निर्वाचन : लोकतन्त्रको महायज्ञ !

निर्वाचन : लोकतन्त्रको महायज्ञ !


निर्वाचन युद्ध होइन, जहाँ पराजितलाई परास्त शत्रु ठानियोस्; निर्वाचन त्यो पवित्र महायज्ञ हो, जहाँ हरेक प्रतिस्पर्धीहरू पनि राष्ट्र निर्माणका सहयात्री हुन्छन् । मतपत्र हतियार होइन, विश्वासको दस्तावेज हो । जनमत विजयको ट्रफी होइन, जिम्मेवारीको शपथ हो । यदि हामीले चुनावलाई क्रोध, प्रतिशोध र विभाजनको रणभूमि बनायौँ भने लोकतन्त्रको आत्मा कमजोर हुन्छ; तर यदि यसलाई मर्यादा, विचार, ब्यक्तित्व र प्रतिबद्धताको महायज्ञ बनायौँ भने राष्ट्र बलियो हुन्छ । त्यसैले आजको मूल प्रश्न जित-हारको होइन, राजनीतिक संस्कारको हो ।

नेपालले लामो संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक व्यवस्था सहज उपहार होइन । जनआन्दोलन २०४६ र जनआन्दोलन २०६२/०६३ ले निरंकुश प्रवृत्तिमाथि जनमतको सर्वोच्चता स्थापित गरेका ऐतिहासिक अध्याय हो । ती आन्दोलनहरूले हामीलाई एउटा मूल पाठ सिकाएका थिए- ‘जनताको मत नै अन्तिम निर्णायक शक्ति हो ।’ तर विडम्बना, आज निर्वाचनका बेला जनतालाई नै विभाजित, उत्तेजित र दिग्भ्रमित बनाउने प्रवृत्ति बढ्दो छ । यो प्रवृत्ति लोकतन्त्रको आत्मासँग मेल खाँदैन।

निर्वाचनलाई ‘महासङ्ग्राम’ सोचियो भने प्रतिस्पर्धा युद्धको रूपमा चित्रित हुन्छ । जब चुनाव युद्धजस्तै बनाइन्छ, तब प्रतिद्वन्द्वीलाई शत्रुजस्तै देखिन थाल्छ । परिणामस्वरूप विचारभन्दा व्यक्ति आक्रमणको केन्द्र बन्छ, नीतिभन्दा नारा हावी हुन्छ, र कार्यक्रमभन्दा प्रचार-कौशल निर्णायक बन्न पुग्छ । यसरी लोकतान्त्रिक विमर्श कमजोर हुन्छ । जबकि लोकतन्त्रमा प्रतिस्पर्धी दल र उम्मेदवारहरू शत्रु होइनन्; उनीहरू फरक दृष्टिकोणका प्रतिनिधि मात्र हुन् । भोलि सरकार र प्रतिपक्ष दुवै लोकतान्त्रिक संरचनाका अपरिहार्य स्तम्भ हुन् ।

महायज्ञको भावार्थ त्याग, अनुशासन र साझा हितसँग जोडिएको हुन्छ । यज्ञमा सहभागी हुने सबै पक्षले मर्यादा र विधि पालन गर्छन् । निर्वाचन पनि त्यस्तै सामूहिक संकल्प हो, जसमा  मतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम र राज्यका निकायहरु सबैले आफ्नो आचरणमा सुधार ल्याउनुपर्ने हुन्छ । यदि कुनै एक पक्षले मर्यादा तोड्यो भने सम्पूर्ण प्रक्रियाको विश्वसनीयता प्रभावित हुन्छ।

यस सन्दर्भमा राजनीतिक संस्कारको प्रश्न केन्द्रीय बन्छ । निर्वाचन मर्यादित बनाउने कुरा केवल एकपटकको आह्वान होइन; यो दीर्घकालीन राजनीतिक संस्कृति निर्माणको अभियान हो । हामीले भाषाशैली सुधार्नु, असहमतिको सम्मान गर्नु र तथ्यमा आधारित बहसको अभ्यास गर्नु भनेको भविष्यका लागि स्वस्थ लोकतान्त्रिक वातावरण तयार गर्नु हो । आज बोली र व्यवहारमा देखिएको असभ्यता भोलिको राजनीतिक संस्कृतिको आधार बन्न सक्छ । त्यसैले चुनावको क्षणिक लाभभन्दा दीर्घकालीन लोकतान्त्रिक स्थायित्वलाई प्राथमिकता दिनुपर्छ ।

युवापुस्ताको भूमिका यहाँ निर्णायक छ । आजको निर्वाचन केवल दलहरूको प्रतिस्पर्धा होइन; यो पुस्तागत चेतनाको पनि परीक्षा हो। सामाजिक सञ्जालले विचार प्रवाहको दायरा फराकिलो बनाएको छ, तर त्यही माध्यम घृणा, अफवाह र चरित्रहत्या फैलाउने उपकरण पनि बनिरहेको अवस्था छ । युवा पुस्ताले यदि तथ्य, तर्क र सभ्य विमर्शलाई प्राथमिकता दियो भने निर्वाचन संस्कृति स्वाभाविक रूपमा मर्यादित बन्छ । पुराना पुस्ताले दम्भ त्याग र नयाँ पुस्ताले राजनीति सुधार्नुपर्छ भन्ने विश्वास व्यवहारमा उतार्ने समय यही हो ।

त्यस्तै, निर्वाचनपछिको व्यवहार पनि उत्तिकै महत्वपूर्ण छ । लोकतन्त्रमा जित स्थायी अधिकार होइन, अस्थायी जनादेश हो । जित्नेले विनम्रता र उत्तरदायित्व देखाउनुपर्छ; हार्नेले गरिमा र संयम । परिणाम स्वीकार गर्ने संस्कार कमजोर भयो भने लोकतान्त्रिक संस्थामाथिको विश्वास पनि कमजोर हुन्छ । चुनावपछि पनि समाज एउटै रहन्छ, राष्ट्र एउटै रहन्छ । त्यसैले प्रतिस्पर्धाको तापक्रम परिणामसँगै शान्त हुनुपर्छ ।

राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र अर्को महत्वपूर्ण आयाम हो । यदि दलभित्रै पारदर्शी र योग्यतामूलक प्रक्रिया अपनाइएन भने बाह्य निर्वाचन कति नै निष्पक्ष देखिए पनि त्यसको नैतिक आधार कमजोर हुन्छ । उम्मेदवार छनोटमा पारदर्शिता, विचारधारात्मक स्पष्टता र संस्थागत अनुशासन कायम भयो भने जनताले पनि प्रतिस्पर्धालाई विश्वासका साथ हेर्न सक्छन् । बाह्य लोकतन्त्रको सुदृढीकरण आन्तरिक लोकतन्त्रबाटै सुरु हुन्छ ।

नेपाल अहिले जटिल भूराजनीतिक परिवेश, आर्थिक चुनौती र जनअपेक्षाको चापबीच उभिएको छ । यस्तो अवस्थामा निर्वाचनलाई वैमनस्यताको अखडा बनाउनु राष्ट्रका लागि घातक हुन्छ । हामीले संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र अब परिपक्व अभ्यासको चरणमा प्रवेश गर्नुपर्छ । राजनीतिक संक्रमणको अध्यायपछि अब राजनीतिक संस्कारको अध्याय सुरु हुनुपर्छ । यही संक्रमणको घडीमा निर्वाचनलाई मर्यादित बनाउन सकियो भने लोकतन्त्रको गुणात्मक उन्नयन सम्भव हुन्छ ।

अन्ततः, निर्वाचन केवल मत परीक्षणको प्रक्रिया मात्र होइन; यो विश्वास निर्माणको प्रक्रिया हो । चुनाव जित्नु वा हार्नु अस्थायी घटना हो, तर जनविश्वास जित्नु दीर्घकालीन पूँजी हो । विगतका ढाँट, चरित्र र अवसरवादबाट मुक्त भई सत्य, पारदर्शिता र प्रतिबद्धताको आधारमा प्रतिस्पर्धा गर्ने साहस नै आजको आवश्यकता हो ।

नेपालको सबैभन्दा पुरानो र ठूलो परिवर्तित पार्टी नेपाली काङ्ग्रेस भन्दैछ- ‘कसैलाई गाली नगर, जनसमक्ष आफ्नो कुरा राख, अरुको आलोचनामा समय खर्च नगर, अरुलाई होच्याएर आफू अग्लिने कोशिश नगर, उचाइ नाप्ने  यन्त्र विचार, विवेक र आचरण हो, दम्भ होइन ।’

त्यसैले आऊँ – निर्वाचनलाई दुषित महासङ्ग्राम होइन, पवित्र महायज्ञको रूपमा स्वीकार गरौँ । असहमति राखौँ, तर असभ्य नबनौँ। कडा आलोचना गरौँ, तर तथ्यमा आधारित होऔँ । जितका लागि प्रयास गरौँ, तर मर्यादा नछोडौँ । विचार र व्यक्तित्वको स्वस्थ प्रतिस्पर्धाबाटै राष्ट्रको भविष्य सुरक्षित हुन्छ । यही बाटोबाट मात्र लोकतन्त्रप्रतिको सच्चा सम्मान प्रकट हुन्छ  र यही बाटोबाट मात्र देश बचाउने र बनाउने साझा अभियान सफल हुन्छ ।