिकवान ब्यक्तिलाई मतदान गर्नुहोला । जय नेपाल ।
[email protected]
प्रतिक्रिया