हतारमा निर्णय गरेर फुर्सदमा किन पछुताउने !?

हतारमा निर्णय गरेर फुर्सदमा किन पछुताउने !?


उन्नति गरेका वा गर्ने समाज आवश्यकताको बेलामा जस्तोसुकै मतभेद भए पनि, आपसमा काटाकाट नै भए पनि परेको बेला एक ढिक्का हुन्छ । नासिएर जाने क्रममा रहेको समाजचाहिँ अरुबेला एक जस्तो देखिएपनि परेको बेला एक-अर्काको खुट्टा तान्न थाल्छ । उहिले उहिले आफ्नो बारीमा उसको बाख्रा पसेको अरे… भन्नेसम्मको हल्लाले सहायता चाहिएको बेला चोट पुऱ्याउन लाग्छ । अनि फेरि पछि आफूलाई आवश्यकता पर्दा भने अफन्तको नाताले विषेश सहयोग खोज्न थाल्दछ । यो भारतमा अंग्रेजको ‘फुटाउ र राज गर’ भन्ने नीतिमा आधारित शिक्षा पद्दतिको असर हो । अंग्रेजले राज नगरेका छिमेकीहरूमा पनि यस्तो प्रवृत्ति सरेर गएको छ । तक्षशिला, नालन्दा शिक्षाका केन्द्र थिए, त्यही भ्रममा भारतलाई शिक्षाको केन्द्र मान्ने चलन छ ।

तर अब त्यहाँबाट तक्षशिला वा नालन्दाका जस्ता उच्च नैतिकताका शिक्षित उत्पादन हुँदैनन् । लर्ड मेकालेको मुनिम (क्लार्क) बनाउने शिक्षा-नीतिअनुसारको ‘फुटाउ र राज गर’को अनुकुल शिक्षित उत्पादन गर्दछ । यसको अवशेष कायम नै छ अंग्रेज गएको यत्रो वर्षसम्म पनि ।

पूर्वीय दर्शन, ज्ञान आफ्ना ग्रन्थबाट भन्दा पनि म्याकमिलनले छापेका अनुवाद प्रमाणिक मान्ने वौद्धिक दासता र त्यस दासतालाई गौरव ठान्ने बुद्धिजीवीले समाज भरिपूर्ण छ । यसले गर्दा ‘भ्यागुताको धार्नी’ नपुग्नु स्वभाविक भएको छ । अरुले विभिन्न किसिमले उक्साएकोलाई सदाशयता मानेर आवेशमा आउनु यस भेगकाहरूको नियति बनेकोले विवेचन नै नगरी हतारमा निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रवृत्तिलाई आफ्नो बुद्धिमत्ता मान्ने गरिन्छ ।

विगत झण्डै पौने शताब्दीदेखि नेपाल यही रोगले ग्रसित छ, जसले गर्दा निर्णय पछि पछुताउनु नै परेको छ । हतारमा आफूले निर्णय गर्ने र त्यसको दुष्परिणामको दोषचाहिँ अर्काको थाप्लोमा हाल्ने गरेमा समाजको उन्नति हैन अवनति हुन्छ । त्यही अवनतिको मार मुलुकले निरन्तर भोगिरहेको छ ।

भौतिक प्रगतिलाई विकास मान्ने ज्ञान पश्चिमा हो । हरेक भौतिक वृद्धि विकास हुन्न, हरेक विकास भौतिक वृद्धि हुन्न । पश्चिम – जहाँ आफूले जन्माएको सन्तानको पालनपोषणमा पनि सरकारको सिधा हस्तक्षेप हुन्छ त्यहाँ वात्सल्य कमजोर भएको हुन्छ । र, यो नागरिक स्वतन्त्रता पनि हैन । त्यस्तै समाज (पश्चिमा) जस्तो मुलुक बनाइदिन्छौँ भनेर उक्साएको भरमा त्यस्तो समाज आफ्नो परिवेशमा पाच्य हुनसक्छ वा सक्दैन विवेचन नै नगरी हतारमा निर्णय गर्ने प्रवृत्तिलाई उचित मान्न सकिन्न ।

यसले हामी आफ्नो पछिल्लो पुस्तालाई एक नराम्रो परिवेश दिन गइरहेका छौँ । यो कुराले नवयुवाहरूमा असन्तोष जन्माउँछ । यसले ल्याएको नैराश्यताले जुन पनि, जस्तो पनि नराम्रो रूप लिन सक्छ । भर्खरै भोगेको जेन जेड(जी) जस्ता विद्रोह नियमित आकस्मिकता हुन पुग्छन् । तत्कालमा यस्ता कुराको अनेकौँ कारण खोज्न सकिन्छ । षडयन्त्रको सिद्धान्तले यसका कारण खोज्न सकिन्छ । अनि आफ्नै विगत भुलेर नैतिकताको कुरा निकालेर आवेश पैदा गर्न सकिन्छ । यस्तै आवेशले जनमानस फेरि हतारमा निर्णय गर्न पुग्छ । यही क्रम जारी रहने हो भने कुनै बेला पछुताउने मौका पनि नमिल्ने अवस्था पैदा हुन सक्छ । विभिन्न किसिमका ‘मौका या अवसर’हरूमा हतारमा निर्णय नगरेर सोच-विचार गरी निर्णय गर्ने परिपाटी शुरु गरिनु पर्दछ । किनभने यस्ता अवस्थाहरू हतारमा गरिने निर्णयका दुष्परिणाम हुन् ।

जब एक गोजी रुमाल किन्दा पनि हतारमा हैन राम्ररी परीक्षण गरेर किनिन्छ भने आफ्नो भविष्यलाई सोझै असर गर्ने कुरामा आवेशमा वा हतारमा निर्णय गर्न हुन्न । यदि गरिन्छ भने त्यसको दुष्परिणामको आफ्नो भागिदारीबाट पन्छिन सकिन्न । आफ्नो मनले मानेको विवेचनले देखेको निर्णय गर्दा एक्लै परिएला कि भनेर डराउन पर्ने कुनै कारण छैन । जब मुखमा परेको गाँस आफैले चपाउनु पर्दछ भने के ठिक के बेठिक भन्ने निर्णय पनि आफैले गर्नु पर्दछ । यो समाज हाम्रो आफ्नो समाज हो, यो मुलुक हाम्रो आफ्नो मुलुक हो । यसलाई राम्रो बनाउने जिम्मेवारी हाम्रै हो र यो राम्रो बनाउन हतारमा हैन प्राप्त जानकारीलाई राम्रोसँग केलाएर विवेकपूर्ण निर्णय गर्नु पर्दछ । यो कुरालाई आसन्न निर्वाचनबाटै अभ्यासमा ल्याऔँ ।