(सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवस)
आँखाको स्वास्थ्य-अधिकार पनि आधारभूत मानवअधिकारकै हिस्सा हो भन्ने सन्देश सशक्त रूपमा स्थापित गर्न आवश्यक छ । महिला सशक्तीकरणसँगै स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्न सके मात्र ‘दृष्टियुक्त नेपाल’ निर्माणको लक्ष्य सार्थक हुनेछ ।
✍ सविता केसी
अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभइ समाज रूपान्तरणमा महिलाको योगदानको सम्मान गर्ने विशेष अवसर पनि हो । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा पनि महिलाहरूले चिकित्सक, नर्स, नेत्र सहायक, स्वास्थ्य स्वयंसेविका, व्यवस्थापक तथा नेतृत्वदायी भूमिकामा उल्लेखनीय योगदान पुऱ्याउँदै आएका छन् । दुर्गम गाउँदेखि सुविधासम्पन्न सहरसम्म, आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार, अन्धोपन न्यूनीकरण र समुदायमा सचेतना अभिवृद्धि गर्न महिलाहरू अग्रपङ्क्तिमा सक्रिय देखिन्छन् ।
तर, सेवाप्रदायकको रूपमा मात्र होइन, सेवाग्राहीको रूपमा पनि महिलाहरू विशेष ध्यानको पात्र छन्। सामाजिक, आर्थिक तथा सांस्कृतिक कारणले महिलाहरू समयमै उपचारबाट वञ्चित हुने जोखिममा रहन्छन् । यस सन्दर्भमा लैङ्गिक समावेशी नीति, महिला-मैत्री सेवा वातावरण र नेतृत्व तहमा महिलाको सशक्त उपस्थिति अत्यन्त आवश्यक छ । अन्तरराष्ट्रिय महिला दिवसको अवसरले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा महिलाको योगदानलाई सम्मान गर्दै समान पहुँच र अवसर सुनिश्चित गर्ने प्रतिबद्धता पुनःस्मरण गराउने सन्देश दिन्छ ।
नेपालमा अन्धोपन न्यूनीकरण र गुणस्तरीय आँखा स्वास्थ्य सेवा विस्तारमा नेपाल नेत्रज्योति सङ्घको भूमिका ऐतिहासिक र अग्रणी रहँदै आएको छ । सङ्घले सञ्चालन गर्दै आएका आँखा अस्पताल, उपचार केन्द्र, समुदाय-आधारित कार्यक्रम तथा जनचेतनामूलक अभियानहरूमा महिलाहरूको सहभागिता उल्लेखनीय छ । चिकित्सक, विभिन्न स्वास्थ्यकर्मी, नेत्र सहायकदेखि व्यवस्थापन तहसम्म महिलाहरूले नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै संस्थालाई दिगो र परिणाममुखी दिशामा अघि बढाइरहेका छन् । यसले संस्थागत विकाससँगै महिला सशक्तीकरणको सन्देश पनि सुदृढ बनाएको छ ।
त्यसैगरी, सङ्घले समुदायमा महिला स्वयंसेविका र स्थानीय आमा समूहहरूसँग सहकार्य गर्दै आँखा परीक्षण शिविर, विद्यालय आँखा स्वास्थ्य कार्यक्रम तथा महिला-केन्द्रित सचेतना अभियान सञ्चालन गर्दै आएको छ । ग्रामीण तथा विपन्न वर्गका महिलालाई समयमै पहिचान र उपचारमा जोड्दै सेवा पहुँच बढाउने प्रयास सङ्घको प्राथमिकतामा रहेको छ । अन्तरराष्ट्रिय महिलादिवसका सन्दर्भमा, नेपाल नेत्रज्योति सङ्घले आँखा स्वास्थ्य क्षेत्रमा महिलाको नेतृत्व, सहभागिता र समान अवसरलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रमलाई अगाडि बढाएको छ ।
नेपालमा विगत केही दशकमा अन्धोपनको दर उल्लेखनीय रूपमा घट्नुमा सरकारी तथा गैरसरकारी क्षेत्रको संयुक्त प्रयास महत्वपूर्ण रहेको छ । सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनको समस्या सन् २०२१ सम्ममा घटेर ०.२८ प्रतिशतमा झरेको छ । विशेष गरी समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, समयमै मोतियाविन्दु शल्यक्रिया, विद्यालय आँखा परीक्षण तथा जनचेतना अभिवृद्धिका कारण अन्धोपन न्यूनीकरणमा सकारात्मक प्रगति भएको छ । यस अभियानमा महिलाहरूको सक्रिय सहभागिता–चाहे सेवा प्रदायकका रूपमा होस् वा समुदायमा सचेतना फैलाउने अगुवाका रूपमा–निर्णायक रहँदै आएको छ ।
यस अभियानको नेतृत्वदायी संस्थाका रूपमा नेपाल नेत्रज्योति सङ्घले देशभर आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत लाखौँ नागरिकलाई सेवा प्रदान गर्दै अन्धोपन घटाउने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन महत्वपूर्ण योगदान पुऱ्याएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित नेपाल नेत्रज्योति सङ्घ विगत ४८ वर्षदेखि अन्धोपन निवारणमा आँँखा स्वास्थ्य सेवाको माध्यमबाट विद्यमान अन्धोपनको समस्यालाई न्यूनीकरण गर्ने अभियानमा क्रियाशील एक मुनाफारहित, गैरसरकारी विशुद्व सामाजिक संस्था हो । २०३५ साल चैत १३ गतेका दिन समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठिन समाजसेवीहरुको सामूहिक प्रयासबाट स्थापना भएको यस सङ्घले नेपाली जनतामा सुलभ, सस्तो र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पुऱ्याउने दायित्व र निर्देशन प्राप्त भएअनुरुप नेपालको सबै क्षेत्रहरुलाई समेट्ने गरी २८ आँखा अस्पतालहरु, २२६ आँखा उपचार केन्द्रहरु तथा ४३ जिल्ला शाखाहरुका साथै हजारौँ समाजसेवीहरु र करिब तीन हजार कर्मचारीमार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको महत्वपूर्ण सहकार्य, निर्देशन तथा अन्तरराष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एवं निष्ठावान कर्मचारीहरुको उल्लेख्य साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई हिमाली क्षेत्रका विकट गाउँदेखि तराईका समथर भूमि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्वसाधारणलाई सहज, सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पुऱ्याउने कार्यमा नेपाल नेत्रज्योति सङ्घले अग्रणी भूमिका खेल्दै आएको छ र नेपालभर आँखासम्बन्धी स्वास्थ्य सेवा विस्तार हुँदै गए पनि महिला तथा पुरुषबीच सेवा पहुँचमा अझै पनि स्पष्ट असमानता देखिन्छ ।
यस विशाल सञ्जालभित्र हाल करिब ५३ प्रतिशत पुरुष र ४७प्रतिशत महिला कर्मचारी कार्यरत छन यसमा नेतृत्व तहमा महिलाको प्रतिनिधित्व अपुग देखिन्छ जुन संख्या बढाउन आवश्यक छ । विशेषगरी दुर्गम तथा सीमान्तकृत समुदायमा महिला तथा बालबालिकालाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्नु सङ्घको प्रमुख रणनीति रहेको छ । अन्तरराष्ट्रिय महिलादिवसका सन्दर्भमा, अन्धोपन न्यूनीकरणमा महिलाको योगदानलाई सम्मान गर्दै आगामी दिनमा अझ समावेशी र दिगो आँखा स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता अझ सशक्त बन्दै गएको छ । साथै नेपालमा महिलामा आँखासम्बन्धी समस्या पुरुषको तुलनामा बढी रहेको हुँदा सो हुनुमा निम्न कारणहरु देखिएका छन् भने सो को न्यूनीकरणका लागि निम्न प्रयास गर्नुपर्ने देखिन्छ ।
नेपालमा महिलामा आँखासम्बन्धी समस्या
नेपालमा आँखासम्बन्धी बिरामीहरुको तथ्याङ्क हेर्दा महिलाहरु पुरुषको तुलनामा बढी प्रभावित रहेको पाइन्छ । सन् २०२१ मा सम्पन्न गरिएको (आरएएबी) सर्वेक्षणले पुरुषको तुलनामा महिलामा अन्धोपनको दर उच्च रहेको देखाएको छ । ५० वर्षभन्दा माथिका महिलामा अन्धोपनको दर करिब १।३ प्रतिशत रहेको छ भने पुरुषमा यो दर करिब ०.९ प्रतिशत मात्र रहेको देखिएको छ ।
आँखा स्वास्थ्यसम्बन्धी सेवाको पहुँच बारेको अध्ययनहरुले लै असमानता स्पष्टरुपमा देखिएको छ र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिवेदनहरु, विशेषगरी World Health Organization, International Agency for the Prevention of Blindness को विश्लेषणअनुसार, अन्धोपना तथा दृष्टिदोषको भार महिलामा पुरुषको तुलनामा बढी पाइन्छ । तर, विडम्बनापूर्वक आँखा स्वास्थ्यसम्बन्धी सेवाको उपयोग दर भने महिलामा कम देखिन्छ । उपलव्ध तथ्यङ्कअनुसार करिब ८० प्रतिशत महिलाले मात्र आवश्यक आँखा सेवा लिएको पाइन्छ भने पुरुषमा यो दर करिब ८४५ प्रतिशत रहेको देखिन्छ । यसले आँखाको स्वास्थ्य सेवामा पहुँच, समयमै उपचार र सामाजिक-आर्थिक कारणले महिलाहरू अझै जोखिममा रहेको सङ्केत गर्दछ । नेपालमा अन्धोपनको प्रमुख कारण अझै पनि मोतियाविन्दु नै रहेको छ, जुन समयमै शल्यक्रिया गरे पूर्ण रूपमा उपचार सम्भव हुने रोग हो । यसका पछाडि विभिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक कारणहरु जिम्मेवार रहेका छन् ।
महिलाले आँखाको सेवा कम पाउनुका प्रमुख कारणहरु
सामाजिक तथा पारिवारिक जिम्मेवारी : महिलाहरु घरायसी काम, बालबालिका हेरचाह तथा परिवार व्यवस्थापनमा बढी व्यस्त हुने भएकाले आफ्नै स्वास्थ्यलाई प्राथमिकता दिन नसक्नु ।
निर्णय गर्ने अधिकारको कमी : धेरै ठाउँमा महिलाले स्वास्थ्य सेवा लिन परिवारको अनुमति आवश्यक पर्ने अवस्था अझै कायम रहनु ।
आर्थिक निर्भरता : स्वतन्त्र आम्दानी नहुँदा उपचार खर्च व्यवस्थापन गर्न कठिन हुनु ।
भौगोलिक पहुँचको समस्या : दुर्गम क्षेत्रमा बसोबास गर्ने महिलाका लागि आवश्यक स्थान पुग्न यातायात र सुरक्षाको चुनौती देखिनु ।
लैङ्गिक संवेदनशील सेवाको अभाव : कतिपय अवस्थामा महिला स्वास्थ्यकर्मीको अभाव वा सुरक्षित वातावरण नहुँदा महिलाहरु सेवा लिन हिच्किचाउनु ।
सचेतनाको अभाव : आँखाको रोग समयमै उपचार नगरे दृष्टि गुम्न सक्ने भन्ने कुराको जानकारी धेरै महिलासम्म पुग्न सकेको छैन ।
महिलाले आँखाको स्वास्थ्य सुधार गर्न निम्न प्रयास आवश्यक देखिन्छ-
■ नेतृत्व तहमा महिलाको सहभागिता वृद्धि
■ समुदायस्तरमा लक्षित सचेतना कार्यक्रम
■ महिला मैत्री स्वास्थ्य सेवा वातावरण
■ आर्थिक तथा पहुँच सहजीकरण
■ महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय नेतृत्वको सक्रियता
■ समुदायको समग्र विकासमा महिलाको भूमिका
महिलाको आँखाको स्वास्थ्य सुधार गर्नु भनेको केवल व्यक्तिगत स्वास्थ्य सुधार मात्र होइन यसले परिवारको आर्थिक अवस्था, बालबालिकाको शिक्षा र समुदायको समग्र विकाससँग प्रत्यक्ष सम्बन्ध राख्दछ जब घरकी महिलाले स्पष्ट देख्न सक्छिन तब परिवारको समृद्धि र उज्वल भविष्य निर्माणमा थप योगदान दिन सक्छिन भन्ने कुरा सर्बविदितै छ ।
नेपालमा अन्धोपन न्यूनीकरणतर्फ उल्लेखनीय प्रगति भए पनि लैङ्गिक असमानता पूर्ण रूपमा अन्त्य भएको छैन भन्ने तथ्य स्पष्ट छ । महिलाहरूलाई लक्षित, पहुँचयोग्य र लैङ्गिक संवेदनशील आँखा स्वास्थ्य सेवा विस्तार गर्नु आजको अपरिहार्य आवश्यकता हो ।
अन्तरराष्ट्रिय महिला दिवसको सन्दर्भमा, आँखाको स्वास्थ्य-अधिकार पनि आधारभूत मानवअधिकारकै हिस्सा हो भन्ने सन्देश सशक्त रूपमा स्थापित गर्न आवश्यक छ । महिला सशक्तीकरणसँगै स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्न सके मात्र ‘दृष्टियुक्त नेपाल’ निर्माणको लक्ष्य सार्थक हुनेछ ।
(लेखक केसी करिब ३५ वर्षदेखि नेपालको आँखा स्वास्थ्य क्षेत्रको प्रशासनिक उच्च पदमा कार्यरत हुनुहुन्छ ।)
प्रतिक्रिया