- विशेष प्रतिनिधि, जापान
जापानका सम्राट नारुहितो ६६ वर्षका हुनुभएको छ । जन्मदिनको अवसरमा (२३ तारिख) शाही दरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सन् २०११ को पूर्वी जापान महाभूकम्पको १५ वर्ष तथा सन् २०१६ को कुमामोतो भूकम्पको १० वर्ष पूरा भएको सन्दर्भ उल्लेख गर्दै ‘१० वा १५ वर्षको समयावधिले मात्र त्यसको गहिरो पीडा र प्रभाव मापन गर्न सकिँदैन’ भन्नुभयो । साथै, आगामी दिनहरूमा पनि ‘विपद्-प्रभावित क्षेत्रप्रति मन जोडिरहने’ प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्रभावित क्षेत्रहरूमा पूर्वाधार पुनर्निर्माणमा प्रगति भए पनि जीविकोपार्जन र समुदाय पुनर्स्थापनामा अझै चुनौती बाँकी रहेको बताउनुभयो । परिवारका सदस्य गुमाएका र जीवन परिस्थितिमा ठूलो परिवर्तन भोगेका पीडितहरूको पीडा अझै पूर्ण रूपमा निको नभएको उहाँको धारणा थियो ।
सम्राटले ठूला प्राकृतिक विपद्को अनुभव पुस्तौंदेखि पुस्तामा हस्तान्तरण गर्नु आवश्यक रहेको पनि औंल्याउनुभयो । सम्भावित नान्काइ ट्रफ भूकम्प र राजधानी क्षेत्रमा सीधा प्रहार गर्ने भूकम्पलाई ध्यानमा राख्दै उहाँले ‘हामीले फेरि एकपटक आफ्ना तयारीहरूको समीक्षा गर्न आवश्यक छ’ भन्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया