श्री ३ जङ्गबहादूरको श्राद्ध सम्पन्न !

श्री ३ जङ्गबहादूरको श्राद्ध सम्पन्न !


श्री ३ महाराज जङ्गबहादुर राणाको श्राद्धकार्य शनिबार (१६ फागुन) कालमोचन घाटमा सम्पन्न भएको छ । जङ्गबहादुरका छोरा जगतजङ्गका सातौं पुस्ताका सन्तान सन्तोष प्रताप राणा र किशोर प्रताप राणा तथा डम्बरजङ्गकको पाचौं पुस्ताका सन्तान मेघजङ्ग राणाबाट उक्त श्राद्धकार्य भएको हो ।

श्राद्धकार्यमा ख्यातिप्राप्त उद्यमी विकाश राणा, पूर्वसचिव सुशील जङ्ग राणा र अवकाशप्राप्त जनरल सरोज प्रताप राणा लगायत परिवारका सदस्यहरूको उपस्थिति थियो ।

विक्रम सम्वत १९३३ मा सर्लाहीको पत्थरघट्टामा निधन भएका जङ्गबहादुर राणाको १४९ वर्षदेखि नै श्राद्ध हुँदै आएको छ । गुठीका तर्फबाट हुँदै आएको श्राद्धकार्य २०६३ सालको राजनीतिक परिवर्तनपश्चात रोकिएको थियो । त्यसबेला गुठीले श्राद्ध नगरिदिएपछि जङ्गबहादुरका सन्तानहरूले कालमोचन घाटमा श्राद्धलाई निरन्तरता दिँदै आएका छन् । अहिले गुठी र सन्तती दुवै पक्षबाट एकै स्थानमा बेग्लाबेग्लै ढङ्गले श्राद्ध हुने गरेको छ ।

वि.सं. १९३१ मा श्री ५ सुरेन्द्रबाट २९ रोपनी जमिन रू ३३५४९ रूपैयाँमा खरिद गरी जङ्गबहादुर राणाले कालमोचन घाटको निर्माण गराउनुभएको थियो । १९३३ पौष २ गते आइतबार कालमोचन घाट र जङ्ग हिरण्य हेम नारायण अर्थात लक्ष्मी नारायणको मन्दिर निर्माण सम्पन्न भएको थियो । उक्त घाट निर्माण सम्पन्न हुँदा जङ्गबहादुर राणाको भने स्वर्गबास भैसकेको थियो ।

जङ्गबहादुर राणाले विक्रम सम्वत १९०३ सालमा शासन सत्ता लिएपछि उनको ३० वर्षे शासनकालमा सुधार र विकाशका दर्जनौँ कार्य भएका थिए । सुगौली सन्धिमा गुमेको पश्चिम तराईको भूभाग फिर्ता ल्याउने, नेपालको नापी नक्सा बनाउने र सीमास्तम्भ राख्ने, नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने, पूर्व पश्चिम राजमार्ग निर्माणका लागि सर्भे गर्न बजेट बिनियोजन गर्ने, आधुनिक छापाखाना भित्र्याउने, कानून निर्माण गरेर (मुलुकी ऐन) राज्य सन्चालन गर्ने, सेनाको आधुनिकीकरण गर्ने, वृक्षारोपण गरी हरियाली बढाउने, हातहतियार कारखाना खोल्ने, कक्षा सन्चालन गरेर नेपालमा पहिलोपटक ब्यवस्थित शिक्षाको सुरुवात गर्ने जस्ता महत्वपूर्ण कार्य जङ्गबहादुरबाट भएको थियो । यिनै जङ्गबहादूरलाई राष्ट्रिय विभूति घोषणा गर्न जनस्तरबाट माग हुँदै आएको छ ।