जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषध गाँजासहित बलानबिहुल गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले बलानबिहुल-२ बाट ५८ किलो गाँजासहित सोमबार (१८ फागुन) दुई जनालाई नियन्त्रणमा लिएको हो ।
बलानबिहुल-२ स्थित दिगियाबाट स्थानीय किशुनदेव यादवको निर्माणाधीन तीनतले पक्की घरबाट घरधनी ४५ वर्षीय यादव र ४५ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा घरको तल्लो तलाबाट सेतो प्लास्टिकका तीनवटा बोराभित्र राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया