चेतना गुमाउँदै गएका जनता र माफियागिरिको राजनीति

चेतना गुमाउँदै गएका जनता र माफियागिरिको राजनीति


फाल्गुण २१ को प्रतिनिधिसभा निर्वाचन आवश्यक थियो वा थिएन भन्ने बहस गौण ठान्दै, कस्ता उम्मेदवार चुनावी मैदानमा छन् भन्ने कुरालाई प्राथमिकता दिनु यतिबेलाको आवश्यकता हो । पाकिस्तानी मुस्लिम संस्थाले तराईका विभिन्न मुस्लिम उम्मेदवारलाई खुल्ला रूपमा आर्थिक, भौतिक र नैतिक, सहयोग गर्न गरेको प्रतिबद्धता र रास्वपा जस्ता नयाँ पार्टीको केही नेतालाई अमेरिकी युथ काउन्सिल, युरोपेली युनियन र बारबरा फाउन्डेसन जस्ता अन्तर्राष्ट्रिय संस्था तथा भारतीय ‘रअ’ले खुल्ला रुपमा गरेको समर्थनले राज्य नागरिकको चाहनामा भन्दा बाह्य तथा आन्तरिक अदृश्य शक्तिको इच्छा वा स्वार्थमा चल्न विवश छ भन्ने देखिन्छ । यो विषयले राज्यसंयन्त्र बाह्यशक्तिको हस्तक्षेपको चंगुलमा नराम्रोसँग जकडिएको भान हुन्छ ।

बहुदलीय व्यवस्थाको नाममा स्थापित गणतन्त्रले आज राष्ट्रलाई अर्कैको अधीनस्थमा लगेको यथार्थले आम नागरिक झस्कनु स्वभाविक हो । किनकि, राज्यले नै दोषी ठहर गरेका तस्कर, माफिया, भ्रष्टाचारी, देशद्रोहका गतिविधिमा संलग्न र जातीय अतिवाद बोकेका पात्रहरू बाह्य शक्तिको आडमा निर्लज्ज रूपमा सत्ताको दाबेदार बनेका वा पुग्न तरखरमा छन् । वि.सं. २०४८ यताका चुनावी परिणाम वा त्यसको प्रतिफल हामीले भोग्दै आएको तितो सत्य जगजाहेर नै छ । दलहरू देशलाई आर्थिक, सामाजिक, रुपान्तरण होइन – बैरीको मिसनका हिमायती बनेर बदनाम राजनीतिलाई आत्मसात गर्दै दुष्कर्ममा फस्न पुगेका नौलो विषय रहेन । तथापि, यही प्रवृत्ति जारी रहँदा पनि जनता भने राज्य र राष्ट्रियता भन्दा माथि नेता र दल राखेर व्यवस्था टिकाउन तल्लीन छन् ।

यस अर्थमा जनता सार्वभौमसत्ता अधिकारको केन्द्र होइन, अपराधीहरूको संरक्षण कवच बन्ने गरेका छन् । स्पष्ट रुपमा एल्गोरिदमको शिकार बनेर विवेकशून्य अवस्थामा छन् भन्दा अत्युक्ति हुँदैन । यहाँ हामीले गम्भीर विवेचना गर्ने समय आएको छ । कुनैपनि देश एकैपटक असफल हुँदैन, अपराधको राजनीतिले अभिन्न अंगमा प्रभाव जमाउँदै जान्छ । जनतामा अपराधबाट प्रभावितलाई आफ्नो हिफाजतकर्ता वा संरक्षक देख्ने दिग्भ्रमित चेतनाको विकास हुन्छ । अन्ततः अपराधले नै राजनीति सञ्चालन गर्दै सत्ताको बागडोर सम्हाल्न पुग्छन् । अनि बिस्तारै राज्य आर्थिक र प्रशासनिकरूपले असफल बन्दै जान्छ । आज विश्वका धेरै देशहरू यही चक्रको शिकार बनेका छन् । शुरूवाती प्रक्रिया सामान्य देखिएता पनि अन्ततः ड्रग्सको नशामा फसेजस्तै मानिसको जीवन जस्तै अनिष्टकार हुन्छ । उदाहरणका रूपमा विश्वका केही देशलाई लिन सकिन्छ ।

सन् १९८० को दशकसम्म मेक्सिकोमा लागुऔषध तस्करी सीमित रूपमा सञ्चालन हुन्थ्यो । तर कमजोर न्याय प्रणाली, राजनीतिक संरक्षण र अमेरिकी बजारको उच्च मागका कारण १९९० पछि ड्रग्स कार्टेलहरू अत्यन्त शक्तिशाली बने । अमेरिकातर्फ कोकिन, हेरोइन, मेथाम्फेटामिन र पछि फेन्टानिलसम्मको आपूर्ति तीव्र भयो, जबकि अमेरिकाबाट अवैध हतियार मेक्सिको भित्रिन थाले । अर्थात्, ‘ड्रग्स उत्तरतर्फ, हतियार दक्षिणतर्फ’ भन्ने स्लोगन नै स्थापित भयो । नेपाल र भारतको खुला समिाना भारतीय बजार र नेपालको राजनीति वृत्तान्तलाई हेर्दा आजको मेक्सिको र भोलिको नेपाललाई दाज्नु उपयुक्त देखिन्छ ।

सन् २००६ मा तत्कालीन राष्ट्रपति Felipe Calderón ले सेना परिचालन गर्दै ‘ड्रग्सविरुद्धको युद्ध’ गरेदेखि आधिकारिक तथ्याङ्कअनुसार लाखौँ मानिस प्रभावित भए र सन् २००६-२०२६ बीच मात्र ३ लाखभन्दा बढी नागरिकले ज्यान गुमाएको छन् । सन् २०१२ मा तत्कालीन राष्ट्रपति Enrique Peña Nieto ले कडा कारवाहीको प्रतिवद्धता जनाए, तर हिंसा पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन । आज पनि शक्तिशाली कार्टेलहरू (जालिस्को नयाँ जेनेरेशनका नेता एल मेन्चो) लगायत केही मारिए पनि अनेकौँ कार्टेलहरू सरकारसँग प्रत्यक्ष टकरावमा छन् । आर्थिक शक्ति, राजनीतिक प्रभाव र अन्तर्राष्ट्रिय मागको संयोजनले राज्यलाई जुनसुकै अवस्थामा लैजान सक्छ ।

हाम्रो छिमेकी भारतमा पनि १९७०-८० को दशकमा हाजी मस्तानले तस्करी र माफियागिरि गरेर राजनीतिमा प्रवेश गरेको यथार्थलाई भुल्नु हुँदैन । उनले सुन तस्करीबाट विशाल सम्पत्ति आर्जन गर्दै, राजनीतिक दल र कलाकारलाई प्रभावमा पारेर फिल्म उद्योग र व्यापार, राजनीतिक पहुँच जमाएका थिए । उनी सडकमा निस्किँदा हजारौँ मान्छे उनका पछि जयजयकार गर्दै लाग्थे । आज नेपालका राजनीतिक माहोल, तस्करी माफिया गिरि र उम्मेदवारको भीड देख्दा लाग्छ- यहाँ पनि ‘हाजी मस्ताना एल मेन्चो’हरूकै अधीनमा नेपाली राजनीति घुमेको छ । यिनीहरू प्रत्यक्ष वा परोक्ष रूपमा राज्य र बाह्य शक्तिद्वारा संरक्षित छन् ।

त्यस्तै, युरोपेली देश इटलिमा कोसा नोस्ट्रा माफियाले सन् १९५०-७० सम्म राज्य संरचनालाई नै प्रभावित पारेको थियो । माफिया र राजनीतिक साँठगाँठमा निर्माण ठेक्का, सिमेन्ट आपूर्ति, थोक बजार र ‘प्रोटेक्सन मनी’, चन्दा असुली उनीहरूको नियन्त्रणमा थियो । १९६० को दशकदेखि अमेरिकी ब्यपारीसँग समन्वय गर्दै french Connection सँग जोडिएको हेरोइन तस्करीमा सिसिलियन समूह (माफिया र नेता) सक्रिय भएर ७० को दशकसम्म एउटा तस्करको साम्राज्य नै खडा गरे । १९६२-६३ को first mafiya war र Ciaculli bomb विस्फोटले दर्जनौँ तस्कर र सुरक्षाकर्मीहरू मारिएका थिए । यस्को असर ८० को दशकसम्म परेको थियो । राजनीति र आर्थिक विकासमा तस्कर र माफियाले स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म पहुँच ठेक्का, कर्मचारी नियुक्ति, अदालत र प्रशासन समेतलाई प्रभावमा पारेर आफ्नो धन्दा चलाउने गर्दथे । हत्याहिंसा, अपराध सामान्य थियो । राज्यको कानुन माफियाको निर्देशनमा चल्थ्यो भन्दा अत्युक्ति हुँदैन ।

कमजोर राज्य प्रणाली, फितलो कानुन राजनीतिमा बाह्य हस्तक्षेप, एनजीओ/आइएनजीओद्वारा राज्य नियन्त्रण र माफिया र तस्करहरूले राजनीतिलाई मुठीमा लिँदा भोलिका दिनमा नेपालको अवस्था पनि मेक्सिको, कोलम्बिया, ब्राजिल, म्यन्मार अफगानिस्तान, एक्वेडोर, भेनेजुएला, पेरु, ग्वाटेमाला, बेल्जियम, नेदरल्यान्ड टर्की जस्ता देशहरूको जस्तै तस्कर र माफियाको संजालले राज्यलाई अपराधीकरणको ढाँचामा बदल्ने यथार्थलाई नकार्न सकिँदैन ।

अहिले नेपाली राजनीति वृतमा देखिएका प्रवृत्तिहरूलाई मुल्यांकन गर्दा माफिया, र तस्करहरूले राज्य संचालन गर्ने र कानुनलाई नै आफ्नो मातहत वा स्वार्थमा पार्ने गरेको देखिन्छ । सायद पंक्तिकार गलत छैन भने यो प्रणाली र यो व्यवस्था अनि माफिया र तस्करविरुद्धको अभियान जेन्जी आन्दोलन थियो । जेन्जी आन्दोलन भनिए पनि एनजीओ/आइनजीओ र राजनीतिक माफिया/तस्करहरूले नै आन्दोलनलाई आफ्नो स्वार्थबमोजिमको प्रतिफलमा उतार्न सफल भए, जसलाई तत्काल अनुसन्धान गरेर कारबाही गर्नुपर्ने थियो, त्यो गरिएन । त्यसैले उनिहरू नै नयाँ वा पुरानो दलको आडमा राजनीतिमा प्रवेश गर्दै अनुसन्धान रोक्ने क्षमता प्रकट गर्दैछन् । प्रशासनिक नियुक्तिमा प्रभाव पार्दैछन् । आफ्नो अवैध धन्दालाई बारम्बार झुट बोल्दै मिडिया र जन दबाबको आडमा चोख्याउने धन्दामा लागेका छन् । तत्कालको विध्वंशलाई नजरअन्दाज गर्नु, कार्की आयोगलाई थाती राखेर चुनावमा होमिनु, नागरिकको भावनालाई एल्गोरिदमले बन्धनमा पार्नु र एउटा पक्षलाई दानवीकरण गर्दै अर्को पक्षलाई नायक तुल्याउनु अनि विदेशीद्वारा राज्यको कानुनलाई नै प्रभावित पार्नुले राज्य अत्यन्त कमजोर वा निरीह अवस्थाबाट गुज्रिएको प्रतीत हुन्छ । अनि त भोलिका हाम्रा सन्तति गोर्खाली बहादुरको विरासतलाई पन्छाएर तस्कर र माफियाको उपमा भिर्दै जिउन बाध्य हुनुपर्ने त हैन भन्ने भयले मन-मस्तिष्कमा सन्नाटा छाएको छ ।

जय मातृभूमि !