- विकास रौनियार, धादिङ
धादिङको गजुरी गाउँपालिकाले समाजमा उदाहरणीय कार्य प्रदर्शन गर्नेहरुलाई सम्मानित गर्दै आएको छ । यो वर्ष पनि गाउँपालिकाले आफ्नो स्थानीय तहभित्रका शैक्षिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने र स्वास्थ्य सेवामा योगदान पुऱ्याएका विभिन्न संस्था तथा व्यक्तिहरुलाई सम्मानित गरेको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक सत्र २०८१ म उत्कृष्ट हुने विद्यार्थी, विद्यालय, शिक्षक संगै स्वास्थ्य सेवामा समर्पित भएर लागेकाहरुलाई विशेष सम्मानसहित पुरस्कृत गरेको हो । हालै आयोजित विशेष कार्यक्रमका बीच कक्षा ५ (स्तरमापन), कक्षा ८ (बीईई), कक्षा १० (एसईई) र कक्षा १२ (एसएलसी)का परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई कदरपत्र सहित सम्मानित गरेको हो । गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिका स्तर कक्षा १० (एसईई) तर्फ मुनाल एकेडेमीले सत प्रतिशत नजिता सहित उत्कृष्ट विद्यालयको स्थान हासिल गर्यो भने सामुदायिक तर्फ आदर्श मावि (८३ं.३३) प्रतिशत सहित प्रथम भयो । त्यस्तै गजुरी पिँडा मावि द्वितीय (७७ं.३३) प्रतिशतसहित हुँदा, डोल भञ्जयाङ मावि (६९.४४) प्रतिशतसहित तृतीय भयो ।
सामुदायिक विद्यालयबाट गजुरी पीडा माविका इश्वर भण्डारी (४ जीपीए) उत्कृष्ट विद्यार्थी घोषित भए । त्यस्तै, संस्थागततर्फ मुनाल एकेडेमीका अनिमा खरेल र इसान सुवेदीले ३.८८ जीपीएसहित संयुक्त रुपमा प्रथम स्थान हासिल गरे । कक्षा ८ तर्फ संस्थागतमा अनुष्का शर्मा ३.९४ जीपीएसहित प्रथम, सृष्टि रौनियार ३.८९ जीपीएसहित द्विीतृय र सोनम तामाङ ३.८६ जीपीएसहित तृतीय घोषित भए । कक्षा ८ मै सामुदायिकतर्फ नवीन ओझा ३.७६ जीपीएसहित प्रथम, सुधा ढकाल ३.७० जीपीएसहित द्वित्तिय र सफल थपलिया ३.६८ जीपीएसहित तृतीय स्थान ल्याउन सफल भए । कक्षा ८ तर्फ संस्थागतमा मुनाल एकेडेमी ९५ प्रतिशत सहित उत्कृष्ट विद्यालय घोषित भयो भने सामुदायिकतर्फ किराञ्चोर मावि ९४ प्रतिशतसहित प्रथम स्थान ल्याउन सफल बन्यो । कक्षा ५ तर्फ सामुदायिकबाट किराञ्चोक माविसहित जुनतारा आवि, पाविल एकेडेमी, मानेभञ्ज्याङ आवि, मुनाल एकेडेडमी, रिठ्ठाबोटे, आवि तथा सेतीदेवी आविले सत प्रतिशत अंक प्राप्त गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि विद्यार्थीको निरन्तर मेहनत, शिक्षकको समर्पण र विद्यालय व्यवस्थापनबीचको सहकार्य अपरिहार्य रहेको बताइन् । उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै उनले यसले अन्य विद्यार्थीहरूलाई समेत प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।
उच्च उत्तीर्ण प्रतिशत र औसत जीपीएका आधारमा विभिन्न विषयका शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, अर्थशास्त्र, लेखा, कम्प्युटर लगायत विषयमा शतप्रतिशत नतिजा ल्याउने शिक्षकहरूलाई विशेष कदर गरिएको थियो ।
पालिकाले विषयगत उत्कृष्टता र अनुशासनलाई संस्थागत संस्कारका रूपमा विकास गर्ने लक्ष्यका साथ शिक्षक सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
समारोहमा गाउँपालिका स्वास्थ्य शाखाका सेवा निवृत्त प्रमुख सुन्दरकुमार श्रेष्ठ र अ.न.मी. सरिता रुपाखेतीलाई दीर्घकालीन स्वास्थ्य सेवामा पुऱ्याएको योगदानका लागि विशेष सम्मान गरिएको थियो । वर्षौंदेखि ग्रामीण स्वास्थ्य सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनीहरूको योगदानले स्थानीय स्वास्थ्य सेवा सुदृढीकरणमा महत्वपूर्ण प्रभाव पारेको उल्लेख गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले शिक्षा र स्वास्थ्य क्षेत्रमा समर्पित व्यक्तित्वहरूको सार्वजनिक सम्मानले सकारात्मक प्रतिस्पर्धा, जिम्मेवारीबोध र सेवाभावलाई प्रवर्द्धन गर्ने बताए । उनले स्थानीय स्तरमै उत्कृष्टता पहिचान र प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिए ।
समारोहले शिक्षा र स्वास्थ्य क्षेत्रका कर्मशील व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै नयाँ पुस्तामा प्रेरणा र उत्तरदायित्वको भावना विकास गर्ने सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।
प्रतिक्रिया