निर्वाचन : अब मत परिणामको प्रतीक्षा

निर्वाचन : अब मत परिणामको प्रतीक्षा


महान जेन-जेड क्रान्ति (२०८२ साल भदौ २३-२४ गते)को परिणामबाट हुन गइरहेको विशेष आम निर्वाचन हुन अब केवल तीन दिन बाँकी छ । निर्वाचन हो, निर्वाचनमा सबैले आफू र आफ्नो विजयको डम्फु बजाउने गर्दछन्, निर्वाचन अघिसम्म । तर, जसले जति डम्फु बजाए पनि वा नबजाए पनि मतदाताले यतिबेलासम्म कसलाई भोट दिने भन्ने बारेमा आफ्नो मन भने बनाइसकेका छन् । नबनाएका थोरै होलान्, तिनले पनि अब बाँकी दिनभित्रै मन बनाउने छन् ।

पुराना भनिने कांग्रेस, एमाले र प्रचण्डहरू यो निर्वाचनमा अत्यन्त रक्षात्मक स्थितिमा छन् । विशेष महाधिवेशनमार्फत कांग्रेसले आफ्नो छवि र स्थितिमा अवश्य सुधार ल्याएको छ । तर, त्यति नै पर्याप्त छैन र हुँदैन – मत बटुल्न ।

उता, सरकार बनाउने दावा गर्ने एमाले त यतिसम्म रक्षात्मक हुन्छ कि – उसले मुलुकभर एउटै आमसभा गर्न सकेन । त्यति मात्र होइन, एमालेका उम्मेदवारहरूले चुनावी पोष्टरमा आफ्ना अध्यक्ष केपी ओलीको फोटो समेत राख्न सकेनन् । एमाले र केपीको अलोकप्रियताका निमित्त यति नै भन्दा पर्याप्त हुन्छ ।

लगभग ३५ वर्षसम्म अकण्टक सत्ता-रजाइँ गरेका ओली, देउवा र प्रचण्डले मिलिजुली लगातार र लगालगी राष्ट्रदोहन मात्र गरे । यसो भन्नमा कुनै अत्युक्ति नहुने मात्र होइन, त्योभन्दा उता केही नभएकाले त्यो भन्न नसकेको मात्र हो ।

यसै कारणले नेपाली जनता आजित भएर नवयुवा पुस्ताहरूले महान जेन-जेड क्रान्ति गरे । यदि नेताहरूले आफ्ना सन्तानलाई विदेशमा सुरक्षित भविष्यका लागि नपठाएर यहाँको युवा पुस्तासँगै संघर्षपूर्ण जीवनका लागि यहीं राखेको भए नेतृत्वको विश्वसनीयता रहने थियो; आक्रोश र क्रोध केही मत्थर हुने थियो । तर, ओली, देउवा र प्रचण्डहरूले केही सीमित मान्छेका लागि राजनीतिलाई ‘नाफाखोर व्यापार’ बनाएपछि जनता पहिले निक्कै निराश भए, त्यसपछि आक्रोशित ।

नेपालको राजनीति र शासन-प्रशासनमा दलीयता प्रवेशको ३५ वर्षसम्म नेता र त्यसको वरिपरि घुम्ने सानो समूहको मात्र जीवन सप्रियो । जनताको जीवनस्तरमा कुनै परिवर्तन नआएको मात्र होइन, स्थिति झन्-झन् खस्कदै गयो – आम जनताको । जनता बेहाल र तन्नम हुँदै गए भने नेताहरू मात्रै र तिनका पिछलग्गुहरू पनि समृद्ध भएपछि चैं उनीहरूले ‘समृद्धि’को नयाँ राप अलाप्न थाले; जनतालाई समृद्धिको सपनामा भुल्याउन थाले ! यस्तो दुःखद परिस्थिति झेल्नु परिरहेको छ, आजपर्यन्त – नेपाली जनताले । आफूले पटक-पटक विश्वास गरेका नेताहरूबाट बारम्बार धोका र बेइमानी बाहेक केही पाएनन् । त्यसैले यतिबेलासम्म आइपुग्दा जनताले फेरि पनि पुराना भनिने दलहरूसँग यसपालि नझुक्किने अठोट गरिसकेका छन् जस्तो छ- परिस्थितिको यसबेलासम्मको निष्पक्ष आँकलन गर्दा ।

जेन-जेड क्रान्तिको आलोकमा यही फागुन २१ गते हुन गइरहेको निर्वाचनमा कुनै व्यक्ति र दलले जित्छ वा हार्छ भन्ने गौण कुरा हो । राष्ट्र र जनताले हार्नेछन् कि जित्नेछन् ? – आम जनसरोकारको मूल विषय यो चैं हो । वातावरण हेर्दा देशव्यापी रूपमा परिवर्तनको लहर देखिएको छ । एमाले, कांग्रेस, माओवादी (अरू दलसित मिलेर अहिले अर्कै नाम) र राप्रपा अघिल्लो चुनावको मत परिणामका आधारमा भोट हिसाब गरेर बसेका छन्; तर परिस्थिति त्यो छैन । यसपटक त्यो गणित गलत साबित हुने छ । सबै दलको परम्परागत मत हल्लिएको छ ।

रक्षात्मक हुन बाध्य भएका ओली, नयाँ कांग्रेस र प्रचण्डहरू चुनावअघि नै हतास भइसकेका छन् – मनैबाट । अब परिणामको प्रतीक्षा मात्र बाँकी हो । परिणाममा फेरि एकपटक नेपाल र नेपाली हार्ने हुन् कि परिवर्तनको प्रशव-पीडाले सफल अवतरण गर्ने हो ? – यो प्रश्नको उत्तर पाउन अझै एक हप्ता लागे पनि यतिबेलासम्मको संकेत चैं परिवर्तन पक्षधरहरूका हकमा सकारात्मक नै देखिएको छ । नेपाली जनता निःसन्देह परिवर्तनका पक्षमा अडिग भएका देखिन्छन् । परिणाम उल्टो सुल्टो जे आए पनि अब नेपालमा परिवर्तनलाई कसैले रोक्न सक्दैन । चाहे अर्को जेन-जेड क्रान्ति अहिलेको भन्दा व्यापक नै किन हुन नपरोस् ।