कार्की आयोगको रिपोर्ट थन्क्याएर बिबिसीले ६ महिना लगाएर बनाएको भनिएको एकतर्फी रिपोर्ट सार्वजनिक गरिनु नियोजित नै हो भनेर प्रष्ट भन्न सकिन्छ । लगत्तै सिएनएन, अलजजिराहरूबाट पनि एस्तै डकुमेन्ट्री आएमा आश्चर्य मान्नु पर्दैन । किनकि, नेपालको संसद् भवन, सिंहदरबार जल्दा ‘खैरे’ युटुबरले नै उफ्री-उफ्री भिडियो खिचेका थिए, अरु पनि थिए होलान् ।
✍ तारा प्रसाद अर्याल
इतिहास साक्षी छ, साम्राज्यहरू अब तरबार र तोपले होइन, ‘डाटा’ र ‘न्यारेटिभ’ (भाष्य)का माध्यमबाट कब्जा गरिन्छन् । त्रेतायुगमा मन्थराले कैकेयीको ‘कान भरेर’ रामलाई वनवास पठाएझैँ र द्वापरमा शकुनीले ‘पासा पल्टाएर’ कुरुवंशको सर्वनाश निम्त्याएझैँ, आजको डिजिटल मिडिया र अन्तर्राष्ट्रिय कर्पोरेट च्यानलहरू नेपालीको ‘मस्तिष्क नियन्त्रण’ (Mind Control) गर्दै मुलुकलाई अस्थिरताको खाडलमा धकेल्दैछन् । कार्की आयोगको रिपोर्ट थन्क्याएर बिबिसीले ६ महिना लगाएर बनाएको भनिएको एकतर्फी रिपोर्ट सार्वजनिक गरिनु नियोजित नै हो भनेर प्रष्ट भन्न सकिन्छ । लगत्तै सिएनएन, अलजजिराहरूबाट पनि एस्तै डकुमेन्ट्री आएमा आश्चर्य मान्नु पर्दैन । किनकि, नेपालको संसद् भवन, सिंहदरबार जल्दा ‘खैरे’ युटुबरले नै उफ्री-उफ्री भिडियो खिचेका थिए, अरु पनि थिए होलान् ।
नेपालको राजनीति ३०औँ वर्षदेखि संक्रमणकालिन अवस्थाबाटै गुज्रिएको थियो, नवयुवाहरूमा असन्तुष्टि ब्यापक चुलिएको थियो, शासन शैलीबाट नागरिकहरू आजित थिए, नवयुवाहरूमा सरकारप्रतिको असन्तुष्टि चुलिएको थियो, लाखौँ नागरिकहरू विदेशी भूमिमा पसिना र रगत बगाउन बाध्य बनेको पीडा/आक्रोश पोखिरहेका थिए, वर्षौंदेखि सत्तामा बसेका शासकहरूमा जवादेहिता, जिम्मेवारी बोध थिएन यसको हामीहरूले पनि चर्को विरोध गर्दै आइरहेका थियौँ, जुन हाम्रो देशको आन्तरिक मामला थियो र हो । तर, यही असन्तुष्टि ‘अल्गोरिदम’मार्फत देशमा सुशासन र निकास दिने न्यारेटिभ बनाइ सिङ्गो देशकै सार्वभौमसत्ता कसरी हाइज्याक र तहसनहस गरिँदै छ भन्ने विषय प्रस्ट पार्नु यो आलेखको मूल उद्देश्य हो ।
१. ‘कलर रिभोल्युसन’ र नेपालमा ‘डिप-स्टेट’को डिजाइन
✦ विश्व राजनीतिमा ‘कलर रिभोल्युसन’ (रंगीन क्रान्ति)को एउटा निश्चित र खतरनाक ढाँचा हुन्छ । लिबिया, इराक र सिरियामा सुरुमा ‘निहत्था नागरिकमाथि गोली चल्यो’ भन्ने प्रोपगाण्डा फैलाएर राज्यका सुरक्षा अंगलाई कमजोर बनाइयो । नेपालमा भदौ २३ र २४ को आन्दोलन त्यही श्रृङ्खलाको कडी हो ।
✦ डिस्कर्ड (Discord) तालिम : सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन जलाउन गेमिङ प्ल्याटफर्म ‘डिस्कर्ड’मा तालिम दिनु कुनै संयोग होइन । यो पश्चिमाहरूले प्रयोग गर्ने ‘फोमेन्टिङ रिबेलियन’ (विद्रोह भड्काउने) कला हो यो कुरा बिबिसीको रिपोर्टले देखेन कि लेखेन ?
✦ डाटा पुँजीवाद र ब्रेन हाइज्याकिङ : ३० वर्षको कुशासनबाट उब्जिएको नागरिक असन्तुष्टिको डाटा संकलन गरी अल्गोरिदममार्फत युवाको दिमागमा ‘सबै नेता चोर हुन्, देश सकियो’ भन्ने एकोहोरो रटान भरिएको छ । यसरी ‘साइको-चिट’मार्फत जनताको विवेकलाई ‘हाइज्याक’ गरी विदेशी स्वार्थका ‘पपेट’ (कठपुतली)हरूका लागि सत्ताको बाटो तयार गरिँदै छ ।
२. बीबीसीको ‘डिजिटल एम्बुस’ र सम्पादित सत्य
निर्वाचनको पूर्वसन्ध्यामा बीबीसीले सार्वजनिक गरेको ४३ मिनेटको एकतर्फी भिडियो पत्रकारिता होइन, यो एक ‘स्ट्रटेजिक म्यानिपुलेसन’ हो । यसले ‘तथ्यको छनोट र हत्या’ गरेको छ ।
✦ अपराधीको संरक्षण : सिंहदरबार जलाउन ‘केमिकल’ प्रयोग गर्ने, बेल्चा र इलेक्ट्रोनिक करौतीले संसद्को गेट रेट्ने नकाबधारीहरूलाई बीबीसीले किन ‘न्यायको योद्धा’ सावित गर्न खोज्यो ?
✦ अदृश्य पात्रहरू : बुलेट बाइकमा ‘बारबारा फाउन्डेसन’को मुकुण्डो लगाएर मान्छे उक्साउनेहरू र ‘टिओबी’ (TOB) टिसर्टधारी परिचालित जत्थाहरूलाई क्यामराले किन देखेन ?
✦ इमोसनल ब्ल्याकमेलिङ : जेल तोडेर अपराधी राजसी शैलीमा भागेको विषयलाई गौण बनाइयो । कर्फ्यूमा घर फर्कन प्रहरीले हात जोडेको दृश्य लुकाइयो । केवल ४-५ जना अबोध बालकको लास देखाएर विदेशीले निर्वाचनको मुखमा नेपालीको दिमागमा ‘घृणा’ इन्स्टल गरिदिए ।
३. कार्की आयोग : सत्यको चिहान र विदेशीको मञ्च
सबैभन्दा उदेकलाग्दो पक्ष त यो छ कि हाम्रो आफ्नै कार्की आयोगको प्रतिवेदन दराजमा थन्काइएको छ ।
✦ राज्य किन डराउँछ त्यो रिपोर्ट सार्वजनिक गर्न ? त्यहाँ ‘जेन्जी’ को आवरणमा देश जलाउने असली ‘डिजाइनर’हरूको अनुहार उदाङ्गो पारिएको छ वा छैन त्यो त रहस्य को गर्भमै छ तर हाम्रो आन्तरिक मामलाको विषयमा एकतर्फी बिबिसी वा कुनै अन्तर्राष्ट्रिय रिपोर्ट यो समयमा आउनु नियोजित नै हो भन्ने स्पष्ट भन्न सकिन्छ ।
✦ ७६ जना युवाको रगतको मूल्य निर्वाचनको सिट संख्यामा खोज्ने नयाँ दलहरू आज मौन छन् । विदेशी दूतावासमा ‘लन्च र ब्रेकफास्ट’ खानेहरू आधुनिक शकुनी र मन्थराहरूले ढिलोचाँडो देश पनि खान्छन् भन्ने तथ्य ऐतिहासिक तथ्यहरूले पुष्टि गरिसकेको छ ।
४. अर्थतन्त्रको आत्मदाह र पपेट शासकको उदय
भाटभटेनी, हिल्टन होटल र केबुलकारमा लगाइएको आगोले अरुलाई होइन, नेपालको आर्थिक भविष्यलाई जलाएको छ ।
✦ लगानीको मरुभूमि : आगो लागेको जङ्गलमा मृग नफर्किएझैँ, यस्तो असुरक्षित देशमा अबको २० वर्ष वैदेशिक लगानी आउँदैन ।
✦ कृत्रिम नेतृत्व : कुनै राजनीतिक धरातल नभएका व्यक्तिलाई ‘टाइम म्यागजिन’ले अवार्ड दिनु र रोयटर्सले ‘ग्लोरीफाइङ’ रिपोर्ट छाप्नु – नेपालमा विदेशीका एजेन्ट स्थापित गर्ने प्रपञ्च मात्र हो । प्रयोग भएकाहरूलाई जानकारी छ वा छैन तर चीन र भारतको बिचमा बसेर भारत र चीनविरोधी मिसनमा वर्षौंदेखि खटिएका अन्तर्राष्ट्रिय संस्था तथा ब्यक्तिहरूले चाहेका पपेटहरू सरकारमा आए भने देश के होला ? अनुमान सहजै गर्न सकिन्छ । भाष्य यस्तो बनाइयो कि मानौँ सबै समस्या नेता मात्र हुन्, तर डलरको कमिसन खाने विदेशी संस्था, ब्यक्ति, अन्तर्राष्ट्रिय चलखेल, भूराजनैतिक अवस्था आदिबारे सबै मौन छन् । जसले हाम्रो विवेक बन्धक बनाएको छ अब उसैले डोऱ्याउने कता होला ?
निष्कर्ष : इतिहासले हिसाब माग्नेछ
नेपालको सुरक्षा निकायलाई कमजोर बनाएर असली योजनाकार जोगाउने बीबीसी, सीएनएन वा अलजजिराका डकुमेन्ट्रीहरू नियोजित हुन् । हाम्रो देशको आन्तरिक मामिलाको सत्य बीबीसी वा अन्य कुनै विदेशी मिडियाका भिडियोमा होइन, कार्की आयोगको प्रतिवेदनमा वा हामीभित्रैबाट खोजिनुपर्छ ।
नेपालीहरू, आँखा च्यात ! यदि यी ‘डिजिटल शकुनी’हरूको जालमा परिरहने हो भने, साथै अहिले देखिएका/नदेखिएका चीन र भारतविरोधी मिसनमा वर्षौंदेखि काम गरिरहेका ब्यक्ति र संस्थाहरू अनुकुलको सरकार बन्ने स्थिति आयो र सोही योजनामुताबिक काङ्ग्रेस/एमाले/माओवादीबाट गर्न/गराउन नसकिएका राष्ट्रघाती कामहरू भए/गराइए भने भोलि हाम्रो देश ‘सिरिया’ वा ‘युक्रेन’ बन्न बेर लाग्ने छैन, जहाँ डकुमेन्ट्री त उत्कृष्ट बन्छन् तर देश तहसनहस हुनेछ । राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथिको यो हमलालाई टुलुटुलु हेरेर नबसौँ ।
पशुपतिनाथले यो पवित्र भूमिको रक्षा गरून् र हामीलाई आधुनिक मन्थराहरू चिन्न सक्ने ‘ऱ्यासनल इन्टेलिजेन्स’ प्रदान गरून् ।
(अधिवक्ता अर्याल भूराजनीति र पूर्वीय दर्शनका अध्येता हुन् ।)
प्रतिक्रिया