राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै राष्ट्र सिध्याउने षड्यन्त्र !

राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै राष्ट्र सिध्याउने षड्यन्त्र !


(हाम्रो देशमा त कसैको लहडमा, हुलदङ्गामा, आगजनी, तोडफोडका घटनामा संलग्न हुनेले, सरकारी सार्वजनिक कार्यालय, सर्वोच्च अदालत, राष्ट्रसेवक कर्मचारी र नागरिकको घरमा आगजनी गर्नेले, मान्छे कुटी-कुटी मार्नेले, सपिङमलबाट सरसामान चोर्नेले, ब्यक्तिको घर तोडफोड गरेरघरभित्र पसी सुन-चाँदी गरगहना र नगद लुटपाट र डकैती गर्ने, दिउँसै चोरेको रक्सी सार्वजनिक स्थलमा पिउने र अस्लिल गालीगलौज गर्नेले पनि काँधमा, कम्मरमा राष्ट्रिय झण्डा बेरेर उपद्रो गर्दै उफ्रेको पनि देखियो । गत २०८२ भदौ २४ गतेका दिन यस्ता थुप्रै अपराध कर्ममा सरिक भएका अपराधीहरूको अनेकन भिडियो फुटेजहरू सुरक्षा निकाय र आम नगरिकका मोबाइल र ल्यापटप, कम्प्युटरहरूमा सुरक्षित संग्रह गरिएका छन् । यो नेपाल राष्ट्रकै बेइज्जती हो । यस्तो कुकार्य गर्नेलाई अहिलेको भन्दा अझै कडा कानुन बनाएरै दण्डित गर्नुपर्छ, रोक लगाउनु पर्छ ।)

✦ ✦ ✦

राष्ट्रिय झण्डाको सबैले सम्मान गर्नुपर्छ भन्ने कुरामा सायदै दुईमत होला, तर बारम्बार राष्ट्रिय झण्डाको दुरुपयोग मात्र होइन अपमान भइरहेको छ । यसको जथाभावी दुरुपयोग गर्न हुँदैन ।

राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने पनि वैधानिक ब्यवस्था छ । जनताबाट अनुमोदित भएर राजकीय ओहोदामा पुगेकाले यसको प्रयोग गर्ने हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल राष्ट्रको प्रतिनिधित्व गरेर भाग लिने ब्यक्ति, निकाय वा संस्थाले प्रयोग गर्ने हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय सांसद, प्रदेशसभा, मन्त्रीहरू, नेपाली सेना, प्रहरी, स्थानीय निकाय, नेपाल सरकारका सरकारी निकाय÷आयोग, अड्डा, अदालत, र सरकारी कार्यलायहरू, कलेज, विद्यालय, सार्वजनिक संस्थान, बोर्ड, सरकारी समितिका कार्यालयहरूमा राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी संविधानको अनुसूची १ मा तोकेबमोजिम प्रयोग हुने हो ।

आम सर्वसाधारणले पनि राष्ट्रिय झण्डा र देशको अपमान नहुनेगरी सार्वजनिक हितका लागि लोककल्याणकारी कार्यमा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाउने प्रावधान छ । तर हाम्रो देशमा त कसैको लहडमा, हुलदङ्गामा, आगजनी, तोडफोडका घटनामा संलग्न हुनेले, सरकारी सार्वजनिक कार्यालय, सर्वोच्च अदालत, राष्ट्रसेवक कर्मचारी र नागरिकको घरमा आगजनी गर्नेले, मान्छे कुटी-कुटी मार्नेले, सपिङमलबाट सर-सामान चोर्नेले, ब्यक्तिको घर तोडफोड गरेर घरभित्र पसी सुन-चाँदी गरगहना र नगद लुटपाट तथा डकैती गर्नेले, दिउँसै लुटेको रक्सी सार्वजनिक स्थलमा पिउने र अस्लिल गालीगलौज गर्नेले पनि काँधमा, कम्मरमा राष्ट्रिय झण्डा बेरेर उपद्रो गर्दै उफ्रेको पनि देखियो । गत २०८२ भदौ २४ गतेका दिन यस्ता थुप्रै अपराधकर्ममा सरिक भएका अपराधीहरूको अनेकन भिडियो फुटेजहरू सुरक्षा निकाय र आम नगरिकका मोबाइल, ल्यापटप, कम्प्युटरहरूमा सुरक्षित संग्रह गरिएका छन् । यो नेपाल राष्ट्रकै बेइज्जती हो । यस्तो कुकार्य गर्नेलाई अहिलेको भन्दा अझै कडा कानुन बनाएरै दण्डित गर्नुपर्छ, रोक लगाउनु पर्छ ।

नीति, विचार, सिद्धान्त, कार्यक्रम र दृष्टिकोणविहीन अराजक, उदण्ड जमातलाई राष्ट्रिय झण्डा शरीरका विभिन्न भागमा भिराएर गत भदौ २४ को विनासकारी उपद्रव कसले गरे/गराएको – अहिलेसम्म कसैले त्यो सर्वनाशको जिम्मेवारी लिएको छैन । राजनैतिक लाभका लागि रास्वपाले जेन्जी प्रदर्शनको स्वामित्व लिने बताए तापनि आगजनीबाट सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, मन्त्रालयहरू, प्रदेश र स्थानीय तहका कार्यालयहरू, ब्यक्तिका निजी आवास र ब्यावसायिक प्रतिष्ठानहरू, सवारी साधनलगायत गरि खर्बौंको धनसम्पत्ति स्वाहाः भएको र प्रहरीले हतियार डाउन गरेको दिन भदौ २४ मा ५५ जनाले ज्यान गुमाएको त्यो हृदयविदारक घटना कसले गराएको थियो ? यो प्रश्नको समयले उत्तर खोज्ने नै छ ।

शान्तिपूर्णरूपमा विरोध गर्न पाउने अवस्था हुँदाहुँदै स्कुले पोसाकमा विद्यार्थीलाई संसद् भवनतिर ठेलेर भदौ २३ को घटना गराइ १९ जनाको इहलीला समाप्त पारिदिने षडयन्त्रकारीको पनि समयक्रमसँगै पोल खुल्दै जाने नै छ । सामाजिक संजाल खुल्नु पऱ्यो, भ्रष्टाचारमुक्त सुशाशन कायम हुनुपऱ्यो भन्ने माग कुनै राजनैतिक माग थिएन, यो अहिलेकै ब्यवस्थाभित्र अवस्थामा सुधारको माग थियो । तर, जेन्जी प्रदर्शनमा पानी बाँड्न आएका र फ्री तिब्बत मुभमेण्टका अभियन्ताहरूले विद्यार्थीको यो शान्तिपूर्ण आन्दोलनलाई अपहरण गरेर सरकारमा मन्त्री, प्रधानमन्त्री तोक्ने हैसियत एकै रातमा कसरी बनाए ? प्रश्न गम्भीर मात्र होइन, संवेदनशील पनि छ । आखिर लोकतन्त्र भन्दा उत्तम ब्यवस्था आजको विश्व राजनीतिक रङ्गमञ्चमा देखापरेको छैन भने नेपालको लोकतान्त्रिक प्रणाली र याहाँको संविधानलाई नै घाइते बनाएर २०८४ मा हुने संसद्को चुनावलाई २०८२ मा गराउनकै लागि प्रतिनिधिसभा अवैधानिक रुपमा किन विघटन गराइयो !? देशलाई विधि, प्रक्रिया, पद्दती र प्रणालीबाट संचालन गर्ने भन्दा भीडतन्त्रबाट अराजकता र आतंक सिर्जना गरेर जलाउने जुन चेष्टा भइरहेको छ, यो हाम्रो मुलुकको अस्मिता रक्षाका लागि अति नै घातक प्रहार हो । यो सब नेपालको राष्ट्रिय झण्डालाई दुरुपयोग गर्दै हाम्रो सार्वभौमिकता र राष्ट्रियतालाई कमजोर पार्ने देशी-विदेशी षड्यन्त्रको उपज हो भन्न सकिन्छ ।

कसले कसरी प्रयोग गर्न पाउँछ राष्ट्रिय झण्डा ?

अख्तियार प्राप्त निकाय र ब्यक्तिले पनि राष्ट्रिय झण्डाको प्रयोग गर्दा सधैं सम्मानपूर्वक राष्ट्रहितको काममा मात्र प्रयोग गर्नु पर्दछ । ब्यक्तिगत वा स्वार्थ समूहको निहित उद्देश्य पूर्तिका लागि झण्डाको दुरुपयोग गर्न पाइँदैन, हुँदैन । राष्ट्रिय झण्डालाई भुइँमा राख्ने, कुल्चिने, च्यात्ने, फ्याँक्ने, जलाउने थुक्ने वा अपमान हुने कार्य गर्न पाइँदैन । झण्डालाई सही तरिकाले फहराउनु पर्दछ । झण्डालाई उल्टो नहनेगरी सिधा राख्नुपर्दछ । चन्द्रमाको भाग माथि र सूर्यको भाग तल हुनेगरी राखिनुपर्छ । अन्य संस्थागत वा विषयगत झण्डाहरू भएकै स्थानमा राष्ट्रिय झण्डा राख्नुपर्ने भएमा राष्ट्रिय झण्डालाई सँगैका अन्य झण्डाभन्दा माथि वा प्रमुख र अग्लो स्थानमा देखिनेगरी राख्नुपर्दछ । राष्ट्रिय झण्डा बोकेर हिँड्दा आफ्नो शीरभन्दा माथि पारेर मात्र बोक्नुपर्दछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष, मन्त्रीहरू, प्रदेशप्रमुख, उच्च अदालतका मुख्य न्यायाधीश, संवैधानिक आयोगका प्रमुख र तिनका कार्यालयहरू र अन्य आधिकारिक पदाधिकारीको सवारीमा मात्र तोकिएको निश्चित ढाँचामा सवारीसाधनको दायाँपट्टिको सानो पोलमा झण्डा राख्न पाइन्छ । अख्तियारप्राप्त अधिकारीको सवारी साधन हो, तर त्यस्तो ब्यक्तिको त्यो सवारी साधनमा यात्रा नभएको अवस्थामा राष्ट्रिय झण्डा फहराउनु हुँदैन । विशेष राष्ट्रिय उत्सवहरू, संविधान दिवस, शहीद दिवस, अन्तराष्ट्रिय विशिष्ट पाहुनाको सवारी, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा त्यस्तो स्थल वा सम्बन्धित कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराइन्छ ।

राष्ट्रिय झण्डालाई ब्यापारिक उद्देश्यले, विज्ञापनमा, सामान बेचबिखनमा, कपडामा, टेबल-क्लोथमा, जुत्तामा, शरीरको कम्मरमुनिको भागमा प्रयोग गर्न मिल्दैन पाइँदैन । राष्ट्रिय झण्डामा चित्र कोर्ने, च्यात्ने वा स्वरुप बदल्ने गर्न पाइँदैन । राष्ट्रिय शोक र विपत्तिको घडीमा सरकारले निर्णय गरेर निश्चित समय तोकेर राष्ट्रिय झण्डा आधा झुकाइन्छ । तर आम सर्वसाधारणलाई राष्ट्रिय झण्डा झुकाउने अधिकार हुँदैन, पाइँदैन । सर्वसाधारणले भिआइपी सवारी नभएको बेला सानो आकारको झण्डा सम्मानजनका रुपमा आफ्नो गाडीमा, निवासमा राख्न सक्छन् । तर, अख्तियारप्राप्त सरकारी अधिकारीकै जस्तो हुनेगरी नक्कल गरेर त्यही आकार प्रकारमा प्रयोग गर्न पाइँदैन । बिहान फहराएको राष्ट्रिय झण्डा बेलुका झिकेर सुरक्षित रुपमा सम्मानपूर्वक कच्याककुचुक नपारी राख्नुपर्दछ । राति राष्ट्रिय झण्डा फहराउनै पर्ने अवस्था आएमा उचित उज्यालो प्रकाशको प्रबन्ध गरेर मात्र फहराउन पाइन्छ ।

राष्ट्रिय झण्डाको अपमान गर्नेलाई फौज्दारी दण्ड

नेपालको राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डाको माथि उल्लेख भएअनुसार दुरुपयोग गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा १६२ अनुसार फौज्दारी कसुरमा तीन वर्ष कैद र अदालतले तोकेबमोजिम ३० हजार रुपैयाँ जरिवाना सजाय हुन्छ । अदालतको घटनाको प्रकृति, गम्भीता, उद्देश्य, नियत आदिलाई हेरेर सजाय निर्धारण गर्नसक्छ । कसैले राष्ट्रिय झण्डाको अपमान, दुरुपयोग गरेको भनी प्रहरीमा उजुरी परेपछि सरकारी वकीलमार्फत अदालतमा मुद्दा जान्छ र अदालतले कसुरदार ठहर गरेमा दण्ड जरिवानाको भागीदार बन्नुपर्छ, सजाय हुन्छ ।

राजनैतिक दलले कस्तो अवस्थामा राष्ट्रिय झण्डा प्रयो गर्न पाउँछन् ?

नेपालका राजनैतिक दल र केही ब्यक्तिमा बढ्ता राष्ट्रवादी देखिने फेशन देखिएको छ । त्यसैले नीति, थिति, विधि, नियम मिचेर जथाभावी राष्ट्रिय झण्डाको दुरुपयोग हुने गरेको छ । राजनैतिक दलहरूले आफ्नो पार्टी कार्यालयमा पार्टीको झण्डाभन्दा अग्लो हुनेगरी राष्ट्रिय झण्डा राख्न पाउँछन् । राष्ट्रिय उत्सव, दिवस वा देशभक्तिपूर्ण राष्ट्र सम्मान कार्यक्रमहरूका ऱ्याली, सभाहरूमा, राष्ट्र गानको समयमा झण्डाको सम्मानसहित १० वटासम्म झण्डा प्रयोग गर्न पाउँछन् ।

कस्तोमा पाउँदैनन् ?

पार्टीको चुनाव चिन्ह वा झण्डाजस्तै गरी राष्ट्रिय झण्डालाई जोडेर भोट माग्ने क्रममा, नारा-जुलुसहरूमा बाँड्ने, झुण्ड्याउने, मत माग्ने सामग्री बनाउन, उम्मेदवारको फोटोसँगै राष्ट्रिय झण्डा जोडेर प्रचार सामग्री बनाउन, फलानालाई भोट दिनुहोस् वा जिताऔं लेखेर, बोलेर चुनावप्रचारमा राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइँदैन । राष्ट्रिय झण्डालाई टोपी, टी-सर्ट, ब्यानर, चुनावी पोष्टर, की-रिङ, स्टीकर, बिन्दुली टीकाको आकार अदिमा पनि दलहरूले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाउँदैनन् । यस्तो गरेको उजुरी परेमा ब्यक्तिालाई भए सरहकै दण्ड जरिवाना हुन्छ दलहरूलाई पनि । निर्वाचन आचासंहिताको उल्लंघन अन्तरगत निर्वाचन आयोगले समेत दलहरूलाई कारवाही गर्नसक्छ ।

अन्त्यमा

नेपालमा पछिल्लो समय राष्ट्रिय झण्डा शरीरमा बेरेपछि जे गर्न पनि छुट हुन्छ भन्ने भाष्य निर्माण गरिएको छ । झण्डा बेरेपछि जसलाई कुटेपनि, लुटेपनि हुने प्रवृत्ति देखिएको छ । गत भदौको २४ मा पनि यही प्रवृत्ति हाबी भएको थियो । लुटपाट, आगजनी र तोडफोड जस्तो अपराध कर्म गर्नेले आफ्नो शरीरमा राष्ट्रिय झण्डा बेरेका थिए । अब त कोही राष्ट्रिय झण्डा ओढेर आएको देख्नासाथ ब्यापारीहरूले पसलको सटर बन्द गर्न थालेका छन् । राष्ट्रिय झण्डाको प्रयोगले हौसला, प्रेरणा र उत्साह दिनुपर्छ । यहाँ त राष्ट्रिय झण्डा प्रयोग गर्नेले जनतामा त्रास, आतंक, भय सिर्जना गरिरहेका छन् । राष्ट्रिय झण्डा ओढ्नेका प्रति सम्मान भाव उत्पन्न हुनुपर्नेमा आज कसलाई लुट्ने हुन्, कसलाई चुट्ने हन् ? भन्ने त्रासदीको आततायी वातावरण देखिन थालेको छ । यस्तो प्रवृत्ति र कार्यले हाम्रो राष्ट्रियता बलियो हुन सक्दैन ।

देशको माया हुनेले मर्यादामा बसेर देश र जनताको इज्जत, मान-सम्मान हुने हेतुले झण्डाको प्रयोग गर्नुपर्ने हो । तर यहाँ त आफ्नो शरीरमा झण्डा प्रयोग गर्ने मान्छे देख्यो कि आज को-को लुटपाटमा पर्ने हुन् ? को-को मर्ने/मारिने हुन् भनेर त्राहीमाम हुनुपर्ने अवस्था बनाएका छन् राष्ट्रिय झण्डाको मर्म र महत्व नबुझ्ने लहडी उद्दण्ड र अराजकहरूले । तिनले लोकतन्त्र, मानवअधिकार र जनताको सर्वोच्चता बुझेकै छैनन् । अदृष्य शक्तिबाट फगत परिचालित मान्छेहरूले आफ्नै राष्ट्रको सम्पदा र सम्पत्ति नष्ट पारेका छन् । यस्तो राष्ट्रघाती कार्यमा राष्ट्रिय झण्डाको दुरुपयोग र अपमान गर्ने जो-कोहीलाई कडा कानून बनाएर कानूनी दयराबाटै दण्डित गर्न ढिला गर्नै हुँदैन । अन्यथा हाम्रो देशमा अराजकतावाद र बेथिति बढेर जान्छ । यस्तो प्रवृत्तिलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भोलिका दिनमा यस्तै तत्वलाई भूमिगत गिरोह र अदृष्य शक्तिले प्रयोग गरेर हाम्रो राष्ट्रियता कमजोर बनाउँदै राष्ट्रिय अस्मिता नै समाप्त पारिदिन सक्छन् । सम्बन्धित सबैलाई बेलैमा चेतना भया ।