यो निर्वाचनले निकास नदिने र अझ ठूलो र कहालीलाग्दो अवस्था आउनसक्ने आँकलनमा अविश्वास गर्ने आधार छैन । निर्वाचन बहिष्कार गर्नु वा नगर्नु, कसैको पक्षमा मत दिनु वा नदिनु जनताको अधिकार हो । जनता जो आफैमा जनार्दन हो अनि त्यो जनार्दनको सम्मान हुनै पर्दछ । तर ‘राजावादी हौ भने निर्वाचन बहिष्कार गर’ भनेर आदेश दिने अधिकार कसैलाई छैन ।
✍ स्वयम्भुनाथ कार्की
पछिल्लो अर्थात् २०७९ को निर्वाचनले बनेको सरकारमा तालमेलको वर्चश्व रहेको कुरा कुनै रहस्य हैन । जनमतको हैन तालमेलको आधारमा जे गरेपनि उचित भन्ने सिद्धान्त हाबी भएको थियो । शक्ति सन्तुलन तथा पृथकीकरणको नाम मात्र रहेको थियो । संविधानको उल्लंघन अनि संविधानले वाचा गरेको अधिकारको अपहरण प्रचुर मात्रामा भएको थियो । अहिले पनि प्रहरीलाई दिएको बन्दुक पड्काउन नै हो लाठी हैन भन्ने तर्क गर्नेहरूको कमी छैन । समग्रमा मुलुकमा कानुनको शासन हैन कानुनले शासन गरिरहेको छ । संविधानका तीन-तीन व्यवस्था नाघेर बनेको सरकार संविधानले हैन आन्दोलनले बनेको नभन्ने हो भने वर्तमानमा जे भए पनि चीरकाल पर्यन्त अवैधानिक सरकार हुनेछ ।
जे होस् विरोधलाई दमन गर्नु र सामान्य तरिकाबाट नियन्त्रणमा राख्न सकिने बाटो हुँदाहुँदै हदैसम्मको बल प्रयोग गर्नु सरकारको आदत नै भएको थियो । ८१ साल चैत्रको विरोध प्रदर्शनमा भएको अत्याधिक बल प्रयोगलाई गलत भन्न नसक्ने नागरिक समाज, अधिकारकर्मी लगायतका जिम्मेवारको पनि नैतिक जिम्मेवारी छ भदौ २३ र २४ का विभत्स घटनाहरूमा । केवल सामाजिक सञ्जाल बन्द भएको कारणले उद्वेलित जेन-जेड(जी)को विरोध प्रदर्शन केवल ती सञ्जालहरूमाथिका प्रतिबन्ध हटेको सूचनामात्रले समाप्त हुन सक्ने थियो भन्ने मेरो मान्यता थियो छ र रहने छ । त्यो एक अनुहारविहीन विद्रोह थियो । त्यसमा भएको साझा तत्व सामाजिक सञ्जालहरूमा हुने आफ्नो निर्वाध विरोध रोक्न लगाइएको प्रतिबन्ध नै थियो ।
मथिल्ला अनुच्छेदहरूमा उठाइएका कुरालाई प्रष्ट पार्न हरेक बुँदालाई लामो ब्याख्या चाहिन्छ । आवश्यक परेमा आगामी दिनमा ती ब्याख्याहरू पनि आउने नै छन् । तर अहिलेलाई त्यो अनुहारविहीन विद्रोह थियो भन्नलाई त्यसलाई व्यवस्थापन गर्न कुनै नेतृत्व उपलव्ध नहुनु पर्याप्त छ । र, वर्तमानमा २३ को जस लिन र २४ को विध्वंशको अपजसबाट भाग्न जस्तो किसिमको होड चलेको छ – त्यसले पनि वर्तमानमा गरिएको उपायले समस्या समाधान गर्न सक्दैन । अर्थात्, अन्तरिम सरकार गठनदेखि नै जे-जस्ता प्रयत्न भएका छन् ती सबै नै पाकेको पिलोको मुख थुनेर भित्रै पिप गानिन दिएको जस्तै हो ।
पौने दुई शताब्दिदेखिको विरासत नै जसले छोड्यो उसले निर्वाचन भाँड्ने प्रयत्न गरेको होला भन्ने कुरा मान्न सकिने हैन । उनले सबैलाई विशेषतः सरकारलाई आफूले गराएको नगर निर्वाचनले समाधान गर्न नसकेको अनुभवको आधारमा सुझाव मात्र दिएको हो ।
मुलुकले त्यत्रो नागरिक गुमायो, त्यत्रो सम्पत्ति गुमायो, अर्थात जे नहुनु थियो त्यो भयो । अब त्यसपछि ती घटनाहरूका कारणको समाधान नखोजी साम्य हुन्छ भन्ने सोचेको छ भने त्यो ‘मुतको न्यानो’ मात्र हो । पहिले गानिएको पिलोको पिप बाहिर निकालिनु पर्दछ । र, यो नै फाल्गुण ७ गते राजाबाट आएको सन्देशको सही अर्थ हो ।
यो कुरालाई राजावादी भनाइने केही समुहले ‘निर्वाचन भाँड्न गरिएको आव्हान्’को रुपमा प्रचार गर्नुले राजालाई बदनाम नै गर्दछ । जसले निर्वाचन गर्न अक्षम भनेर दुई-दुई पटक शेरबहादुरलाई अपदस्त गऱ्यो । अनि बहिष्कारको बीचमा पनि नगर निर्वाचन गराएर प्रजातन्त्रलाई बाटोमा ल्याउन प्रयत्न गऱ्यो । त्यतिमात्र नभइ पौने दुई शताब्दिदेखिको विरासत नै जसले छोड्यो उसले निर्वाचन भाँड्ने प्रयत्न गरेको होला भन्ने कुरा मान्न सकिने हैन । उनले सबैलाई विशेषतः सरकारलाई आफूले गराएको नगर निर्वाचनले समाधान गर्न नसकेको अनुभवको आधारमा सुझाव मात्र दिएको हो । अरुले जेसुकै भनेपनि प्रत्यक्ष शासन चलाएका शाह राजाहरूले हमेसा जनताको इच्छालाई सर्वोपरि राखेको भन्ने कुरामा पङ्क्तिकार अटल विश्वास राख्दछ ।
त्यसैले आफूलाई नै जनताको इच्छामा समर्पित राजाले निर्वाचन बिथोल्न खोजेको कुरा सत्य हैन । तर, यो निर्वाचनले निकास नदिने र अझ ठूलो र कहालीलाग्दो अवस्था आउनसक्ने आँकलनमा अविश्वास गर्ने आधार छैन । निर्वाचन बहिष्कार गर्नु वा नगर्नु, कसैको पक्षमा मत दिनु वा नदिनु जनताको अधिकार हो । जनता जो आफैमा जनार्दन हो अनि त्यो जनार्दनको सम्मान हुनै पर्दछ । तर ‘राजावादी हौ भने निर्वाचन बहिष्कार गर’ भनेर आदेश दिने अधिकार कसैलाई छैन । शास्त्रअनुसार राजा सबैका साझा हुन्छन् । आदेश मान्नेका पनि राजा हुन्छन् नमान्नेका पनि राजा नै हुन्छन् । उसै पनि निर्वाचनपछि गणतन्त्र पक्षधरले गणतन्त्र विपक्षका लडेको दलको मतको आधारमा शक्ति मुल्याङ्कन गरिआएका छन् र गर्छन् नै । अनि त्यो कमजोर देखिने बित्तिकै कुन स्तरको ब्यवहार हुन्छ भन्ने कुरा ८१ चैत्र १५ ले र राजाका संवाद सचिवलाई गरिएको व्यवहारले देखिएको छ । सोच्ने विचार गर्ने आफ्नो क्षमतामा विश्वास गरेर आफ्नो मनले अह्राएको अनुसार यो निर्वाचनमा आचरण देखाउनु नै उपयुक्त हुनेछ ।
विराटनगर-१
प्रतिक्रिया