तन्त्रको अन्तिम लक्ष्य मोक्ष वा जीवन्मुक्ति हो । यसको अर्थ जीवित छँदै राग, द्वेष र भयबाट मुक्त हुनु हो । आजको तनावपूर्ण र विभाजित समाजमा तन्त्रको यो सन्तुलित दृष्टिकोण झनै सान्दर्भिक बनेको छ । यसले हामीलाई बाह्य संसारको कोलाहलबाट फर्केर आन्तरिक शान्तिको खोजी गर्न प्रेरित गर्छ ।
✍ रामचन्द्र ढकाल
तन्त्र साधना भन्ने बित्तिकै धेरैको मानसपटलमा रहस्यमयी क्रिया, जादु टुना वा अलौकिक शक्तिको खोजी भन्ने भ्रम पर्ने गर्छ । तर वास्तवमा तन्त्र केवल बाह्य कर्मकाण्ड मात्र नभएर मानव चेतनाको गहिरो रूपान्तरण गर्ने एक समग्र जीवन दर्शन र विज्ञान हो । ‘तन्’ अर्थात् ‘विस्तार गर्नु’ ‘ र ‘त्र’ अर्थात् ‘मुक्ति दिनु’बाट बनेको तन्त्र शब्दको अर्थ नै चेतनाको विस्तार गर्दै अज्ञानताको बन्धनबाट मुक्त हुनु हो । यसले संसारलाई त्यागेर होइन, संसारलाई बुझेर त्यसैभित्र दिव्यता खोज्ने मार्ग प्रशस्त गर्छ ।
तन्त्र साधनाको यो विशाल भवन मुख्यतया चार वटा आधारभूत आयामहरूमा उभिएको छ ।
तन्त्रको पहिलो आयाम शरीरसँग जोडिन्छ । जहाँ अन्य कतिपय दर्शनले शरीरलाई नाशवान् वा अपवित्र मानेर उपेक्षा गर्छन्, तन्त्रले यसलाई देवालय अर्थात् मन्दिरको रूपमा स्वीकार गर्छ । मानव शरीरलाई ब्रह्माण्डकै सानो स्वरूप मानिन्छ ।
तन्त्रको वाममार्ग, अघोर परम्परा र बज्रयान साधनामा शरीरलाई साधनाको मुख्य माध्यम बनाइन्छ । चर्चित पञ्चमकार जस्ता अभ्यासहरूको वास्तविक आशय इन्द्रिय भोगमा लिप्त हुनु होइन । यसको अर्थ शरीरभित्रका आवेग र इच्छाहरूलाई दमन नगरी तिनलाई आध्यात्मिक ऊर्जामा रूपान्तरण गर्नु हो । यो भौतिकताबाट आध्यात्मिकतातर्फको पहिलो खुड्किलो हो ।
तन्त्रको दोस्रो आयाम मानसिक र योगप्रधान छ । यहाँ बाह्य क्रियाभन्दा अन्तःकरणको शुद्धीकरणलाई महत्व दिइन्छ । तन्त्रमा मैथुन शब्दको प्रयोग भौतिक मिलनका लागि मात्र नभई कुण्डलिनी शक्ति र शिव अर्थात् चेतनाबीचको आन्तरिक मिलनका रूपमा गरिन्छ ।
त्रिक शैव दर्शन, नाथ परम्परा र श्रीविद्या साधनामा यस आन्तरिक योगलाई उच्च स्थान दिइएको छ । मूलाधार चक्रमा सुसुप्त रहेको ऊर्जालाई जगाएर सहस्रार चक्रसम्म पुर्याउनु नै यसको लक्ष्य हो । जब यो आन्तरिक ऊर्जाको आरोहण हुन्छ, साधकले द्वैत भावबाट मुक्त भई सामरस्य वा अद्वैतको अनुभूति गर्छ ।
तन्त्रको तेस्रो आयाम विधि, प्रतीक र अनुशासनसँग सम्बन्धित छ । पाञ्चरात्र, दशमहाविद्या र दक्षिणाचार परम्परामा यन्त्र, मन्त्र र न्यास जस्ता प्रक्रियाहरूले चञ्चल मनलाई स्थिर बनाउन सहयोग गर्छन् ।
यन्त्रका ज्यामितीय आकृतिहरू केवल चित्र मात्र होइनन् । ती मनलाई केन्द्रित गर्ने पात्र हुन् । प्रतीकहरू आफैमा अन्तिम सत्य होइनन्, तर तिनले साधकलाई निराकार सत्यतर्फ डोर्याउने नक्साको काम गर्छन् । कठोर अनुशासन र नियमित साधनाले मनलाई बाह्य जगतबाट हटाएर आन्तरिक केन्द्रमा स्थापित गर्छ ।
तन्त्रको चौथो आयाम ध्वनिको विज्ञान हो । तन्त्रमा मन्त्रलाई केवल शब्दको उच्चारण मात्र नभई चेतनाको स्पन्दन मानिन्छ । साधक जब मन्त्रको गहिराइमा पुग्छ, उसले अनहद नाद अर्थात् बिना आघात उत्पन्न हुने आन्तरिक ध्वनि सुन्न थाल्छ ।
शब्द र विचारहरू क्रमशः शून्यतामा विलीन हुँदै जाँदा साधकले अद्वैत चेतनाको स्पर्श पाउँछ । यो ध्वनि-साधनाले मस्तिष्कका सूक्ष्म तन्तुहरूलाई सक्रिय बनाई साधकलाई ब्रह्माण्डीय चेतनासँग एकाकार गराउँछ ।
अत: तन्त्रको अन्तिम लक्ष्य मोक्ष वा जीवन्मुक्ति हो । यसको अर्थ जीवित छँदै राग, द्वेष र भयबाट मुक्त हुनु हो । आजको तनावपूर्ण र विभाजित समाजमा तन्त्रको यो सन्तुलित दृष्टिकोण झनै सान्दर्भिक बनेको छ । यसले हामीलाई बाह्य संसारको कोलाहलबाट फर्केर आन्तरिक शान्तिको खोजी गर्न प्रेरित गर्छ ।
तन्त्रले सिकाउँछ कि संसार छोडेर कहीँ टाढा जानुमा मुक्ति छैन । बरु आफ्नै चेतनालाई विस्तार गरेर जगतलाई आत्मसात् गर्नुमा छ मुक्ति ! यो केवल एक गूढ परम्परा मात्र नभई जीवनलाई समग्रतामा स्वीकार गर्ने एक परिष्कृत जीवन विज्ञान हो ।
प्रतिक्रिया