शक्तिशाली पुरुषहरूको डरलाग्दो संसार

शक्तिशाली पुरुषहरूको डरलाग्दो संसार


सबै शक्तिशाली पुरुषहरू डरलाग्दा छैनन् र सबै पुरुषहरूको संसार शक्तिशाली पनि छैन । तर, केही समयदेखि विश्व-चर्चामा रहेको ‘एपिस्टिन फायल केस’लाई हेर्दा विश्वका कतिपय शक्तिशाली मानिसहरूको संसार कतिसम्म डरलाग्दो र घिनलाग्दो हुने रहेछ भन्ने देखिएको छ । जेफ्री एपिस्टिन नाम गरेका एउटा अर्बपति ब्यापारी जसले नाबालिग बच्ची, किशोरी र महिलाहरूलाई विश्वका ठुला-ठुला पदमा भएका, धन सम्पत्ति भएका र नाम भएका पुरुषहरूको मनोरञ्जनका लागि तस्करी गर्थे । लिटिल सेन्ट जेम्स नाम गरेको अमेरिकी भर्जिन आइलेण्डमा एउटा छुट्टै टापु किनेर बाहिरका मानिस कोही पनि जान नसक्ने गरी तयार गरिएको उनको रिसोर्टमा विभिन्न देशका राजा, महाराजा, राष्ट्रपति, प्रधानमन्त्री, ठुला उद्योगी र ब्यापारीहरू जाने गर्थे । जेफ्री एपिस्टिन आफैले बालिकाहरूको यौन शोषण गर्थ्यो । किशोरी र युवतीहरूलाई विश्वका ती शक्तिशाली मानिसहरूको प्रयोगका लागि तयार गरिन्थ्यो । विश्वमा यौन ब्यवसाय हुने ठाउँहरू धेरै छन्, यौन शोषणका कथा पनि धेरै छन् । तर आफ्नो देश र विश्वकै रक्षा गर्छु भनेर उपल्लो स्थानमा पुगेका विभिन्न देशका नेता र ठुला भनिएका ब्यक्तिले गरेका यौन शोषणको यस्तो डरलाग्दो वास्तविकता भने पहिलोपल्ट उजागर भएको हो ।

यस्तो दर्दानक वास्तविकताको सुरुवात सन् २००८ बाट भएको हो भन्ने छ । जतिबेला जेफ्री नाम गरेको उक्त ब्यापारीले भर्खरै आफ्नो ब्यवसाय फैलाइरहेको थियो – न्युयोर्कस्थित उसको निवासमा ठुला पदमा रहेका मानिसहरू बोलाएर खानपिन गर्ने र युवतीहरूसँग सम्पर्क गराइ उनीहरूलाई बसमा पार्ने गर्थ्यो । सुरुमा अमेरिकी धनाढ्य तथा पदमा रहेका मानिसहरूसँगको उठ्बसले उसलाई विश्व नेताहरूसम्म पुऱ्यायो । ठुलो पदमा भएकाहरूलाई प्रयोग गर्दै धन कमाएपछि उसले टापु नै किनेर संगठित रूपमा त्यसप्रकारको काम गर्न थाल्यो । टापुमा रहेको रिसोर्टको हरेक कोठा, चोटामा सीसी टिभी क्यामेरा जडान गरिएको थियो । जहाँ बच्चीहरूदेखि किशोरी र महिलाहरूलाई बन्धक जस्तै बनाएर राखिएको थियो । त्यस्तो ठाउँमा जानेचाहिँ बेलायतका राजा चार्ल्सका भाइ एन्ड्र्युदेखि अमेरिकाका पूर्व राष्ट्रपति बिल क्न्टिन र तात्कालीन उद्योगपति तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म । एकपछि अर्को गर्दै फायलहरू सार्वजनिक हुँदै जाँदा विश्वका धेरै शक्तिशाली ब्यक्तिहरू त्यहाँ देखिएका छन् ।

विश्वका शक्तिशाली ब्यक्तिहरू सम्मिलित यो घटनालाई सत्ता-संरक्षित अपराधका रूपमा लिन सकिन्छ । महिला र बालिकामाथिको संरचनागत हिंसा, हेर्ने दृष्टिकोण, गर्ने ब्यवहार, यौन दुराचारका लागि बालिकाहरूको प्रयोग, निरीहमाथि शक्तिको दुरुपयोग – जे भन्दा पनि हुन्छ । प्रभावशाली मानिसहरूलाई प्रभावित पार्नका लागि महिला र बालिकाको प्रयोग भएको घटनाको अनुसन्धान भएपछि जेफ्री सन् २०१९ मा पक्राउ पऱ्यो र पछि हिरासतमा रहेकै बेला आत्महत्या गरेको भन्ने छ । यद्यपि उसको आत्महत्या प्रसङ्ग पनि विवादित छ । खासमा अहिले अमेरिकामा भएको यो प्रकरण एउटा देशको शक्तिशाली संजालसँग मात्र नभइ अन्य विभिन्न मुलुकमा पनि कुनै न कुनै रूपमा मेल खाने कुरा हो । यो शक्ति, पैसा, न्याय प्रणाली लगायतसँग सम्बन्धित कुरा हो ।

अहिले सार्वजनिक भइरहेका पात्रहरूमध्ये कतिपय ब्यक्तित्वहरू कुनै बेला निकै लोकप्रिय थिए । तीमध्ये बिल क्लिन्टन एउटा उदाहरण हुन् । विश्वको शक्तिशाली राष्ट्रका राष्ट्रपति क्न्टिनले त्यो हदसम्मको काम गर्छन् भन्ने सोचिएको थिएन । तथापि, उनी राष्ट्रपति हुँदा मोनिका लेवन्स्कीसँगको सम्बन्धले उनको कद भने घटाएकै थियो । त्यतिबेला ‘हिलारी क्न्टिनले के गर्लिन् ? बिल क्न्टिनसँग बस्लिन् या अलग होलिन् ?’ भन्ने प्रश्नहरू उठेका थिए । हिलारी क्लिन्टन अमेरिकाको राष्ट्रपति पदकी उम्मेद्वार, बिल क्न्टिनकी पत्नीमात्र नभइ महिला अधिकारवादी नेता पनि हुन् । सन् १९९४ मा चीनको राजधानी बेइजिङ्गमा सम्पन्न चौथो विश्व सम्मेलनको उद्घाटन समारोहमा उनले ‘ह्युमन राइट्स आर विमेन राइट्स एण्ड वीमेन राइट्स आर ह्युमन राइट्स फर अल’ भनेर बोल्दा सभाहल तालीले गुञ्जायमान भएर विश्वकै महिला आन्दोलन जुर्मुराएको थियो । यस्ती महिलाका पति अनेक महिलाहरूसँग अवैध सम्पर्क गर्दै हिँड्छन् या महिलाहरूसँग सम्पर्क गर्नकै लागि गिरोहको ब्यक्तिसँग निकट हुन्छन् भनेर कल्पना गर्न गाह्रो हुन्छ । तर वास्तविकतामै यस्ता घटनाहरू भइरहेका छन् । अहिले आफ्नो पतिको यस्तो हर्कत सार्वजनिक हुँदा जिन्दगीको उत्तराद्र्धमा आएर हिलारीलाई के भएको होला ? उनीमाथि के गुज्रिएको होला ? अनुमान गर्न सकिन्छ । झुट–फरेबको सम्बन्धमा रहनुभन्दा एक्लै बस्नु ठिक हुने थियो भन्ने कुराको पश्चाताप बोकेर यो संसार त्याग्ने महिलाहरूको सूचीमा अब उनी पनि हुनेछिन् । हिलारी एउटा उदाहरण मात्रै हुन्, उक्त काण्डमा मुछिएका सबैका परिवारलाई आफ्नो पति या परिवारको सदस्य त्यस्तो निकृष्ट काममा संलग्न थियो भन्दा ग्लानी नहुने शायदै होला ।

एपिस्टिन मुद्दामा त्यतिबेला पीडित भएका कति महिलाहरूले त्यहाँबाट फर्किएपछि बोल्न खोजेका थिए, तर सुरुमा उनीहरूका भनाइ कसैबाट सुनिएन, पत्याइएन, विश्वासै गरिएन । यौन हिंसाबाट प्रभावितहरूले ‘ममाथि यस्तो घटना भएको थियो’ भने भने त्यसलाई गम्भीर रूपमा लिनुपर्छ भन्ने पाठ पनि हो यो घटना । पीडितहरूकै साहसले यो घटना अहिलेको अवस्थासम्म आइपुगेको हो । पीडितको सुनुवाई आवश्यक छ र सोहीअनुरुपको न्याय प्रणाली पनि हुनुपर्छ भन्ने सन्देश पनि यो घटनाले दिएको छ । शक्तिशाली ब्यक्तिहरूसँग जोडिएका काण्डहरू प्रायः चाँडै ओझेल पर्ने गरेका छन् । हामीकहाँ पनि विगतमा केही घटनाहरू बाहिर आए, तर त्यस्ता कैयन घटना अहिले पनि आउन सकेका छैनन् । जब शक्ति, पैसा र यी कुरासँग जोडिएका संजाललाई न्यायभन्दा माथि राखिन्छ, त्यस्तो समाज र मुलुकमा कमजोर मानिसहरू सधैं जोखिममा पर्छन् ।

यो प्रकरणले विश्वसमक्ष एउटा कठोर सत्य उजागर गरेको छ, कुनै पनि समाजमा दण्डहीनता र गोप्य नेटवर्कले न्यायलाई कमजोर बनाउँछन् । त्यसैले पारदर्शिता, स्वतन्त्र न्यायप्रणाली र शक्तिशाली व्यक्तिमाथि पनि समान रूपमा कानून लागू हुने संस्कार अनिवार्य छ । ‘ठूला मान्छेहरूलाई केही हुँदैन’ या ‘शक्तिशाली मान्छेहरूले त जे गरेपनि हुन्छ’ भन्ने मानसिकता तोडिनुपर्छ भन्ने नै यो घटनाको पहिलो पाठ हो । विश्वसँगै नेपालले पनि यो घटनाबाट पाठ सिक्नुपर्छ ।

यस घटनाले दिएको अर्को महत्त्वपूर्ण पाठ हो- पीडितहरूको आवाजलाई विश्वास गर्नु र सुरक्षित स्थान दिनु । मिडिया, नागरिक समाज र न्यायसँग सम्बन्धित संस्थाहरूले पीडित-केन्द्रित दृष्टिकोण अपनाएनन् भने सत्य वर्षौंसम्म दबिन सक्छ । कुनै पनि लोकतन्त्रको वास्तविक बल शक्तिसम्पन्न व्यक्तिहरूमा होइन, सत्य बोल्न सक्ने साहसी नागरिक र निष्पक्ष संस्थाहरूमा हुन्छ । एपिस्टन प्रकरणले शक्तिशाली मानिसहरूप्रति आम मानिसहरूको भरोसा तोडेको छ । तोडिएको यो भरोसा र विश्वास आर्जन गर्न वर्तमान र भविष्यमा सत्तामा जाँदै गरेका र जाने ब्यक्तिहरूले धेरै मिहिनेत गर्नुपर्नेछ । आफूलाई पटक-पटक प्रमाणित गर्नुपर्नेछ ।